कहाँ जान्छ होला पानी?
कहाँ जान्छ होला पानी?
अष्ट्रेलियाका ब्यूँझनुहोस्! लेखकद्वारा
डर! यो मेरो पहिलो प्रतिक्रिया थियो। मेरो बाथरूमको निकासबाट निस्किरहेको फोहोर पानीको फींजले मेरो पूरा अपार्टमेन्ट नै दुर्गन्धमय पानीले भरिने खतरा थियो। मैले तुरुन्तै प्लम्बरलाई बोलाएँ। के गर्ने थाह नभएकोले डरले मेरो मुख सुक्यो र पानीले बिस्तारै मेरो मोजा भिज्न थाल्यो, छक्क पर्दै मैले यस्तो प्रश्न गरें, “कहाँबाट आयो होला यो पानी?’
प्लम्बरले निकास खोल्ने प्रयास गर्दै यसो भने: “शहरका बासिन्दाहरूमध्ये एक जनालेप्रतिदिन सरदर २०० देखि ४०० लिटर पानी प्रयोग गर्छन्। प्रत्येक पुरुष, महिला र बच्चाले एक वर्षमा लगभग १,००,००० लिटर पानी चलाउँछन्। मैले सोधें, “मैले कसरी त्यति धेरै पानी प्रयोग गर्न सक्छु र? म पक्कै पनि त्यति धेरै पानी पिउँदिन!” तिनले यसो भने, “तपाईंले त्यति धेरै पानी पिउनु त हुन्न, तर हरेक दिन तपाईं फोहरा वा धारामा नुहाउनुहुन्छ, शौचालयमा फ्लस गर्नुहुन्छ र सायद तपाईं लुगा धुने वा भाँडा माझ्ने मेसिन पनि प्रयोग गर्नुहुन्छ होला। यसरी र अरू विभिन्न तरिकाद्वारा हाम्रो आधुनिक जीवन शैलीको कारण हामीले आफ्ना हजुरबा हजुरआमाले भन्दा दुइ गुणा बढी पानी चलाउँछौं।” त्यसैले हाम्रो मनमा यस्तो प्रश्न आउँछ, ‘कहाँ जान्छ होला त्यो सब पानी?’
दिनहुँ निकासमा जाने पानी हामी बस्ने देश वा शहरअनुसार एकदमै भिन्नै किसिमले प्रशोधन गरिने कुरा मैले थाह पाएँ। कुनै-कुनै देशमा त अहिले यो जीवन र मृत्युको प्रश्न भएको छ। (पृष्ठ २७ का पेटीहरू हेर्नुहोस्।) स्थानीय फोहोर पानी प्रशोधनस्थलको भ्रमणमा मसितै आउनुहोस् र हामी जहाँ बसे तापनि हामीले फ्याँकेको पानी कहाँ जान्छ अनि हामीले निकास वा शौचालयमा पानीसँगै कुनै चीजबीजहरू फ्याँक्नुअघि किन होसियारी भई सोच्नु महत्त्वपूर्ण छ भनी पत्ता लगाउनुहोस्।
प्रशोधनस्थलमा
फोहोर पानी प्रशोधनस्थलमा पनि के जानु जस्तो तपाईंलाई लाग्न सक्छ भनी मलाई थाह छ। मलाई पनि त्यस्तै लाग्छ। तर हाम्रो शहरलाई फोहोर मैलाले नढाक्न हामीमध्ये धेरै यस्ता प्रशोधनस्थलमा भर पर्छौं। यस्ता प्रशोधनस्थलहरूलाई सुचारु रूपमा सञ्चालन गर्न हामी सबैको जिम्मेवारी छ। हाम्रो गन्तव्य प्रसिद्ध सिड्नी हार्वरको ठीक दक्षिणतिर पर्ने मालाबरस्थित प्रमुख प्रशोधनस्थल हो। मेरो बाथरूमको पानी कसरी यस प्रशोधनस्थलसम्म पुग्छ?
