सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जूवा खेल्नुमा के खराबी छ?

जूवा खेल्नुमा के खराबी छ?

जूवा खेल्नुमा के खराबी छ?

“लगभग २,९०,००० अस्ट्रेलियालीहरू जूवा खेल्ने समस्यामा फसेका छन्‌। तिनीहरूले हरेक वर्ष २ खरब ३४ अरब रूपैयाँभन्दा बढी रकम जूवामा हार्छन्‌। अनि जूवा खेल्ने समस्यामा फसेकाहरूलाई त यसले असर गर्छ नै तर त्यसको अलावा जूवाको कारण उत्पन्‍न हुने टाट पल्टने, सम्बन्धविच्छेद, आत्महत्या र काममा ढिलो पुग्ने जस्ता समस्याहरूले करिब १५ लाख मानिसहरूलाई प्रत्यक्ष असर गर्छ।”—जे. हावर्ड, अस्ट्रेलियाका प्रधानमन्त्री, सन्‌ १९९९।

अघिल्लो लेखमा उल्लेख गरिएका जोन जूवा खेल्ने समस्यामा फसे। a तिनी अस्ट्रेलिया बसाइँ सरेपछि लिन्डा नाउँ भएकी जुवाडेसँग विवाह गरे। तर तिनको कुलत झन्‌-झन्‌ बढ्‌दै गयो। तिनी यसो भन्छन्‌: “पहिले म चिट्ठा मात्रै किन्थें भने, अब घोडदौडमा बाजी थाप्ने देखि लिएर क्यासिनोहरूमा गएर समेत जूवा खेल्न थालें। पछि गएर मैले हरेक दिनजसो नै जूवा खेल्न थालें। कहिलेकाहीं त म आफ्नो सबै तलब जूवामा उडाउँथें र मसँग ऋण तिर्न वा परिवारको लागि खानेकुरा किन्‍न एक पैसा पनि बाँकी हुँदैनथ्यो। म थुप्रै पैसा जित्दा पनि जूवा खेल्न छोड्‌दिनथें। मलाई जित्ने रोमाञ्चकताले कहिल्यै छोडेन।”

समाजमा जोनजस्ता मानिसहरूको कुनै कमी छैन। पूरै समाजलाई नै जूवाको ज्वरोले ग्रस्त तुल्याइसकेको छ जस्तो देखिन्छ। यु एस ए टुडे पत्रिकाले बताएअनुसार संयुक्‍त राज्य अमेरिकामा सन्‌ १९७६ देखि १९९७ को बीचमा कानूनी मान्यता प्राप्त जूवामा बाजी थाप्ने रकममा पत्याउनै नसक्ने गरी ३,२०० प्रतिशतले वृद्धि भयो।

“पहिले-पहिले जूवा खेल्नु नैतिक अनि सामाजिक तवरमा गलत हो भन्‍ने दृष्टिकोण राखिन्थ्यो। तर अचेल समाजमा यसलाई समय बिताउने तरिकाको रूपमा स्वीकार्न थालिएको छ” भनी क्यानाडाको अखबार द ग्लोब एण्ड मेल बताउँछ। आमधारणामा यस्तो परिवर्तन आउनुको एउटा कारणबारे औंल्याउँदै उक्‍त पत्रिका यसो भन्छ: “सम्भवतः क्यानाडाको इतिहासमा सबैभन्दा महंगो अनि धेरै लामो समयसम्म क्यानेडियाली सरकारले आफ्नो स्वामित्वका जूवा घरहरूमा जनताहरूलाई जूवा खेल्न गरेको खुलेआम आह्वान नै जूवाप्रति मानिसहरूको धारणामा परिवर्तन ल्याइदिने प्रमुख कारण बन्यो।” जूवालाई प्रश्रय दिने प्रयत्नहरूले कुनै-कुनै समाजलाई कस्तो असर पारेको छ?

जूवा खेल्ने समस्याको महामारी

हार्भड मेडिकल स्कूलको डिभिजन अन अडिक्शनको अनुमानअनुसार सन्‌ १९९६ मा “७५ लाख अमेरिकी वयस्कहरू जूवा खेल्ने समस्या तथा जूवा खेल्ने अनियन्त्रित बानीमा फसेका थिए” अनि थप “७९ लाख अमेरिकी किशोरकिशोरीहरू पनि जूवा खेल्ने समस्या तथा जूवा खेल्ने अनियन्त्रित बानीमा फसेका थिए।” यी तथ्यांकहरू नेशनल ग्याम्बलिङ्‌ इम्प्याक्ट स्टडी कमिशनले (एन जि आइ एस सि) यु. एस. कंग्रेस समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो। उक्‍त प्रतिवेदनले जनाएअनुसार अमेरिकामा जूवा खेल्ने समस्यामा फसेकाहरूको वास्तविक संख्या रेकर्ड गरिएकोभन्दा धेरै बढी हुन सक्छ।

