घाँस—तपाईंले टेक्ने हरियो वस्तु मात्र होइन
घाँस—तपाईंले टेक्ने हरियो वस्तु मात्र होइन
कसैका लागि यो घर बाहिर उम्रने र बेला-बेलामा काट्नु पर्ने हरियो चीज मात्र हो। अर्कोतर्फ, किसान र फुटबल खेलाडीहरूका लागि यो आफ्नो कामसँग सम्बन्धित वस्तु हो। अनि बच्चाहरूको लागि यो सबैभन्दा उपयुक्त खेल मैदान हो। तर के घाँस भनेको दूबोले ढाकेको चउर, खेत अनि खेल मैदानहरू मात्र हुन्?
तपाईं शहरको अग्लो घरमा बस्नुहुन्छ भने तपाईंलाई घाँससँग आफ्नो त्यति सम्बन्ध छैन जस्तो लाग्ला। तथापि, हामी सबैको कुनै न कुनै प्रकारको घाँस र यसबाट बनेका उत्पादनहरूसँग दिनहुँजसो सम्पर्क भइरहन्छ। वास्तवमा घाँस भनेको के हो? अनि हामी कसरी यसको प्रयोग गर्छौं?
घाँस के हो?
हामी यो सानो बिरुवालाई नियालेर हेरौं। सामान्यतया, सबै प्रकारका होचा, हरिया बिरुवाहरूलाई घाँस भनिन्छ। वैज्ञानिक वर्गीकरणअनुसार घाँस परिवारमा (ग्रामिनिया वा पोएसिया) पर्ने बिरुवाहरूको अलावा धापिलो ठाउँमा उम्रने बिरुवाहरू र बेतलाई पनि कसै-कसैले घाँस भन्छन्। तर घाँस परिवारमा पर्ने बिरुवालाई मात्र वास्तविक घाँस भनिन्छ। यो परिवारमा पर्ने बिरुवाहरूको अरूभन्दा भिन्नै खालका साझा विशेषताहरू हुन्छन्। तपाईंले घाँसको डाँठ भनेर भन्नु हुने भागलाई नियालेर हेर्नुहोस्।
के डाँठ गोलाकार र खोक्रो छ, अनि के यसमा आँख्लाहरू छन्? के पातहरू लामा, च्याप्टो परेका, साँघुरा, समानान्तर धर्साहरू भएका र डाँठलाई घेर्ने तन्तुबाट निस्किएका छन्? के पातहरू दुईवटा ठाडा पंक्ति बन्ने गरी एक पछि अर्को गर्दै पालै-पालोसँग दायाँ र बायाँतिरबाट निस्किएका छन्? एउटा मूल जरोबाट अरू जराहरू निस्किनुको सट्टा के जराहरू गुजुमुज्ज परेका जालोजस्तै छन्? फूलहरू फुलेका छन् भने के ती सजिलै नदेखिने र साना, गुजुमुज्ज परेका, बराबर दूरीमा वा गुजुमुज्ज हुने गरी थुप्रै गुच्छाहरू छन्? यदि त्यस्तो छ भने सम्भवतः यो बिरुवा घाँस परिवारको हुन सक्छ।
हेर्दाखेरि घाँस परिवारका बिरुवाहरू उस्ता-उस्तै देखिए तापनि ८,००० देखि १०,००० किसिमका विभिन्न प्रजातिका घाँसहरू पाइन्छन्। बिरुवाको उँचाइ २ सेन्टिमिटरदेखि लिएर कुनै-कुनै बाँसहरू ४० मिटरसम्मका हुन्छन्। पृथ्वीमा भएका वनस्पतिहरूमध्ये सबैभन्दा बढी घाँस पाइन्छ। घाँस नयाँ वातावरणसँग सजिलै घुलमिल हुन सक्ने बिरुवा भएकोले यो ध्रुवीय क्षेत्र तथा मरुभूमि, उष्ण कटिबन्धीय रेन फरेस्ट अनि हुरी-बतास चल्ने भिरालो पर्वतहरूमा समेत पाइनु कुनै अनौठो कुरा होइन। युरोप, एसिया, उत्तर अनि दक्षिण अमेरिका र उष्ण कटिबन्धीय इलाका तथा रूखहरू नभएका एकदमै ठूलठूला खुला मैदानहरूमा घाँसको बाहुल्यता देखिन्छ।
विभिन्न प्रकारका घाँसहरू प्रशस्त मात्रामा पाइनुको एउटा प्रमुख कारण यसको दह्रोपना हो। अरू बिरुवाहरू जस्तो घाँस टुप्पाबाट होइन तर आँख्लाबाट बढ्छ। अनि डाँठबाट
