सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भारतीय रेल—देशभरि फैलिएको बृहत्‌ जालो

भारतीय रेल—देशभरि फैलिएको बृहत्‌ जालो

भारतीय रेल—देशभरि फैलिएको बृहत्‌ जालो

भारतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

चार हजार वर्षभन्दा अघि, उत्तरी भारतमा मजदुरहरू इँट बनाउँदै थिए। तथापि, आफूले बनाएका इँटहरू भारतीय उपमहाद्वीपमा रेलमार्गको बृहत्‌ जालो तयार पार्नको लागि प्रयोग हुनेछ भनी तिनीहरूले सायदै सोचेका थिए होलान्‌।

भारतीय रेल एउटा बृहत्‌ प्रणाली हो! एक अरबभन्दा बढी जनसंख्या भएको भारतमा यी रेलहरू नै यातायातका प्रमुख साधन हुन्‌। यहाँका मानिसहरूले साधारणतया गर्ने नियमित यात्राको अलावा भारतको परम्परागत संस्कृतिको कारण आफ्ना नातेदारहरूदेखि टाढा रहेका करोडौं मानिसहरू जन्म, मृत्यु, चाड-पर्व, विवाह वा बिरामी अवस्था जस्ता पारिवारिक जमघटहरूमा भेला हुन बारम्बार यात्रा गरिरहनु पर्ने हुन्छ।

हरेक दिन सालाखाला ८,३५० भन्दा बढी रेलहरू १ करोड २५ लाख यात्रुहरू बोकेर लगभग ८०,००० किलोमिटर लामो पटरीमा कुद्‌छन्‌। मालवाहक रेलहरूले १३ लाख टनभन्दा बढी मालसामान ओसारपसार गर्छन्‌। यात्रुवाहक र मालवाहक रेलले गरेर हरेक दिन पृथ्वीबाट चन्द्रमाको दूरीको साँढे तीन गुणा दूरी पार गर्छन्‌।

तपाईंले ६,८६७ स्टेशन, ७,५०० चलयन्त्र, २,८०,००० भन्दा बढी यात्रुवाहक तथा मालवाहक डिब्बाहरू र छोटो-छोटो रेलमार्ग समेत गरी जम्मा-जम्मी १,०७,९६९ किलोमिटर लामो पटरी विचार गर्नु भयो भने, भारतीय रेलले किन लगभग १६ लाख कर्मचारीहरूलाई काममा लगाउनु परेको रहेछ भनी सजिलै बुझ्नुहुनेछ। यो, संसारमा सबैभन्दा बढी कर्मचारी भएको कम्पनी हो। हो, यो साँच्चै बृहत्‌ छ!

यो बृहत्‌ जालो कसरी अस्तित्वमा आयो?

भारतमा रेलमार्ग बनाउन उत्प्रेरित गर्ने कुरा के थियो? यो बृहत्‌ योजना कहिले सुरु गरियो? अनि ती ४,००० वर्ष पुराना इँटहरू नि?—माथिको पेटी हेर्नुहोस्‌।

भारतले १९ औं शताब्दीको बीचतिर ठूलो परिमाणमा कपास उत्पादन गर्थ्यो र यो निर्यात गर्नको लागि सडक मार्गद्वारा बन्दरगाहसम्म पुऱ्‍याइन्थ्यो। तथापि, बेलाइतका कपडा कारखानाहरूमा कपास आपूर्ति गर्ने प्रमुख राष्ट्र भने भारत थिएन; अधिकांश कपास उत्तर अमेरिकाको दक्षिणपूर्वी प्रान्तहरूबाट आयात गर्थ्यो। तथापि, सन्‌ १८४६ मा अमेरिकी कपासको उत्पादन घटेको कारण र पछि सन्‌ १८६१ देखि १८६५ सम्म चर्किएको गृहयुद्धले गर्दा वैकल्पिक स्रोत अत्यावश्‍यक पऱ्‍यो। यसको विकल्प भारत थियो। तर इंग्ल्याण्डको लान्काशायरका मिलहरू चलाइराख्नको लागि छिटो ढुवानी गर्नुपर्थ्यो। फलस्वरूप इस्ट इन्डिया रेलवे कम्पनी (सन्‌ १८४५) र ग्रेट इन्डियन पेनिन्सुला रेलवे (सन्‌ १८४९) स्थापना गरियो। भारतीय उपमहाद्वीपको प्रमुख व्यापारीहरू अर्थात्‌ इंग्लिस इस्ट इन्डिया कम्पनीसँग पनि सम्झौताहरूमा हस्ताक्षर गरियो। जोडतोडले काम भयो र अप्रिल १६, १८५३ मा भारतको पहिलो रेलले बम्बईको (अहिलेको मुम्बई) बोरी बन्दर बन्दरगाहदेखि थाने शहरसम्मको ३४ किलोमिटर लामो यात्रा थाल्यो।

