सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरी सुरक्षा—आशा अनि डरहरू

प्रहरी सुरक्षा—आशा अनि डरहरू

प्रहरी सुरक्षा—आशा अनि डरहरू

इंगल्याण्डमा १९ औं शताब्दीको सुरुतिर पेसेवर बर्दीवाला प्रहरीबलको प्रस्ताव राख्दा धेरैले त्यस प्रस्तावको विरोध गरे। तिनीहरूलाई केन्द्रीय सरकारको अधीनमा रहने सशस्त्र फौजले आफ्नो स्वतन्त्रतामा खतरा पुऱ्‍याउला भन्‍ने डर थियो। पछि गएर त्यो प्रहरीबल जोसेफ फुशाको अधीनमा रहेका फ्रेन्च प्रहरीहरू जस्तै गुप्तचर प्रहरीमा परिणत होला कि भनेर पनि कोही-कोही डराउँथे। यद्यपि, तिनीहरू यस्तो प्रश्‍न सोध्न बाध्य भए, ‘प्रहरीविना हाम्रो अवस्था कस्तो होला?’

लण्डन विश्‍वकै ठूलो अनि धनी शहर बनेको थियो। आपराधिक गतिविधिमा आएको वृद्धिको कारण उक्‍त शहरको व्यापारमा संकट छाइरहेको थियो। न रातका स्वयम्‌सेवक चौकीदार न त निजी क्षेत्रद्वारा सञ्चालित बो स्ट्रिट रनर अर्थात्‌ चोर पक्रने पेसागत व्यक्‍तिहरूले नै जनता र तिनीहरूका धनजनको सुरक्षा गर्न सके। आफ्नो पुस्तक दि इंग्लिस पुलिस: अ पोलिटिकल एण्ड सोसिएल हिस्ट्रि-मा क्लिभ इम्स्ली यसो भन्छन्‌, “एउटा सभ्य समाजमा आपराधिक अनि उच्छृङ्‌खल गतिविधि हुनुहुँदैन भन्‍ने कुराले दिन-प्रतिदिन मान्यता पाइरहेको थियो।” त्यसैकारण लण्डनवासीहरू, आशावादी हुँदै सर रोबर्ट पिलको निर्देशनमा पेसेवर प्रहरीबल गठन गर्न सहमत भए। a सेप्टेम्बर १८२९ मा पहिलो पटक महानगरपालिकाका बर्दी लगाएका प्रहरीहरूले गस्ती गर्न थाले।

प्रहरीहरूको आधुनिक इतिहासको थालनीदेखि नै तिनीहरूले आशा अनि डर पैदा गरेका छन्‌। सुरक्षा प्रदान गर्लान्‌ भन्‍ने आशा अनि शक्‍तिको दुरुपयोग गर्लान्‌ भन्‍ने डर।

अमेरिकी प्रहरीहरूको सुरुआत

संयुक्‍त राज्य अमेरिकामा पेसेवर प्रहरीबल तैनाथ गरिएको पहिलो शहर न्यु योर्क थियो। शहर भौतिक रूपमा सम्पन्‍न हुँदै जाँदा अपराध पनि बढ्‌न थाल्यो। सन्‌ १८३० को दशकमा सस्तो अखबार प्रकाशित हुन थालेपछि सारा परिवारहरूले अपराधसम्बन्धी सनसनीपूर्ण खबरहरू पढ्‌न सके। जनताले चर्को आवाज उठाए र १८४५ मा न्यु योर्कमा प्रहरीबल तैनाथ गरियो। त्यसबेला देखि नै न्यु योर्क र लण्डनवासीहरू एकअर्काको प्रहरीहरूदेखि आकर्षित हुन थालेका हुन्‌।

