सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमा वा बुबाले मलाई किन माया गर्नुहुन्‍न?

आमा वा बुबाले मलाई किन माया गर्नुहुन्‍न?

युवा जनहरू सोध्छन्‌ . . . 

आमा वा बुबाले मलाई किन माया गर्नुहुन्‍न?

“आमासित सम्बन्धविच्छेद हुनुअघि बुबा र म समुद्री किनारमा जाने, रेष्टुराँमा गएर खाने अनि कारमा घुम्न जाने गर्थ्यौं। पछि त यो सब बन्द भयो। बुबामा ठूलो परिवर्तन आयो। मलाई लाग्छ, उहाँले आमासँग मात्र होइन मसँग पनि सम्बन्धविच्छेद गर्नुभयो।”—करेन। a

थुप्रै युवाहरूलाई यस्तै भावनाहरूले सताउने गर्छ। करेन जस्तै तिनीहरू आफूप्रति आमाबाबुको माया हराइसकेको अनि आमाबाबुबाट कहिल्यै माया नपाएको महसुस गर्छन्‌। हामी यहाँ आमाबाबुसित हुने क्षणिक मतभेदको कारण युवाहरूमा उत्पन्‍न हुने नकारात्मक भावना अनि आमाबाबुले दिने अनुशासनले गर्दा कहिलेकाहीं उत्पन्‍न हुने तीतोपनाबारे चर्चा गरिरहेका छैनौं। साँच्चै भन्‍ने हो भने, कतिपय आमाबाबुहरू आफ्ना छोराछोरीहरूलाई वास्तै गर्दैनन्‌। अर्थात्‌ आफ्ना छोराछोरीहरूलाई आवश्‍यक ध्यान अनि अनुशासन दिन तिनीहरू असफल हुन्छन्‌। अन्य कतिपय अवस्थामा भने तिनीहरूले छोराछोरीहरूलाई कठोर अर्थात्‌ निष्ठुर व्यवहार गर्छन्‌ जसमा चित्त दुख्ने शब्दहरूले प्रहार गर्ने अनि शारीरिक चोटहरू पुऱ्‍याउने कुराहरू पनि समावेश हुन सक्छन्‌।

आमाबाबुबाट बेवास्ता गरिनुजस्तो पीडा अरू के नै होला र! करेन भन्छिन्‌, “यसले मलाई कसैले माया अनि वास्ता नगरेको महसुस हुन्थ्यो।” तपाईं पनि यस्तै परिस्थितिबाट गुज्रिरहनुभएको छ भने आफ्ना भावनाहरूसित कसरी संघर्ष गर्ने भन्‍ने सन्दर्भमा केही सल्लाहहरूलाई ध्यान दिनुहोस्‌। आफ्नो आमा वा बुबाको सहयोग नपाउँदा पनि तपाईं जीवनमा सफल हुन सक्नुहुन्छ भन्‍ने कुरामा निश्‍चिन्त हुनुहोस्‌!

आफ्नो आमा वा बुबालाई बुझ्ने

पहिलो कुरा त तपाईंले आफ्नो आमा वा बुबाबाट मायाको अपेक्षा राख्नु कुनै गलत कुरा होइन। छोराछोरीप्रति आमा वा बुबाको माया सूर्योदय जत्तिकै स्वाभाविक अनि भरपर्दो हुनुपर्छ। आमाबाबुले यस्तो प्रेम देखाएको परमेश्‍वर चाहनुहुन्छ। (कलस्सी ३:२१; तीतस २:४) त्यसोभए, कहिलेकाहीं आमाबाबुले किन छोराछोरीहरूलाई बेवास्ता गर्ने, त्याग्ने वा दुर्व्यवहार गर्ने गर्छन्‌?

एउटा कारण त तिनीहरूले जीवनमा भोगेका अनुभवहरूले गर्दा हुन सक्छन्‌। आफैंलाई सोध्नुहोस्‌: ‘मेरा आमाबाबुले छोराछोरी हुर्काउन कहाँबाट सिके?’ धेरैजसो आमाबाबुहरूले आफ्ना आमाबाबुले तिनीहरूलाई हुर्काएको तरिकाबाट मात्र छोराछोरी हुर्काउने प्रशिक्षण पाएका हुन्छन्‌। अनि आजको निष्ठुर संसारमा धेरै मानिसहरू “स्वाभाविक प्रेम रहितका” हुने भएकाले अक्सर यस्ता प्रशिक्षणहरूमा गम्भीर त्रुटिहरू हुन्छन्‌। (२ तिमोथी ३:१-५) कहिलेकाहीं, आफ्ना आमाबाबुहरूले आफूलाई जस्तो दुर्व्यवहार गरेका थिए, आफ्ना छोराछोरीमाथि पनि त्यस्तै दुर्व्यवहार गरेर तिनीहरूले यस दुर्व्यवहारको चक्रलाई निरन्तरता दिंदै जान्छन्‌।