शौचालयमा फ्लस गर्दा, सिन्कमा पानी चलाउँदा, नुहाउँदा पानी बगेर फोहोर पानी प्रशोधनस्थलसम्म पुग्छ। पचास किलोमिटरको यात्रा पछि यो पानी दिनमा ४८ करोड लिटर पानी बगेर आउने प्रशोधनस्थलमा मिसिन्छ।
यो प्रशोधनस्थल हेर्न लायकको हुनु र दुर्गन्धित नहुनुको कारणबारे प्रशोधनस्थलका जनसम्पर्क अधिकारी रसले मलाई यसो भने: “अधिकांश प्रशोधन प्रक्रिया जमिनमुनि रहेको हुन्छ। यसो गर्दा ग्याँस सीधै बाहिर नगई ग्याँस प्रशोधन गर्ने यन्त्रद्वारा (ठूलो घैंटो आकारको चिम्नी) बाहिर निस्कन्छ, जसले दुर्गन्ध हटाउँछ। त्यसपछि शुद्ध हावा मात्र वायुमण्डलमा छोडिन्छ। प्रशोधनस्थलको वरिपरि हजारौं घरहरू भए तापनि मकहाँ वर्षमा लगभग
दसवटा मात्रै दुर्गन्धको गुनासोबारे टेलिफोन आउने गर्छन्।” रसले अब हामीलाई लान लागेको ठाउँ पक्कै पनि त्यस्ता “दुर्गन्धहरूको समस्याको” स्रोत हुनुपर्छ।फोहोर पानी के हो?
हामी प्रशोधनस्थलको अझै भित्र जाने क्रममा हाम्रो गाइड हामीलाई यसो भन्छन्: “फोहोर पानीमा ९९.९ प्रतिशत पानी र मानिसको दिसा पिसाब, रासायनिक पदार्थ र अन्य विविध चीजबीजहरू हुन्छन्। पचपन्न हजार हेक्टरभन्दा धेरै क्षेत्रफलभित्र रहेका घर र उद्योगहरूबाट २०,००० किलोमिटर पाइपद्वारा संकलित फोहोर पानी समुद्री सतहभन्दा २ मिटर तल रहेको यस प्रशोधनस्थलसम्म आइपुग्छ। यो पानी चरणबद्ध चाल्नीहरूद्वारा छानिन्छ र ती चाल्नीहरूले थाङ्नो कपडाका टुक्रा-टाक्री, ढुंगा, कागत र प्लास्टिकहरू छुट्याउने गर्छन्।
त्यसपछि गिर्खाहरूको कक्षमा हावाका फोकाहरूद्वारा जैविक पदार्थहरू तैराइन्छ र गह्रौ गिर्खाहरू पींधमा थिग्रेर बस्छन्। यी सबै अजैविक फोहोरहरू संकलन गरिन्छ र फोहोर पुर्ने ठाउँमा पठाइन्छ। बाँकी रहेको फोहोर पानी १५ मिटर माथि रहेको थिग्राइने ट्यांकमा तानिन्छ।”ती ट्यांकहरूले एउटा फुटबल मैदान जत्तिको ठाउँ ओगट्छ, यदि हावा शुद्धिकरण गर्ने प्रणाली प्रभावकारी नभएको भए वरपरका छिमेकीहरूले कति गुनासो गर्ने थिए होलान् भन्ने कुरा तपाईंले कल्पना गर्न सक्नुहुन्छ। ट्यांकमा पानी बिस्तारै बग्दै गर्दा तेल र चिल्लो पदार्थहरू सतहमा तैरन्छन् र त्यसलाई हटाइन्छ। मसिनो ठोस पदार्थ अथवा फोहोर लेदो पींधमा थिग्रन्छ र ठूलो यान्त्रिक ब्लेडद्वारा ती थिग्रेका पदार्थ हटाइन्छ र त्यहाँबाट त्यसलाई थप प्रशोधनको लागि अन्यत्र पठाइन्छ।
त्यो प्रशोधित फोहोर पानी जमिनमुनि रहेको तीन किलोमिटर लामो सुरुङद्वारा सुमद्रमा पठाइन्छ। त्यहाँ त्यो पानी समुद्रको सतहमा तैरन्छ र छालहरूबाट ६० देखि ८० किलोमिटर गहिराइमा गएर फैलन्छ। तीव्र तटीय करेन्टले फोहोर पानीलाई तितरबितर पारिदिन्छ र नुनिलो पानीको प्राकृतिक शुद्धिकरणद्वारा प्रशोधन कार्य सम्पन्न हुन्छ। प्रशोधनस्थलमा बाँकी रहेका फोहोर लेदो एनाइरोबिक डाइजेस्टर नामक ठूलो ट्यांकमा तानिन्छ जहाँ सुक्ष्म जैविक तत्त्वहरूले जैविक तत्त्वहरूलाई मिथेन ग्याँस र हिलोलाई ठोसमा परिणत गरिदिन्छ।