जूवा खेल्ने समस्याको कुलतमा फसेका जुवाडेहरूको जागिर गुम्दा, स्वास्थ्य खस्कँदा, तिनीहरूलाई बेरोजगार भत्ता दिनुपर्दा र तिनीहरूको औषधोपचार गर्नुपर्दा संयुक्‍त राज्य अमेरिकाको समाजले हरेक वर्ष खरबौं रूपैयाँ खर्च गर्ने गरेको अनुमान गरिएको छ। तथापि, जूवा खेल्ने समस्याले गर्दा हुने चोरी, आर्थिक हिनामिना, घरेलु हिंसा र बालदुर्व्यवहारका कारण परिवार, साथी अनि सँगी कामदारहरूले भोग्नु परेको क्षति त यो तथ्यांकमा समावेश गरिएकै छैन। अस्ट्रेलियामा गरिएको एउटा अध्ययनअनुसार जूवा खेल्ने समस्यामा फसेको एक जना व्यक्‍तिले अरू दस जनासम्मलाई प्रत्यक्ष असर गर्न सक्छ। संयुक्‍त राज्य अमेरिकाको नेशनल रिसर्च काउन्सिलको रिपोर्टले बताएअनुसार “५० प्रतिशतसम्म विवाहित जोडी तथा १० प्रतिशत छोराछोरीले जूवा खेल्ने अनियन्त्रित बानी लागेकाहरूबाट शारीरिक दुर्व्यवहार भोग्छन्‌।”

संक्रामक कुलत

कुनै-कुनै रोगजस्तै जूवा खेल्ने समस्या पनि आमाबाबुबाट छोराछोरीमा सरेको देखिन्छ। “जूवा खेल्ने कुलतको विवशतामा परेका व्यक्‍तिहरूका छोराछोरीहरू धूम्रपान, मद्यपान, लागूपदार्थ सेवनजस्ता गैर-कानूनी क्रियाकलापहरूमा फस्ने सम्भावना बढी हुन्छ र तिनीहरूमा पछि गएर जूवा खेल्ने समस्या हुने वा जूवा खेल्ने अनियन्त्रित बानी बस्ने खतरा पनि बढी नै हुन्छ” भनी एन जि आइ एस सिको रिपोर्टले बताउँछ। “वयस्क जुवाडेहरूभन्दा किशोरावस्थाका जुवाडेहरू जूवा खेल्ने समस्या तथा जूवा खेल्ने अनियन्त्रित बानीमा फस्न सक्ने सम्भावना अझ बढी हुन्छ” भनेर पनि उक्‍त रिपोर्ट चेताउनी दिन्छ।

हार्भड मेडिकल स्कूलको डिभिजन अन अडिक्शन स्टडीजका निर्देशक डा. हावर्ड जे. शेफर यसो भन्छन्‌: “कानूनी मान्यता प्राप्त जूवा जत्ति बढ्‌दै गएको छ, जवानहरूले गैर-कानूनी रूपमा जूवा खेल्ने क्रम पनि त्यत्तिकै बढेको छ भन्‍ने कुरा असंख्य प्रमाणहरूले पुष्टि गर्छन्‌।” जूवा खेल्ने अनियन्त्रित बानी लागेकाहरूले इन्टरनेट प्रविधिको दुरुपयोग गर्न सक्ने सम्भावनाबारे तिनी यसो भन्छन्‌: “कोकेन पारखीहरूको स्वादमा अझ नशालु क्य्राक कोकेनले परिवर्तन ल्याएझैं मेरो विचारमा विद्युतीय उपकरणहरूले जूवा खेल्दा प्राप्त हुने अनुभूतिमा नै परिवर्तन ल्याउनेछन्‌।”

जूवा व्यवसायलाई अक्सर अहानिकारक रमाइलो प्रदान गर्ने माध्यमको रूपमा हेरिन्छ। तर किशोर किशोरीहरूको लागि जूवा अरू अवैध लागूपदार्थहरू जत्तिकै नशालु हुन सक्छ र यसले आपराधिक क्रियाकलापतर्फ उन्मुख गर्छ। संयुक्‍त अधिराज्यमा गरिएको सर्वेक्षणअनुसार जूवा खेल्ने किशोरकिशोरीहरूमध्ये “४६ प्रतिशतले आफ्नो घरबाट चोरी गरेर” जूवा खेल्ने गरेको कुरा पत्ता लाग्यो।