यसको अतिरिक्‍त थुप्रै कारणहरूले गर्दा आमाबाबुहरू अचाक्ली निरुत्साहित हुन सक्छन्‌। कोही-कोही दुःख र नैराश्‍यबाट भाग्न अचाक्ली काम, रक्सी अनि लागूपदार्थमा डुब्छन्‌। उदाहरणका लागि, विलियम र जोआन जँड्याह पिताद्वारा हुर्काइएका थिए। जोआन भन्छिन्‌, “मेरो बुबालाई हाम्रो प्रशंसा गर्न निकै गाह्रो पर्थ्यो। सबैभन्दा डरलाग्दो कुरा त पिएको बेला उहाँ रिसले आँखै देख्नुहुन्‍नथ्यो। साँझभरि उहाँ आमालाई गाली गर्नुहुन्थ्यो। मलाई अक्सर डर लाग्थ्यो।” आमाबाबुहरूले खुलेरै दुर्व्यवहार नगरे तापनि आफ्नो व्यवहारले छोराछोरीहरूलाई आवश्‍यक प्रेम अनि ध्यान दिनै नसक्ने गरी आफैलाई थकाउन सक्छ।

विलियमले आफ्नो बुबा सन्की स्वभावको हुनुको कारण बुझेका छन्‌। उनी भन्छन्‌, “मेरो बुबा दोस्रो विश्‍वयुद्धको दौडान जर्मनीको बर्लिनमा हुर्कनुभएको थियो। सानै छँदा उहाँले ठूलो त्रास अनुभव गर्नुका साथै धेरै जना मरेका आफ्नै आँखाले देख्नुभएको थियो। उहाँले बाँच्नको लागि, भनौं भने एक छाक खानको लागि हरेक दिन संघर्ष गर्नुपर्थ्यो। मेरो बुबाले भोग्नुभएका यी तीता अनुभवहरूले उहाँलाई गहिरो असर पारेको थियो भन्‍ने कुरा म बुझ्छु।” वास्तवमा, अत्याचारमा पर्दा मानिसहरूले मूर्ख व्यवहार देखाउन सक्छन्‌ भन्‍ने कुरालाई बाइबलले पनि मानिलिन्छ।—उपदेशक ७:७.

के विलियम र जोआनले तिनीहरूका बुबाले भोगेका अनुभवहरूको कारण तिनको व्यवहारलाई छुट दिन मिल्छ भन्‍न खोजेका हुन्‌? “कदापि होइन,” विलियम भन्छन्‌: “अचाक्ली पिउने बानी अनि खराब आचरणलाई उहाँको पृष्ठभूमिले छुट दिंदैन। तर यी कुराहरूप्रति सचेत हुँदा मैले आफ्नो बुबाको स्वभावलाई अझ गहिरिएर बुझ्न मदत पाएको छु।”

आफ्ना आमाबाबु असिद्ध हुनुहुन्छ भन्‍ने तथ्यलाई मानिलिंदा अनि तिनीहरूको पृष्ठभूमिबारे केही जानकारी हासिल गर्दा तिनीहरूलाई बुझ्न तपाईंले धेरै मदत पाउनुहुनेछ। हितोपदेश १९:११ ले यसो भन्छ, “धीरज धारण गर्नु चातुर्य हो।”

आफ्ना भावनाहरूसित संघर्ष गर्ने

घरको परिस्थितिले गर्दा तपाईंलाई पिरोल्न सक्ने अरू थुप्रै नकारात्मक भावनाहरू छन्‌। उदाहरणको लागि, आफ्ना आमाबाबु दुवैले ध्यान नदिंदा प्याट्रिसीया आफूलाई “बेकम्मा अनि कसैको मायाको योग्य नभएकी” महसुस गर्न बाध्य भइन्‌। आठ वर्षको छँदै बुबाले छोडेर गएपछि लानिसालाई कुनै पनि लोग्नेमानिसमाथि विश्‍वास गर्नै गाह्रो लाग्छ। “लागूपदार्थको वशमा” परेकी आमाको रिक्‍तता पूरा गर्न शेला आफूले भेटेको जो कोहीप्रति पनि आशक्‍त भएको महसुस गर्छिन्‌।

रिस अनि डाह पनि समस्या बन्‍न सक्छ। दोस्रो विवाह गरेका आफ्नो बुबाले आफूले चाहेको माया तिनको नयाँ परिवारलाई देखाउँदा करेनलाई “कहिलेकाहीं एकदमै डाह” लाग्थ्यो। कहिलेकाहीं लेलानीलाई आफ्नो आमाबाबुदेखि घृणासमेत लाग्थ्यो। तिनी भन्छिन्‌, “म सधैं उहाँहरूसित झगडा गरिरहन्थें।”