अमेरिकीहरूलाई पनि बेलाइतीहरूलाई जस्तै सरकारको अधीनमा रहने सशस्त्र प्रहरीबलदेखि डर थियो। तर दुवै राष्ट्रहरूले फरक-फरक समाधान सोचे। बेलाइतीहरूले लामो टोपी अनि गाढा नीलो रंगको बर्दी लगाएका भद्र पुरुष प्रहरीहरू राख्ने निर्णय गरे। तिनीहरूसित हतियारको नाउँमा हातमा समाउन मिल्ने काठको छोटो डन्डाबाहेक अरू केही हुँदैनथ्यो। आजसम्म पनि बेलाइती बबिज अर्थात्‌ प्रहरीहरूले आपत्‌कालीन अवस्थामा बाहेक अरूबेला बन्दुक बोक्ने गर्दैनन्‌। यद्यपि, एउटा रिपोर्टले यसो भन्छ, “पछि गएर बेलाइती प्रहरीहरू पक्कै पनि हातहतियारले सुसज्जित हुनेछन्‌ . . . भन्‍ने धेरैको सोचाइ छ।”

यद्यपि, संयुक्‍त राज्य अमेरिकामा सरकारी शक्‍तिको दुरुपयोग हुनसक्ने डरले अमेरिकी संविधानमा दोस्रो संशोधन गरियो जसअनुसार “जनताले पनि हातहतियार राख्न तथा बोक्न पाउँछन्‌।” फलस्वरूप, प्रहरीलाई बन्दुकको आवश्‍यकता पऱ्‍यो। यसो हुँदा अमेरिकी प्रहरी र अपराधीहरूबीच सडकमा गोली हानाहान हुनु सामान्य हुन थाल्यो र मानिसहरूले अक्सर अमेरिकी प्रहरी भन्‍ने बित्तिकै यही दृश्‍य कल्पना गर्न थाले। अमेरिकीहरूले बन्दुक बोक्नुको अर्को कारण अमेरिकी प्रहरीबलको सुरुआत लण्डनभन्दा बिलकुलै भिन्‍नै परिवेशमा भयो। जनसंख्या द्रुतगतिमा बढ्‌दै जाँदा न्यु योर्क अशान्त बन्‍न पुगेको थियो। विशेष गरी सन्‌ १८६१-६५ सम्म चलेको गृहयुद्ध सुरु भएपछि हजारौं युरोपेली तथा अफ्रिकी मूलका अमेरिकी आप्रवासीहरूको प्रवेशले जातीय हिंसालाई निम्त्यायो। प्रहरीहरूले झन्‌ कठोर तरिकाहरू अपनाउनुपर्ने आवश्‍यकता महसुस गरे।

त्यसैकारण भनिन्छ, प्रहरीहरू ननिको भए तापनि तिनीहरूको आवश्‍यकता छ। केही हदसम्म सुव्यवस्था तथा सुरक्षा होला भन्‍ने आशामा कहिलेकाहीं प्रहरीहरूले गर्ने ज्यादती सहन पनि जनता तयार थिए। यद्यपि, संसारका केही भागहरूमा एउटा बेग्लै प्रकारको प्रहरीबल देखा परिरहेको थियो।

खतरनाक प्रहरी

उन्‍नाइसौं शताब्दीको सुरुमा आधुनिक प्रहरीबलको विकास हुन थाल्दा अधिकांश मानवजाति युरोपेली साम्राज्यको अधीनमा थिए। साधारणतया युरोपेली प्रहरीहरू जनताको भन्दा शासकहरूको सुरक्षाको लागि गठन गरिएका थिए। आफ्नो मुलुकमा सशस्त्र सैन्य प्रहरीको विरोध गर्ने बेलाइती जनताले समेत आफूले उपनिवेश बनाएका देशहरूलाई आफ्नो अधीनमा राख्न सैन्य प्रहरी प्रयोग गर्नुमा कुनै आपत्ति जनाएनन्‌। पोलिसिङ अक्रस द वर्ल्ड नामक आफ्नो पुस्तकमा रोब मोबी यसो भन्छन्‌, “प्रहरी बर्बरता, भ्रष्टाचार, हिंसा, हत्या अनि शक्‍तिको दुरुपयोग जस्ता घटनाहरू उपनिवेशवादको इतिहासका सबै दशकहरूमा विद्यमान थिए।” युरोपेली उपनिवेशीय साम्राज्यको अधीनमा रहेका प्रहरीहरूले प्रदान गरेका केही फाइदाहरूलाई औंल्याइसकेपछि यसका असरहरूबारे उक्‍त पुस्तक यसो भन्छ, “यसले विश्‍वका सारा राष्ट्रहरूमा प्रहरीहरू जनताको सेवा गर्न खटिएका नभई एउटा सरकारी शक्‍ति हो भन्‍ने अमेट छाप पऱ्‍यो।”

