सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अंकहरूप्रतिको मोह

अंकहरूप्रतिको मोह

अंकहरूप्रतिको मोह

विना अंकको संसार कल्पना गर्नुहोस्‌। यस्तो भइदिएको भए पैसा हुँदैनथ्यो। व्यापार भनेको मालसामानको साटासाट मात्र हुनेथियो। अनि खेलकुद नि? अंकहरू नभएको भए हामीले खेदकुदमा कुनै व्यक्‍ति वा समूहको प्राप्तांक राख्न नसक्ने मात्र होइन तर हरेक समूहमा कति जना खेलाडीहरू चाहिन्छन्‌ भन्‍ने कुरा पनि बताउन सक्ने थिएनौं।

तथापि, तिनीहरूको व्यावहारिक प्रयोगको अलावा अंकहरू रहस्यमय पनि छन्‌। किनभने अंकहरू अमूर्त हुन्छन्‌। तपाईं अंकलाई देख्न, छुन वा महसुस गर्न सक्नुहुन्‍न। उदाहरणका लागि: स्याउको आफ्नै रंग, बनोट, आकार, आकृति, बास्ना र स्वाद हुन्छ। तपाईं यी गुणहरू हेरेर कुनै वस्तु स्याउ, कागती, भकुण्डो वा वास्तवमा के हो भनी छुट्याउन सक्नुहुन्छ। तर अंक भने यस्तो हुँदैन। भिन्‍ना-भिन्‍नै वस्तुहरूलाई सात-सातवटाको समूहहरूमा राखेको खण्डमा तिनीहरूको अंक “सात” हुनुबाहेक अरू कुनै समानता हुँदैन। त्यसकारण, अंकहरूको अर्थ बुझ्न सक्नु; उदाहरणका लागि, छ र सातबीचको फरक बुझ्नु पक्कै पनि अमूर्त कुरा बुझ्नुजस्तै हो। अनि यसरी मानिसहरूले संख्याहरूको रहस्य पत्ता लगाउने कोसिस गर्न थाले।

पाइथागोरसदेखि मिथ्या विज्ञानसम्म

प्राचीन समाजमा अंकहरूलाई विशेष अर्थ दिनु सामान्य कुरा थियो। सा.यु.पू. छैटौं शताब्दीका युनानी दार्शनिक तथा गणितज्ञ पाइथागोरसले सबै कुराहरूलाई अंकको रूपमा परिणत गर्न सकिन्छ भनी सिकाए। तिनी अनि तिनका अनुयायीहरूले पूरै ब्रह्‍माण्ड नियम तथा समानुपातको उदाहरण हो भनी तर्क गरे। त्यसोभए, सबै भौतिक चीजहरूमा गणितीय सम्बन्ध अन्तर्निहित हुन्छ, होइन र?

पाइथागोरसको समयदेखि नै भविष्यवाणी गर्न र सपनाहरूको अर्थ खुलाउनका साथै कुनै कुरा सम्झने सहायकको रूपमा अंकहरू प्रयोग गरिंदै आएको छ। युनानी, मुसलमान तथा मसीहीजगत्‌का सदस्यहरूले अंकको प्रयोग गरेका छन्‌। हिब्रू धर्मशास्त्रको अर्थ लगाउने यहूदीहरूले संख्याशास्त्रको जमाट्रिया भन्‍ने प्रणाली अपनाएर हिब्रू वर्णमालाका २२ वटै अक्षरहरूलाई एउटा-एउटा संख्यात्मक मान दिए अनि हिब्रू धर्मशास्त्रमा लुकेको गुप्त अर्थ पत्ता लगाएको दाबी गरे।

