सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

खानाको हानथापमा मुसा र मानवजाति

अष्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशन(सि एस आइ आर ओ)-अनुसार विश्‍वभरि एक जना मानव बच्चा जन्मँदा दसवटा मुसाका बच्चाहरू जन्मन्छन्‌। हरेक दिन ३,६०,००० नवजात शिशुहरूलाई आहारा जुटाउनुपर्छ भने त्यतिनै बेला अर्कोतिर ३६,००,००० नयाँ जन्मेका मुसाका बच्चाहरूले पनि आहाराको माग गर्छन्‌। उदाहरणको लागि, इन्डोनेसियाको कुल जनसंख्या २३ करोड छ र त्यसमध्ये ६० प्रतिशत जनसंख्याको आहराको मुख्य स्रोत धान हो। यद्यपि, त्यस देशमा मुसाहरूले हरेक वर्ष १५ प्रतिशत अन्‍नबाली खाइदिन्छन्‌। “यसको अर्थ, दुई करोडभन्दा बढी इन्डोनेसियालीहरूलाई वर्षभरि पुग्ने धानबाली मुसाले खाइरहेको छ,” भनी सि एस आइ आर ओ-का वैज्ञानिक डा. ग्रान्ट सिंगलटन बताउँछन्‌। (g02 6/22)

कुखुराको मासुको सुरुवा—रुघाको प्राकृतिक उपचार

कुखुराको मासुको सुरुवा रुघाजस्ता श्‍वासप्रश्‍वाससम्बन्धी व्यथाहरूको परम्परागत उपचारको रूपमा प्रयोग गरिंदै आएको धेरै भइसकेको छ। फुड—योर मिराकल मेडिसिन नामक पुस्तकमा रिपोर्ट गरेअनुसार लस एन्जलसस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा कार्यरत फोक्सो विशेषज्ञ डा. आरविन जिमेन्ट, यो सुरुवाको प्रभावकारीताबारे यस्तो बताउँछन्‌: “अधिकांश प्रोटिनयुक्‍त खानामा जस्तै कुखुराको मासुमा सिसटिन नामक प्राकृतिक एमिनो एसिड पाइन्छ र कुखुराको मासुको सुरुवा बनाउँदा यो एसिड झोलमा राम्ररी मिसिन्छ। सिसटिनमा एसिटिलसिसटिन नामक औषधीसित मिल्दोजुल्दो रासायनिक पदार्थ पर्याप्त मात्रामा पाइन्छ र डाक्टरहरूले श्‍वासनलीशोथ र श्‍वासप्रश्‍वाससम्बन्धी संक्रमण हुने बिमारीहरूलाई यही औषधी दिने गर्छन्‌।” यो औषधी मूलतः कुखुराको पखेटा र छालाबाट बनाइन्छ। यसले नाक, घाँटी र फोक्सोबाट निस्कने खकार तथा सिंगानलाई पातलो बनाएर निष्कासन गर्न मदत गर्छ। कुखुराको मासुको सुरुवाले पनि यस्तै काम गर्छ। जमिरहेको खकार तथा सिंगान निष्कासनको लागि सुरुवालाई अझ बढी प्रभावकारी बनाउन झोलमा लसुन, प्याज र गरम हुने मसलाहरू जस्तै, खुर्सानी थप्न, डा. जिमन्ट सुझाउ दिन्छन्‌। (g02 6/22)

