सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आगोको दुई रूप

आगोको दुई रूप

आगोको दुई रूप

अस्ट्रेलियाको ब्यूँझनुहोस्‌! लेखकबाट

आगो मित्र वा शत्रु हुन सक्छ। आगोले कुनै दृश्‍यलाई सुन्दर बनाउन सक्छ भने कुनैलाई खत्तम पार्न सक्छ। ठूलो आगो अत्यन्तै विनाशकारी भएर नियन्त्रण गर्नै नसकिने हुन सक्छ।

आगोले गर्न सक्ने विनाशको एउटा उदाहरणस्वरूप १९९७ मा इन्डोनेसियामा घटेको घटनालाई लिन सकिन्छ। त्यस वर्ष लागेको डढेलोले देशमा ठूलो विनाश गऱ्‍यो, जमिनलाई क्षति पुऱ्‍यायो, मानिसहरूको स्वास्थ्य तथा अर्थतन्त्रमा हानि गऱ्‍यो। यहाँबाट फैलिएको आगोले जम्माजम्मी आठवटा छिमेकी राष्ट्र गरी ७.५ करोड मानिसलाई असर गऱ्‍यो। प्राप्त रिपोर्टअनुसार दुई करोड मानिसहरूलाई दम, श्‍वासप्रश्‍वाससम्बन्धी समस्या, मुटुको रोगका साथै आँखा र छालाको समस्याको लागि उपचार गर्नुपऱ्‍यो।

सिंगापुरमा प्रदूषणको तह बढेर खतरनाक साबित भयो। शहर पूरै धूँवाले ढाकिएको थियो। आफ्नो एयर-कण्डिशनयुक्‍त घरबाट बाहिर निस्कन डराएकी एउटी महिलाले यस्तो बिलौना गरिन्‌, “हामी आफ्नै घरमा कैदी भएका छौं।” एकदमै खराब दिनहरूमा भने तुवाँलोले टम्मै भरिएर मानिसले सूर्यसमेत देख्न सक्दैनथे।

त्यसपछिको साल १९९८ मा क्यानाडाको ब्रिटिश कोलम्बियाका ८,००० बासिन्दाहरू एकदमै दन्किरहेको आगोको प्रकोपबाट बच्न आफ्नो घर छोडेर भाग्नुपऱ्‍यो। यो त, त्यस वर्ष क्यानाडामा चर्केको लगभग एक हजारवटा डढेलोमध्ये एउटा उदाहरण मात्र हो जसमध्ये ११५ वटा त कुनै बिन्दुमा नियन्त्रण गर्नै सकिएनन्‌। क्यानाडाको उत्तरी एल्बर्टामा लागेको आगोले ९०,००० एकड जंगल स्वाहा पाऱ्‍यो। एक जना बासिन्दाले यस्तो टिप्पणी गरे: “आणविक बम विस्फोट भएझैं देखिन्थ्यो। सम्पूर्ण इलाकामा कालो बादल मडारिरहेको थियो।”

आगोको खतरनाक पक्ष

आगो, प्रकृतिको एकदमै शक्‍तिशाली तत्त्व हो। चर्किएको डढेलोले भूमिको आकार बदल्न सक्छ, वनस्पतिजगत्‌को सन्तुलनमा हेरफेर गर्न सक्छ, वन्यजन्तु र जनधनलाई खतरामा पार्न सक्छ।

भयावह आगोको कारण भूक्षय हुन सक्छ। अत्यधिक तापक्रमले माटो फुस्रो बनाउँछ र भीषण वर्षा भयो भने पहिरो जान्छ। यसले वनस्पतिलाई पनि असर पार्छ। कमजोर बोटहरू निस्सासिएर मर्छन्‌ तर अरू कतिले भने राम्ररी छाँटकाँट गर्न सक्छन्‌। दुःखको कुरा, काम नलाग्ने झारहरू प्रायजसो सजिलै फस्टाउँछन्‌ र छेउछाउका वनस्पतिलाई छिचोलेर आफ्नो प्रभुत्व देखाउन खोज्छन्‌।

