सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले सुन्‍नुहुने प्रार्थनाहरू

परमेश्‍वरले सुन्‍नुहुने प्रार्थनाहरू

बाइबलको दृष्टिकोण

परमेश्‍वरले सुन्‍नुहुने प्रार्थनाहरू

“माग, त तिमीहरूलाई दिइनेछ, खोज, त तिमीहरूले भेट्टाउनेछौं, घच्‌घच्याओ, त तिमीहरूको निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, औ घच्‌घच्याउनेको निम्ति खोलिनेछ।”—लूका ११:९, १०

येशू ख्रीष्टले माथि भन्‍नुभएका शब्दहरूमाथि पूरा भरोसा गर्दै आज थुप्रै मसीहीहरू परमेश्‍वरले आफूलाई माया अनि हेरचाह गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन्छन्‌ र आफ्ना समस्या तथा चिन्ताहरू प्रार्थनामा परमेश्‍वरसामु जाहेर गर्छन्‌। तथापि, प्रार्थनाको जवाफ पर्खनुपर्दा कोही-कोही निराश हुन्छन्‌। के तपाईं आफ्नो प्रार्थना बेकम्मा भएको महसुस गर्नुहुन्छ? के परमेश्‍वरले तपाईंको प्रार्थना सुन्‍नुहुन्छ?

प्रार्थनाको जवाफ नपाएझैं लागे तापनि परमेश्‍वरले प्रार्थना नसुन्‍नुभएको चाहिं होइन। बाइबलले यस्तो आश्‍वासन दिन्छ: “प्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका अन्तरबिन्तीतिर खुला हुन्छ।” (१ पत्रुस ३:१२) त्यसैले यहोवा परमेश्‍वरले धर्मात्माहरूको प्रार्थना सुन्‍नुहुन्छ, चाहे ती ठूला स्वरले गरिएका होऊन्‌ वा मनमनै। (यर्मिया १७:१०) यहोवा परमेश्‍वरले कस्तो सोचाइ र मनसायले प्रार्थना गरिएका हुन्‌ भन्‍ने कुरासमेत जाँच्नुहुन्छ जुन कुराहरूबारे प्रार्थना गर्ने व्यक्‍तिसमेत अनभिज्ञ हुन सक्छन्‌।—रोमी ८:२६, २७.

तथापि, प्रार्थनाहरू परमेश्‍वरसामु स्वीकार्य होओस्‌ भन्‍ने चाहन्छौं भने केही खास आवश्‍यकताहरू पूरा गर्नुपर्छ। सर्वप्रथम, येशू, कुनै “सन्त” वा मूर्तिलाई नभई परमेश्‍वरलाई मात्र प्रार्थना गरिएको हुनुपर्छ। (प्रस्थान २०:४, ५) साथै प्रार्थना परमेश्‍वरको पुत्र येशू ख्रीष्टको नाउँमा गरिएको हुनै पर्छ। (यूहन्‍ना १४:६) के यसको अर्थ हाम्रा प्रार्थनाहरू सबैभन्दा पहिला येशूले सुन्‍नुहुन्छ अनि त्यसपछि उहाँले नै त्यो सन्देश परमेश्‍वरसामु पुऱ्‍याउनुहुन्छ भनेको हो? होइन। बरु, येशूको नाउँमा यहोवालाई प्रार्थना गर्नु भनेको हामीले आफूलाई ख्रीष्टको चेलाको रूपमा चिनाउनु र उहाँको बलिदानले गर्दा मात्र हामी परमेश्‍वरको नजिक जान सकेका हौं भन्‍ने कुरालाई स्वीकार्नु हो।—हिब्रू ४:१४-१६.

प्रार्थनाहरू विश्‍वासका साथ गरिएको हुनुपर्छ। प्रेरित पावलले यसरी स्पष्ट पारे: “विना विश्‍वास [परमेश्‍वरलाई] रिझाउन असम्भव छ। किनभने जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।” (हिब्रू ११:६) आफूसित त्यस्तो विश्‍वास छ वा छैन कसरी थाह पाउन सकिन्छ? बाइबल लेखक याकूब यस्तो जवाफ दिन्छन्‌: “म मेरो विश्‍वास मेरा कामहरूद्वारा तँलाई देखाउँला।” (याकूब २:१८) हो, विश्‍वासले काम गर्न उत्प्रेरित गर्छ र परिणामस्वरूप त्यसले हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँलाई खुसी तुल्याउने कोसिस गर्दैछौं भनेर देखाउँछ।

त्यसका साथै परमेश्‍वरका उपासकहरू प्रार्थनामा पनि लगातार लागिरहनुपर्छ। यस लेखको सुरुमै उल्लेख गरिएझैं लूका ११:९, १० मा येशूले यो कुरा स्पष्ट पार्नुभयो। आखिर कुनै व्यक्‍तिले कुनै विषयमा एक चोटि मात्र प्रार्थना गर्छ भने के त्यस मानिसले सो विषयलाई गम्भीरतासाथ लिएको छ भन्‍ने देखिन्छ र?

