सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीहरू—तिनीहरूको भविष्य कस्तो छ?

प्रहरीहरू—तिनीहरूको भविष्य कस्तो छ?

प्रहरीहरू—तिनीहरूको भविष्य कस्तो छ?

प्रहरीविना अराजकता व्याप्त हुन सक्छ। तर के प्रहरी भएर पनि हाम्रो विश्‍व सुरक्षित छ त? आज अधिकांश शहर अनि ग्रामीण इलाकाहरूमा सुरक्षाको अभाव खट्‌किरहेको छ। नियोजित अपराध अनि अपराध गर्न बानी परिसकेका अपराधीहरूबाट आफूलाई बचाउन के हामी प्रहरीको भर पर्न सक्छौं? आफू हिंड्‌ने बाटोलाई सुरक्षित राख्न के हामी प्रहरीको मुख ताक्न सक्छौं? के तिनीहरू अपराध विरुद्धको युद्धमा विजयी हुनेछन्‌?

आफ्नो पुस्तक पोलिस फर द फ्युचर-मा डेभिड बेले आफ्नो विचार यसरी पोख्छन्‌, “प्रहरीले अपराध रोक्न सक्दैन, वास्तवमा प्रहरीहरू भनेका त क्यान्सर रोगमा लगाउने पट्टी मात्र हुन्‌। . . . प्रहरीहरू अपराध रोक्न अनि समाजलाई अपराधबाट बचाउन साँचो अर्थमा समर्पित भए तापनि हामी प्रहरीमा पूर्णतया भर पर्न सक्दैनौं।” अध्ययनहरूले देखाएअनुसार प्रहरीका मुख्य तीन कार्यहरू सडकमा गस्ती गर्ने, आपत्‌कालीन अवस्थाहरूलाई सम्हाल्ने अनि अपराध छानबिन गर्ने हुन्‌ तर यी तीनैवटा कार्यहरूद्वारा अपराध रोक्न सकिंदैन तर किन?

प्रहरीहरूको संख्या निकै बढाएर अपराध रोक्ने प्रयास गर्न खर्चले भ्याउँदैन। यदि प्रहरीहरूको संख्या बढाउन सम्भव भए तापनि अपराधीहरूलाई यसले केही फरक पार्दैन जस्तो देखिन्छ। अपराध विरुद्ध प्रहरीहरूले तत्कालै कदम चालिहाले तापनि यसले अधिकांश अपराध रोक्न सक्दैन। प्रहरी रिपोर्टअनुसार एक मिनेटभित्रमा घटनास्थलमा पुग्न नसकेमा अपराधीलाई पक्राउ गर्न सकिंदैन। यति तीव्र गतिमा प्रहरीहरू पुग्न सक्दैनन्‌ भनेर अपराधीहरूलाई पनि थाह छ जस्तो देखिन्छ। न त अपराध जाँचबुझले नै मदत गर्छ। जासुसहरू अभियुक्‍तलाई दोषी प्रमाणित गरी जेल चलान गर्न सफल भए तापनि यसले पूर्णतया अपराध रोक्न सक्दैन। अन्य राष्ट्रहरूको तुलनामा संयुक्‍त राज्य अमेरिकाले सबैभन्दा धेरै अपराधीहरूलाई जेल चलान गर्छ तर यस मुलुकको अपराध दर अझै बढी छ; जब कि जापानको जेलमा थोरै कैदीहरू छन्‌ तर यस राष्ट्रको अपराध दर सबैभन्दा कम छ। सामुदायिक प्रहरीसेवा जस्ता योजनाहरू पनि विशेष गरेर अपराधको बिगबिगी भएका इलाकाहरूमा दीर्घकालीन रूपमा सफल साबित भएका छैनन्‌। लागूऔषधको अवैध व्यापार वा डकैतीजस्ता अपराधहरूलाई कडा कारवाही गर्दा केही समयको लागि नाटकीय सुधार त आउला तर त्यही नतिजा कायम राख्न गाह्रो हुन्छ।

पोलिस फर द फ्युचर यसो भन्छ, “प्रहरीले अपराध रोकथाम गर्न नसक्नु विचारशील मानिसहरूको लागि ठूलो अचम्मको कुरा हुनु हुँदैन। सामान्यतया प्रहरी र अपराधसम्बन्धी कानूनी व्यवस्थाले नियन्त्रण गर्न नसकेको सामाजिक अवस्थाले नै समुदायको आपराधिक गतिविधिको स्तर निर्धारण गर्छ भन्‍ने कुरा बुझिन्छ।”

प्रहरीहरू नभएका भए के हुन्थ्यो होला?