नयाँ पालुवाहरू निस्कँदा जमिनमाथि वा जमिनमुनि तेर्सो परेर उम्रन्छ। त्यसकारण मानिसले घाँस काट्दा वा गाईले घाँस खाँदा टुप्पा काटिए तापनि घाँस बढ्न रोकिंदैन, तर अरू बिरुवाहरू भने यस्तो भयो भने बढ्न छोड्छ। त्यसैकारण बेला-बेलामा घाँस काट्दा अरू बिरुवाहरू बढ्न पाउँदैनन् र चउर बाक्लो तथा राम्रो हुन सक्छ।अर्को कुरा, हावाले वा खुट्टाले कुल्चिएर डाँठ बाङ्गियो भने पनि जमिनमै तेर्सोतिर बढ्ने हुनाले प्रायजसो घाँस ठाडो हुन्छ। यसैकारण क्षति पुग्यो भने पनि घाँस पहिलेकै अवस्थामा फर्कन धेरै समय लाग्दैन र यसले गर्दा घामको किरण प्राप्त गर्ने होडबाजीमा अरू बिरुवाहरूभन्दा घाँसले नै बढी घाम पाइरहेको हुन्छ। अनि घाँस यति दह्रिलो बिरुवा भएकोमा हामी खुसी हुन सक्छौं। खुसी हुनुपर्छ नै, किनभने हामी यसैमा निर्भर छौं।
बहुउपयोगी बिरुवा
घाँस सबैभन्दा बढी पाइने मात्र होइन तर पृथ्वीमा पाइने फूल फुल्ने बिरुवाहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण पनि हो। एक जना वनस्पतिशास्त्रीले भनेअनुसार घाँस हाम्रो भोजनको मुख्य आधार हो।
यो “मानिसहरूलाई अनिकालबाट बचाउने बाँधजस्तै” हो। आज तपाईंले के खानुभयो सम्झने कोसिस गर्नुहोस् त। के तपाईंले बिहान सबेरै कोदो, चामल, उवा वा जुनेलोबाट बनेको अनाज पो खानुभयो कि? त्यसो हो भने तपाईंले घाँसको बीउ खानुभएछ। वा तपाईंले पाउरोटी वा अरू कुनै खालको रोटी खानुभयो होला। यो बनाउनको लागि प्रयोग गरिएको पिठो गहुँ, राई, जौ जस्ता घाँसहरू तथा अन्य प्रकारका घाँसको बीउ नै प्रयोग गरिएको थियो। मकैको पिठोबाट बनेका कर्नफ्लेक्स र च्याँख्लाका साथै टर्टिलाको पनि मुख्य आधार खासै फरक छैन। हो, तपाईंले सही अनुमान लाउनुभयो, मकै पनि घाँस नै हो। के तपाईंले चिया वा कफीमा चिनी हाल्नुभयो? संसारको कुल चिनी उत्पादनमध्ये आधाभन्दा बढी चिनी उखुबाट बन्छ र यो पनि एक प्रकारको घाँसै हो। एक अर्थमा हेर्ने हो भने दूध र चिज पनि घाँस प्रशोधन गरेर बनाइन्छ किनकि गाई, भेंडा र बाख्राहरूले प्रायजसो घाँस खान्छन्।तपाईंको दिउँसोको खानेकुरा नि? पास्ता र पिज्जाको रोटी गहुँको पिठोबाट बनाइन्छ। कुखुरा वा अरू चराको चारो प्रायजसो अन्न नै हुन्छ। गाईवस्तुहरूलाई सबै प्रकारका घाँसहरू खुवाइन्छ। त्यसकारण हामीले खाने अण्डा, कुखुराको मासु वा अन्य मासुहरूको स्रोत पनि घाँस नै हो किनभने जनावरहरूले पचाएको घाँस नै मासुमा परिणत हुन्छ। अनि तपाईंले घाँस पिउन पनि सक्नुहुन्छ। दूधबाहेक थुप्रै मद्य पेय पदार्थहरू घाँसबाट बनाइन्छ; जस्तै: बियर, ह्विस्की, रम, साके, कभास, र प्रायजसो भोड्का।
आफूलाई मन पर्ने खानाचाहिं छुट्यो भनेर चित्त नदुखाउनुहोस् नि। घाँसबाट बनेका सबै खाद्यान्नहरूका नामावली तयार पार्न सम्भव छैन। कुनै-कुनै अनुमानअनुसार संसारभरि खपत हुने क्यालोरीको आधाभन्दा बढी घाँसबाट प्राप्त हुन्छ। त्यसैकारण खेती गरिएको जमिनको ७० प्रतिशत घाँसले ढाकिनु कुनै छक्क लाग्दो कुरा होइन!