आधुनिक समयको संख्याशास्त्र पनि यस्तै हो। अक्सर सुरुमा तपाईंको नाउँ र जन्म मिति लेखिन्छ। तपाईंको नाउँको हरेक अक्षरलाई एउटा-एउटा संख्यात्मक मान दिइन्छ। अनि यी मानहरूलाई तपाईं जन्मेको महिना र मितिको संख्यासित जोडेर संख्याशास्त्रीले तपाईंको मूलांक निकाल्छन्‌। त्यसपछि तिनले यी अंकहरूको अर्थ खुलाएर तपाईंको व्यक्‍तित्व, भित्री इच्छा र तपाईंको भाग्यको सविवरण दिन खोज्छन्‌।

सायद संख्याशास्त्रप्रतिको आकर्षण, यसलाई कत्तिको सही जस्तो देखिने गरी विश्‍लेषण गर्न सकिन्छ त्यसैमा निर्भर हुन्छ। “धेरै व्यक्‍तिहरूले अंकहरूको अर्थ आफूसँग ठ्याक्कै मिलेको देखेर संख्याशास्त्रमा विश्‍वास गर्न थालेका छन्‌” भनी एड्‌वर्ड अल्बर्टसन आफ्नो पुस्तक प्रोफेसी फर द मिलियन्स्‌-मा लेख्छन्‌। यद्यपि, संख्याशास्त्रलाई मिथ्या विज्ञान पनि भनिन्छ। किन? के यसले गर्ने दाबीहरूप्रति शंका गर्नुपर्ने कुनै कारणहरू छन्‌? (g02 9/8)

[पृष्ठ ५-मा भएको पेटी/चित्र]

बाइबलमा गोप्य सन्देश ?

पत्रकार माइकल ड्रोज्निनले आफ्नो पुस्तक द बाइबल कोड-मा दाबी गरेअनुसार तिनले हिब्रू धर्मशास्त्रको कम्प्युटर विश्‍लेषण गर्दा त्यसमा गोप्य सन्देशहरू फेला पारे। ड्रोज्निनले दाबी गरेअनुसार उक्‍त “सन्देशमा” “हत्याराले हत्या गर्नेछ” भन्‍ने शब्दका साथै यित्जाक रबिनको नाउँ भेट्टाइयो र यो कुरा इस्राएली प्रधानमन्त्री रबिनको हत्या हुनुभन्दा एक वर्ष पहिले पत्ता लागेको थियो।

अनुमान गरिएअनुसारै द बाइबल कोड-ले विवाद सिर्जना गऱ्‍यो। गणितज्ञ तथा भौतिकशास्त्री डेभ थोमसले कम्प्युटर विश्‍लेषण गर्ने हो भने जुनसुकै पदबाट पनि यस्तै गुप्त सन्देश प्राप्त गर्न सकिन्छ भन्‍ने कुरा प्रदर्शन गरे। ड्रोज्निनको पदबारे छानबिन गरेपछि थोमसले त्यो “सन्देश” “मूर्ख” र “कपटी” भएको कुरा पत्ता लगाए। थोमस भन्छन्‌, “तपाईं सम्भाव्य ठाउँहरूमा खोजतलास गर्नको लागि समय बिताउन र प्रयत्न गर्न तयार हुनुहुन्छ भने यस्ता गुप्त सन्देशहरू जहाँसुकै पनि पाउन सकिन्छ।”

कम्प्युटरसँग हिसाबकिताब गर्ने असीमित क्षमता हुने भएकोले यसले विभिन्‍न अक्षरहरू मिलाएर कुनै भविष्यवाणी गर्न प्रयोग गर्न सकिनेजस्तो शब्द तयार गर्न सक्छ। तर यो संयोग मात्र हो र यसले बाइबलमा गुप्त सन्देशहरू छन्‌ भन्‍ने कुरा प्रमाणित गर्दैन। a

[फुटनोट]

a थप जानकारीको लागि प्रहरीधरहरा, अप्रिल १, २०००, पृष्ठ २९-३१ हेर्नुहोस्‌।

[पृष्ठ ४-मा भएको चित्र]

पाइथागोरसले सबै कुराहरूलाई अंकको रूपमा परिणत गर्न सकिन्छ भनी सिकाए

[स्रोत]

Courtesy National Library of Medicine