सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तीस वर्षपछि एउटा अनुपम पुनर्मिलन

तीस वर्षपछि एउटा अनुपम पुनर्मिलन

तीस वर्षपछि एउटा अनुपम पुनर्मिलन

सन्‌ १९६७ मा दुई जना युवकहरूको अप्रत्याशित भेट भयो। तिनीहरू संयुक्‍त राज्य अमेरिकास्थित मिचिगन टेक्निकल युनिभर्सिटीमा रूममेट थिए। लिमा, ओहायो निवासी १८ वर्षीय डेनिस वन विज्ञानका पहिलो वर्षका विद्यार्थी थिए। बाइस वर्षीय मार्क रुज न्यु योर्कस्थित बफेलोका बासिन्दा थिए। उनी सिभिल इन्जिनियरिङका तेस्रो वर्षका विद्यार्थी थिए।

त्यसबेला तिनीहरूको मित्रता धेरै समयसम्म रहेन। दुवै जना विश्‍वविद्यालयको पढाइ पूरा नगरीकनै आ-आफ्नो बाटो लागे। यो कुरा तीन दशकअगाडिको हो। त्यसपछि एक दिन डोमिनिकन गणतन्त्रमा दुवै जनाको फेरि भेट भयो। केही हदसम्म यस अप्रत्याशित पुनर्मिलन संयोग हुन सक्छ। तर एउटा अर्को कारण पनि समावेश थियो। त्यो के थियो? यसको जवाफ पाउन तिनीहरूले बिताएको जीवनलाई केलाएर हेरौं।

डेनिस युद्धमा जान्छन्‌

कलेजको पहिलो वर्ष सकाएर डेनिस घर फर्के। त्यसपछि डिसेम्बर १९६७ मा उनलाई सं.रा.अ.-को सेनाको अनिवार्य सैनिक सेवामा भर्ती गरियो र जून १९६८ मा भियतनाम पठाइयो। त्यहाँ उनले युद्धको भयानक रूप आफ्नै आँखाले देखे। सन्‌ १९६९ मा सैन्य सेवाको अवधि समाप्त भएपछि उनी संयुक्‍त राज्य अमेरिका फर्के र पछि उनले ओहायोको एउटा ठूलो कम्पनीमा जागिर पाए। तर उनी सन्तुष्ट थिएनन्‌।

डेनिस भन्छन्‌, “अलस्कामा एउटा फार्म हाउस बनाएर त्यतै बसोबास गर्ने मेरो सानैदेखिको सपना थियो।” त्यसैले १९७१ मा उनी र उनको हाई-स्कूलका एक जना साथी त्यो सपना पूरा गर्नतिर लागे। तर उनको त्यो सपना पूरा भएन र उनी धेरै निम्न आयका कामहरूमा अल्झिनुपऱ्‍यो। उनले केही समयको लागि पालमा बसेर जंगलमा आगोको निरीक्षण तथा नियन्त्रण गर्ने काम पनि गरे। उनले लामो दाह्री र कपाल पाल्नुका साथै गाँजा तान्‍न थाले।

सन्‌ १९७२ मा न्यु ओर्लियन्स, लुइजियानामा मार्डि ग्रासको अनुभव गर्न डेनिसले आंकोराज छाडे। त्यसपछि आरकान्सासको जंगलमा उनले एउटा सानो छाप्रो बनाए। त्यहाँ उनले घर बनाउनको लागि चाहिने काठको बिम तथा कंक्रीटहरू बनाउने काम गरे। जून १९७३ मा जीवनको उद्देश्‍य भेट्टाउन सकिएला कि भन्‍ने आशामा उनले अरूको गाडीमा लिफ्ट मागी-मागी देशको विभिन्‍न भागमा यात्रा गरे।