कपास उत्पादन हुने भित्री भागसम्म पुग्नको लागि बम्बईदेखि उबडखाबड पर्वतमाला हुँदो पश्‍चिमी घाट पार गर्नुपर्थ्यो। हजारौं भारतीय कामदारहरूको साथमा बेलाइती इन्जिनियर तथा कामदारहरू आधुनिक प्रविधिको सहयोगविना नै काममा खटिए। कहिलेकाहीं त एकै पटकमा ३०,००० सम्म कामदारहरू खटिएका हुन्थे। संसारमै पहिलो पटक घुम्तीहरू भएको रेलमार्ग बनाएर तिनीहरूले ५५५ मिटर उचाइँ चढ्‌नको लागि २४ किलोमिटर लामो पटरी बिछ्याए। तिनीहरूले कुल ३,६५८ मिटर लम्बाइ भएका २५ वटा सुरुङहरू खने। डेक्कन पठारसम्म रेलमार्ग बनेपछि रेल यातायात सुरु भयो। व्यापारिक दृष्टिकोणले मात्र होइन तर यस उपमहाद्वीपप्रति बेलाइतीहरूको चासो बढ्‌न थालेपछि सिपाहीको फौज र कर्मचारीहरू एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु पर्ने भएकोले पनि देशभरि नै द्रुत गतिमा काम हुन थाल्यो।

उन्‍नाइसौं शताब्दीदेखि प्रथम श्रेणीको रेल सुविधा सुरु हुन थालेपछि यसमा यात्रा गर्ने औकात भएका सीमित व्यक्‍तिहरूले धूवाँ र धूलो खानु परेन। निजी डिब्बामा आरामदायी बिछ्‌यौना, शौचालय तथा स्नानगृह, बिहानको चियादेखि बेलुकीको खानासम्म प्रबन्ध गरिदिनको लागि परिचारकहरू, डिब्बाभित्र शीतल बनाउन बरफले भरिएको भाँडोमा जडित पंखा, हजाम साथै भारतमा जन्मिएका लेखक रुड्यार्ड किप्लिङका नवीनतम उपन्यासहरू लगायत ह्विलरको रेलवे पुस्तकालयका थुप्रै साहित्यहरू हुन्थे। सन्‌ १८६० को दशकमा यात्रा गरेका लुइ रूजलेले भने कि तिनले “खासै थकान महसुस नगरिकनै लामो दूरी यात्रा” गर्नसके।

बृहत्‌ जालो अझै फैलन्छ

सन्‌ १९०० सम्ममा भारतीय रेलमार्गको जालो विश्‍वको पाँचौं ठूलो भइसकेको थियो। पहिले-पहिले विदेशबाट आयात गरिएका वाफ, डिजेल र विद्युत्‌बाट चल्ने चलयन्त्र र रेलका डिब्बाहरू स्थानीय तवरमै उत्पादन हुन थाल्यो। कुनै-कुनै २३० टनसम्मको चलयन्त्र, ६,००० अश्‍वशक्‍तिको विद्युतीय इन्जिन र ३,१०० अश्‍वशक्‍ति भएको १२३ टनका डिजेल इन्जिनहरू बडेमाका थिए। सन्‌ १८६२ मा संसारको पहिलो दुई तले रेलको सुरुआत गरियो। संसारको सबैभन्दा लामो प्लेटफर्म भारतमा छ। पश्‍चिम बंगालको खरगपुरमा ८३३ मिटर लामो प्लेटफर्म छ भने कलकत्ताको शेल्दामा छाना भएको सबैभन्दा लामो ३०५ मिटर लामो प्लेटफर्म छ।

