प्रहरीहरू—तिनीहरू किन आवश्यक छन्?
प्रहरीहरू—तिनीहरू किन आवश्यक छन्?
प्रहरीविनाको जीवन कस्तो होला? सन् १९९७ मा दस लाखभन्दा बढी मानिसहरू बसोबास गर्ने ब्राजिलको रेसिफ नाउँ गरेको शहरमा १८,००० जना प्रहरी अधिकृतहरूले हड्ताल गर्दा कस्तो हालत भयो होला?
द वाशिंगटन पोस्ट यस्तो रिपोर्ट गर्छ “अशान्तिले भरिएको पाँच दिनमा यस तटवर्ती महानगरपालिकामा नरहत्या साबिकभन्दा तीन गुणा बढ्यो। आठवटा बैंक लुटिए भने बजारमा अपराधी गिरोहहरू यत्रतत्र तोडफोड गर्दै अनि धनीहरू बस्ने इलाकामा गोली चलाउँदै एकपछि अर्को आपराधिक गतिविधिहरू गर्दै हिंडेका छन्। अनि कसैले पनि ट्राफिक नियमहरू पालन गरिरहेका छैनन्। . . . अपराधले सीमा नाघेकोले लासहरू शवगृहमा समेत अटाएका छैनन् र राज्यकै सबैभन्दा ठूलो अस्पतालमा बन्दुकको गोली अनि छुरा प्रहारबाट घाइते भएकाहरूको संख्या वृद्धि भएर घाइतेहरू भूँइमा अलपत्र लडिरहेका छन्।” कानून सचिवले यस्तो रिपोर्ट दिए: “यस्तो किसिमको अराजकपूर्ण स्थिति यहाँ कहिल्यै भएको थिएन।”
हामी जहाँ बसे तापनि आडम्बरी सभ्यताभित्र दुष्टता लुकेर रहेको हुन्छ। हामीलाई प्रहरी सुरक्षा चाहिन्छ। हो, हामीमध्ये धेरैले केही प्रहरी अधिकारीहरूको क्रूरता, भ्रष्टाचार, भावशून्यता अनि शक्तिको दुरुपयोगबारे सुनेका छौं। यस्ता घटनाहरू कुनै देशमा बढी त कुनै देशमा कम हुन सक्छन्। तर प्रहरीहरू नभएका भए के हुन्थ्यो होला? प्रहरीहरूले अक्सर महत्त्वपूर्ण सेवा प्रदान गर्छन् भन्ने कुरालाई कसले पो नकार्न सक्छ र? ब्यूँझनुहोस्!-ले विश्वका विभिन्न ठाउँका प्रहरीहरूलाई तिनीहरूले यस पेसा नै रोज्नुको कारणबारे सोध्यो।
समाज अनि समाज सेवा
इभान नाउँ गरेका एक जना बेलाइती प्रहरीले यसो भने, “मानिसलाई मदत गर्दा मलाई आनन्द लाग्छ। म प्रहरीहरूको कामको विविधता देखेर नै यस
पेसातर्फ आकर्षित भएको हुँ। अपराध नियन्त्रण त प्रहरीले गर्ने २० देखि ३० प्रतिशत काम मात्र हो भनी धेरैले बुझेकै छैनन्। यसलाई धेरै हदसम्म सामाजिक कार्य अर्थात् समाज सेवा भन्न मिल्छ। एक दिन गस्ती गर्दा मैले आकस्मिक मृत्यु, ट्राफिक दुर्घटना, अपराध अनि अलमल्लमा परिरहेको वृद्धा जस्ता समस्याहरूलाई सुल्झाउनु पर्ने हुन्छ। हराएको बच्चा आमाबाबुलाई बुझाउँदा वा अपराधको सिकार भएकाहरूलाई भावनात्मक चोट सहन मदत गर्न पाउँदा मलाई विशेष सन्तुष्टिको अनुभूति हुन्छ।”