सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं डोऱ्‍याइको लागि अंकहरूमा भर पर्नु ठीक होला?

के तपाईं डोऱ्‍याइको लागि अंकहरूमा भर पर्नु ठीक होला?

के तपाईं डोऱ्‍याइको लागि अंकहरूमा भर पर्नु ठीक होला?

के विज्ञान र तर्कसामु संख्याशास्त्र टिक्न सक्छ? के अंकहरूको आधारमा हाम्रो भविष्य थाह पाउन सकिन्छ? के तपाईंले आफ्ना भावी योजनाहरू संख्याशास्त्रद्वारा पत्ता लागेका कुराहरू र भविष्यवाणीको आधारमा तय गर्नु उचित हुन्छ?

संख्याशास्त्रीहरूले पार गर्न नसकेको एउटा अवरोध, भिन्‍ना-भिन्‍नै संस्कृतिहरूमा प्रयोग हुने आ-आफ्नै पात्रो हो। उदाहरणका लागि, कोही व्यक्‍ति चिनियाँ पात्रो प्रयोग गरिने ठाउँमा बस्छ भने नि? हाम्रो सुरुको लेखमा उल्लेख गरिएको मिति सेप्टेम्बर ११, २००१ लाई विचार गर्नुहोस्‌। चिनियाँ पात्रोअनुसार त्यो दिन ७८ औं चक्रको १८ औं वर्षको ७ औं महिनाको २४ औं दिन थियो। जुलियन पात्रोअनुसार त्यो मिति अगस्त २९, २००१ हुन आउँछ। मुसलमानहरूको पात्रोअनुसार त्यो दिन २२ जुमादा द्वितीय १४२२ थियो भने हिब्रू पात्रोअनुसार २३ एलुल ५७६१ थियो। यति धेरै तरिकामा बताउन सकिने मितिको संख्यात्मक महत्त्व कसरी हुन सक्छ होला र? अर्को कुरा: भाषाअनुसार नाउँहरूको हिज्जे पनि अक्सर फरक-फरक हुन्छन्‌। उदाहरणका लागि, जोन भन्‍ने अंग्रेजी नाउँका अक्षरहरूको संख्यात्मक मान २ हुन्छ तर त्यही नाउँलाई स्पेनी भाषामा युआन भनिन्छ र यसको मान १ हुन्छ।

ब्रह्‍माण्डका थुप्रै कुराहरूलाई गणितीय सुत्रको रूपमा व्याख्या गर्न सकिन्छ भन्‍ने कुरा स्वीकार्नु एउटा कुरा हो। यी सुत्रहरू परीक्षण गर्न र प्रमाणित गर्न सकिन्छ। तर तपाईंको नाउँ तपाईंको जन्म मितिसँग मेल खानेछ भनी पूर्वनिर्धारित थियो भन्‍ने दाबी गर्नु र तपाईंको भाग्य निर्धारण गर्नको लागि यसलाई खास अंकहरूसँग जोडेर हेर्नु बेग्लै कुरा हो।

निष्कर्ष प्रस्टै छ: पात्रो अनि भाषाहरूबीच यत्तिका धेरै भिन्‍नताहरू छन्‌ भन्‍ने कुरा प्रस्ट हुँदाहुँदै पनि संख्याशास्त्रले खुलाएका अर्थहरू सही हुन्छन्‌ भनी विश्‍वास गर्नु भनेको मिल्दै नमिल्ने कुरामा पनि अति विश्‍वस्त हुनु हो।

“समय र अवसर”

कतिपय मानिसहरू संख्याशास्त्रप्रति आकर्षित हुन्छन्‌ किनभने तिनीहरू आफ्नो भविष्यबारे पहिल्यै जान्‍न चाहन्छन्‌। तथापि, मानव जीवनमा हुने कुराहरूबारे पहिल्यै बताउन सकिंदैन भनी बाइबलले स्पष्ट पार्छ। हामी यस्तो लेखिएको पाउँछौं: “वेग कुदाइले दौड़ जित्नसक्‍तैन, औ शक्‍तिले लड़ाइँ जित्नसकिन्‍न। भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन। समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।” (उपदेशक ९:११) हो, चिताउँदै नचिताएका थुप्रै घटनाहरू घट्‌छन्‌। यस्ता अकस्मात्‌ हुने घटनाहरूले जन्म मिति वा नाउँको संख्यात्मक मानको आधारमा भविष्यवाणी गर्ने प्रयत्नलाई निरर्थक तुल्याउँछ।