हिलोबाट माटो
अलि आराम महसुस गर्दै म रसको पछि-पछि ताजा हावा भएतिर उक्लें। हामी हावा नछिर्ने हिलोको ट्यांकमाथि चढ्यौं। तिनी अझ यसो भन्छन्: “सूक्ष्मजैविक पदार्थद्वारा उत्पादित मिथेन, विद्युतीय जेनेरेटरको उर्जाको रूपमा प्रयोग गरिनुका साथै यसले प्रशोधनस्थल सञ्चालन गर्न ६० प्रतिशतभन्दा धेरै उर्जा दिन्छ। ढिक्का फोहोर लेदोलाई शुद्ध गरिन्छ र त्यसमा चून थपिन्छ र यसलाई बिरुवालाई पोषण दिने बायोसलिड्स नाउँ गरेको उपयोगी वस्तुमा परिणत गरिन्छ। मालाबार सिवेज ट्रिटमेन्ट प्लान्टले मात्र एक वर्षमा ४०,००० टन बायोसलिड्स उत्पादन गर्छ। दस वर्ष पहिले यी अप्रशोधित फोहोर लेदोलाई खरानी बनाइन्थ्यो वा समुद्रमा फ्याँकिन्थ्यो तर हाल यस्ता स्रोतहरूको सदुपयोग गरिन्छ।
रसले मलाई एउटा पुस्तिका दिए जसले यस्तो व्याख्या गर्छ: “बायोसलिड्सको प्रयोग पश्चात् [न्यु साउथ वेल्सका] जंगलहरूमा वनस्पतिहरूको उत्पादनमा २० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको देखिन्छ।” यसले ‘गहूँ बालीमा बायोसलिड्सको प्रयोगबाट उत्पादनमा ७० प्रतिशतसम्म’ वृद्धि आएको कुरा पनि बताउँछ। मैले आफ्नै बगैंचाका फूलहरूमा प्राङ्गारिक बायोसलिड्सलाई मलको रूपमा प्रयोग गर्दा कुनै हानि नहुने कुरा पत्ता लगाएँ।
न्याउरी मारी पछुतो?
हाम्रो भ्रमणको अन्तमा हाम्रो गाइडले निकासमा रंग, कीटनाशक औषधी, औषधी वा तेल पठायौं भने प्रशोधनस्थलको सूक्ष्मजीवहरू मर्न सक्ने अनि प्रशोधन क्रिया रोकिन सक्नेबारे सम्झाए। तिनले यस कुरालाई जोड दिए, ‘अति चिल्लो पदार्थले हाम्रो शरीरको धमनीलाई साँघुरो बनाएजस्तै तेल र चिल्लो पदार्थले निकास जाने पाइपलाई अति साँघुरो बनाइदिन्छ र काम नलाग्ने थाङ्ना, कपडा र शौचालयमा फ्लस गरेर पठाइएको प्लास्टिकहरू निकासबाट जाँदैन। बरु, ती सबैले पाइपको प्वाल बन्द गरिदिन्छ।’ काम नलाग्ने चीजबीजहरूलाई निकासबाट पठाउन त सकिएला तर जब निकासबाट पानी बाहिर आउँछ, त्यतिबेला निकासमा पठाइएको चीजबीजहरूको सम्झना आउँछ भनेर मैले बुझें। त्यसैले अर्को पटक तपाईं नुहाउनुहुँदा, शौचालय फ्लस गर्नुहुँदा, सिन्क चलाउनुहुँदा त्यो पानी कहाँ जान्छ होला भनी विचार गर्नुहोस्।. (g02 10/8)
[पृष्ठ २५-मा भएको पेटी/चित्र]
फोहोर पानीदेखि पिउने पानीसम्म