माथि दिइएका तथ्यहरूको बावजूद जूवा खेलाउने एउटा ख्यातिप्राप्त संस्थाले जूवा खेल्न प्रोत्साहन दिनु जायज छ भन्‍ने कुरा प्रस्ट्याउन यसो भन्यो: “जूवा खेल्ने बहुसंख्यक अमेरिकीहरूले पटक्कै समस्याको अनुभव गर्दैनन्‌।” तपाईंलाई जूवाले आफ्नो आर्थिक वा शारीरिक स्वास्थ्यमा कुनै नकारात्मक असर नपारेको जस्तो लागे तापनि जूवाले तपाईंको आध्यात्मिक स्वास्थ्यमा कस्तो असर पार्छ? के जूवा खेल्न छोड्‌नुपर्ने कुनै असल कारणहरू छन्‌? अर्को लेखमा यी प्रश्‍नहरूमाथि विचार गरिनेछ। (g02 7/22)

[फुटनोट]

a पृष्ठ ४ र ५ को “के ममा जूवा खेल्ने समस्या छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।

[पृष्ठ ४-मा भएको पेटी/चित्र]

के ममा जूवा खेल्ने समस्या छ ?

अमेरिकन साइक्य्राटिक असोसियसनअनुसार पृष्ठ ५ मा दिइएका निम्न बुँदाहरूले जूवा खेल्ने अनियन्त्रित बानी (कहिलेकाहीं जूवा खेल्ने विवशतामा परेको पनि भनिन्छ) लागेको हो कि होइन भनी पत्ता लगाउन मदत गर्न सक्छ। तपाईंसँग यीमध्ये थुप्रै आनीबानी मिल्छन्‌ भने तपाईं जूवा खेल्ने समस्यामा फसिसक्नुभएको छ र यीमध्ये कुनै एउटा आनीबानी मात्र मिल्छ भने तपाईं जूवा खेल्ने समस्यामा फस्ने खतरामा हुनुहुन्छ भन्‍ने कुरामा अधिकांश विज्ञहरू सहमत छन्‌।

सोचाइ तपाईं जूवा खेल्नेबारे मात्र सोच्नुहुन्छ; पहिला-पहिला जूवा खेलेका स्मृतिहरूबारे कल्पना गर्नुहुन्छ; अर्को पटक जूवा खेल्ने योजना बनाउनुहुन्छ वा जूवा खेल्ने पैसा कसरी जम्मा गर्ने होला भनी सोच्नुहुन्छ।

सहनशीलता जूवा खेल्ने तृष्णा मेटाउनको लागि अझ धेरै पैसा बाजीमा राख्दै जानुपर्ने हुन्छ।

त्याग्नु जूवा खेल्ने बानी कम गर्न वा चटक्कै छोड्‌न खोज्दा तपाईंलाई उकुसमुकुस हुने वा चाँडै रिस उठ्‌ने हुन्छ।

भाग्नु तपाईं समस्याहरूबाट भाग्न वा असहायपन, दोष, फिक्री वा निराशा जस्ता भावनाहरूको कारण हुने पीडा कम गर्न जूवा खेल्नु हुन्छ।

लखेट्‌नु जूवामा पैसा हारेपछि प्रायजसो तपाईं अर्को दिन जूवा खेलेर फेरि त्यो पैसा उठाउन खोज्नु हुन्छ। यस्तो बानीलाई आफ्नो नोक्सानलाई लखेट्‌नु भनिन्छ।

झूट बोल्नु तपाईं कत्तिको जूवा खेल्नु हुन्छ भन्‍ने कुरा लुकाउन परिवारका सदस्य, चिकित्सक वा अरूसँग झूट बोल्नु हुन्छ।

नियन्त्रण गुमाउनु तपाईं जूवा खेल्ने बानी हटाउन, नियन्त्रण गर्न वा कम गर्न बारम्बार प्रयास गर्नुहुन्छ तर पनि यसलाई काबुमा राख्न सक्नुहुन्‍न।

अवैध क्रियाकलापहरू आफ्नो लागि जूवा खेल्ने पैसा जुटाउन तपाईं जालसाजी, चोरी वा आर्थिक हिनामिना जस्ता अवैध क्रियाकलापहरूमा संलग्न हुनुहुन्छ।

महत्त्वपूर्ण सम्बन्ध जोखिममा पार्नु तपाईंले जूवाको कारण महत्त्वपूर्ण सम्बन्ध, शिक्षा, आरामदायी जीवन बिताउने सुअवसर वा जागिरलाई खतरामा पार्नुहुन्छ वा गुमाउनुहुन्छ।