परिस्थितिलाई विचार गर्ने हो भने, यस्ता भावनाहरू उठ्‌नु स्वाभिवकै हो। यद्यपि, तपाईं कसरी यस्ता नकारात्मक भावनाहरूको सफलतापूर्वक सामना गर्न सक्नुहुन्छ? निम्न सल्लाहहरूमाथि विचार गर्नुहोस्‌।

यहोवा परमेश्‍वरसित घनिष्ठ हुनुहोस्‌। (याकूब ४:८) व्यक्‍तिगत बाइबल पढाइ अनि उहाँका जनहरूसितको नियमित संगतिद्वारा तपाईं यसो गर्न सक्नुहुन्छ। यहोवाले अरूसित व्यवहार गर्नुभएको तरिकाबाट उहाँ वफादार हुनुहुन्छ भन्‍ने कुरा तपाईंले बुझ्नुहुनेछ। तपाईंले उहाँमाथि भरोसा राख्न सक्नुहुन्छ। यहोवाले इस्राएलीहरूलाई यस्तो प्रश्‍न सोध्नुभयो, “के कुनै स्त्रीले आफ्नो दूधे–बालकलाई बिर्सनसक्छ र? आफ्नो गर्भको बालकलाई के त्यसले टिठाउँदैन र?” उहाँ यस्तो प्रतिज्ञा गर्नुभयो, “यिनीहरूले बिर्सन पनि सक्छन्‌, तर म ता तँलाई बिर्सनसक्‍तिनँ।” (यशैया ४९:१५) त्यसैले नियमित तवरमा परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। प्रार्थना गर्दा आफ्ना शब्दहरू एकदमै सही हुनुपर्छ भनेर चिन्तित नहुनुहोस्‌। उहाँले तपाईंलाई बुझ्नुहुन्छ। (रोमी ८:२६) तपाईंलाई कसैले माया नगरेजस्तो लागे तापनि यहोवाले तपाईंलाई माया गर्नुहुन्छ भन्‍ने कुरा बुझ्नुहोस्‌।—भजन २७:१०.

भरोसायोग्य पाको व्यक्‍तिलाई आफ्नो भावनाहरू पोखाउनुहोस्‌। आध्यात्मिकतामा परिपक्व व्यक्‍तिहरूलाई साथी बनाउनुहोस्‌। तिनीहरूसामु आफ्ना भावना तथा फिक्रीहरू नलुकाइकन पोखाउनुहोस्‌। यहोवाका साक्षीहरूको मसीही मण्डलीमा तपाईंले आध्यात्मिक बुबा र आमाहरू भेट्टाउन सक्नुहुन्छ। (मर्कूस १०:२९, ३०) यद्यपि, आफ्ना भावनाहरू नलुकाई भन्‍न तपाईं आफैंले अग्रसरता देखाउनु पर्ने हुन सक्छ। बताउँदै नबताइकन अरूले तपाईंका भावनाहरू बुझ्दैनन्‌। आफ्नो हृदयको बोझलाई हल्का बनाउँदा तपाईंले महसुस गर्नुहुने आनन्द तपाईंको लागि साँचो सान्त्वना हुन सक्छ।—१ शमूएल १:१२-१८.

अरूका लागि केही गरिदिएर आफूलाई व्यस्त राख्नुहोस्‌। आफूलाई बढ्‌तै दया देखाउने खतराबाट जोगिन आफ्नो परिस्थितिको नकारात्मक पक्षलाई नभई सकारात्मक पक्षलाई हेर्ने कोसिस गर्नुहोस्‌। बरु, आफूसित जे छ, त्यसको मूल्यांकन गर्न सिक्नुहोस्‌। “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान” दिएर अरूको लागि केही गर्ने अवसरहरूको ढोका खोल्नुहोस्‌। (फिलिप्पी २:४) आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌ अनि आशावादी मनोभावसहित त्यो हासिल गर्न कडा मेहनत गर्नुहोस्‌। मसीही सेवकाईमा अरूको आवश्‍यकताहरू पूरा गर्नु आफूप्रति नभई अरूप्रति ध्यान केन्द्रित गर्ने एउटा सर्वोत्तम तरिका हो।