सबैभन्दा पुरानो मुद्रित विज्ञापन

चाइनाज्‌ पिपल्स डेली अनलाइन-को रिपार्टअनुसार चिनियाँ पुरातत्त्वविद्‌हरूले कागजमा मुद्रित विश्‍वकै सबैभन्दा पुरानो विज्ञापन भेट्टाएका छन्‌। चीनको हुनान प्रान्तको एउटा चिहानमा ७०० वर्ष अघिको मिति उल्लेख गरिएको तैल चित्रका रंग पोको पार्ने काममा प्रयोग गरिने जस्ता देखिने दुई टुक्रा पोको पार्ने कागज भेट्टाइयो। रिपोर्ट यसो भन्छ, “कागजको सबैभन्दा माथि दायाँतिर ७० वटा चिनियाँ अक्षरहरू छन्‌ जसमा समानको प्रकार, गुणस्तर अनि विशेषताहरूबारे वर्णन गरिनुका साथै पसलको ठेगानासमेत छापिएको थियो। उक्‍त विज्ञापनमा प्रयोग गरिएका कुनै-कुनै शब्दहरू आधुनिक विज्ञापनसित एकदमै मिल्दाजुल्दा छन्‌। यस विज्ञापनको केही भागले यसो भन्छ: “अन्य तैल रंगहरूको तुलनामा हाम्रा उत्पादनहरूको रंग बेजोड छ।” युरोपमा १२ औं शताब्दीमा कागज भित्रिएको अनि १५ औं शताब्दीमा मात्र गुटेनबर्गले मुद्रणकला को आविष्कार गरेको कुरालाई ध्यानमा राख्दै रिपोर्ट यस्तो लेख्छ: “चीनमा शाइलुनले पहिलो पटक कागजको आविष्कार गरेपछि सा.यु. १०५ मा कागज बनाउने काम सुरु भएको हुन सक्छ; छपाइको कुरा गर्ने हो भने, नवौं शताब्दीतिरै चीनमा काठको ब्लक प्रयोग गरेर छपाइ कार्य सुरु गरिसकेको थियो।” (g02 6/22)

चर्चको व्यापार

संयुक्‍त राज्य अमेरिकामा रहेका चर्चहरूले उपस्थिति नबढ्‌नु अनि चन्दा घट्‌नुजस्ता समस्याहरूले गर्दा खर्च जुटाउन व्यापार सुरु गरेका छन्‌। इन्डियानाको मनस्टरस्थित फ्यामिली क्रिश्‍चियन सेन्टरका वरिष्ठ पादरी यसो भन्छन्‌, “यो हरेक उद्यमी चर्चको भविष्य हो।” वाल स्ट्रिट जरनल-अनुसार चर्चको लबीमा कफी र डोनट बेच्ने देखि लिएर रेष्टुराँ चलाउनुसम्म चर्चहरूको व्यापारिक क्रियाकलापमा पर्छन्‌। फ्लोरीडाको ज्याकसनभिलीस्थित एउटा चर्चले उपासनास्थल नजिकै सबै थोक भएको बडेमाको पसल नै खोलेका छन्‌। त्यस बजारमा ट्राभल एजेन्सी, ब्युटी पार्लर अनि दक्षिण अमेरिकामा बसोबास गर्ने कालाजातिले खाने परम्परागत खानाको रेष्टुराँहरू छन्‌। उक्‍त चर्चका संस्थापक तथा बिशप भन मकलाफलन यसो भन्छन्‌: “येशू, उहाँले दिनुभएको उपहारहरू लिएको अनि नाफा कमाएको चाहनुहुन्थ्यो।” उनी अझ यसो भन्छन्‌, सन्‌ २००० मा चर्चको व्यापारले २० लाख डलरभन्दा बढी आर्जन गऱ्‍यो। (g02 6/22)

मृत सागरका पाण्डुलिपिहरू छापियो

“यहूदी मरुभूमिको गुफाहरूमा मृत सागरका पाण्डुलिपिहरू फेला परेको आधा शताब्दीपछि एउटा मात्र बाँकी रहेको २००० वर्ष पुरानो धार्मिक ग्रन्थ छाप्न पाउँदा विज्ञहरूले खुसी मनाए भनी यु. एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट बताउँछ। ती पाण्डुलिपिहरूको विश्‍लेषक एवम्‌ उक्‍त विद्वान्‌हरूका टोली नेता इमानुएल टोभले ३७ खण्डे श्रृंखला छापिएको घोषणा गरे। उक्‍त कार्य सम्पादन हुनुको श्रेय डिजिटल फोटोग्राफी र मल्टिस्पेगट्रल इमेजिंग जस्ता आधुनिक प्रविधिहरूलाई दिइयो, जसको मदतद्वारा विद्वान्‌हरूले खुइलिसकेका लेखाइहरू बुझ्न सके। हिब्रू, अरामी र युनानी भाषामा अनुवाद गरिएका ती लेखोटहरू सा.यु.पू. २५० देखि सा.यु. ७० सम्मका छन्‌। (g02 6/8)