तानाशाही सरकारहरूले आफ्नो सत्ता पल्टेला भन्‍ने डरमा जनताहरूको सुराकी गर्न अक्सर गुप्तचर प्रहरीहरू छोड्‌ने गर्छन्‌। यस्ता प्रहरीहरूले यातना दिएर जानकारीहरू ओकल्न लगाउँछन्‌ अनि व्यवस्था उल्टाउन खोज्नेहरूलाई हत्या गरी वा पुर्पक्ष नै नगरी पक्रेर नामेट पार्छन्‌। नाजीहरूको गेस्तापो, सोभियत युनियनको के जी बी, पूर्वी जर्मनीको स्टासी-जस्ता गुप्तचर प्रहरीहरू थिए। अचम्मलाग्दो कुरा के छ भने, स्टासी-ले लगभग १.६ करोड जनसंख्यालाई नियन्त्रणमा राख्न १,००,००० अधिकारीहरू र लगभग पाँच लाख गुप्तचरहरू नियुक्‍त गऱ्‍यो। ती अधिकारीहरूले चौबीसै घण्टा जनताको टेलिफोन वार्ता सुन्थे र पूरा जनसंख्याको एक तिहाइ जनताको लिखित रिपोर्ट तयार पार्थे। आफ्नो पुस्तक स्टासी-मा जोन कोइलर यसो भन्छन, “स्टासी अधिकारीहरूको सीमा र लाज हुँदैन्थ्यो। ठूलो संख्यामा प्रोटेस्टेन्ट अनि क्याथोलिक धर्मका पादरी र उच्च अधिकारीहरूलाई सुराकीको रूपमा नियुक्‍त गरिन्थ्यो। तिनीहरूको कार्यालय तथा पाप स्वीकार गर्ने ठाउँहरूमा सुराकी गर्ने उपकरणहरू लुकाएर राखिएका हुन्थे।”

यद्यपि, डरलाग्दा प्रहरीहरू तानाशाही सरकार भएको ठाउँमा मात्र सीमित थिएनन्‌। अन्य ठूला शहरहरूमा सुव्यवस्था कायम गर्ने नाउँमा प्रहरीहरूले विशेष गरी नाबालिगहरूलाई लक्षित गर्दै कडा नियम कानून लागू गर्दा तिनीहरूलाई अत्याचार गरेको आरोप लगाइएको छ। लस एन्जेलसको एउटा निकै चर्चा पाएको काण्डबारे टिप्पणी गर्दै एउटा खबरपत्रिका यसो भन्छ, यस काण्डद्वारा “प्रहरी दुर्व्यवहारले अराजकताको नयाँ रूप लिएको छ र एउटा नयाँ शब्द पनि जन्माएको छ, त्यो हो: प्रहरी अपराधी गिरोह।”

त्यसैकारण सरकारी अधिकारीहरू यस्तो प्रश्‍न सोधिरहेका छन्‌, प्रहरीविभागले आफ्नो छवि सुधार्न के गर्न सक्छन्‌? आफ्नो जनसेवाको भूमिकालाई प्रकाश पार्ने प्रयासमा धेरै प्रहरीहरूले प्रहरीसेवाको समाजमुखी पक्षलाई जोड दिएका छन्‌।