स्टेफन संयुक्त राज्य अमेरिकाकाका भूतपूर्व प्रहरी अधिकारी हुन्। उनी भन्छन्, “मानिसहरूले निष्कपटसाथ मदत माग्दा एक जना प्रहरी अधिकारीको हैसियतमा तिनीहरूलाई यथासक्य मदत गर्न तपाईंसित स्रोतसाधन र समय अर्थात् आवश्यक सबै कुरा हुन्छ। म यस पेसाप्रति आकर्षित हुनुको कारण पनि यही नै हो। म हरबखत मानिसहरूको मदतको लागि सधैं तत्पर रहन अनि तिनीहरूको बोझ हल्का गर्न चाहन्थें। मानिसहरूलाई अपराधबाट बचाउन आफूले केही हदसम्म भए पनि तिनीहरूलाई मदत गरेको जस्तो मलाई लाग्छ। पाँच वर्षमा मैले १,००० जना जति अपराधीहरूलाई पक्रें। तर हराएको बच्चाहरूलाई भेट्टाउनु, सुद्धी हराउने अलजाइमर्सका बिरामीहरूलाई मदत गर्नु, चोरिएका गाडीहरू फिर्ता ल्याउनेजस्ता कार्यहरूले बेग्लै सन्तुष्टि दिन्छ। अनि शंकास्पद अपराधीलाई पिछा गर्दै पक्रनु पनि कम रोमाञ्चाक छैन।
रोबर्टो नाउँ गरेका एक बोलिभियाली अधिकारीले यसो भने, “म संकटमा परेका मानिसहरूलाई मदत गर्न चाहन्थे। बाल्यकालदेखि नै मलाई प्रहरीहरू मनपर्थ्यो किनकि तिनीहरूले मानिसहरूलाई खतराबाट बचाउँछन्। जागिरको सुरु-सुरुमा मैले सरकारी कार्यालयहरू भएको शहरको एक मुख्य भागमा गस्ती गर्ने टोलीको जिम्मा पाएको थिएँ। हामीले दिनहुँजसो राजनैतिक प्रदर्शनकारीहरूको सामना गर्नुपर्थ्यो। परिस्थितिलाई हिंसामा परिणत हुन नदिनु नै मेरो मुख्य काम थियो। मैले आफ्नो अनुभवबाट आफू ती प्रदर्शनकारीहरूका नेताहरूसित मित्रैलो अनि व्यावहारिक भएको खण्डमा धेरै मानिसहरूलाई घाइते बनाउन सक्ने दङ्गालाई रोक्न सक्ने रहेछु भन्ने कुरा मैले पत्ता लगाएँ। यसो गर्दा साँच्चै सन्तुष्टिको अनुभूति हुन्थ्यो।”
प्रहरीले दिने सेवाको दायरा बृहत् छ। तिनीहरूले रूखमा अल्झेको बिरालोलाई बचाउनेदेखि लिएर आतंककारीले बन्धक बनाएकाहरूलाई बचाउने अनि बैंक डकैती गर्नेहरूसित सामना गर्नेसम्मका कामहरू गर्छन्। यद्यपि, आधुनिक प्रहरीबलको सुरुआत भएदेखि नै तिनीहरू आशा अनि डरका केन्द्रबिन्दु भएका छन्। यसो हुनुको कारण के हो, अर्को लेखले बताउनेछ। (g02 7/8)
[पृष्ठ २, ३-मा भएको चित्र]
पृष्ठ २ अनि ३: चीनको चीङडुमा ट्राफिक नियन्त्रण गर्दै; ग्रीकका दङ्गा प्रहरी; दक्षिण अफ्रिकामा प्रहरी अधिकारीहरू
[स्रोत]
Linda Enger/Index Stock Photography
[पृष्ठ ३-मा भएको चित्र]
जुलाई २००१ मा ब्राजिलको साल्भाडोरमा प्रहरी हड्तालको दौडान लुटिएको पसल
[स्रोत]
Manu Dias/Agência A Tarde
[पृष्ठ ४-मा भएको चित्र]
स्टेफन, संयुक्त राज्य अमेरिका
[पृष्ठ ४-मा भएको चित्र]
रबर्टो, बोलिभिया