सुरुका रेलहरू फराकिला पटरीहरूमा कुद्‌थे। पछि, खर्च घटाउनको लागि त्यसको सट्टा एक मिटर चौडा पटरी र पहाडतिरको लागि अझै साँघुरा खालका पटरीहरू प्रयोगमा ल्याइयो। सन्‌ १९९२ मा यूनीगेज प्रोजेक्ट सुरु गरियो र अहिलेसम्म ७,८०० किलोमिटर पटरीलाई साँघुरो वा एक मिटर चौडा पटरीबाट फराकिलो पटरीमा परिवर्तन गरिएको छ।

मुम्बई शहर बाहिरका रेलहरूले लाखौं यात्रुहरू बोक्छन्‌ र यसमा सधैंजसो कोचाकोच मानिसहरू हुन्छन्‌। कलकत्ताको भूमिगत रेलमार्गद्वारा दिनहुँ १७ लाख यात्रुहरू ओहरदोहर गर्न सक्छन्‌। सडकको सतहसँग-सँगै चल्ने भारतको सबैभन्दा पहिलो रेल प्रणाली चेन्‍नईमा (पहिलेको मद्रास) छ। टिकट किन्‍ने कम्प्युटर प्रणाली र मल्टिमिडियायुक्‍त सूचना केन्द्रहरू हालैका उपलब्धिहरू हुन्‌। यो एकदमै व्यस्त र फैलँदै गएको जालो हो।

रमाइला “खेलौना रेलहरू”

गर्मीबाट बच्नको लागि बेलाइती शासकहरू पहाडहरूतिर जान मन पराउँथे। चाँडै त्यहाँ पुग्ने परिकल्पनाले पर्वतीय रेलमार्गहरू र तिनमा चल्ने “खेलौना रेलहरू” बनाउन उत्साहित भए। घोडा चढेर वा पाल्कीमा बसेर जानुभन्दा रेलयात्रा छिटो हुने भयो। उदाहरणका लागि, यात्रुहरूलाई नीलगिरि पर्वतमा लैजानको लागि दक्षिण भारतको “खेलौना रेल” छन्‌। यसको औसत गति १०.४ किलोमिटर प्रतिघण्टा छ र सायद यो भारतको सबैभन्दा ढिलो चल्ने रेल हो। तर पहाडमा अवस्थित चिया तथा कफी बगानहरू हुँदै १,७१२ मिटरको उँचाइमा रहेको कूनूरसम्मको यो यात्रा साँच्चै रमाइलो हुन्छ! उन्‍नाइसौं शताब्दीको अन्ततिर बनेको यो पटरी हरेक एकाइ उँचाइ चढ्‌नको लागि १२ एकाइ दूरी पार गर्नु पर्ने गरी बनाइएको छ र यसमा २०८ वटा घुम्तीहरू तथा १३ वटा सुरुङहरू छन्‌। यसमा आप्ट पिनिअन ऱ्‍याक प्रणाली प्रयोग गरिएको छ। दाँतीजस्तो खाले ऱ्‍याक पाताले भऱ्‍याङको काम गर्छ जसमा इन्जिनले रेललाई पछाडिबाट धकेल्दै उकालो चढ्‌छ। यो पटरी ऱ्‍याक र टाँसिने प्रविधि प्रयोग गरेर बनाइएको संसारको सबैभन्दा पुरानो र ठाडो पटरीहरूमध्ये एक हो।

दार्जीलिङ हिमालयन रेलवे हरेक एकाइ उँचाइ चढ्‌नको लागि २२.५ एकाइ दूरी पार गर्नु पर्ने गरी बनाइएको ६१० मिलिमिटर चौडा पटरी चढ्‌दै समुद्र सतहदेखि २,२५८ उँचाइमा अवस्थित भारतको सबैभन्दा अग्लो ठाउँमा रहेको गूम स्टेशनसम्म पुग्छ। यस पटरीमा घुमाउरो हुँदै मास्तिर गएका तीनवटा मार्ग र विपरीत दिशातिर घुम्न सकिने छवटा घुम्तीहरू छन्‌। सबैभन्दा प्रख्यात बतासे घुम्तीले यात्रुहरूलाई रेलबाट हामफालेर घाँसे भीरहरू चढ्‌न र रेल माथि आइपुगेपछि फेरि यसमा चढ्‌न लोभ्याउँछ। यो यात्राको सबैभन्दा रोमाञ्चक पक्ष, संसारको तेस्रो अग्लो हिमाल, कञ्चनजङ्‌घाको दृश्‍य हो। सन्‌ १९९९ मा यो रेलमार्गलाई युनेस्कोले विश्‍व सम्पदा सूचीमा राखेपछि यसको भविष्य अझै सुनिश्‍चित भएको छ।