सामुदायिक प्रहरीसेवाको आशा

जापानको परम्परागत सामुदायिक प्रहरीसेवाले धेरै विदेशीहरूको ध्यान खिचेको छ। जापानी प्रहरीहरू स-साना इलाका चौकीहरूमा काम गर्छन्‌ र यो चौकी करिब एक दर्जन जति प्रहरीद्वारा पालैपालो सञ्चालन गरिन्छ। अपराधशास्त्रका बेलाइती प्राध्यापक तथा लामो समयदेखि जापानमा बसोबास गरिरहेका फ्रान्क लिसम्यान यसो भन्छन्‌, “कोबान अधिकारीहरूको मित्रैलो सेवाबारे सबै परिचित छन्‌: जापानका प्रायजसो नाउँविहीन सडकहरूबारे जानकारी दिने; पानीमा रुझेका पैदल यात्रुहरूलाई बेवारिसे छाता दिने; मातेका सरारीमेन अर्थात्‌ व्यापारीलाई घर पुग्न अन्तिम रेलमा चढाइदिने अनि ‘नगरिकहरूले भोग्ने समस्यहरूबारे’ सल्लाह दिने।” जापानका सडकहरू अत्यन्तै सुरक्षित छन्‌ भनी नाउँ कमाउन सक्नुको एउटा प्रमुख कारण पनि सामुदायिक प्रहरीसेवा नै हो।

के यस्तो किसिमको प्रहरीसेवा अन्यत्र पनि प्रभावकारी हुन सक्छ? अपराधशास्त्र अध्ययन गर्नेहरूले यसबाट केही पाठ सिक्न थालेका छन्‌। सञ्चारजगत्‌का आधुनिक उपलब्धिहरूले प्रहरी अनि तिनीहरूले सेवा गर्ने जनताहरूबीच दूरी उत्पन्‍न गरेका छन्‌। भनिन्छ, आज धेरैजसो शहरहरूमा प्रहरीहरूको काम अक्सर आपत्‌कालीन परिस्थितिमा मदत गर्नुमा मात्र सीमित हुनपुगेको छ। कहिलेकाहीं त अपराधलाई रोक्नुपर्ने प्रहरीहरूको मुख्य कार्य नै प्रहरीसेवाबाट हराइसकेको जस्तो देखिन्छ। यस्तो किसिमको प्रवृत्ति हटाउन सामुदायिक प्रहरीसेवा फेरि एक चोटि लोकप्रिय भएको छ।

सामुदायिक प्रहरीसेवा

आफ्नो कामबारे वेल्सका डियू नाउँ गरेका एक प्रहरी जवान यसो भन्छन्‌, “यो साँच्चै प्रभावकारी छ; यसले अपराध घटाउँछ। सामुदायिक प्रहरीसेवा भनेको मानिसहरूलाई एकअर्काको सुरक्षाप्रति सजग बनाउनु हो। हामी बैठकहरू आयोजना गर्छौं जसले गर्दा छिमेकीहरूले एकअर्कालाई चिन्‍न सक्छन्‌, नाउँ तथा फोन नम्बरहरू आदनप्रदान गर्छन्‌ अनि अपराध कसरी रोक्ने भनी ध्यान दिन्छन्‌। म यो योजनाबाट सन्तुष्ट छु किनकि यसले छरछिमेकीहरूमा सामाजिक भावनाको विकास गर्छ। मानिसहरूलाई अक्सर आफ्ना छिमेकीहरू को हुन्‌ भनेर पनि थाह हुँदैन। यस्ता योजनाहरू सफल हुन्छन्‌ किनकि यसले मानिसहरूमा जागरण ल्याउँछ।” यसले प्रहरी र जनताबीचको सम्बन्धलाई पनि सुधार्छ।

अर्को कदम पीडितहरूप्रति दयालु हुन प्रहरीहरूलाई प्रोत्साहित गर्नु हो। ख्यातिप्राप्त डच अपराधबाट पीडित भएका व्यक्‍तिहरूको अध्ययन गर्ने यान भान डाकले यस्तो लेखे: “डाक्टरहरूले बिरामीसित गर्ने व्यवहार जति महत्त्वपूर्ण हुन्छ प्रहरीले पीडितहरूसित गर्ने व्यवहार पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ भनेर प्रहरी अधिकारीहरूलाई सिकाउनै पर्छ।” अझै पनि धेरै ठाउँहरूमा प्रहरीले घरेलु हिंसा र बलात्कारलाई अपराधको रूपमा लिंदैनन्‌। तर रोब मोबी यसो भन्छन्‌, “हालैका वर्षहरूमा प्रहरीहरूले घरेलु हिंसा र बलात्कार जस्ता अपराधहरूलाई कारवाही गर्ने तरिकामा उल्लेखनीय सुधार आएको छ। यद्यपि, सुधार गर्न सकिने ठाउँहरू अझै छन्‌।” सबै प्रहरीहरूले सुधार गर्न सक्ने अर्को क्षेत्र प्रहरीहरूले गर्ने शक्‍तिको दुरुपयोग हो।