मार्क, युद्ध विरोधी अन्दोलनमा

डेनिसले विश्‍वविद्यालय छोडेपछि मार्कले केही समय त्यहाँ अध्ययन गरे तर पछि तिनले युद्धलाई समर्थन गर्ने दुनियाँबाट आफू अलग बस्ने निर्णय गरे। त्यसैले तिनी बफेलो नै फर्के जहाँ तिनले केही समयको लागि इस्पात कारखानामा प्रबन्धकको रूपमा काम गरे। युद्धका निम्ति गरिएका प्रयासहरूमा असन्तुष्ट हुँदै तिनले आफ्नो काम छाडे, मोटर साइकल किने र देशको अर्कै भाग क्यालिफोर्नियाको सान फ्रान्सिसकोतिर लागे। तिनीहरूलाई थाह नभए तापनि केही समयको लागि डेनिस र मार्क एकै समयमा सान फ्रान्सिसकोमा थिए।

डेनिसले जस्तै मार्कले पनि लामो दाह्री र कपाल पाल्न थाल्नुका साथै गाँजा तान्‍न थाले। तर मार्कचाहिं युद्ध विरोधी आन्दोलनमा विरोध र ऱ्‍यालीहरूमा भाग लिंदै सक्रिय रूपमा संलग्न भए। सैन्य सेवा छलेको कारण एफ बि आई-ले तिनलाई खोजिरहेको थियो। त्यसबाट भाग्न तिनले केही वर्षको लागि आफ्नो नाउँ परिवर्तन गरे। तिनले सान फ्रान्सिसकोमा हिप्पी जीवन शैली अपनाउन थाले। सन्‌ १९७० मा त्यहाँ दुई जना यहोवाका साक्षीहरू तिनको ढोकामा आए।

मार्क यसो भन्छन्‌: “तिनीहरूलाई मैले केही चासो देखाएको जस्तो लागेको हुनुपर्छ त्यसैले तिनीहरू फेरि आए। म घरमा थिइनँ तर तिनीहरूले हरियो बाइबल र तीनवटा पुस्तकहरू छाडेर गए।” तर मार्क राजनैतिक गतिविधिहरू र मस्तीको जीवन बिताउनमै व्यस्त भएकोले ती पुस्तकहरू पढ्‌न तिनले समयनै निकालेनन्‌। साथै, तिनलाई एफ बि आई-ले पनि खोजिरहेको थियो। त्यसैले फेरि नाउँ परिवर्तन गरेर तिनी वासिङ्‌टन डि.सी.-मा बसाइँ सरे। विश्‍वविद्यालयमा भेटेका तिनकी प्रेमिका काथी यानिसकिभीस पनि त्यहाँ आइन्‌।

अन्ततः १९७१ मा एफ बि आई-ले मार्कलाई फेला पाऱ्‍यो। दुई जना एफ बि आई-का कर्मचारीले तिनलाई प्लेनमा वासिङ्‌टन डि.सी.-देखि न्यु योर्कसम्म लगे र तिनलाई क्यानाडाको टोरोन्टो पठाउने निर्णय गरे। तर एफ बि आई-ले तिनी समाजको लागि कुनै खतरा नभएकोले तिनलाई केवल देशनिकाला गर्न चाहन्थे। त्यसको एक वर्षपछि काथी र तिनले विवाह गरे र तिनीहरू क्यानाडाको ब्रिटिश कोलोम्बियास्थित गाब्रिओला टापुमा बसाइँ सरे। तिनीहरू समाजबाट भाग्न चाहन्थे तर पनि तिनीहरूलाई जीवनको कुनै अर्थ हुनुपर्छ जस्तो लाग्थ्यो।

तिनीहरू साक्षी भए

जीवनको उद्देश्‍य थाह पाउन देशभित्रै यात्रा गरिरहेका डेनिसलाई त तपाईंहरूले बिर्सनुभएको छैन होला। यात्राको दौडान उनी मोन्टाना पुगे जहाँ उनले शीन्‍नुक नामक शहरबाहिर कटनीको समयमा एक जना किसानलाई मदत गर्नुपर्ने जागिर पाए। त्यस किसानकी श्रीमती र छोरी यहोवाका साक्षी थिए। डेनिसलाई पढ्‌नको लागि ब्यूँझनुहोस्‌! पत्रिका दिइयो। साक्षीहरूले साँचो धर्मको अभ्यास गर्छन्‌ भनेर बुझ्न उनलाई धेरै समय लागेन।

