सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुरातत्त्वशास्त्र विश्‍वासको लागि अपरिहार्य?

पुरातत्त्वशास्त्र विश्‍वासको लागि अपरिहार्य?

बाइबलको दृष्टिकोण

पुरातत्त्वशास्त्र विश्‍वासको लागि अपरिहार्य?

सन्‌ १८७३ मा अंग्रेज पादरी सामुएल मेनिङले यरूशलेमबारे यस्तो लेखे: “एकदम आकर्षक स्थल भएकोले पृथ्वीका हरेक कुनाबाट तीर्थयात्रीहरूको ताँती नै लाग्छ। भत्केका पर्खालहरू, लथालिंग बाटोघाटो अनि टुटेफुटेका भग्नावशेषहरूलाई लाखौं मानिसहरू आदर अनि श्रद्धाको दृष्टिकोणले हेर्छन्‌ र यस ठाउँले जस्तो पृथ्वीको अरू कुनै पनि भागले मानिसहरूलाई त्यति उत्साहित पार्न सकेको छैन।”

रोमी सम्राट्‌ कन्सटेन्टाइनको शासनकालदेखि नै मानिसहरू यस पवित्र भूमितर्फ आकर्षित भएका छन्‌। a तीर्थयात्रीहरू यस पवित्र भूमिमा एकपल्ट यात्रा गरेर धर्म कमाउने चाहना गर्दै आउने-जाने गरेको लगभग १,५०० वर्ष भइसकेको छ। यद्यपि, आश्‍चर्यको कुरा शास्त्रविद्‌हरूचाहिं १९ औं शताब्दीको प्रारम्भदेखि मात्र ती तीर्थयात्रीहरूका साथ त्यहाँ जान थाले। त्यसपछि बाइबलीय पुरातात्त्विक युग सुरु हुनुका साथै त्यहाँ भेटिएका प्राचीन पवित्र भूमिका चीजबीज, मानिस, स्थान तथा भाषाहरूबारे अध्ययन गर्न थालियो।

पुरातत्त्वविद्‌हरूले भेट्टाएका कुराहरूले बाइबल समयका थुप्रै पक्षहरूमाथि थप ज्ञान प्राप्त भएको छ। साथै, पुरातात्त्विक अभिलेखहरू अक्सर बाइबल इतिहासअनुरूप भएको पाइन्छ। तर त्यस्तो ज्ञान मसीही विश्‍वासको लागि नभई नहुने कुरा हो? यसको जवाफ पाउनुअघि यरूशलेम र यसको मन्दिरको थुप्रै पुरातात्त्विक उत्खनन स्थलहरूमा हाम्रो ध्यान केन्द्रित गरौं।

“ढुङ्‌गामाथि ढुङ्‌गा छोडिनेछैन”

यहूदी क्यालेन्डरअनुसार सा.यु. ३३, वसन्तऋतुको निसान ११ मा येशू ख्रीष्ट आफ्ना केही चेलाहरूलाई साथमा लिएर अन्तिम पटक यरूशलेमको मन्दिर छोडेर जानुभयो। उहाँहरू जसै जैतूनको डाँडामा पुग्नुभयो एक जना चेलाले यसो भने: “गुरुज्यू, हेर्नुहोस्‌ कस्ता कस्ता ढुङ्‌गाहरू, र कस्ता कस्ता भवनहरू!”—मर्कूस १३:१.

यी विश्‍वासी यहूदीहरूले परमेश्‍वर र उहाँको मन्दिरप्रति गहिरो श्रद्धा राख्थे। तिनीहरू यी भव्य भवनहरू र त्यसले १५ शताब्दीसम्म परम्पराको प्रतिनिधित्व गरेको हुँदा गर्व गर्थे। येशूले आफ्ना चेलाहरूलाई दिनुभएको जवाफ असाध्यै झस्काउने खालको थियो: “के तिमी यी ठूला ठूला भवनहरू देख्तछौ? ढुङ्‌गामाथि ढुङ्‌गा छोडिनेछैन जो भत्काइँदैन।”—मर्कूस १३:२.

अहिले प्रतिज्ञा गरिएको मसीह आइसकेको हुँदा परमेश्‍वरले कसरी आफ्नै मन्दिरको विनाश हुन दिनुहोला र? उहाँले वास्तवमा के भन्‍न खोज्नुभएको हो भन्‍ने कुरा येशूका चेलाहरूले पवित्र आत्माको मदत पाएर बिस्तारै बुझ्नेथिए। तथापि, येशूका यी शब्दहरूको बाइबल पुरातत्त्वसित के सम्बन्ध छ?

एउटा नयाँ “शहर”

सा.यु. ३३ पेन्तिकोसमा यहूदी राष्ट्रले परमेश्‍वरको अनुमोदन गुमायो। (मत्ती २१:४३) यसले अत्यन्तै महान्‌ कुराको लागि बाटो खोल्यो अर्थात्‌ सम्पूर्ण मानवजातिको लागि आशिष्‌ ल्याउने स्वर्गमा स्थापित सरकार। (मत्ती १०:७) येशूको भविष्यवाणीअनुरूप सा.यु. ७० मा यरूशलेम र यसको मन्दिरको विनाश भयो। त्यस्तो घटना घटेको थियो भन्‍ने बाइबलको विवरणलाई पुरातत्त्वले पुष्टि गर्छ। यद्यपि, मसीहीहरूको विश्‍वास त्यस प्राचीन मन्दिरका भग्नावशेषहरू भेट्टाउनु वा नभेट्टाउनुमा निर्भर छैन। तिनीहरूको विश्‍वास अर्कै यरूशलेममाथि केन्द्रित छ तर यो एउटा भिन्‍नै प्रकारको शहर हो।

यरूशलेम तथा त्यसको मन्दिरको विनाशबारे येशूले गर्नुभएको भविष्यवाणी सुन्‍ने र त्यसको पूर्ति देख्ने प्रेरित यूहन्‍नालाई सा.यु. ९६ मा यस्तो दर्शन दिइयो: “मैले परमेश्‍वरका तर्फबाट, पतिको निम्ति दुलही जस्तैगरी सिंगारिएर तयार पारिराखेकी, पवित्र शहर नयाँ यरुशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।” सिंहासनबाट यस्तो आवाज आयो: “परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।”—प्रकाश २१:२-४.