बेलाइती शासनको दौडान भारतको ग्रीष्मकालीन राजधानी रहेको, २,२०० मिटरको उँचाइमा अवस्थित सिम्ला पुग्न रेलले ९५ किलोमिटरको दूरीमा १०२ वटा सुरुङ, ८६९ वटा पुल र ९१९ वटा घुम्तीहरू पार गर्नु पर्ने हुन्छ। ठूलठूला झ्यालहरू र सिसाको छतबाट मनमोहक दृश्‍यहरू देख्न सकिन्छ। हो, “खेलौना रेलहरू” साँच्चै मनोरम छन्‌। तथापि, दुःखको कुरा, एकदमै सस्तो भाडा निर्धारण गरिएकोले पर्वतीय रेलहरू घाटामा गइरहेका छन्‌। यी रमाइला रेलहरूलाई बचाइराख्नको लागि कुनै समाधान निकाल्न सकिएला भन्‍ने कुरामा रेलका सौखिनहरू आशावादी छन्‌।

लामो यात्रा

भनिन्छ, रेलमार्गको उदयले भारतमा “एउटा युगको अन्त भएर अर्को युग सुरु भएको” संकेत गऱ्‍यो र “रेलमार्गले भारतलाई एकजुट पारेर अन्य कुनै पनि एकीकरण योजनाहरूले गर्न नसकेको काम गरेको छ।” यो सत्य हो! चाहनुहुन्छ भने तपाईं हिमालको काखमा अवस्थित जम्मूबाट रेल चढेर भारतको सबैभन्दा दक्षिणी भाग अर्थात्‌ अरब सागर, हिन्द महासागर र बंगालको खाडीको संगमस्थल कन्याकुमारीमा ओर्लन सक्नुहुन्छ। यो यात्रामा तपाईंले भारतका १२ वटा राज्यहरू हुँदै ३,७५१ किलोमिटर दूरी पार गर्न लगभग ६६ घण्टा बिताउनुहुनेछ। सुत्ने ठाउँको लागि समेत गरेर तपाईंलाई टिकटको लागि १५ अमेरिकी डलरभन्दा बढी खर्च लाग्नेछैन। तपाईंले विभिन्‍न संस्कृतिका मित्रैला तथा कुरा गर्न मन पराउने मानिसहरूसँग भेट्‌न सक्नुहुनेछ र यस रोमाञ्चकारी देशका थुप्रै कुराहरू देख्ने सुअवसर पाउनुहुनेछ। अहिल्यै आफ्नो सिट सुरक्षित बनाइहाल्नुहोस्‌ र तपाईंको यात्रा रमाइलो होस्‌! (g02 7/8)

[पृष्ठ १४-मा भएको पेटी]

ती पुरातन इँटहरू

बेलाइती राजको बेला (१७५७-१९४७) सिपाहीको फौजलाई लामो दूरी पार गर्नको लागि भारतीय उपमहाद्वीपको रेलमार्ग एकदमै उपयुक्‍त साबित भयो। भारतको पहिलो रेल उद्‌घाटन भएको तीन वर्षभित्रमै इन्जिनियरहरूले अहिले पाकिस्तानमा पर्ने कराँची र लाहोरबीच पटरी बिछ्याए। पटरीलाई नहल्लिने बनाउन ढुंगाहरू उपलब्ध थिएनन्‌, तर हरप्पा गाउँको नजिकै कामदारहरूले भट्टामा पोलेका इँटहरू भेट्टाए। स्कटल्याण्डका इन्जिनियरहरू जोन र विलियम ब्रन्टनले ढुंगाको सट्टा यी इँटहरू प्रयोग गर्नु उपयुक्‍त र कम खर्चिलो हुने महसुस गरे। कामदारहरूले यो ठूलो इँट भण्डार खोतल्दा माटोका स-साना मूर्तिहरू र अपरिचित भाषामा कुँदिएका वस्तुहरू पनि फेला परे तर यसले रेलमार्ग बनाउने सबैभन्दा महत्त्वपूर्ण काममा कुनै अवरोध खडा गरेन। हरप्पाको इँट प्रयोग गरेर १६० किलोमिटर लामो पटरी निर्माण गरियो। त्यसको पैंसठ्ठी वर्षपछि पुरातत्वविद्‌हरूले व्यवस्थित ढंगमा हरप्पा क्षेत्रको उत्खनन गरे र लगभग ४,००० वर्ष पुरानो पुरातन मेसोपोटामिया सभ्यता समयताकाको सिन्धुघाटी सभ्यताको आश्‍चर्यजनक अवशेषहरू पत्ता लगाए।