यदि कुनै प्रहरीले निरीक्षण गरिरेहको छैन भने तपाईं कसरी काम गर्नुहुन्छ? तिनीहरूको अनुपस्थितिको फाइदा उठाउँदै के तपाईं नियम तोड्‌नु हुन्छ? समाजका यति धेरै गन्यमान्य कहलिएका मध्यम अनि उच्च वर्गीय मानिसहरूले आफ्नो निजी स्वार्थको लागि भ्रष्टाचार गरेर आफ्नो प्रतिष्ठा अनि भविष्यलाई नै खतरामा राख्नु निकै अचम्म लाग्दो कुरा हो। द न्यु योर्क टाइम्स-ले हालै प्रकाशित गरेको एउटा रिपोर्टअनुसार ‘११२ जना व्यक्‍तिहरूलाई ठगीको आरोप लगाइयो अनि तिनीहरू मोटर बिमा कम्पनीहरूलाई ठग्ने योजनामा संलग्न थिए। अभियुक्‍तहरूमध्ये धेरैजसो वकिल, डाक्टर, काइरोप्राक्टर, थेरापिस्ट, अकुपंक्चरिस्ट र प्रहरी विभागका प्रशासकीय सहायक थिए।’

हालै न्यु योर्कको सोथबि र लण्डनको क्रिस्टिजका नाउँ चलेका भूतपूर्व प्रशासकहरूलाई ठूलो रकमको ठगी गरेको अर्थात्‌ मालसमानको नकली मूल्य राखेको आरोपमा दोषी ठहराउँदा कला दुनियाँका धनी संरक्षकहरू स्तब्ध भए। तिनीहरू अनि तिनीहरूका लिलामी गृहरूले ८४,३०,००,००० अमेरिकी डलर जरिवाना र क्षतिपूर्ति तिर्नुपर्ने भएको छ! अतः समाजको हरेक तहमा पैसाप्रतिको कहिल्यै नअघाउने लोभ व्याप्त छ।

सन्‌ १९९७ मा ब्राजिलको रेसिफमा प्रहरीहरूको हड्‌तालबाट उत्पन्‍न परिस्थितिले अधिकांश मानिसहरू कुनै निरीक्षण नहुँदा सजिलै अपराध गर्न उन्मुख हुन्छन्‌ भन्‍ने कुरालाई स्पष्ट पार्छ। तिनीहरूको धार्मिक विश्‍वासले तिनीहरूको आचरणलाई केही असर गर्दैन। तिनीहरूले नैतिकता र सिद्धान्तलाई सजिलै फितलो बनाउन अथवा त्याग्न सक्छन्‌। अधिकांश देशका प्रहरीहरू चाहे कम होस्‌ या बढी अराजकतातर्फ उन्मुख विश्‍वसित कहिल्यै नजित्ने युद्ध लडिरहेकोमा अचम्म मान्‍नु पर्दैन।

अर्कोतिर, केही मानिसहरू नियमपालक हुन्छन्‌ किनकि तिनीहरू अख्तियारको आदर गर्छन्‌। प्रेरित पावलले रोमी मसीहीहरूलाई परमेश्‍वरले अनुमति दिनुभएको अख्तियारको अधीनमा बस्ने आग्रह गरे किनकि तिनीहरूले केही हदसम्म भए पनि समाजमा सुव्यवस्था कायम गर्छन्‌। यस्तो अख्तियारबारे उनले यसरी लेखे: “तिनी खराब काम गर्नेमाथि क्रोधको निम्ति बदला लिने परमेश्‍वरका सेवक हुन्‌। यसकारण क्रोधको खातिर मात्र होइन, तर अन्तस्करणको निम्ति पनि तिमीहरूलाई अधीनमा रहनु उचित छ।”—रोमी १३:४, ५.

सामाजिक अवस्थामा परिवर्तन ल्याउने

प्रहरीहरूको कामले पक्कै पनि सामाजिक अवस्थामा केही हदसम्म सुधार ल्याउन मदत गर्छ। सडक अवैध लागूऔषध अनि हिंसाबाट मुक्‍त देखिएमा मानिसहरूले समाजको सुध्रिएको छविसितै बाँच्ने प्रयास गर्छन्‌। तर साँच्चै भन्‍ने हो भने, समाजलाई परिवर्तन र सुधार गर्नु प्रहरीको क्षमताभन्दा बाहिरको कुरा हो।