एउटा बाइबल लिएर डेनिस त्यो खेत छाडेर मोन्टानाको कालिस्पेलमा बसाइँ सरे। त्यहाँ उनी पहिलो चोटि यहोवाका साक्षीहरूको सभाहरूमा उपस्थित भए। त्यस सभामा उनले बाइबल अध्ययनको निम्ति आग्रह गरे। केही समयपछि उनले आफ्नो केश काटे र दाह्री खौरे। जनवरी १९७४ मा उनले पहिलो पटक प्रचारकार्यमा भाग लिए र मार्च ३, १९७४ मा मोन्टानाको पोलसनमा एउटा ठूलो बाल्टिन आकारको भाँडामा बप्तिस्मा लिए।

त्यतिनैबेला गाब्रिओला टापुमा बसोबास गरिरेहका मार्क र काथीले आफूसँग समय भएकोले बाइबल जाँचेर हेर्ने निर्णय गरे। तिनीहरूले किङ जेम्स भर्सन पढ्‌न थाले तर पुरानो अंग्रेजी भएकोले तिनीहरूलाई बुझ्न गाह्रो भयो। त्यसपछि मार्कले वर्षौं पहिले साक्षीहरूले दिएको बाइबल र पुस्तकहरू आफूसित भएको कुरा सम्झे। तिनीहरूले बाइबल सँगसँगै द ट्रुथ द्याट लीड्‌स टु इटर्नल लाइफइज द बाइबल रियली द वर्ड अफ गड? पुस्तकहरू पढे। तिनीहरूले सिकेका कुराहरूले मार्क र काथीलाई गहिरो प्रभाव पऱ्‍यो।

मार्क यसो भन्छन्‌: “विशेष गरी मसीहीहरूको एउटा समूह कुनै पनि हालतमा युद्धमा भाग लिंदैनन्‌ भनी ट्रुथ पुस्तकमा उल्लेख गरिएको तथ्यबाट म धेरै प्रभावित भएँ। मलाई तिनीहरूले साँचो मसीही धर्म अभ्यास गरिरहेको जस्तो लाग्यो।” केही समयपछि पक्राउ पर्ने जोखिम हुँदा हुँदै काथीको परिवारलाई भेट्‌न मार्क र काथी मिचिगनको हटनमा फर्के। त्यहाँ तिनीहरू हिप्पीको जस्तै पहिरनमै साक्षीहरूको सभामा उपस्थित भए। तिनीहरू बाइबल अध्ययन गर्न राजी भए र मिचिगनमा हुँदा तिनीहरूले अध्ययन गरे।

गाब्रिओला फर्केपछि तिनीहरूले ब्रिटिश कोलोम्बियाको नानिमो बाटोमा एक जना साक्षीलाई भेटे र बाइबल अध्ययन गर्न चाहेको कुरा बताए। सोही दिन केही साक्षीहरू डुंगामा तिनीहरूलाई भेट्‌न आए र बाइबल अध्ययन थालियो। तीन महिनापछि मार्क र काथीले प्रचार कार्यमा भाग लिन थाले। त्यसको तीन महिनापछि मार्च १०, १९७४ मा तिनीहरूले बप्तिस्मा लिए। यो मिति डेनिसले बप्तिस्मा लिएको एक हप्ता पछिको मिति हो।

डेनिस पूर्ण-समय सेवकाईमा

सेप्टेम्बर १९७४ मा डेनिस अग्रगामी अर्थात्‌ पूर्ण-समय सेवक बने। तिनी भन्छन्‌: “अग्रगामी गर्न पाएकोमा म आनन्दित थिएँ तर म आफ्नो सेवकाई विस्तार गर्न चाहन्थें। त्यसैले जुलाई १९७५ मा मैले यहोवाका साक्षीहरूको मुख्यालय ब्रुकलिन, न्यु योर्कमा सेवा गर्ने आवेदन दिएँ। त्यही वर्षको डिसेम्बरमा मलाई त्यहाँ काम गर्ने निम्तो दिइयो।”