[पृष्ठ १६-मा भएको पेटी/चित्र]

कोंकण रेल—आधुनिक आश्‍चर्य

कोंकण, अरब सागर र शायद्री पर्वतमालाको बीचमा भारतको पश्‍चिमी समुद्री तटमा अवस्थित लामो भूभाग हो र यसको सबैभन्दा फराकिलो ठाउँको चौडाइ लगभग ७५ किलोमिटर छ। भारतको व्यापारिक केन्द्र मुम्बईदेखि मेंग्लोरको मुख्य बन्दरगाहसम्म फैलिएको कोंकण व्यापारको लागि उपयुक्‍त छ। यी समुद्री बन्दरगाहहरूबाट शताब्दीयौंसम्म भारतभित्र तथा अरू देशहरूसँग व्यापार गरिन्थ्यो। विशेष गरी मनसुनको समयमा नदीहरूमा दिशानिर्देश गर्न नसकिने हुनाले समुद्री यात्रा खतरनाक हुन्थ्यो र थुप्रै प्रकारका प्राकृतिक अवरोधहरूबाट बच्नको लागि सडक तथा रेलमार्गहरू पनि भित्री भू-भागहरूमा मात्र सीमित थिए। यस क्षेत्रका मानिसहरू विशेष गरी चाँडै बिग्रने खालका सामानहरू चाँडै ठूला बजारहरूमा पुऱ्‍याउनको लागि बन्दरगाहसम्म पुग्ने सीधा जमिन मार्ग चाहन्थे। यसको सामधान के थियो?

कोंकण रेल यस उपमहाद्वीपका लागि २० औं शताब्दीको सबैभन्दा ठूलो रेलमार्ग परियोजना थियो। यसको लागि के-के गर्नुपर्थ्यो? जमिनको सतहभन्दा २५ मिटरसम्म माथि उठाएर ७६० किलोमिटर लामो पटरी बनाउनु र २८ मिटर गहिरा गल्छीहरू काट्‌नु। साथै ५०० मिटर चौडा उपत्यका पार गर्नको लागि एसियाकै सबैभन्दा अग्लो, ६४ मिटर अग्लो पान्भल नदीको आकाशे पुल र शरावती नदीमाथिको २.०६५ किलोमिटर लामो पुललगायत २,००० भन्दा बढी पुलहरूको निर्माण कार्य समावेश थियो। रेलमार्गलाई जतिसक्दो सोझो बनाउनको लागि ३.२ किलोमिटरभन्दा लामा ६ वटा सुरुङलगायत ९२ वटा सुरुङ खनेर पहाडहरू छिचोल्नु पर्ने थियो। वास्तवमा भारतमा अहिलेसम्मको सबैभन्दा लामो सुरुङ यीमध्येकै एउटा अर्थात्‌ ६.५ किलोमिटर लामो कारबुदे सुरुङ हो।

यो कार्यमा भीमकाय अवरोधहरू थिए—मुसलधारे वर्षा, पहिरो र भूक्षयका साथै कडा चट्टानमा सुरुङ खन्‍नु र अझ गाह्रो कुरा त मञ्जन जस्तो खालको गिलो माटो। इन्जिनियरहरूको सीप र प्रविधिले यी सबै प्राकृतिक अवरोधहरू पार गर्नुपर्ने थियो। सुरुङभित्र ताजा हावा आवातजावत गर्न विभिन्‍न खालका पंखाहरूको प्रयोग गर्नु र अरू सुरक्षात्मक कदमहरू चाल्नु ती आफैमा जटिल कार्यहरू थिए। अनि ४२,००० जग्गाधनीहरूबाट जग्गा प्राप्त गर्न थुप्रै कानूनी झमेलाहरू थिए।