परमेश्‍वरका प्रतिज्ञाहरू

हामीले जत्ति चोटि निष्कपटतासाथ प्रार्थना गरे तापनि हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं। (२ तिमोथी ३:१) येशूले आफ्ना चेलाहरू आनन्दित हुनेछन्‌ भन्‍नु भए तापनि तिनीहरू समस्याहरूबाट स्वतन्त्र हुनेछन्‌ चाहिं भन्‍नुभएन। (मत्ती ५:३-११) यद्यपि, उहाँले आफ्ना चेलाहरू दुःख, भोक, प्यास वा सतावटका बाबजुद आनन्दित हुन सक्ने छन्‌ भन्‍नुभयो।

येशूले बताउनुभएको आनन्द परिस्थिति एकदम राम्रो भएमा मात्र पाइने आनन्द थिएन। बरु, हामीले परमेश्‍वरलाई सेवा गरेको हुनाले पाइने भित्री सन्तुष्टि थियो। त्यसकारण गोलमालको समयमा समेत हामीले असीम आनन्द अनुभव गर्न सक्छौं।—२ कोरिन्थी १२:७-१०.

व्यक्‍तिगत समस्याहरूको सामना गर्ने

उसोभए, वैवाहिक जोडी भेट्टाउन वा परिवार, स्वास्थ्य वा जागिरको समस्याजस्ता व्यक्‍तिगत विषयहरूबारे परमेश्‍वरलाई प्रार्थना गर्नु बेकार हो त? होइन, किनभने परमेश्‍वरले हाम्रा जीवनका परिस्थितिहरूलाई चमत्कारी ढंगमा परिवर्तन गर्ने प्रतिज्ञा नगर्नुभए तापनि उहाँले हामीलाई ती समस्याहरूसित जुझ्ने बुद्धि दिनुहुनेछ। परीक्षाहरूबारे याकूबले यस्तो लेखे: “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌, र त्यसलाई सो दिइनेछ।” (याकूब १:५) त्यसैले यहोवाले आफ्नो पवित्र आत्माद्वारा हामीलाई डोऱ्‍याउनुहुनेछ। यसले हामीलाई निर्णयहरू गर्दा बाइबलका सिद्धान्तहरू बुझ्न र लागू गर्न मदत गर्नेछ।

निस्सन्देह, हाम्रो लागि परमेश्‍वरको आत्माले निर्णयहरू गरिदिंदैन। त्यसको विपरीत हामी आफैले व्यक्‍तिगत तवरमा प्रयास गर्नुपर्छ। उदाहरणको लागि, हाम्रो कुनै समस्या छ भने के हामीले त्यस परिस्थितिका विभिन्‍न पक्ष तथा अवस्थाहरूबारे अनुसन्धान र जाँचबुझ गरेका छौं? यस्तो कार्य गर्नाले हामीले परमेश्‍वरलाई आफूसित विश्‍वास छ भन्‍ने कुरा प्रकट गरिरहेका हुनेछौं। (मत्ती ७:७, ८) के हामी परमेश्‍वरसित निरन्तर निर्देशन मागेर हाम्रा समस्याहरू समाधान गर्ने प्रयासमा लागिरहेका छौं? (मत्ती ७:७, ८) के त्यस परिस्थितिसित मिल्दोजुल्दो बाइबल सिद्धान्तहरूलाई हामीले होसियारीसाथ जाँचेका छौं? परमेश्‍वरको वचनले हामीलाई “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध” हुन मदत गर्न सक्छ।—२ तिमोथी ३:१६, १७.

परमेश्‍वरले मानवजातिका कामकुराहरूमा हस्तक्षेप गरेर सबै समस्याहरू समाधान गर्न सक्नुहुने भए तापनि उहाँले हामीलाई आफ्नो स्वतन्त्र इच्छा चलाउन दिनुभएको छ। तर दुःखको कुरा थुप्रैले आफ्नो स्वतन्त्र इच्छालाई अरूको हानि गर्ने काममा प्रयोग गरेका छन्‌। तसर्थ हामीले प्रार्थनामा जाहेर गर्ने कुनै-कुनै समस्याहरू परमेश्‍वरको नयाँ संसार नआउन्जेल रहिरहन सक्छ। (प्रेरित १७:३०, ३१) ती समस्याहरू हामी बसोबास गर्ने इलाकामा व्याप्त अपराध वा खुल्लमखुल्ला हुने झगडा अथवा विरोधीहरूले दिने सतावट सहनु पनि हुन सक्छन्‌। (१ पत्रुस ४:४) यस अभक्‍त संसारमा केही परिस्थितिहरूमा भने सुधार आउने छैन भन्‍ने कुरा हामीले स्वीकार्नै पर्छ।

यद्यपि, परमेश्‍वर आफ्ना उपासकहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूलाई मदत गर्न चाहनुहुन्छ। उहाँको राज्यले यस पृथ्वीमा कुनै रोकटोकविना शासन गर्न थालेपछि यस संसारका एकदमै डरलाग्दा समस्याहरूसमेत पूर्णतया निर्मूल हुनेछन्‌। (प्रकाश २१:३, ४) त्यतिन्जेल जीवनका समस्याहरूको सामना गर्न हामीले उहाँको निर्देशन मागिरहनुपर्छ। हामीले त्यसो गरिरह्‍यौं भने यशैया ४१:१० मा यहोवाले गर्नुभएको यो प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ भनेर निर्धक्क हुन सक्छौं: “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सह्‍माल्नेछु।” (g02 9/8)