डेनिसले पहिलो कार्यभारस्वरूप टावर्स होटेललाई मुख्यालयका कर्मचारीहरूको आवस गृहमा परिणत गर्ने काममा मदत गर्नुपर्ने थियो। तिनले टाइल टोलीको निरीक्षण गर्दै त्यहाँ धेरै वर्ष काम गरे। त्यसपछि विवाह गर्ने इच्छाले तिनी क्यालिफोर्नियामा बसाइँ सरे। क्याथिड्रल शहरको मण्डलीमा प्राचीनको हैसियतमा काम गरिरेहका बेला १९८४ मा तिनले क्याथी इन्ज नाउँ गरेकी एक अग्रगामी बहिनीसित विवाह गरे।

डेनिस र क्याथीले परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता दिन आफ्नो जीवनलाई सरल राख्न कटिबद्ध थिए। त्यसैले डेनिसले दक्षिणी क्यालिफोर्नियाको मुनाफादायी निर्माण व्यवसायमा संलग्न भएर प्रशस्त पैसा कमाउन सक्ने प्रायजसो अवसरहरू इन्कार गरे। सन्‌ १९८८ मा उनी र क्याथीले यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय निर्माण कार्यमा मदत गर्न निवेदन दिए। त्यस वर्षको डिसेम्बरमा तिनीहरूले अर्जेन्टिनाको बिउनस एरिजमा शाखा निर्माण आयोजनामा काममा सघाउने असाइनमेन्ट पाए।

सन्‌ १९८९ मा डेनिस र क्याथीले स्थायी रूपमा यहोवाका साक्षीहरूको निर्माण कार्यमा सेवा गर्ने निम्तो पाए। पूर्ण-समय सेवकाईको यस विशेष पक्ष अन्तर्गत तिनीहरूले दुई पटक सुरिनाम र कोलम्बियामा सेवा गरेका छन्‌। तिनीहरूले इक्वेडर र मेक्सिकोका साथै डोमिनिकन गणतन्त्रमा पनि शाखा निर्माणको त्यस्तै आयोजनाहरूमा काम गरेका छन्‌।

मार्क पूर्ण-समय सेवकाईमा

सन्‌ १९७६ मा सैन्य सेवामा नगई क्यानाडामा भागेका अन्य हजारौं अमेरिकी पुरुषहरूलाई संयुक्‍त राज्य सरकारले आममाफी दियो। तिनी र तिनकी पत्नी काथी सेवकाईमा धेरैभन्दा धेरै समय बिताउन आफ्नो जीवन सरल बनाउन चाहन्थे। त्यसैले मार्कले आंशिक समय अमिनको काम गरे अनि बप्तिस्मा लिनुअघिको उधारो रकमलाई तिनीहरूले बिस्तारै तिर्दै गए।

सन्‌ १९७८ मा क्यानाडाका साक्षीहरूले ओन्टारियोको टोरोन्टोमा नयाँ भवन बनाउने योजना बनाउँदै गर्दा मार्क र काथी त्यहाँ सेवा गर्न सक्षम थिए। मार्कलाई अमिनको कामको अनुभव भएकोले तिनीहरूलाई निर्माण कार्यमा सहभागी हुने निम्तो दिइयो। जून १९८१ मा निर्माण पूरा नभएसम्म तिनीहरूले जर्जटाउनमा यस परियोजनामा काम गरे। त्यसपछि तिनीहरू ब्रिटिश कोलोम्बियामा बसाइँ सरे जहाँ तिनीहरूले अर्को चार वर्ष यहोवाका साक्षीहरूको एउटा सम्मेलन भवन बनाउन मदत गरे। यो निर्माण कार्य पूरा भएपछि तिनीहरूलाई पुनः क्यानाडा शाखाको विस्तार कार्यको लागि निम्तो दिइयो।