तथापि, जनवरी २६, १९९८ मा काम थालेको सात वर्षमा कोंकण रेलमार्गमा रेल गुड्‌न थाल्यो र यति ठूलो परियोजना त्यति थोरै समयमा पूरा गरेको रेकर्ड नै कायम भयो। मुम्बईदेखि मेंग्लोरसम्मको यात्रा पहिलेको घुमाउरो मार्गभन्दा १,१२७ किलोमिटर छोटो भयो र यात्रामा लाग्ने समय २६ घण्टाले कटौती भयो। कोंकण रेलमार्गले रेल यात्रीहरूलाई मनमोहक नयाँ दृश्‍य, पर्यटकहरूलाई घुम्नको लागि नयाँ ठाउँहरू उपलब्ध गरायो भने लाखौं व्यक्‍तिहरूको आर्थिक अवस्था उकास्यो।

[नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

मुम्बई

मेंग्लोर

[चित्र]

पान्भल नदीको आकाशे पुल, एसियाकै सबैभन्दा अग्लो पुल

[स्रोत]

Dipankar Banerjee/STSimages.com

[पृष्ठ १६-मा भएको पेटी/चित्र]

फेयरी क्वीन

चालु अवस्थामा रहेको वाफबाट चल्ने संसारको सबैभन्दा पुरानो चलयन्त्र फेयरी क्वीन हो। सन्‌ १८५५ मा इंग्ल्याण्डको लिड्‌समा किट्‌सन, थम्प्सन र हेविट्‌सनको इन्जिनियरिङ कम्पनीमा बनाइएको यो इन्जिनले कलकत्ता नजिकैको हावडा स्टेशनदेखि बंगालको रानीगञ्जसम्म डाँक रेल तान्‍ने गर्थ्यो। सन्‌ १९०९ मा यो सेवा बन्द भएपछि रेल पारखीहरूको लागि यसलाई नयाँ दिल्लीको राष्ट्रिय रेल संग्रहालयमा राखियो। भारतको स्वतन्त्रता दिवसको ५० औं वार्षिकी मनाउनको लागि यस वफादार इन्जिनलाई फेरि बाहिर निकालियो। सन्‌ १९९७ देखि फेयरी क्वीन एक्स्प्रेस दिल्लीदेखि राजस्थानको अलवरसम्मको १४३ किलोमिटर लामो मार्गमा पर्यटकहरू बोकेर छुक-छुक गर्दै गुडिरहेको छ।

[पृष्ठ १७-मा भएको पेटी/चित्र]

आरामदायी तथा द्रुत सेवा—भारतमा दुवै छन्‌!

आरामदायी भारतको पुरातन र प्रायजसो समृद्ध अतीत छ। महंगै भए तापनि यी रेलहरूमा यात्रा गर्ने हो भने भारतको त्यो समृद्ध इतिहासबारे थाह पाउन सकिन्छ। वाफद्वारा चल्ने चलयन्त्र प्यालेस अन ह्विल्स सन्‌ १९८२ देखि सुरु गरिएको हो। पहिले-पहिलेका राजा महाराजाहरूले उपभोग गर्ने सुखसुविधाहरूले सजिसजाउ भएका रेलका डिब्बाहरूले तिनीहरूको राजकीय सम्पदाको आभास दिन्छ। मोती जस्तो उज्यालो बाहिरी रूप, बर्मेली सालको चौकोस तथा खापा, स्फटिकका झाडहरू र उज्यालो तथा गाढा रंगको किनखाबले भव्यता झल्काउँछ। दरबारको जस्तो सुत्ने कोठा, खाना खाने कोठा, टहल्ने कोठा र पुस्तकालय, अन्तरराष्ट्रिय स्तरको पकवान र विशेष पोसाकमा सजिएका परिचारकहरूले साँच्चै यात्रुको मन बहलाउँछन्‌।