प्रहरी भ्रष्टाचारको डर

विशेष गरी प्रहरी भ्रष्टाचारका समाचारहरू फैलँदा कहिलेकाहीं प्रहरीबाट सुरक्षाको अनुभव गर्नु मूर्खतापूर्ण जस्तो लाग्न सक्छ। प्रहरी इतिहासको थालनी देखिनै यस्ता रिपोर्टहरू सुन्‍नमा आइरहन्थ्यो। सन्‌ १८५५ को वर्षलाई संकेत गर्दै एन  वाइ  पि  डिअ सिटी एण्ड इट्‌स पोलिस नामक पुस्तकले यस्तो वर्णन गर्छ, “अधिकांश न्यु योर्कवासीहरूलाई प्रहरी र अपराधीहरूबीच भिन्‍नता छुट्याउनै गाह्रो भइसक्यो।” डंकन ग्रीनद्वारा लिखित फेसेस अफ ल्याटिन अमेरिका नामक पुस्तकले रिपोर्ट गरेअनुसार प्रहरीहरू “व्यापक रूपमा भ्रष्टाचारमा मुछिनुका साथै अयोग्य अनि मानव अधिकारको उल्लंघन गर्नेहरू हुन्‌ भनी साराले चिन्छन्‌।” चौध हजार ल्याटिन अमेरिकी प्रहरीबलका प्रमुख अधिकारीले यसो भने: “एक जना प्रहरीले प्रति महिना १०० अमेरिकी डलर भन्दा कम कमाउँछ भने त्यस प्रहरीबाट तपाईं के आशा गर्न सक्नुहुन्छ? यदि उसलाई कसैले घूस दियो भने उसले के गर्ला?”

भ्रष्टाचार कत्तिको गम्भीर समस्या हो? यो प्रश्‍नको जवाफ तपाईंले सोध्ने व्यक्‍तिमा निर्भर हुन्छ। एक लाख जति जनसंख्या भएको शहरमा वर्षौं गस्ती गरेका एक जना उत्तर अमेरिकी प्रहरीको जवाफ यस्तो थियो: “पक्कै पनि केही प्रहरीहरू बेइमान छन्‌ तर बहुसंख्यक प्रहरीहरू त इमानदार नै छन्‌। मैले आफ्नो अनुभवबाट थाह पाएको कुरा यही नै हो।” अर्कोतिर, २६ वर्ष अनुभव बटुलिसकेका एक जना अपराध अनुसन्धाता यस्तो जवाफ दिन्छन्‌: “मलाई भ्रष्टाचार नभएको ठाउँ कतै छैन जस्तो लाग्छ। प्रहरीहरूमा इमानदारीता भन्‍ने कुरा एकदमै दुर्लभ भइसक्यो। लुटिएको घरमा खोजतलास गर्दा पैसा भेटियो भने त्यो पैसा सायद प्रहरी आफैले राख्नेछ। यदि चोरिएको केही किमती वस्तु प्राप्त गरेमा उसले त्यसको केही भाग आफूसित राख्नेछ।” किन केही प्रहरीहरू भ्रष्टाचारी बन्छन्‌ त?