अर्को उदाहरण विचार गर्नुहोस्‌, उदारतालाई प्रोत्साहन दिंदै बाइबल यसो भन्छ: “विदेशसित अन्‍नको व्यापार गर्‌, र समयमा तैंले त्यसको आम्दानी पाउनेछस्‌। तेरो धन सात-आठ किसिमका व्यापारमा लगा, किनभने देशमा कस्तो विपत्ति आइपर्ला तैंले जान्दैनस्‌।” (उपदेशक ११:१, २) कुनै-कुनै अपवाद बाहेक विपत्तिहरू भनेको मानिसलाई पहिल्यै थाह नहुने र थाह लगाउन नसकिने कुराहरू हुन्‌। त्यसकारण, गणितका प्राध्यापक अन्डरवुड डड्‌ली संख्याशास्त्रीहरूबारे यस्तो लेख्छन्‌: “तिनीहरू भवितव्यलाई स्वीकार्दैनन्‌। कुनै योजनाविना नै अचम्मलाग्दा घटनाहरू घट्‌न सक्छन्‌।”

हो, संख्याशास्त्रीहरूले गरेका कुनै-कुनै भविष्यवाणीहरू पूरा हुन सक्छन्‌। यसको कारण के हो? कहिलेकाहीं संयोगले यस्तो भएको हुन सक्छ। यसबाहेक, संख्याशास्त्रीहरूको भनाइ यत्ति बहुअर्थक हुन्छ कि यसलाई विभिन्‍न घटनाहरूसँग जोड्‌न सकिन्छ। तर हामीले विचार गर्नुपर्ने अझ अर्को गम्भीर कुरा छ।

एकप्रकारको तन्त्रमन्त्र?

बाइबलले संख्याशास्त्रबारे तोकेरै बताएको त छैन। तर यसले सा.यु.पू. पाँचौं शताब्दीको दौडान फारसमा बसिरहेका यहूदीहरूको नमोनिसान मेटाउन षडयन्त्र रच्ने हामान नाउँ गरेको एक जना अमालेकीबारे बताउँछ। विवरण यसो भन्छ: “हामानको सामने दिन र महीना तोकेर त्यस कामको निम्ति तिनीहरूले चिट्ठा हाले। त्यस चिट्ठालाई ‘पूर’ भन्थे। चिट्ठा बाह्रौं महीना, अर्थात्‌ अदार महीनाको तेह्रौं दिनमा पऱ्‍यो।”—एस्तर ३:७.

पुरातन समयमा न्यायपूर्ण ढंगमा विवाद सुल्झाउनको लागि चिट्ठा हालिन्थ्यो। a (हितोपदेश १८:१८) तर हामानले चिट्ठा हाल्दा तन्त्रमन्त्र गरे जुन कामको बाइबलले निन्दा गर्छ। व्यवस्था १८:१०-१२ ले बताएअनुसार परमेश्‍वरले “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने अथवा बिजुवा झाँक्री[लाई]” घृणा गर्नु हुन्छ अनि “यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो।”

बाइबलले तन्त्रमन्त्र र अलौकिक शक्‍तिको प्रेतवादसँग सम्बन्ध छ भनी बताउँछ। दुष्टात्माहरूले घटनाक्रमलाई आफ्नो उद्देश्‍य पूर्तिको लागि चाहेअनुसार मोड्‌न सक्छन्‌। कुनै खास अवस्थामा यस्तो गरिएको होस्‌ वा नहोस्‌, तर एउटा कुरा भने पक्का छ: परमेश्‍वरले प्रेतवादको निन्दा गर्नुहुन्छ अनि यसले त्यस व्यक्‍तिलाई दुष्टात्माको अधीनतामा पार्न सक्छ।—१ शमूएल १५:२३; एफिसी ६:१२.

संख्याशास्त्रको कुनै वैज्ञानिक आधार छैन अनि तर्कको आधारमा जाँच्ने हो भने पनि यो निराधार देखिन्छ। महत्त्वपूर्ण कुरा के हो भने, संख्याशास्त्र एक प्रकारको तन्त्रमन्त्र भएकोले बाइबल शिक्षासँग मेल खाँदैन। यस कुरालाई विचार गर्दा, संख्याशास्त्र तपाईंको जीवन चलाउने वा भविष्यको योजना बनाउने लाभदायी तरिका होइन। (g02 9/8)

[फुटनोट]

a चिट्ठा हाल्दा सानो खाले गोलाकार ढुंगा वा काठको टुक्राजस्ता साना चीजहरूलाई पट्याइएको कपडामा वा भाँडाभित्र राखेर हल्लाइन्थ्यो। अनि चिट्ठा थुत्दा जसको नाउँको चिट्ठा आउँथ्यो त्यही व्यक्‍ति नै छानिएको व्यक्‍ति हुन्थ्यो।

[पृष्ठ ६-मा भएको पेटी]

पात्रोहरूको विविधताले संख्याशास्त्रको लागि एउटा ठूलो अवरोध खडा गर्छ

ग्रेगोरियन सेप्टेम्बर ११, २००१

चिनियाँ ७८ औं चक्रको १८ औं वर्षको ७ औं महिनाको २४ औं दिन

जुलियन अगस्त २९, २००१

मुसलमान २२ जुमादा द्वितीय १४२२

हिब्रू २३ एलुल ५७६१

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

के राशिफल भरपर्दो हुन्छ ?