सन्‌ १९९५ मा पटरी फराकिलो बनाइएकोले नयाँ प्यालेस बनाइयो र पुराना डिब्बाहरू थन्किए। अहिले द रोयल ओरियन्ट नाउँको नयाँ आरामदायी रेल अझै पनि गुजरात र राजस्थानको एक मिटर चौडा पटरीमा कुदिरहेका छन्‌। विशेष गरी यी रेलहरू राती मात्र यात्रा गर्छन्‌ र दिउँसो यात्रीहरूले दृश्‍यावलोकन गरेर समय बिताउन सक्छन्‌। यात्रुहरू किल्ला, गढ र मन्दिरहरू भएको विशाल थार मरुभूमि भएर जान्छन्‌। यात्रुहरूले बालुवाका ढिस्काहरू उँट चढेर पार गर्न सक्छन्‌ र हात्तीमा सुप्रसिद्ध अम्बर फोर्ट जान सक्छन्‌। थुप्रै ऐतिहासिक घटनाहरूको संगालो र मणि तथा हस्तकलाका लागि प्रख्यात पिंक सिटी भनेर चिनिने जयपुर पनि नजिकै पर्छ। यस भ्रमणमा चरा आरक्षण, बाघ आरक्षण र जंगलमा पाइने एसियाली सिंहको एकमात्र वासस्थान पनि हेर्न सकिन्छ। उदयपुर ताल दरबार र अँ, ताज महल पनि हेर्न नभुल्नुहोस्‌ नि! यी र अरू थुप्रै कुराहरूले रेलमार्गको यात्रालाई अझै रोमाञ्चकारी बनाउँछ।

द्रुत सेवा भारतीय रेलहरूले फ्रान्स र जापानका द्रूतगतिका रेलहरूसँग प्रतिस्पर्धा गर्न त सक्दैनन्‌। तर एक शहरबाट अर्को शहरमा चल्ने भारतीय रेल सेवाका अति द्रुत गतिका १०६ जोडी रेलहरूमा एकदमै छिटो र आरामदायी यात्रा गर्न सकिन्छ। लगभग १६० किलोमिटर प्रतिघण्टाका दरमा हुइँकिने राजधानीशताब्दी रेलहरू आराम र सुविधाको दृष्टिकोणबाट हवाईयात्राभन्दा कम छैनन्‌। वातानुकूलित डिब्बाहरूमा सुत्न मिल्ने खालका सिटहरू वा आरामदायी सुत्ने ठाउँ हुन्छन्‌। यी प्रतिष्ठित रेलहरूको भाडामा खाना र खाजा, तन्‍ना, सफा पिउने पानी र स्वास्थ्य खर्च समावेश गरिएको हुन्छ।

[नक्सा]

जयपुर

उदयपुर

[चित्र]

हवा महल, जयपुर

ताज महल, आग्रा

द रोयल ओरियन्ट

“प्यालेस अन ह्विल्स” रेल भित्र

[स्रोत]

Hira Punjabi/STSimages.com

[पृष्ठ १३-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

नयाँ दिल्ली

[चित्र]

केही प्रमुख रेलमार्गहरू

वाफ, जावर

वाफ, दार्जीलिङ हिमालयन रेलवे (डि एच आर)

विद्युतीय, आग्रा

डिजेल, हैदराबाद

विद्युतीय, मुम्बई

डिजेल, सिम्ला

[स्रोत]

Map: © www.MapsofIndia.com

[पृष्ठ १५-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

मुम्बई

[चित्र]

चर्चगेट स्टेशन, मुम्बई

[स्रोत]

Sandeep Ruparel/STSimages.com

[पृष्ठ १५-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

नीलगिरि पर्वत

[चित्र]

वाफद्वारा चल्ने इन्जिनले “खेलौना रेललाई” भिरालो मार्गमा धकेल्छ

[पृष्ठ १८-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

दार्जीलिङ

[चित्र]

बतासे घुम्ती, यहाँ रेलमार्ग एकमाथि अर्को खप्टिएको छ

बतासे घुम्तीबाट कञ्चनजङ्‌घा हिमालको दृश्‍य

[पृष्ठ १४-मा भएको चित्रको स्रोत]

Trains on pages 2, 13, 15 middle, 16-18: Reproduced by permission of Richard Wallace