कसै-कसैले निकै उच्च सिद्धान्त लिएर प्रहरीसेवा सुरु गरे तापनि पछि भ्रष्टचारी सहकर्मीहरूको दबाउ र अपराधी दुनियाँको पतित सिद्धान्तहरूले उसलाई वशमा पार्न सक्छ। ह्वाट कप्स नो नामक पुस्तकमा एक जना शिकागोका गस्ती प्रहरीको यस्तो भनाइलाई उद्धृत गरिएको छ: “कुर्कमीहरूसित व्यवहार गर्दा गर्दा प्रहरीहरूले कुकर्मलाई राम्ररी बुझिसकेका हुन्छन्‌। तिनीहरू हरबखत त्यस्तै वातावरणमा हुन्छन्‌। तिनीहरू यसैलाई स्पर्श गर्छन्‌ . . . यसैको स्वाद लिन्छन्‌ . . . यसैलाई सुँघ्छन्‌ . . . यसैलाई सुन्छन्‌ . . . यसैलाई कारवाही गर्छन्‌।” निरन्तर त्यस्ता विकृत सोचाइ राख्नेहरूसित सम्पर्क भइरहँदा तिनीहरूमा सजिलै नकारात्मक प्रभाव पर्न सक्छ।

प्रहरीहरूले महत्त्वपूर्ण सेवा प्रदान गर्ने भए तापनि यसलाई साह्रै उत्तम भनी भन्‍न सकिंदैन। के हामी अरू कुनै उत्तम कुराको आशा गर्न सक्छौं? (g02 7/8)

[फुटनोट]

a बेलाइती प्रहरीहरू तिनीहरूका संस्थापक सर रोबर्ट (बबी) पिलको नाउँबाट बबिज भनेर चिनिन्छन्‌।

[पृष्ठ ८, ९-मा भएको पेटी/चित्र]

“के बेलाइती प्रहरीहरू साँच्चै प्रशंसायोग्य छैनन्‌ र?”

प्रहरीबल राख्न सक्ने पहिलो देश बेलाइत नै हो। तिनीहरू आफ्नो समयनिष्ठ तथा कार्यकुशल बग्गीजस्तै आफ्नो समाज पनि सुव्यवस्थित भएको हेर्नचाहन्थे। सन्‌ १८२९ मा गृहसचिव सर रोबर्ट (बबी) पिलले संसद्‌लाई स्कटल्याण्ड यार्डमा मुख्यालय हुने गरी लण्डन महानगरपालिका प्रहरीबलको प्रस्ताव स्वीकृत गर्न राजी गराए। मतवालापन र सडकमा खेलिने जुवालाई कडा कारावाही गर्दा सुरुमा बेलाइती प्रहरीहरू अलोकप्रिय भए तापनि पछि गएर तिनीहरू मानिसहरूका प्रिय बन्‍न थाले।

सन्‌ १८५१ मा बेलाइती उद्योगको उपलब्धिहरूको भव्य प्रदर्शनी हेर्न लण्डनले सारा विश्‍वलाई सगर्व आमन्त्रित गरे। अतिथिहरू सुव्यवस्थित सडक देख्दा अनि जँड्याहा, वेश्‍या र गुण्डाहरू नदेख्दा अचम्म परे। कार्यकुशल प्रहरीहरूले भीड नियन्त्रण गरे, आगन्तुकहरूका मालसामान बोकिदिए, बाटो काट्‌न मदत गरे र वृद्धाहरूलाई बोकेर ट्याक्सीसम्म पुऱ्‍याउनेसमेत गरे। बेलाइती तथा विदेशी आगन्तुकहरूले यसो भनेको सुन्दा अचम्म मान्‍नु पर्दैन, “के बेलाइती प्रहरीहरू प्रशंसायोग्य छैनन्‌ र?”

तिनीहरू अपराध रोक्न यति निपुण थिए कि १८७३ मा चेष्टर शहरका प्रहरी प्रमुखले पेसागत अपराध पूर्णतया निर्मूल हुने समयको कल्पना गरे! प्रहरीहरूले एम्बुलेन्स अनि वारुणयन्त्र सेवाहरू पनि सञ्चालन गर्न थाले। तिनीहरूले गरिबहरूलाई जुत्ता अनि लुगाफाटा दिनेजस्ता दानपुण्यका कार्यक्रमहरू पनि सञ्चालन गर्थे। कोही-कोहीले केटाहरूको लागि क्लब, शैक्षिक भ्रमण र छुट्टी मनाउने गृहहरू सञ्चालन गर्थे।