आफ्ना आमाबाबुलाई आदर देखाइरहनुहोस्‌। बाइबल सिद्धान्त तथा स्तरहरूलाई दृढ भई पालन गर्न कहिल्यै नबिर्सनुहोस्‌। यसमा आफ्ना आमाबाबुलाई आदर देखाउनु पनि समावेश छ। (एफिसी ६:१, २) यस्तो आदरले बदला लिने अर्थात्‌ इबी राख्ने मनोवृति देखाउनबाट जोगाउँछ। आमाबाबुले जतिसुकै गल्ती गरेजस्तो लागे तापनि आफूले पनि गल्ती गर्न छुट पाउँछु भन्‍ने नसोच्नुहोस्‌। त्यसैले मामिलालाई यहोवाको हातमा छोडिदिनुहोस्‌। (रोमी १२:१७-२१) उहाँ “इन्साफ प्रेम गर्नुहुन्छ” र बच्चाहरूलाई सुरक्षा दिन उहाँ कुनै पनि हालतमा पछि हट्‌नुहुन्‍न। (भजन ३७:२८; प्रस्थान २२:२२-२४) आफ्ना आमाबाबुलाई सही आदर देखाइरहनुहुँदा परमेश्‍वरको आत्माका फलहरू, त्यसमा पनि सबैभन्दा मुख्य प्रेम खेती गर्ने कोसिस गर्नुहोस्‌।—गलाती ५:२२, २३.

तपाईं सफल हुन सक्नुहुन्छ

आमा वा बुबाको मायाको अभावले हृदयमा चोट पुग्न सक्छ भन्‍ने कुरामा कुनै शंका छैन। तर आमाबाबुको असफलताले तपाईंको भावी व्यक्‍तित्व निर्धारण गर्नु आवश्‍यक छैन। माथि उल्लिखित बाइबल सिद्धान्तहरूलाई आफ्नो जीवनमा लागू गरेर तपाईंले आफ्नो लागि आनन्दमय अर्थात्‌ सफल नतिजा छनौट गर्न सक्नुहुन्छ।

माथि उल्लिखित विलियम यहोवाका साक्षीहरूको शाखा कार्यालयका एक पूर्ण-समय सेवक हुन्‌। उनी यसो भन्छन्‌: “यस्ता दुःखद परिस्थितिहरूको सामना गर्न मदतको लागि यहोवाले हामीलाई थुप्रै प्रबन्धहरू मिलाइदिनुभएको छ। यस्तो मायालु अनि ख्याल राख्नुहुने स्वर्गमा बस्नुहुने पिता पाउनु कत्ति ठूलो सुअवसर!” उनकी बहिनी जोआन सुसमाचारकको आवश्‍यकता बढी भएको ठाउँमा सेवा गरिरहेकी एक पूर्ण-समय अग्रगामी सेवक हुन्‌। तिनी भन्छिन्‌, “हुर्कने क्रममा हामीले ‘परमेश्‍वरको सेवा गर्ने अनि नगर्नेहरूबीचको भिन्‍नता’ स्पष्ट देख्यौं।” (मलाकी ३:१८) “हाम्रो अनुभवले हामीलाई सत्यको पक्षमा लड्‌न अनि यसलाई आफ्नो बनाउन बलियो संकल्प प्रदान गऱ्‍यो।”

तपाईंले पनि यस्तै सफलता हासिल गर्न सक्नुहुन्छ। बाइबल यसो भन्छ, “रूँदै छर्नेहरू आनन्दले कराउँदै कटनी गर्नेछन्‌।” (भजन १२६:५) यो पद कत्तिको सान्दर्भिक छ? हो, कठिन परिस्थितिमा सही सिद्धान्त पालन गर्न तपाईंले कडा परिश्रम गर्नुभएको खण्डमा परमेश्‍वरको आशिष्‌ अनुभव गर्नुहुँदा अनन्तः तपाईंका आँसुहरू हर्षमा परिणत हुने छन्‌।

त्यसैले यहोवासित घनिष्ठ हुने प्रयत्न गरिरहनुहोस्‌। (हिब्रू ६:१०; ११:६) तपाईंलाई चिन्ता, नैराश्‍य र दोषी भावनाले वर्षौंदेखि सताइरहेको भए तापनि यस्ता भावनाहरू बिस्तारै कम हुँदै गएर त्यसको ठाउँ ‘सारा समझलाई माथ गर्ने परमेश्‍वरको शान्तिले’ लिन सक्नेछ।—फिलिप्पी ४:६, ७. (g02 9/22)

[फुटनोट]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ११-मा भएको पेटी]

के तपाईंलाई यस्तो लाग्छ . . .

• मेरो कुनै महत्त्व अथवा कुनै मूल्य छैन?

• अरूलाई भरोसा गर्नु असुरक्षित र मूर्खता हो?

• मलाई बेला-बेलामा सान्त्वनाको आवश्‍यकता परिरहन्छ?

• मेरो रिस अथवा डाह अनियन्त्रित छ?

यदि तपाईंलाई यस्तो लाग्छ भने यस विषयमा भरोसायोग्य आमा वा बुबा, प्राचीन अथवा आध्यात्मिक तवरमा परिपक्व साथीसित कुरा गरिहाल्नुहोस्‌।

[पृष्ठ १२-मा भएको चित्र]

आफ्ना भावनाहरूसित संघर्ष गर्न सकारात्मक कदमहरू चाल्नुहोस्‌