जर्जटाउनमा केही वर्ष बिताएपछि सन्‌ १९८६ मा मार्क र काथीलाई क्यानाडा शाखाको नियमित सदस्य हुने निम्तो दिइयो। त्यतिबेलादेखि तिनीहरू त्यहाँ कर्मचारीको रूपमा सेवा गर्दैछन्‌ र तिनीहरूले अन्य थुप्रै देशहरूको निर्माण कार्यमा भाग लिने धेरै अवसरहरू पनि पाएका छन्‌। अमिनको काममा मार्कको अनुभव भएकोले तिनलाई दक्षिण र मध्य अमेरिका तथा क्यारिबियनको टापुहरूमा यहोवाका साक्षीहरूको शाखा तथा सम्मेलन भवनहरूको नापीको काममा पठाउन थालियो।

वर्षौंको दौडान तिनी र काथीले भेनेजुएला, निकारागुआ, हाइटी, गायना, बार्बाडोस, बहामास, डोमिनिका र संयुक्‍त राज्य (फ्लोरिडा) र डोमिनिकन गणतन्त्रमा सेवा गरे। पूर्ण-समय सेवकाईको यस विशेष कार्यभारद्वारा मार्कले फेरि एक चोटि डेनिसलाई भेट्‌ने मौका पाए।

डोमिनिकन गणतन्त्रमा पुनर्मिलन

मार्क र डेनिस डोमिनिकन गणतन्त्रमा एकै प्रकारका परियोजनामा संलग्न थिए तर उनीहरू यसबारे अनभिज्ञ थिए। एकदिन संयोगवश तिनीहरूको सान्ता डोमिङ्‌गोस्थित यहोवाका साक्षीहरूको शाखा भवनमा जम्काभेट भयो। तपाईं कल्पना गर्न सक्नुहुन्छ, एकअर्कालाई फेरि चिनजान गर्न पाउँदा तिनीहरू कत्ति खुसी भए होलान्‌! आखिर, तिनीहरू दुवै ३३ वर्ष पुगिसकेका थिए र आफ्नो जीवनमा घटेका धेरै घटनाहरू तिनीहरूले एक-अर्कालाई सुनाउनु थियो। छक्क पर्दै तिनीहरूले तपाईंले माथि पढिसक्नुभएका धेरैजसो कुराहरू एक-अर्कालाई सुनाए। तिनीहरू र तिनीहरूको अनुभव सुन्‍ने सबैका लागि चाखलाग्दो कुरा त के थियो भने तिनीहरूको जीवनका धेरैजसो कुराहरू मिल्दाजुल्दा थिए।

दुवैले हिप्पीको जीवन शैली अपनाए र भौतिकवादी आधुनिक जीवन शैली तथा यसका सारा फिक्रीहरूबाट भाग्न टाढा गएर बसे। डेनिसले क्याथी नाउँ गरेकी केटीसित विवाह गरे; मार्कले काथी नाउँ गरेकी केटीसित विवाह गरे। दुवैले पहिलो चोटि यहोवाका साक्षीहरूको सभा धाइसकेपछि बाइबल अध्ययन स्वीकारे। दुवैले १९७४ मार्च महिनामा बप्तिस्मा लिए। डेनिस संयुक्‍त राज्य अमेरिकामा र मार्क क्यानाडामा दुवै यहोवाका साक्षीहरूको शाखा परिवारका सदस्य बने। दुवैले आध्यात्मिक लक्ष्य हासिल गर्न आफ्नो जीवन सरल बनाउने कोसिस गरे। (मत्ती ६:२२) दुवै जना अन्तरराष्ट्रिय निर्माण कार्यमा संगल्न भए र धेरै देशहरूमा खटाइए। दुवैले डोमिनिकन गणतन्त्रमा एक-अर्कालाई भेट्‌ने मौका नपाएसम्म बाइबल सत्य स्वीकारेको कुनै पनि पुराना मित्रहरू भटेका थिएनन्‌।