अनि यसो हुँदा ती खास प्रकारका वनस्पतिमा भर पर्ने जनावरहरू पनि खतरामा पर्छन्‌। अस्ट्रेलियाका कोआला तथा बुरुसजस्तो पुच्छर भएका पोसम, लोप हुन लागेका जनावरहरूको सूचीमा पर्छन्‌। तिनीहरूको प्राकृतिक बासस्थान आगोले सर्वनाश गरेको खण्डमा तिनीहरू लोप हुन कति बेर पनि लाग्दैन। गत २०० वर्षको दौडान अस्ट्रेलिया महादेशले आफ्नो ७५ प्रतिशत उष्ण-कटिबन्धीय जंगल, ६६ प्रतिशत जंगल, १९ जातका स्तनपायी, ६८ जातका वनस्पति गुमाइसकेको छ। यी संसारको अरू कुनै भागमा पाइँदैनन्‌।

शहरहरूले नजिकैको जंगलहरूमा अतिक्रमण गर्दै लैजाँदा डढेलोको खतराले मानिसहरूलाई सजिलै प्रभाव पार्न सक्ने भएको छ। डिसेम्बर १९९७ मा अस्ट्रेलिया, सिड्‌नीको छेउछाउको इलाका र ब्लु माउन्टेन नजिकैका थुप्रै स-साना शहरहरूमा गरी ६,००,००० एकडभन्दा बढी जमिनमा आगो लागेको थियो। यसमध्ये आधाजसो डढेलो नियन्त्रण गर्न सकिएन। वारुणयन्त्र सेवा अधिकृतले बताएअनुसार तिनले गत ३० वर्षमा यत्तिको भयावह आगो देखेका थिएनन्‌। सयौंले आफ्नो घरबार छोड्‌नुपऱ्‍यो अनि कतिपयको घर खरानी भयो। आगोले दुई जनाको ज्यानसमेत लियो। गत साल २००१ डिसेम्बर महिनाको अन्ततिर सुरु भएको आगो बदमासहरूले जानाजानी लगाएका थिए भनेर पत्ता लाग्यो। त्यसले जंगली क्षेत्रमा १९ लाख एकड जमिन सर्वनाश गरेको थियो।

जब आगोले खतरा ल्याउँछ

नियन्त्रण गर्न नसकिने आगोको लागि थुप्रै कारणहरू जिम्मेवार हुन सक्छन्‌। एउटा त, एल निनोसित सम्बन्धित मौसम पद्धति अर्थात्‌ पृथ्वीमा कहिले गर्मी, कहिले सुक्खा मौसम हुने हावापानीको प्राकृतिक कारण हो। एल निनोको असाध्यै सुक्खा मौसमको प्रभावमा परेको कुनै पनि जमिनमा सजिलै आगो लाग्न सक्छ।

प्रायजसो मानिसहरूको लापरवाहले गर्दा आगो दन्कन्छ। जानाजानी कतै आगो लगाउनु भनेको थुप्रै देशमा जघन्य अपराध हो। अस्ट्रेलियाको न्यु साउथ वेल्समा कसैले जानाजानी आगो लगाइदिएर वा दुर्घटनाले गर्दा आधाभन्दा बढी आगलागी हुने गर्छ।

वातावरणप्रति गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा पनि गम्भीर आगलागी हुन सक्छ। वन फँडानी र कटानीले गर्दा जंगलहरूमा सजिलै आगो लाग्न सक्छ। जंगल कटानीले गर्दा जम्मा हुने काठको थुप्रोले सजिलै आगो सल्काउन सक्छ। कटानीले जमिन ओसिलो रहन पाउँदैन, बरु सूर्यको किरण भित्रसम्म छिरेर पातपतिंगर सबै सुक्खा बनाउन सक्छ। यस्तो अवस्थामा सल्केको सानो झिल्काले गर्दा आगो अनियन्त्रित हुन धेरै बेर लाग्दैन।

आर्थिक कारणहरूले पनि ठूलठूला आगलागी हुन सक्छन्‌। इन्डोनेसियामा डढेलो लगाएर गरिने खेती कार्य शताब्दीयौंदेखि गरिंदै आएको छ। यसले प्रकृतिको सन्तुलनमा खासै फरक पारेको छैन। किसानहरूले आगोको सदुपयोग गरेर नियन्त्रित ढंगमा प्रयोग गरेमा यसको प्रभाव प्राकृतिक आगोले वातावरणमा पार्ने सरह हुन्छ। तथापि, हालै आएर डढेलो लगाएर गरिने खेतीमा निकै वृद्धि भएको छ। खजूरको तेलजस्ता उत्पादनको बढ्‌दो विश्‍वव्यापी मागको पूर्ति गर्न पूरै जंगल फँडानी गरेर छिटो पैसा कमाउन सकिने खजूरको तेल निकाल्ने बोटहरू लगाउन थालिएको छ। डढेलो लगाइदिनु जंगल फँडानी गर्ने सबैभन्दा सजिलो तरिका हो। यसकारण, मानिसहरूले जंगलको जगेर्ना गर्दा हुने दीर्घकालीन लाभको वास्तै नगरी हजारौं एकड जमिनमा आगो लगाउँछन्‌।