निस्सन्देह, नयाँ प्रहरीहरूमा भ्रष्टाचार र क्रूरताजस्ता अनुशासनसम्बन्धी समस्याहरू थिए। तर थोरै प्रहरीबलद्वारा शान्ति सुव्यवस्था कायम गर्न सक्दा अधिकांश प्रहरीहरू गर्व गर्थे। सन्‌ १८५३ मा वाइगन लान्काशायरमा प्रहरीहरूले खानी मजदुरहरूको दंङ्‌गा सामना गर्नुपऱ्‍यो। खानी मालिकको बन्दुक प्रयोग गर्ने बारम्बार आग्रह गरिंदा पनि साहसी प्रहरी अधिकारीले आफ्नो अन्तरगत रहेका दस जना जवानहरूलाई त्यसो गर्न दिएनन्‌। सन्‌ १८८६ मा हेक्टर म्याकलिओड आफ्नो बुबाको पदचिह्नलाई पछ्याउँदै प्रहरीसेवामा भर्ती हुँदा, उनले आफ्नो बुबाबाट प्राप्त गरेको चिठीले उदाहरणीय मनोभावलाई प्रकट गर्छ। द इंलिस पोलिस मा उक्‍त चिठी यसरी उद्धृत गरिएको थियो: “कठोर हुँदा तिमीले जनताको सहानुभूति गुमाउँछौ। . . . मैले जनताको सुविधालाई प्रथम स्थान दिएँ किनकि प्रहरी भनेको समाज सेवक हो, जनताले नै तिमीलाई अहिले सेवा गर्न नियुक्‍त गरेका हुन्‌ र तिनीहरूलाई अनि तिम्रो कामान्डिङ अधिकारीलाई खुसी पार्नु तिम्रो कर्तव्य हो।”

महानगरपालिकाको अवकाशप्राप्त प्रहरी निरीक्षक हेडेन नाउँ गरेका प्रहरीले यसो भने: “हामीलाई सधैं नै आत्मसंयमसहित काम गर्न सिकाइन्थ्यो किनकि सफल प्रहरीलाई समाजको समर्थन चाहिन्छ। हाम्रो यो छोटो हाते डन्डा भनेको अन्तिम चारा हो र अधिकांश प्रहरीहरूले आफ्नो पेसा कार्यकालभरि यसलाई कहिल्यै प्रयोग गर्दैनन्‌।” डिक्सन अफ डक ग्रीन नाउँ गरेको एउटा लोकप्रिय टेलिश्रृंखलाले पनि बेलाइती प्रहरीहरूको सकारात्मक छविमा योगदान पुऱ्‍यायो। यो धारावाहिक २१ वर्ष सम्म चल्यो। यो धारावाहिक एक जना इमानदार प्रहरी जवानमा आधारित थियो जसले आफूले गस्ती गर्नुपर्ने इलाकाको सबै मानिसहरूलाई चिन्थे। यसले प्रहरीहरूलाई यही छविअनुसार काम गर्न उत्प्रेरित गरेको हुन सक्छ। तर वास्तवमा यसले बेलाइतीहरूलाई प्रहरीहरूप्रति मोहित बनायो।

सन्‌ १९६० को दशकमा बेलाइतीहरूको मनोवृत्तीमा परिवर्तन आयो र अधिकारीहरू राष्ट्रको गौरवको विषय नभएर शंकाको पात्र बन्‍न थाले। जनताको समर्थन पाउन तिनीहरूले आयोजना गरेका सामुदायिक प्रहरीसेवा जस्ता कार्यक्रमहरूको बावजूद, १९७० को दशकमा प्रहरीभित्र भ्रष्टाचार अनि जातीय भेदभाव जस्ता कुराहरूको रिपोर्टले प्रहरीहरूको छविलाई बिगाऱ्‍यो। हालसालै प्रहरीहरूलाई जातिवाद तथा दोषी ठहराउन झुटा प्रमाणहरू पेश गरेका धेरै आरोपहरू लागेपछि प्रहरीले आफ्नो छविमा सुधार ल्याउन केही निष्कपट प्रयास गरेका छन्‌।

[स्रोत]

Photograph above: http://www.constabulary.com

[पृष्ठ १०, ११-मा भएको पेटी/चित्र]

न्यु योर्कमा चमत्कार?