अन्योलको सामना गर्ने

संयुक्‍त राज्य अमेरिकामा भएको आतंककारी आक्रमणदेखि यता क्रिश्‍चियन बूकसेलर्स असोसिएसन अफ क्यानाडाका सदस्यहरूद्वारा गरिएको बाइबलको बिक्रीमा ३० प्रतिशतले वृद्धि आएको छ भनी क्यानाडाको ग्लोब एण्ड मेल अखबार रिपोर्ट गर्छ। उक्‍त संघका कार्यकारी निर्देशक मार्लिन लोक्लिन यसो भन्छिन्‌, “मानिसहरू जवाफको निम्ति भौंतारिरहेका छन्‌। मानिसहरूको मनमा अब के होला भन्‍ने चिन्ता छ। मानिसको मन अनि मस्तिष्कमा धेरै अनुत्तरित प्रश्‍नहरू छन्‌।” स-सना किताब पसलहरूमा समेत धर्मसित सम्बन्धित पुस्तकहरूको बिक्री बढेको छ र यी पुस्तकहरूको मदतले त्यस दुःखद घटनाबारे बुझ्न सकिएला कि भन्‍ने मानिसहरूले आशा राखेका छन्‌।” टोरोन्टोस्थित एक विश्‍वविद्यालयका धर्मदर्शनका प्राध्यापकको भनाइअनुसार मानिसहरूको यस्तो प्रतिक्रिया स्वाभाविक हो। तिनले यसो भने, “ठूलो अन्योलको समयमा मानिसहरूले धर्मबारे आधारभूत प्रश्‍नहरू सोध्न थाल्छन्‌,” अनि “त्यसको जवाफ बाइबलमा खोज्नाले केही राहत पाइएला कि भन्‍ने आशा राख्छन्‌।” (g02 6/8)

एड्‌स—दक्षिण अफ्रिकामा मृत्युको प्रमुख कारण

दक्षिण अफ्रिकी मेडिकल रिसर्च सेन्टरद्वारा सञ्चालित अध्ययनबारे टिप्पणी गर्दै द न्यु योर्क टाइम्स यसो भन्छ, “दक्षिण अफ्रिकामा मृत्युको प्रमुख कारण एड्‌स भएको छ र विशेष गरी भर्खरै वयस्क भएकाहरू यसद्वारा प्रभावित छन्‌।” उक्‍त अनुसन्धानको अनुमानअनुसार आगामी दशक भित्रमा दक्षिण अफ्रिकामा ५० देखि ७० लाख मानिसहरू एड्‌सद्वारा मर्नेछन्‌। विशेष गरी ७० वर्ष ननाघेका महिलाहरूको तुलनामा ३० वर्ष ननाघेका वयस्क महिलाहरूको मृत्यु दर बढी छ। उक्‍त लेख पुनः यसो भन्छ, दक्षिण अफ्रिकामा जस्तो “एड्‌स रोगको भाइरस अनि एच आइ भि-द्वारा ग्रसित मानिसहरू अन्य कुनै मुलुकमा छैनन्‌।” सरकारी अधिकारीहरू यसो भन्छन्‌, “हाल नौ जना दक्षिण अफ्रिकीहरू मध्ये एक जना एच आइ भि जीवाणुद्वारा संक्रमित छन्‌। अझ वयस्कहरूमा [३०-३४ वर्ष पुगेकाहरू] मात्र हेर्ने हो भने चार जना मध्ये एक जना संक्रमित भएको पाइन्छ।” (g02 6/8)

