के शान्तिको आशा धमिलिंदैछ?
के शान्तिको आशा धमिलिंदैछ?
“आज हामीहरू आफूलाई . . . भुमरी अथवा पहिले कहिल्यै नभएको विपत्तिबीच बाँचिरहेको अनुभव गर्दैछौं।”—“ला रेपूब्लिका” खबरपत्रिका, रोम, इटाली।
गत वर्ष न्यु योर्क शहर र वाशिङ्टन डि.सि.-मा भएको आतंककारी आक्रमणपछि अझ धेरै मानिसहरू मानवजातिको भविष्यबारे चिन्तित छन्। आगोका लप्काहरूमाझ जुम्ल्याहा भवनहरू ढल्दै गरेको दृश्यका साथै त्यस घटनाबाट बाँच्न सफल भएका मानिसहरूका निराश अनुहारहरू टिभीमा अनगिन्ती पटक प्रसारण भइसके। यी दृश्यहरूले संसारभरका मानिसहरूलाई वेदनामा डुबाएको छ। त्यस वेदनाको साथै संसारमा एउटा ऐतिहासिक परिवर्तन भएको महसुस गरिएको छ। होइन र?
सेप्टेम्बर ११, २००१ को घटनापछि युद्ध सुरु भयो। पहिले एक-आपसमा शत्रुवत् व्यवहार गर्ने राष्ट्रहरूले समेत आतंकवादलाई दबाउने एकिकृत प्रयत्नमा सहकार्य गरे। समग्रमा भन्ने हो भने, मृत्यु र विनाशको सिकार हुनेहरूको संख्या अकासिएको छ। तर विश्वभरका थुप्रै मानिसहरूले अनुभव गरेका अझ महत्त्वपूर्ण परिवर्तन भनेको सुरक्षाको अनुभूति गुम्नु अर्थात् वास्तवमा कोही पनि मानिस, कतै पनि सुरक्षित छैन भन्ने महसुस गर्नु हो।
विश्वका नेताहरूले ठूलठूला समस्याहरूको सामना गरिरहेका छन्। आतंकवादलाई उक्साउने तत्त्व भनेको कसैले पनि हटाउन नसक्ने गरिबी र कट्टरपन्थ भएको कारण, आतंकवादलाई डढेलोझैं फैलनबाट कसरी रोक्न सकिन्छ भन्ने कुरामा पत्रकार तथा टिप्पणीकारहरू चिन्तित छन्। संसारमा अन्याय यत्ति व्याप्त छ कि जुनसुकै कुराले पनि भयावह रूप लिन सक्छ। समाजको यस्तो दुरावस्थाको कहिल्यै अन्त होला र? भनेर सबै मानिसहरू चिन्तित छन्। के युद्ध अनि यसले निम्त्याउने वेदना, मृत्यु तथा विनाशको कहिल्यै अन्त हुनेछ?
यी प्रश्नहरूको जवाफका लागि करोडौं मानिसहरू संगठित धर्महरूको मुख ताक्छन्। तथापि, अरू भने यसमा शंका गर्छन्। तपाईं नि? तपाईंको विचारमा धार्मिक नेताहरूले यस्ता प्रश्नहरूको जवाफ दिन सक्छन् होला? अनि के तिनीहरूले गरेका प्रार्थनाहरूले शान्ति स्थापना गर्न योगदान पुऱ्याउँछ होला? (g02 10/22)