परनिर्भरता जूवाको कारण उत्पन्‍न भएको नराम्रो आर्थिक अवस्थाबाट छुटकारा पाउन तपाईं अरूको आर्थिक सहायतामा भर पर्नुहुन्छ।

[स्रोत]

स्रोत: युनिभर्सिटी अफ सिकागोको नेशनल ओपिनियन रिसर्च सेन्टर, जेमिनी रिसर्च र द लेविन ग्रूप।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

चिट्ठा विज्ञापनको वास्तविक सन्देश

“चिट्ठाको प्रवर्धन गर्नुलाई . . . जूवा खेल्नु अहानिकारक वा नैतिक आचरण हो भनेर सिकाउने पाठको रूपमा हेर्ने गरिन्छ” भनी डुक विश्‍वविद्यालयका अनुसन्धाताहरू नेशनल ग्याम्बलिङ्‌ इम्प्याक्ट स्टडी कमिशन समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा बताउँछन्‌। वास्तवमा चिट्ठाको विज्ञापनले समाजमा कस्तो असर पार्छ? उक्‍त प्रतिवेदन यसो भन्छ: “चिट्ठा विज्ञापनको सन्देश अर्थात्‌ सही संख्या छान्‍नुमा सफलता निर्भर छ भन्‍ने सन्देश विनाशकारी हुन्छ भन्‍नु कुनै बढाइचढाइ गरिएको कुरा होइन। चिट्ठा व्यवसायीहरूले गरेको यस्तो ‘शैक्षिक’ क्रियाकलापले आर्थिक वृद्धि घटाउने भएकोले अन्ततः यसले गर्दा सरकारी राजस्व घट्‌न सक्छ। विशेष गरी चिट्ठाको प्रवर्धनले काम गर्ने, पैसा बचाउने र आफ्नो शिक्षा तथा प्रशिक्षणमा पैसा खर्च गर्ने झुकाउलाई निरुत्साहित गर्छ भने अन्ततः यसले उत्पादनशीलताको वृद्धि कमजोर तुल्याउँछ। जेसुकै होस्‌, चमत्कारद्वारा ठूलो धनराशी हात लाग्ने आशा गरेर बाजी लगाउने काम, हामीले आफ्ना छोराछोरीहरूलाई सिकाउन हुने कुरै होइन।”

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

हरेक घर नै क्यासिनो

अचेल जूवा खेलाउने संस्थाहरूले जूवाघर बनाउन खर्च हुने रकमको थोरै हिस्सा मात्र खर्च गरेर वेव साइटहरू तयार गर्छन्‌ जसले इन्टरनेट जडित कम्प्युटरको सहायताद्वारा हरेक घरलाई नै क्यासिनो जस्तो बनाइदिन सक्छन्‌। सन्‌ १९९० को दशकको बीचतिर इन्टरनेटमा जूवा खेल्ने साइटहरू लगभग २५ वटा मात्र थिए। सन्‌ २००१ मा १,२०० भन्दा बढी साइटहरू थिए। इन्टरनेटमा खेलिने जूवाबाट हुने आम्दानी हरेक वर्ष दोब्बर हुँदैछ। सन्‌ १९९७ मा जूवा खेलाउने साइटले २३ अरब ४० करोड रूपैयाँ आर्जन गऱ्‍यो। सन्‌ १९९८ मा त अझ ५० अरब ७० करोड रूपैयाँ आर्जन गऱ्‍यो। सन्‌ २००० मा इन्टरनेटमार्फत जूवा खेलाउने साइटहरूले १ खरब ७१ अरब ६० करोड रूपैयाँ आर्जन गऱ्‍यो भने सन्‌ २००३ सम्ममा यो तथ्यांक “४ खरब ९९ अरब २० करोड रूपैयाँ पुग्ने अनुमान गरिएको छ” भनी ऱ्‍युटर समाचार रिपोर्ट बताउँछ।

[पृष्ठ ६-मा भएको चित्र]

जूवा खेल्ने समस्याको कारण मानिसहरूले भोग्ने समस्याहरूमा परिवारको लागि खानेकुरा किन्‍ने पैसा नहुनु पनि समावेश छ

[पृष्ठ ७-मा भएको चित्र]

युवाहरूमाझ जूवा द्रुतगतिमा बढ्‌दैछ

[पृष्ठ ८-मा भएको चित्र]

जूवा खेल्ने कुलतको विवशतामा परेका व्यक्‍तिहरूका छोराछोरीहरू जूवा खेल्ने समस्यामा फस्ने खतरा बढी हुन्छ