शहरहरूमा बसाइ

“सन्‌ १९०० तिर सबैभन्दा ठूला शहरहरू भनेको लण्डन, न्यु योर्क, बर्लिन र चिकागो थिए,” भनी लण्डनको द सन्डे टाइम्स बताउँछ। तर नयाँ अनुमानअनुसार, “पश्‍चिमी शहरहरूलाई २०१५ भित्रमा अरू शहरहरूले उछिनिसकेको हुनेछ। टोकियो, मुम्बई, लागोस, बंगलादेशको ढाका र ब्राजिलको साऊ पाउलो सबैभन्दा ठूला शहरहरू हुनेछन्‌।” यी अनि अन्य २५ शहरहरू प्रत्येकको जनसंख्या दुई करोड पुग्नेछ। यद्यपि, “अनुमानले देखाएअनुसार २०१५ भित्रमा लण्डनले सबैभन्दा धेरै जनसंख्या भएको ३० मुलुकबाट आफ्नो स्थान गुमाउनेछ अनि जनसंख्या घटेको शहर यही एउटा मात्र हुनेछ,” भनी टाइम्स बताउँछ। एकै चोटिको तीव्र वृद्धिले धेरै समस्याहरू सृजना गर्छ। संयुक्‍त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ पेन्सलभेनियाका समाजशास्त्रका प्राध्यापक डगरस मेस्सीले यसो भने “अधिकांश गरिबहरू बस्ने समुदायमा अपराध, हिंसा अनि सामाजिक उथलपुथल व्याप्त छ।” हाल २.६ करोड जनसंख्या भएको टोकियोको जनसंख्या अब छिट्टै ३ करोड पुग्ने अनुमान गरिएको छ तर टोकियोले यसलाई धान्‍न सक्षम छ किनकी यहाँको वृद्धि बिस्तारै भएको छ अनि यहाँ आवश्‍यक पूर्वाधार तथा सेवाहरू उपलब्ध छन्‌। मेस्सीका अनुसार रोमी समय देखि बेलायती महारानी भिक्टोरियाको समयसम्ममा विश्‍व जनसंख्याको ५ प्रतिशत जति मानिसहरू मात्र शहरमा बस्थे तर उनको अनुमानअनुसार २०१५ भित्रमा ५३ प्रतिशतले शहरमा बसोबास गर्नेछन्‌। (g02 6/8)

सधैंको लागि धूम्रपान छोड्‌नुहोस्‌!

“धूम्रपान गर्ने सबैले धूम्रपान छोड्‌ने प्रयास गर्नैपर्छ। तपाईं एक चोटि सफल भइसक्नुभएपछि फेरि सुरु गर्ने चेष्टा नगर्नुहोस्‌” भनी स्वीडेनस्थित नेशनल इन्स्टिच्युट फर वर्किंग लाइफ इन स्टकहोमका प्राध्यापक बो लुइनबाक चेताउनी दिन्छन्‌। किन? धूम्रपान नछोड्‌ने व्यक्‍तिको फोक्सोको कार्य क्षमतामा भन्दा एक चोटि धूम्रपान छोडेर फेरि सुरु गर्ने व्यक्‍तिको फोक्सोको कार्य क्षमता छिटो खस्कने सम्भावना हुन्छ। दस वर्षसम्म ३५ देखि ६८ वर्षको १,११६ पुरुष तथा महिलाहरूमा गरिएको अध्ययनले देखाएअनुसार अध्ययनको अवधिभर धूम्रपान गर्ने व्यक्‍तिहरूको फोक्सोको कार्य क्षमता ३ प्रतिशतले घट्यो जब कि एक वर्षभन्दा बढी समय धूम्रपान छोड्‌ने र पुनः थाल्ने व्यक्‍तिहरूको फोक्सोको कार्य क्षमतामा ५ प्रतिशतले कमी आयो। लुनब्याक यस्तो चेताउनी दिन्छन्‌, “धूम्रपान छोड्‌ने व्यक्‍तिहरूले पुनः धूम्रपान थाल्दा पहिलो दुई वर्षसम्ममा फोक्सोको कार्य क्षमता खस्कने सम्भावना धेरै हुन्छ। धूम्रपान गर्ने व्यक्‍तिले गुमाएको फोक्सोको कार्य क्षमताको पछि कहिल्यै क्षतिपूर्ति हुँदैन।” लण्डनको द टाइम्स-ले दिएको रिपोर्टअनुसार दस वर्षको अध्ययनको दौडान पूर्णतया धूम्रपान गर्न छोड्‌नेहरूको फोक्सोको कार्य क्षमतामा केवल १ प्रतिशतले कमी देखियो। (g02 6/8)