के तपाईं एउटा यस्तो समाजको कल्पना गर्न सक्नुहुन्छ जहाँ मानिसहरूले प्रहरीहरूको आवश्‍यकता नै नपर्ने गरी नियमहरूको आदर गर्छन्‌? के तपाईं एउटा यस्तो संसारको कल्पना गर्न सक्नुहुन्छ जहाँ मानिसहरू छर-छिमेकीहरूलाई मदत गर्न सधैं तत्पर हुन्छन्‌ र मदतको लागि प्रहरीलाई बोलाउनै पर्दैन? सायद तपाईंलाई यो सपना जस्तो मात्र लाग्ला। येशूले भन्‍नुभएका यी शब्दहरूको प्रसंग फरक भए तापनि यी शब्दहरू अवश्‍य पूरा हुनेछन्‌। उहाँले यसो भन्‍नुभयो: “मानिसहरूबाट ता यो असम्भव छ, तर परमेश्‍वरबाट सबै कुरा सम्भव छ।”—मत्ती १९:२६.

बाइबलले भविष्यको एउटा यस्तो समयबारे बताउँछ जब सारा मानवजाति यहोवा परमेश्‍वरले स्थापना गर्नुभएको सरकारको अधीनमा बस्नेछन्‌। “स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ . . . त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ।” (दानियल २:४४) सबै निष्कपट मानिसहरूलाई परमेश्‍वरको प्रेमको मार्ग सिकाएर यस नयाँ सरकारले अपराध उत्पन्‍न गर्ने सामाजिक अवस्थामै परिवर्तन ल्याउनेछ। “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) यहोवाले नियुक्‍त गर्नुभएको राजा येशू ख्रीष्टले सबै अपराधहरू रोक्न सक्नुहुनेछ। “उहाँले मुख हेरेर इन्साफ गर्नुहुनेछैन, औ कानले सुनेर मात्र विचार गर्नहुनेछैन। तर गरीबहरूको न्याय उहाँले ठीकसित गर्नुहुनेछ, र पृथ्वीलाई लौरोले झैं आफ्नो वचनले हिर्काउनुहुनेछ, र आफ्नो सासले दुष्टलाई नाश गर्नुहुनेछ।”—यशैया ११:३, ४.

त्यहाँ न त अपराधीहरू न अपराध नै हुनेछ। प्रहरीको आवश्‍यकता पर्ने छैन। सबै जना “आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।” (मीका ४:४) यदि तपाईं बाइबलमा वर्णन गरिएको “नयाँ पृथ्वीको” एक भाग बन्‍न चाहनुहुन्छ भने परमेश्‍वरले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएका कुराहरू जाँच्ने समय अहिले नै हो।—२ पत्रुस ३:१३. (g02 7/8)

[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]

के तपाईं एउटा यस्तो समाजको कल्पना गर्न सक्नुहुन्छ जहाँ मानिसहरूले प्रहरीहरूको आवश्‍यकता नै नपर्ने गरी नियमहरूलाई आदर गर्नेछन्‌?

[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]

त्यहाँ न त अपराधीहरू न अपराध नै हुनेछ

[पृष्ठ ११-मा भएको पेटी/चित्र]

प्रहरी अनि आतंकवादी

सेप्टेम्बर ११, २००१ मा न्यु योर्क शहर र वासिङटन डि.सी.-मा घटेका घटनाहरूले विमान अपहरणकारी, बन्धक बनाउने व्यक्‍तिहरू, अनि आतंकवादीहरूले जनताको सुरक्षा गर्ने प्रहरीको काममा कठिन चुनौतीहरू खडा गरेका छन्‌ भन्‍ने कुरा स्पष्ट हुन्छ। विश्‍वका धेरै भागहरूमा प्रहरीहरूका विशेष टोलीलाई बिसाइराखेको विमानमा तुरुन्तै प्रवेश गरी त्यसलाई नियन्त्रणमा लिन तालिम दिइएको छ। तिनीहरूले कसैलाई अत्तोपत्तो नदिई छतबाट झर्ने, झ्यालबाट हाम फाल्ने, भवनभित्र बेहोस पार्ने ग्रिनेड र अश्रुग्याँसका डिब्बाहरू फ्याँकेर भवनभित्र छिर्ने तालिम लिएका छन्‌। यस्ता तालिम प्राप्त अधिकारीहरू अपहरित व्यक्‍तिहरूलाई सकेसम्म कम खतरा पुऱ्‍याइ आतंकवादीहरूलाई झुक्याउन अनि परास्त गर्न अक्सर सफल भएका छन्‌।

[स्रोत]

James R. Tourtellotte/ U.S. Customs Service

[पृष्ठ १२-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारमा आवश्‍यक नपर्ने चीजहरू