प्रहरीहरूले विशेष प्रयत्न गर्दा परिणाम उल्लेखनीय हुन सक्छ। धेरै समयसम्म न्यु योर्क शहर विश्‍वकै सबैभन्दा खतरनाक शहरहरूको सूचीमा पर्थ्यो अनि १९८० को दशकको अन्ततिर त निराश प्रहरीबलले आफ्नो नियन्त्रण नै गुमाएको जस्तो देखिन्छ। आर्थिक संकटले गर्दा सरकारले तलब बढाएन अनि सरकार प्रहरी जनशक्‍ति घटाउन बाध्य भयो। लागुऔषधका तस्करहरूले आफ्नो गतिविधि बढाए, फलतः हिंसा बढ्यो। शहरका बासिन्दाहरू बन्दुकको आवाज सुनेर सुत्नु पर्थ्यो। सन्‌ १९९१ मा ठूलो जातीय दंगा भयो अनि आफ्ना गुनासोहरू राख्दै प्रहरीहरूले चर्को आवाज उठाए।

यद्यपि, नयाँ प्रहरी प्रमुखले आफ्ना अधिकारीहरूलाई उत्प्रेरित गर्न चासो देखाए, तिनी इलाकाअनुसार रणनीति विश्‍लेषण गर्न नियमित रूपमा आफ्ना अधिकारीहरूसित भेट्‌ने गर्थे। एन  वाइ  पि  डि शीर्षकको आफ्नो पुस्तकमा जेम्स लार्डनर र थोमस रेपिटो यसो भन्छन्‌, “इलाका कमान्डरहरूले गुप्तचर वा लागुऔषध विभागका प्रमुखहरूबारे अखबारमा मात्र पढ्‌थे र तिनीहरूलाई विरलै भेट्‌थे। अहिले तिनीहरू सबै जना सँगै बसेर घण्टौं बैठक गर्छन्‌।” अपराध दर द्रुतगतिमा घट्‌न थाल्यो। हत्याको दर १९९३ मा २००० बाट घटेर १९९८ मा ६३३ पुग्यो। विगतका ३५ वर्षहरूमा यो सबैभन्दा कम संख्या हो। न्यु योर्कवासीहरूले यसलाई चमत्कार भन्‍न थाले। गत आठ वर्षमा ६४ प्रतिशतले अपराधमा कमी आएको छ।

कसरी यस्तो उपलब्धि हासिल भयो? जनवरी १, २००२ को द न्यु योर्क टाइम्स-मा दिइएअनुसार सफलताको एउटा कुञ्जी कम्पस्ट्याट हो, “यो एउटा अपराध सुराकी गर्ने प्रणाली हो र जसअनुसार घटना घट्‌ने बित्तिकै घटनाको पहिचान गर्न तथा तुरुन्तै कदम चाल्न हरेक हप्ता प्रत्येक इलाकाको तथ्यांक जाँच गरिन्छ।” भूतपूर्व प्रहरी अधिकृत बर्नाड किरिक यसो भन्छन्‌, “हामी पहिला अपराध कहाँ घटेको हो, किन घटेको हो, सो निरीक्षण गर्छौं, त्यसपछि उक्‍त इलाकालाई विशेष निगरानीमा राख्न त्यहाँ प्रहरीबल तथा आवश्‍यक स्रोत साधनहरू परिचालन गर्छौं। यसरी तपाईं अपराध घटाउन सक्नुहुन्छ।”

[पृष्ठ ७-मा भएको चित्र]

जापानको प्रहरी चौकी

[पृष्ठ ७-मा भएको चित्र]

हंगकंगमा ट्राफिक प्रहरी

[पृष्ठ ९-मा भएको चित्र]

बेलाइती फुटबल खेलमा भीडलाई नियन्त्रण गर्दै

[पृष्ठ ९-मा भएको चित्र]

दुर्घटनामा परेकाहरूलाई मदत गर्नु पनि प्रहरीको दायित्व हो