आगोको मित्रैलो पक्ष

आगोले बर्बादी र विनाश ल्याउन सक्ने भए तापनि यसले विभिन्‍न जातका वनस्पति तथा वन्यजन्तुको लागि फाइदा पुऱ्‍याउन सक्छ। भनौं भने, प्रकृतिको सन्तुलन कायम राख्न यसले अत्यावश्‍यक भूमिकासमेत निर्वाह गर्न सक्छ। यसले यो कसरी गर्छ?

आगो, मानिसको सबैभन्दा पुरानो साथीमध्ये एउटा हो। यसले मानिसलाई न्यानो राख्नुका साथै उज्यालो प्रदान गर्छ र यो खाना पकाउने माध्यम पनि हो। आदिवासी अस्ट्रेलियनहरूले आफ्नो दैनिक कार्यहरू गर्न आगो प्रयोग गर्न थालेको शताब्दीयौं भइसक्यो। स्थानीय यान्युवा जातिको लागि आगो अत्यन्तै महत्त्वपूर्ण भएको हुँदा विभिन्‍न किसिमको आगो र त्यसको असर वर्णन गर्न तिनीहरूको भाषामा एक दर्जनभन्दा बढी शब्दहरू छन्‌। उदाहरणका लागि, तिनीहरू जंगलमा लागेको डढेलोलाई बुझाउन काम्बाम्बारा भन्‍ने शब्द प्रयोग गर्छन्‌। तिनीहरू सिकार गर्नलाई उपयुक्‍त, आगोले डढेर राम्ररी सेकिएको ठाउँ बुझाउन वारमान भन्‍ने गर्छन्‌। आकासतिर फर्केर बादलसरी धूवाँ बनेको अवस्थालाई तिनीहरू रूमारी भन्‍ने गर्छन्‌।

यी आदिवासीहरू आगो प्रयोग गरेर जमिन तयार पार्ने गर्छन्‌। तिनीहरू सानो, मन्द आगो प्रयोग गरेर मरेका, सुक्खा बोटहरू हटाउँछन्‌ किनभने जंगलमा लाग्ने आगोका यी मुख्य कारक हुन्‌। यसरी नियन्त्रित ढंगमा आगो प्रयोग गर्दा रैथानेले त्यही भूमिबाट आफ्नो जीवन धान्‍नुका साथै वनस्पति र जनावरहरूको आवासलाई सन्तुलनमा राख्न सकेका छन्‌। यसले गर्दा खतरनाक डढेलोबाट मानिसहरूमा पर्ने असर पनि कम भएको छ।

नियन्त्रित डढेलोको महत्त्व

लगभग २०० वर्षअघि युरोपेलीहरू अस्ट्रेलियामा बसोबास गर्न आउँदा मानिस, प्रकृति र आगोबीचको नाजुक सम्बन्धमा प्रतिकूल असर पर्न थाल्यो। युरोपेलीहरूको दृष्टिकोणमा आगो भनेको दबाउनुपर्ने कुरा थियो। आगलागी हुने क्रम घट्‌न थाल्यो तर सुकेका पातपतिंगरहरू थुप्रेपछि आगो लाग्दा एकदमै उग्र तथा अनियन्त्रित हुन थाल्यो। तथापि, हालै भने सरकारले आदिवासी अस्ट्रेलियनहरूबाट राम्रो पाठ सिकेका छन्‌ र नियन्त्रित डढेलो लगाउने नीति तय गरेका छन्‌। यसअनुसार भयावह आगलागी हुनदेखि रोक्न नियन्त्रित ढंगमा आगो लगाइन्छ। जंगलमा डढेलो लाग्ने बाहेक अन्य समयमा स-सानो आगो लगाइन्छ। यस्तो आगो मन्द गतिमा बिस्तारै फैलने हुँदा रूखहरूलाई असर नपारी फोहोर हटाउँछ। साधारणतया साँझको शीतले यो आगोलाई निभाउँछ।