यस “शहर[मा]” ख्रीष्टसँगै स्वर्गमा शासन गर्ने विश्‍वासी मसीहीहरू सामेल छन्‌। तिनीहरू सबै मिलेर स्वर्गीय सरकार अर्थात्‌ परमेश्‍वरको राज्य बनेको छ जसले पृथ्वीमाथि शासन गरेर हजार वर्षको दौडान मानव जातिलाई सिद्धतामा पुऱ्‍याउनेछ। (मत्ती ६:१०; २ पत्रुस ३:१३) प्रथम शताब्दीका यहूदी मसीहीहरूले यहूदी रीतिरिवाजमा भएका कुनै पनि कुरा ख्रीष्टसित स्वर्गमा शासन गर्ने सुअवसरको तुलनामा केही पनि होइन भन्‍ने थाह पाए।

प्रेरित पावलले यहूदीधर्ममा आफूले पाएको विशिष्ट ओहोदाबारे बताउँदै तिनीहरू सबैलाई यसो भने: “जुन कुरा मलाई फायदाका थिए, ती ता मैले ख्रीष्टका निम्ति हानिकानै सम्झें। साँच्चै मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको ठान्छु, जसको निम्ति मैले सबै कुरा गुमाएँ, र ख्रीष्टलाई प्राप्त गरूँ भनेर तिनलाई रद्‌दी सम्झन्छु।”—फिलिप्पी ३:७, ८.

प्रेरित पावलको, परमेश्‍वरको व्यवस्था तथा मन्दिरको प्रबन्धप्रति गहिरो श्रद्धा भएकोले तिनले यी ईश्‍वरीय प्रबन्धहरूलाई उपेक्षा गर्नुपर्छ भनिरहेका थिएनन्‌। b (प्रेरित २१:२०-२४) पावलले यहूदी प्रणालीभन्दा मसीही प्रबन्ध उच्च छ भनी देखाइरहेका थिए।

निस्सन्देह, प्रथम शताब्दीका पावल तथा अन्य यहूदी मसीहीहरूलाई यहूदी रीतिरिवाजका थुप्रै मनोरम विवरणहरूबारे सुस्पष्ट ज्ञान थियो। अनि पुरातत्त्वले विगतका कुराहरूलाई थप प्रकाश पार्ने हुँदा त्यस्ता केही विवरणहरू मसीहीहरूले अझ स्पष्टसित बुझ्नसकेका छन्‌। तथापि, पावलले जवान पुरुष तिमोथीलाई ध्यान दिनु भनेको कुरामा विचार गर्नुहोस्‌: “यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌।”—१ तिमोथी ४:१५.

प्रशंसनीय कुरा के हो भने, बाइबलीय पुरातत्त्वले बाइबलको पृष्ठभूमिसम्बन्धी हाम्रो समझ बढाएको छ। तैपनि, मसीहीहरूले आफ्नो विश्‍वास मानिसहरूले भेट्टाएका प्रमाणहरूमा होइन बरु, परमेश्‍वरको वचन बाइबलमा आधारित छ भनेर बुझेका छन्‌।—१ थिस्सलोनिकी २:१३; २ तिमोथी ३:१६, १७. (g02 10/8)

[फुटनोटहरू]

a कन्सटेन्टाइन र तिनकी आमा हेलेना दुवै यरूशलेमका पवित्र स्थानहरू पत्ता लगाउन उत्सुक थिए। हेलेना आफैले यरूशलेमको यात्रा गरिन्‌। अरू थुप्रैले शताब्दीयौंसम्म तिनकै अनुकरण गरे।

b निम्न कारणहरूले गर्दा केही समयको लागि प्रथम शताब्दीका यरूशलेममा रहेका यहूदी मसीहीहरूले पनि मोशाको व्यवस्थाका विभिन्‍न पक्षहरूलाई पालन गरिरहेका हुन सक्छन्‌: त्यो व्यवस्था यहोवाबाट आएको थियो। (रोमी ७:१२, १४) यस प्रचलनले यहूदी जनजीवनमा गहिरो प्रभाव पारेको थियो। (प्रेरित २१:२०) यो त्यस देशको कानून थियो र यसको विरोध गर्नुको अर्थ मसीही सन्देश विरुद्ध थुप्रै अनावश्‍यक झमेलाहरू निम्त्याउनु हुन्थ्यो।

[पृष्ठ १०-मा भएको चित्र]

माथि: सन्‌ १९२० को यरूशलेम; यहूदीहरूले चलाउने रोमी सिक्का, सा.यु. ४३; हस्तिहाडबाट निर्मित अनार, यो सुलेमानको मन्दिरको हुन सक्छ, सा.यु.पू. आठौं शताब्दी

[स्रोत]

Pages 2 and 10: Coin: Photograph © Israel Museum, Jerusalem; courtesy of Israel Antiquities Authority; pomegranate: Courtesy of Israel Museum, Jerusalem