तथापि, घाँस खानको लागि मात्र उपयोगी वस्तु होइन। तपाईंको घरको भित्ता माटो वा छ्वालीले बनेको छ भने यसलाई बलियो तुल्याउने काम घाँसले नै गर्छ। संसारका विभिन्न भागहरूमा घाँसको छाना लगाइन्छ। दक्षिण-पूर्वी एसियामा खट, पाइप, फर्निचर, भित्ता र अरू थुप्रै चीजबिजहरू बनाउन बाँसको प्रयोग गरिन्छ। गुन्द्री तथा डोको बुन्न र गम तथा कागज बनाउनको लागि पनि यसलाई कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ। आफूले लगाएको लुगालाई पनि नबिर्सनुहोस्। हामीले ऊन र छाला निकाल्ने प्रायजसो जनावरहरूले घाँस खान्छन्। अरून्डो डोन्याक्स प्रजातिको ठूलो नर्कट हावा फुकेर बजाइने बाँसुरीजस्ता क्लारिनेट बनाउने निगालोको रूपमा प्रयोग गरिन्छ। यो बनाउनका लागि प्राकृतिक निगालो जत्तिको राम्रो अरू कुनै पनि वस्तु भेटिएको छैन।
घाँसले पृथ्वीको अधिकांश भाग ढाकेको र सिंगारेको हुन्छ। हरियो मैदान वा राम्रोसँग हेरचाह गरिएको चउर कत्ति सुन्दर, शान्त र मनमोहक देखिन्छ! यसले उत्पादन गर्ने तीन थुप्रो वनस्पतिको कारण अक्सिजन आपूर्ति गर्ने प्रमुख माध्यम घाँस हो। यसको धागो जस्तो मसिनो त्यान्द्रारूपी जराहरूले भूक्षय हुनबाट बचाउँछ। यसको बहुउपयोगितालाई मनमा राख्ने हो भने, घाँसको प्रयोग र खेतीको निकै लामो इतिहास हुनु कुनै छक्क लाग्दो कुरा होइन।
घाँसको इतिहास
सृष्टिसम्बन्धी विवरणमा घाँसबारे बाइबलमा सबैभन्दा पहिले उल्लेख गरिएको छ। सृष्टिको तेस्रो दिनमा परमेश्वरले भन्नुभयो: “भूमिले वनस्पति . . . उमारोस्।” (उत्पत्ति १:११) a सबै प्रमुख सभ्यताहरू कुनै न कुनै प्रकारको घाँसमा निर्भर थिए। उदाहरणका लागि, मिश्री, युनानी र रोमीहरूले प्रमुख खाद्यवस्तुको रूपमा गहुँ र जौ खान्थे; चिनियाँहरूले कोदो र भात खान्थे; सिन्धुघाटीका मानिसहरूले गहुँ, जौ र कोदो खान्थे; माया, एजटेक र इन्का सभ्यताका मानिसहरूले मकै खान्थे। मंगोल सेनाका घोडाहरूका लागि भुस्साको काम पनि घाँसले नै पूरा गऱ्यो। हो, मानिसहरूको लागि घाँस एकदमै महत्त्वपूर्ण वस्तु रहँदै आएको छ।
अर्को पटक लहलहाउँदो मकैबारी, मनै लोभ्याउने हरियो मैदान वा सडकपेटीका ढुंगाहरूबीच उम्रिएका घाँसका स-साना पातहरू देख्दा तपाईं टक्क अडिएर यस अद्भुत र बहुउपयोगी बिरुवाबारे सोच्नु हुन्छ होला। तपाईं पनि भजनहारले गाएझैं यसका महान् परिकल्पनाकार यहोवा परमेश्वरलाई धन्यवाद दिन उत्प्रेरित हुन सक्नुहुन्छ: “हे मेरा परमेश्वर परमप्रभु, तपाईं अति महान् हुनुहुन्छ। . . . गाई-वस्तुहरूका निम्ति उहाँले घाँस, र त्यसले पृथ्वीबाट खाने पदार्थहरू उब्जाऊन् भनेर मानिसको कामको निम्ति सागपातहरू उमार्नुहुन्छ। . . . याहको प्रशंसा गर्।”—भजन १०४:१, १४, ३१-३५. (g02 6/8)
[फुटनोट]
a सुरुको भाषामा यहाँ “वनस्पति” भनेर प्रयोग गरिएको शब्दको अर्थ “घाँस” हुन्छ। हुन सक्छ, यस पदका पुरातन लेखकले घाँसजस्तो देखिने बिरुवाहरू र अहिलेको वास्तविक घाँसबीच खास भिन्नता छुट्याएनन्।
[पृष्ठ २३-मा भएको रेखाचित्र/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
घाँसको बनोट
घाँसका फूलहरूको प्रकार
फूलको गुच्छा
बराबर दूरीमा फूल फुलेको
टाढा-टाढा रहेका गुच्छाहरू
रेसादार जराहरू
तन्तु
पात
डाँठ
आँख्ला
[पृष्ठ २४-मा भएको चित्र]
के तपाईंले आज घाँस खानुभयो?
[पृष्ठ २४-मा भएको चित्र]
वा पिउनु पो भयो कि?
[पृष्ठ २४-मा भएको चित्र]
यिनीहरूले पनि घाँस नै खान्छन्
[पृष्ठ २४-मा भएको चित्र]
यसबाट तपाईंको आवास पनि तयार हुन सक्छ