नियन्त्रित ढंगमा आगो लगाउनुको उद्देश्‍य जनधनको सुरक्षा गर्नुका साथै स्थानीय वनस्पति तथा वन्यजन्तुको विविधता कायम राख्नु हो। अनि नियन्त्रित ढंगमा आगो लगाएर अनावश्‍यक जंगली घाँसपात फैलनदेखि रोक्न सकिन्छ। यसले स्थानीय वन्यजन्तुको संरक्षण गर्न चाहिने आवासको विविधता कायम गर्न पनि मदत गर्छ।

कुनै-कुनै जातका बोटबिरुवाको बीउ अंकुराउन आगामा भर पर्नुपर्ने हुन्छ। कुनै-कुनै बीउको बोक्रा असाध्यै कडा हुने हुँदा त्यो फुटाएर भित्र ओसिलो बनाउन आगो नै चाहिन्छ। अनुसन्धानले देखाएअनुसार आगोबाट निस्कने धूवाँले पनि बीउ अंकुराउन मदत गर्छ। भनिन्छ, बीउ अंकुराउन चाहिने तत्त्वहरूमध्ये ७० वटा धूवाँमा पाइन्छ र यसमध्ये एउटा महत्त्वपूर्ण तत्त्व, नाइट्रोजन डाइअक्साइड हो।

भर्खर मात्रै आगो लगाइएको जमिनमा नाइट्रोजन र फोस्फरसजस्ता तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छन्‌। आगोले पातपतिंगरमा जम्मा भइरहेको पोषण निष्कासन गर्छ, जमिनभित्र अझ बढी सूर्यको किरण छिर्न दिन्छ अनि नयाँ बोटहरूलाई जरा गाड्‌न दिने एकदमै उपयुक्‍त गरा तयार पार्छ। उदाहरणका लागि, आगो लगाएपछि एक प्रकारको जलवनस्पतिले फेरि बीउ उमार्छ अनि डढेलोपछिको वातावरणमा एकदमै फस्टाउँछ।

अरू थुप्रै जनावरलाई पनि डढेलोपछिको वातावरण निकै उपयुक्‍त भएजस्तो देखिन्छ किनभने यतिबेला उम्रने नयाँ वनस्पति एकदमै कमलो र रसिलो हुन्छ। कुनै-कुनै जातका कंगारुहरू भर्खरै आगो निभेको जंगलमा देखा पर्छन्‌ र भनिन्छ, तिनीहरूको बचाउ आगोमा निर्भर छ। यसो हुनुको कारण के हो भने, जनावरहरू गास र बासको लागि भर पर्ने वनस्पतिहरू फेरि उम्रन र फल दिन आगोमा निर्भर हुन्छन्‌।

अझ धेरै सिक्न बाँकी

आगोको दुइटा पक्ष पहिलेभन्दा अहिले राम्ररी बुझ्न सकिएको छ तर वातावरणसित आगोको अन्तरक्रिया जटिल छ र अझ थुप्रै कुरा सिक्न बाँकी छ। आगोले खास-खास किसिमका वन्यजन्तु र वनस्पतिलाई कसरी असर गर्छ भनेर अझ बढी अध्ययन गर्न बाँकी नै छ। पर्यावरणसित आगोको सम्बन्ध र यसले कस्तो असर पार्छ भन्‍ने कुरा अझ विस्तृत तवरमा बुझ्न थप अनुसन्धान गर्नु आवश्‍यक छ। जवाफको प्रतिक्षामा रहेका केही प्रश्‍नहरू यस प्रकार छन्‌: के आगोले हरितगृह प्रभावमा असर गर्छ? आगोबाट निस्कने धूवाँले मौसम प्रक्रियामा कस्तो असर पार्छ? आगोले खास-खास अवस्थामा कस्तो प्रतिक्रिया देखाउँछ?