के मार्क र डेनिसले यस चाखलाग्दो संयोगलाई विधिको विधान ठाने? कदापि ठानेनन्‌। तिनीहरूले बाइबलका यी शब्दहरूलाई मानिलिए, कहिलेकाहीं एकदमै रोचक ढंगमा “समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।” (उपदेशक ९:११) यद्यपि, तिनीहरूको पुनर्मिलनमा अर्को एउटा कुराले ठूलो भूमिका खेलेको कुरालाई भने तिनीहरू मानिलिन्छन्‌, त्यो हो: जीवनको उद्देश्‍यबारे तिनीहरूको एउटै प्रश्‍न र यहोवा परमेश्‍वरप्रति तिनीहरूको प्रेम।

डेनिस र मार्कको इतिहासले बाइबल सत्य सिक्ने सबै निष्कपट हृदय भएका व्यक्‍तिहरूको साझा अवस्थालाई चित्रण गर्छ। डेनिस यस्तो टिप्पणी गर्छन्‌: “मार्क र मेरो अनुभवबाट मानिसहरूको जीवनको हर अवस्था यहोवा जान्‍नुहुन्छ जब उहाँले तिनीहरूको हृदयलाई योग्य सम्झनुहुन्छ त्यतिबेला उहाँले तिनीहरूलाई आफूतिर खिच्नुहुन्छ।”—२ इतिहास १६:९; यूहन्‍ना ६:४४; प्रेरित १३:४८.

मार्क यसो भन्छन्‌: “जब कुनै व्यक्‍तिले यहोवाको स्तरहरूअनुरूप काँटछाँट गर्छ, आफ्नो जीवन समर्पण गर्छ र इच्छुकता देखाउँछ तब आफ्ना जनहरूको हितको लागि साँचो उपासनालाई अघि बढाउन यहोवाले त्यस व्यक्‍तिको प्रतिभा र दक्षताहरूलाई उपयोग गर्न सक्नुहुन्छ भन्‍ने कुरा बुझ्न हाम्रो अनुभवले हामीलाई मदत गऱ्‍यो।”—एफिसी ४:८.

यहोवा, आफ्ना जनहरूले मनतनले गरेको सेवाको इनाम दिनुहुन्छ भनेर पनि तिनीहरूको अनुभवले देखाउँछ। डेनिस र मार्कले निश्‍चयनै इनाम पाएको महसुस गर्छन्‌। डेनिस यसो भन्छन्‌, “विशेष पूर्ण-समय सेवाद्वारा राज्य गतिविधिमा समर्पित हुन पाउनु ठूलो सम्मानको कुरा हो। यसले हामीलाई सारा विश्‍वका मसीही भाइ तथा बहिनीहरूसित सँगै काम गरेर प्रोत्साहनहरू आदानप्रदान गर्ने अवसर दिएको छ।

मार्क यसो भन्छन्‌, “उहाँको राज्यलाई प्रथम स्थानमा राख्ने व्यक्‍तिहरूलाई यहोवाले पक्कै आशिष्‌ दिनुहुन्छ। क्यानाडा शाखा परिवारको सदस्यको हैसियतमा सेवा गर्नुका साथै अन्तरराष्ट्रिय निर्माण कार्यमा भाग लिन पाउनुलाई म विशेष आशिष्‌ ठान्छु।

के यो एउटा अनुपम पुनर्मिलन हो? अवश्‍य हो, किनकि मार्क यसो भन्छन्‌, “हामी दुईको भेट यत्ति रोमाञ्चक हुनुको वास्तविक कारण हामी दुवैले बेजोड परमेश्‍वर यहोवालाई चिन्यौं, प्रेम गऱ्‍यौं र सेवा गऱ्‍यौं।” (g02 10/22

[पृष्ठ २१-मा भएको चित्र]

डेनिस, १९६६

[पृष्ठ २१-मा भएको चित्र]

मार्क, १९६४

[पृष्ठ २३-मा भएको चित्र]

डेनिस, दक्षिण डाकोटामा, १९७४

[पृष्ठ २३-मा भएको चित्र]

मार्क, ओन्टारियोमा, १९७१

[पृष्ठ २४-मा भएको चित्र]

संयोगको पुनर्मिलनको लगत्तै डेनिस र मार्क आ-आफ्ना पत्नीहरूसित, २००१