संयुक्त राज्यको कम वर्षा हुने क्यालिफोर्नियाको अरेन्ज काउन्टीका लाखौं बासिन्दाहरूले फोहोर पानीको समस्याबाट मुक्ति पाउन एउटा अत्याधुनिक समाधानबाट फाइदा उठाएका छन्। हरेक दिन लाखौं लिटर फोहोर पानी सीधै समुद्रमा फाल्नुको सट्टा ती अधिकांश पानीका स्रोतमा फर्कने गर्छन्। धेरै वर्षदेखि फोहोर पानी प्रशोधनद्वारा यस्तो असाधारण कार्य सफल हुँदै आएको छ। सुरुको प्रशोधनपछि फोहोर पानीलाई फेरि दोस्रो र तेस्रो चरणमा प्रशोधन गरिन्छ। यी चरणहरूमा पानीको शुद्धिकरण हुन्छ जसले गर्दा यो पानी पिउन योग्यको हुन्छ। त्यसपछि यो गहिरो इनारमा मिसिन्छ र जमिनमुनिको ठूलो भाँडोमा जान्छ। त्यहाँ गएर जमिनमुनिको भाँडो भरिनुका साथै यसले नुनिलो पानीलाई चुहिन नदिएर जमिनमुनिको जलभण्डारलाई क्षति पुऱ्याउन दिंदैन। जमिनमुनिको यो स्रोतद्वारा जिल्लाको कुल पानीको आवश्यकताको ७५ प्रतिशत पूरा गर्छ।
[पृष्ठ २७-मा भएको पेटी]
पानी प्रयोग गर्दा विवेकी हुने पाँच उपायहरू
◼ वासर बिग्रिएमा फेर्नुहोस्—तपतप पानी चुहिने धाराले वर्षमा ७,००० लिटर पानी खेर फाल्न सक्छ।
◼ आफ्नो शौचालयमा पानी चुहिएको छ कि छैन जाँच्नुहोस्—यसले वर्षमा १६,००० लिटर पानी खेर फाल्न सक्छ।
◼ ठिक्क मात्रामा पानी फ्याँक्ने नुहाउने फोहोरा जडान गर्नुहोस्। सामान्यतया सावर हेडले १ मिनेटमा १८ लिटर पानी फ्याँक्छ; थोरै पानी फ्याँक्ने सावर हेडले एक मिनेटमा नौ लिटर पानी फ्याँक्छ। यसो गरेमा चार जनाको परिवारले एक वर्षमा ८०,००० लिटर पानी जोगाउँछ।
◼ यदि तपाईंको शौचालयमा ड्वेल फ्लस अर्थात् दोहोरो फ्लस प्रणाली जडान गरिएको छ भने उपयुक्त भएमा आवश्यकताअनुसार फ्लस गर्नुहोस्। यसो गर्दा चार जनाको परिवारले वर्षमा ३६,००० लिटर पानी जोगाउँछ।
◼ आफ्नो धारामा वायु प्रवाहित गर्ने एरियटर नामक उपकरण जडान गर्नुहोस्—यो त्यति महंगो हुँदैन र यसले उपयोगितामा कुनै कमी नल्याई पानीको बहाउलाई कम गर्छ।
[पृष्ठ २७-मा भएको पेटी]
फोहोर पानीले विश्वभरि निम्त्याएको संकट
“विश्वका १.२ अरब मानिसहरूले अझै सफा पिउने पानी पाएका छैनन् जबकि २.९ अरब मानिसहरूले पर्याप्त सरसफाइको सुविधा पाएका छैनन् जसले गर्दा वर्षेनी ५० लाख मानिसहरू पानीद्वारा लाग्ने रोगबाट मर्ने गर्छन् जसमा अधिकांश बच्चाहरू पर्छन्।”—नेदरल्याण्ड्सको हेगमा आयोजित द सेकेन्ड वर्ल्ड वाटर फोरूम।
[Box on page २६]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
मालाबारस्थित फोहोर पानी प्रशोधन प्रक्रिया (सरलीकृत दृश्य)
1. फोहर पानी प्रशोधनस्थलभित्र जान्छ
↓
2. छान्ने प्रक्रिया
3. गिर्खा कक्ष ⇨ ⇨ 4. फोहोर पुर्ने ठाउँमा लैजाँदै
↓
5. थिग्राइने ट्यांक ⇨ ⇨ 6. समुद्रतिर पठाइँदै
↓
7. एनाइरोबिक डाइजेस्टर ⇨ ⇨ 8. विद्युतीय जेनेरेटर
↓
9. बायोसलिड्स सञ्चय गरिने ट्यांक
[चित्र]
एनाइरोबिक डाइजेस्टर ट्यांकले हिलोलाई उपयोगी मल र मिथेन ग्याँसमा परिणत गरिदिन्छ
मिथेन ग्याँसद्वारा विद्युत उत्पादन गरिन्छ