हालै, आगोले कस्तो प्रतिक्रिया देखाउला भनेर अनुमान लगाउने कम्प्युटर प्रोग्रामहरू छन्‌ जसलाई मोडेल भनिन्छ। ती प्रोग्रामहरूले तापक्रम, इन्धन, हावाको गति र मौसमको अन्य अवस्थाबारे तथ्यांक केलाउँछन्‌। दुःखको कुरा, हाल यी मोडेलहरूमा सधैं भर पर्न सकिंदैन र त्यसले अचानक आगो लाग्ने वा अचानक आगो बेसरी दन्कनेजस्ता असाधारण अवस्थाबारे पहिल्यै बताउन सक्दैन। सन्‌ १९९७ मा सिड्‌नीमा लागेको यस्तै आगो निभाउने प्रयासमा दुई जना अनुभवी वारुणकर्मीहरूले आगोको ज्वालाले गर्दा आफ्नो ज्यान गुमाए र त्यसैकारण आगोलाई “मृत्युका औंलाहरू” भन्‍नु एकदमै उपयुक्‍त छ।

ठूलो आगलागी हुँदा विशेष गरी पूर्वानुमान गर्न गाह्रो हुन्छ किनभने त्यतिबेला बेजोड बतास, बादल र हुरीबतासले गर्दा बेग्लै प्रकारको वातावरण सृजना गरिरहेको हुन्छ। त्यस्तो बतासले अकस्मात्‌ दिशा वा गति परिवर्तन गरेर आगो फैलाउन सक्छ। अनुसन्धाताहरू अन्य जानकारीको सँगसँगै जमिनको किसिम तथा भिरालो र इन्धन वितरणजस्ता कुराहरू पनि समावेश गरेर अहिलेको मोडेललाई अझ राम्रो बनाउने आशा गर्छन्‌।

यो लक्ष्य हासिल गर्नको संयुक्‍त राज्य अमेरिकाको कोलोराडोस्थित नेशनल सेन्टर फर एट्‌मोसफेरिक रिसर्चले (एन सि ए आर) ठूलो परियोजना थालेको छ। एन सि ए आर-ले वैज्ञानिक तवरले अत्याधुनिक, उच्च प्रविधियुक्‍त, सात जनाले काम गर्न मिल्ने छुट्टाछुट्टै ठाउँ अनि बाक्लो इन्सुलेशन भएको सि-१३० पारवहन हवाईजहाज बनाएको छ। यो जहाज दन्केको आगोमाथि उडेर यसको पखेटामा राखिएका सेन्सरहरू मार्फत तथ्यांक संकलन गर्न सकिने किसिमले निर्माण गरिएको छ। यो तथ्यांक पछि कम्प्युटरले प्रशोधन गर्छ। यो जहाजमा थर्माकाम भनिने इन्फ्रारेड क्यामेरा हुन्छ। यसले आगोको हरेक भागको सापेक्षिक तीव्रता देखाउन सक्छ। यसरी एन सि ए आर वैज्ञानिकहरूले अहिलेको मोडेलमा सुधार गर्न सिकिरहेका छन्‌।

आशा छ, यी सुधार गरिएका मोडेलहरू प्रयोग गरेर विशेषज्ञहरूले आगोलाई अझ सुरक्षित ढंगमा नियन्त्रण गर्न मदत पाउने छन्‌। आगोले के गर्न सक्छ भनेर सही पूर्वानुमान लगाउन सक्ने क्षमताले गर्दा वारुणकर्मीहरूले समुदायको जगेर्ना गर्न मोल्नुपर्ने खतरा पनि कम गर्न सक्नेछ।

हो, अनियन्त्रित भएको खण्डमा आगो विध्वंसकारी तथा हानिकारक शत्रु हुन सक्छ तर यो असल मित्र पनि हुन सक्छ। यसले सृष्टिकर्ताले पृथ्वीलाई अझ नयाँ बनाइराख्न तथा वनस्पति र वन्यजन्तुबीचको सन्तुलन कायम राख्न स्थापना गर्नुभएको प्रकृतिको चक्रमा महत्त्वपूर्ण भूमिका खेल्छ। (g02 9/22)

[पृष्ठ २३-मा भएको चित्र]

मन्टानाको बिटररूट रिभर भ्यालीमा फैलिएको आगोबाट बचेर वाल्ल परेको हरिण

[स्रोत]

John McColgan, BLM, Alaska Fire Service

[पृष्ठ २४-मा भएको चित्र]

अस्ट्रेलियामा लगाइएको नियन्त्रित डढेलो

[स्रोत]

Photo provided courtesy of Queensland Rural Fire Service