पाठकहरूका प्रतिक्रिया
पाठकहरूका प्रतिक्रिया
विपत्तिको बावजुद साहस “विपत्तिको घडीमा साहस—जुम्ल्याहा गगनचुम्बी भवनहरू ध्वस्त भएको त्यो दिन” भन्ने आवरण लेखहरूका लागि तपाईंहरूलाई धेरै धन्यवाद। (फेब्रुअरी ८, २००२) यी लेखहरूले मलाई साह्रै प्रभाव पाऱ्यो अनि समय र अवसरले हामी सबैलाई कसरी असर गर्छ भन्ने कुरा बुझ्न मलाई मदत गऱ्यो। धेरैले ज्यान गुमाउनु परेको कुरा सोच्दा मलाई दुःख लाग्छ।
एस.बी.आर., डेनमार्क (g02 8/22)
“टाट्यानाको प्रार्थना” प्रकाशित गर्नुभएकोमा तपाईंलाई धन्यवाद छ। आवरण लेख पढ्दा नै म रोइसकेकी थिएँ, यो पेटी पढेपछि त म झनै धुरु-धुरु रोएँ। आतंकवादी आक्रमणमा आफ्ना आमाबाबु गुमाएका छोराछोरीको आध्यात्मिक उन्नतिको लागि म प्रार्थना गर्न चाहन्छु ताकि उनीहरूले आफ्ना आमाबाबुलाई नयाँ संसारमा फेरि भेट्न सकून्। साथै, यस लेखमार्फत मैले आफ्नो कृतज्ञतालाई अझ गहिरो बनाउन सकें किनभने एक जना यहोवाको साक्षीको हैसियतमा मसित भविष्यको उज्ज्वल आशा छ।
टि. ए., जापान (g02 8/22)
म आफू जर्मनीको भए तापनि सेप्टेम्बर ११ को घटना म र मेरो परिवारको लागि हृदयविदारक थियो। तीन महिनापछि पनि मेरी नौ वर्षीया छोरीले गगनचुम्बी भवनमा हवाईजहाज ठोक्किएको चित्र बनाइरहेकी थिइन्। हामी यस्ता दुःखलाग्दा घटनाहरू विगतको कुरा हुने दिनको बाटो हेरिरहेका छौं।
इ. जी., जर्मनी (g02 8/22)
न्यु योर्कमा घटेको घटना देखेपछि मैले यहोवालाई प्रार्थना गरेर दुर्घटनाबाट बचेकाहरूलाई बल अनि पीडित परिवारहरूलाई आशा प्रदान गर्नहोस् भनी बिन्ती गरें। यी लेखहरू पढ्दा मेरो अनि अन्य थुप्रै व्यक्तिहरूको प्रार्थना कसरी सुनुवाइ भएछ भन्ने कुरा थाह पाएँ। विपत्ति भन्ने कुरा कुनै पनि बेला आइपर्दो रहेछ भनी थाह पाएपछि यसले मलाई आफ्नो जीवन पुनः केलाएर हेर्न प्रोत्साहित गऱ्यो।
एम. भी., इटाली (g02 8/22)
हामीलाई विशेष गरी घटनाका प्रत्यक्षदर्शीहरूले दिएको बयान निकै रोचक लाग्यो। दुर्घटनाबाट बचेकाहरूको कुरा सुन्दा हाम्रो आँखा आँसुले भरियो। पीडित सबैलाई मदत गर्नुहोस् भनी हामी यहोवासित बिन्ती गर्नुका साथै यस ब्यूँझनुहोस्!-मार्फत उनीहरूले सान्त्वना पाउन सकून् भनी प्रार्थना पनि गर्छौं। जवानहरू भएको कारण त्यहाँ सोधिएका प्रश्नहरूले हामीलाई आफ्नो जीवन कसरी बिताइरहेका छौं र हामीले कुन कुरालाई प्राथमिकता दिइरहेका छौं, त्यसमाथि विचार गर्न प्रोत्साहित गऱ्यो। हाम्रो इच्छा यही छ कि तपाईंहरूले यो पत्रिका प्रकाशित गर्न नछोड्नुहोला।
टि. एम. र ए. पी., स्लोभेनिया (g02 8/22)
म माध्यामिक स्कूलको तेस्रो वर्षमा अध्ययनरत १४ वर्षीया विद्यार्थी हुँ। यो लेख पढ्दा मैले घटनासित सम्बन्धित डर र अरूको ज्यान बचाउन मानिसहरूले कसरी आफ्नो ज्यान दाउमा लगाए भन्ने कुरा थाह पाएँ। कोही-कोही वारुणकर्मीहरूले हाफ्नो ज्यान गुमाएको कुरा मैले समाचारमा त सुनेकी थिएँ तर यसले व्यक्तिगत रूपमा मलाई खासै केही असर गरेको थिएन। “टाट्यानाको प्रार्थना” भन्ने पेटी पढेपछि म धुरु-धुरु रोएँ। माध्यामिक स्कूलको पहिलो वर्षमा मैले आफ्नो बुबा रोगको कारण गुमाएकी थिएँ। पेटीले मलाई यसप्रकार विचार गर्न लगायो, ‘टाट्यानाको लागि नयाँ संसार जत्ति वास्तविक थियो के मेरोलागि पनि त्यत्तिकै वास्तविक छ?’ म यो पत्रिका स्कूलका मेरा शिक्षक तथा साथीहरूलाई दिन चाहन्छु। कृपया यो उत्कृष्ट पत्रिका छाप्न नछोड्नुहोस्!
एच. टी., जापान (g02 8/22)
नयाँ डिजाइन सन् १९७८ मा मैले पहिलो चोटि पत्रिका पढ्न थालेदेखि यता ब्यूँझनुहोस्!-को बाह्य रूपमा निकै सुधार भएको देख्न पाउनु धेरै खुसीको कुरा हो। फेब्रुअरी ८, २००२ को अंक हेर्दै जाँदा त्यस पत्रिकाका पानाहरूले मेरो ध्यान खिच्यो। लेखका शीर्षकहरू आकर्षक हुनुका साथै उदाहरणहरू अति रोचक छन्। पत्रिकाको बनावटले पढाइलाई झनै आनन्ददायी बनाएको छ। यो नयाँ डिजाइनले धेरैभन्दा धेरै नम्र व्यक्तिहरूलाई यहोवातर्फ आकर्षित गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।
भी.पी.एल., ब्राजिल (g02 8/22)