“कहिलेकाहीं तपाईं अरूसँग खुबै हेलमेल गर्नुहुन्छ भने, कहिलेकाहीं एक्लै चुपचाप बस्नुहुन्छ। तपाईं अपरिचित व्यक्‍तिहरूलाई आफ्नो कुरा बताउनु बेकार ठान्‍नुहुन्छ। तपाईं कुनै कुरा पत्याउनुअघि त्यसको प्रमाण आफै खोज्ने खालको व्यक्‍ति हुनुहुन्छ। तपाईं जीवनमा विविधता चाहनुहुन्छ र नियमहरूमा बाँधिन रुचाउनुहुन्‍न। तपाईंसित थुप्रै कुराहरू गर्न सक्ने क्षमता छ तर तपाईंले यसको पूर्ण सदुपयोग गर्नुभएको छैन। आफ्ना उपलब्धि तथा क्षमताहरूप्रति आलोचनात्मक हुने तपाईंको झुकाव छ।”

के यी कुराहरू तपाईंसँग मिल्छ? त्यसो हो भने, तपाईंले यो विवरणलाई चाहिनेभन्दा बढी महत्त्व दिइरहनुभएको हुनेछ। वास्तवमा भन्‍ने हो भने, माथि भनिएका प्रायजसो कुराहरू अधिकांश मानिसहरूमा लागू हुन्छ। त्यसकारण पाठकहरूले सहीजस्तो देखिने भनाइहरू स्वीकार्छन्‌ भने गलतजस्तो देखिने भनाइहरूलाई नकार्छन्‌। ह्वाइ डु बसेज्‌ कम इन थ्रीज—द हिडन म्याथम्याटिक्स अफ एभ्रिडे लाइफ-अनुसार “अनुसन्धाताहरूले यो कुरा पत्ता लगाएका छन्‌ कि, राशिफलमा राशिको नाउँ नलेख्ने हो भने मानिसहरूले कुनचाहिं अनुच्छेद आफ्नो राशिफल हो भनेर छुट्याउनै सक्दैनन्‌ तर राशिहरूको नाउँ पनि उल्लेख गर्ने हो भने मानिसहरूले आफ्नो राशिफल ठ्याक्कै मिल्यो भनी विश्‍वास गर्छन्‌।”

[पृष्ठ ८-मा भएको पेटी]

बाइबलमा लाक्षणिक संख्याहरू

बाइबलमा प्रयोग गरिएका कुनै-कुनै संख्याहरूको लाक्षणिक अर्थ छ, तर यो अर्थ यी संख्याहरू प्रयोग गरिएको शास्त्रपदको सन्दर्भमा मात्र लागू हुन्छ। उदाहरणका लागि, चार संख्या पूर्णता वा विश्‍वव्यापी भन्‍ने अर्थ बुझाउन प्रयोग गरिन्छ। “पृथ्वीका चारै दिशा” अनि “आकाशका चारै दिशा” जस्ता अभिव्यक्‍तिहरूबाट यो कुरा पुष्टि हुन्छ। (यशैया ११:१२; दानियल ८:८) कहिलेकाहीं छ संख्याले असिद्धतालाई जनाउँछ। चाखलाग्दो कुरा के हो भने, प्रकाशको पुस्तकमा शैतानको पार्थिव राजनैतिक संगठनलाई “मानिसको संख्या” अर्थात्‌ ६६६ दिइएको छ। (प्रकाश १३:१८) यहाँ त्यस जनावररूपी संगठनको असिद्धतालाई अझ बढी जोड दिन तीनवटा छ प्रयोग गरिएको छ। सात संख्यालाई लाक्षणिक अर्थमा प्रयोग गर्दा यसले सम्पूर्णतालाई संकेत गर्छ। (लेवी ४:६; हिब्रू ९:२४-२६) धर्मशास्त्रमा प्रयोग गरिएका यी लगायत अन्य लाक्षणिक संख्याहरूको अर्थ ती संख्याहरू प्रयोग भएको भविष्यवाणीको सन्दर्भमा भर पर्छ।

धर्मशास्त्रले कुनै-कुनै संख्यालाई केही हदसम्म महत्त्व दिएको भए तापनि बाइबलले हामीलाई खास शब्दहरूमा भएका अक्षरहरूलाई संख्यासँग जोडेर गोप्य सच्चाइहरू पत्ता लगाउन प्रोत्साहन दिंदैन।

[पृष्ठ ८-मा भएको चित्र]

हामानले आमसंहारको षडयन्त्र कार्यान्वयन गर्ने दिन तोक्न तन्त्रमन्त्रको उपयोग गरे