सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बामाकोका कपडा कुट्‌नेहरू

बामाकोका कपडा कुट्‌नेहरू

बामाकोका कपडा कुट्‌नेहरू

पश्‍चिम अफ्रिकी देश, मालीको राजधानी बामाकोमा दिनभरि नै एकनासे लयबद्ध तालमा केही कुटेको आवाज सुन्‍न सकिन्छ। तथापि, यो कुनै संगीतकारले निकालेको धुन भने होइन। यो एकनासे तरिकामा ढोल पिटेजस्तो सुनिने आवाज कपडा कुट्‌ने व्यक्‍तिहरूको स-साना झुपडीहरूबाट आएको आवाज हो। तर यसरी कपडा कुट्‌नुको कारण?

कपडा कुट्‌ने काम असाधारण कपडा बनाउने प्रक्रियाको अन्तिम कदम हो। यी सबै प्रक्रिया सेतो कपडाको एक टुक्राबाट सुरु हुन्छ। साधारणतया यसलाई किसिम-किसिमको रङ र ढाँचाहरूमा रंग्याइन्छ। त्यसपछि यसलाई एक जातको कन्द वा विभिन्‍न किसिमको चोप निस्कने रूखहरूको चोपको पाउडरबाट तयार पारिएको बाक्लो झोलमा डुबाइन्छ। यसलाई घाममा सुकाएपछि यो कपडा गाता जत्तिकै कडा हुन्छ। यति गरिसकेपछि यो अन्तिम कदम अर्थात्‌ कपडा कुट्‌नको लागि तयार हुन्छ।

कपडा कुट्‌नेहरूको मुख्य काम कडा कपडालाई नखुम्चिने नभएसम्म कुटेको कुट्यै गर्नु हो। उनीहरूको स-साना झुपडीभित्र तपाईंले सामान्यता दुई जना जवान मानिस एकअर्कातिर फर्केर बसेको पाउनुहुन्छ; ती दुईको बीचमा सिया रूखको मुढा हुन्छ। मानिसहरूले कपडामा हल्कासित मैन दल्छन्‌ र यसलाई मुढामाथि तन्काएर राख्छन्‌। त्यसपछि, सिया रूखबाटै बनाइएको काठको मुंग्रो प्रयोग गरेर उनीहरूले कपडालाई कुट्‌छन्‌। एउटाले नकुटेको ठाउँमा अर्कोले कुट्‌दै उनीहरूले तालमा ताल मिलाएर पालैपालोसित कुट्‌छन्‌।

खुम्चिएको कपडालाई चट्ट मिलाउन किन इस्त्री प्रयोग नगरिएको? एउटा कारण त, इस्त्रीबाट निस्केको तापले कपडाको रङ छिट्टै उड्‌छ। साथै, कपडा कुट्‌नेहरूले जत्ति उज्यालो रङ निकाल्छ इस्त्रीले त्यत्ति निकाल्न सक्दैन। किनकि मुंग्रोले जति पटक कुट्यो त्यति नै कपडामा चमक आउँछ, जसले कपडाको रङलाई झनै चम्किलो बनाइदिन्छ। राम्ररी कुटिसकेपछि कपडा यत्ति चम्किलो देखिन्छ कि तपाईंलाई यो भर्खरै रंग्याइएको हो कि जस्तो लाग्न सक्छ।

यदि तपाईं यस शहरको बाटो भएर हिंडिरहनुभएको छ र एकनासे तरिकामा ढोल पिटेजस्तो आवाज सुन्‍नुभयो भने, आफ्नो वरिपरिका झुपडीहरूमा नियालेर हेर्नुहोस्‌। त्यो आवाज ढोलबाट नभई बामाकोका कपडा कुट्‌नेहरूले कपडा कुटेको हुन सक्छ। (g02 9/22)