रोमाञ्च खोज्नेहरू हो—यस्तो प्राणघातक आकर्षण नै किन?
रोमाञ्च खोज्नेहरू हो—यस्तो प्राणघातक आकर्षण नै किन?
पुरातन रोमी रंगशालामा कूल ५०,००० को उत्तेजित भीड आ-आफ्नो सीटमा टाठो भएर बसेका थिए। तिनीहरू धेरैअघिदेखि यस दिनको प्रतिक्षामा थिए किनभने अब सुरु हुनै लागेको यो उत्सव “हेर्नै पर्ने सानदार तमासा हो” भनेर धेरैअघिदेखि विज्ञापन गरिंदै आएको थियो।
जादू, मूकअभिनय, जोकर र प्रहसनहरू हेर्न स्थानीय नाचघरहरूमा मानिसहरूको घुइँचो लाग्थ्यो तर रंगशालामा हुने यो तमासा अत्यन्तै भिन्न प्रकारको थियो। अब हुन गइरहेका रोमाञ्चकारी खेलहरूले दर्शकहरूलाई कडा मेचमा बस्नुपर्दा हुने असुविधा र दिनभरिका चिन्ताहरू चाँडै बिर्साउने थिए।
अब गायक गायिकाहरू आए। त्यसपछि औपचारिक वस्त्र पहिरेका पूजाहारीहरू आए। अनि धूपौरो बोकेका मानिसहरूका पछिपछि विभिन्न देवीदेवताहरू चित्रण गर्ने मूर्ति बोकेकाहरू एकपछि अर्को गर्दै निस्कन थाले। यसले त्यस तमासामा ईश्वरीय अनुमोदन भएजस्तो देखाउँथ्यो।
जनावरहरू मारिन्थे
अब ठूलो मनोरञ्जनात्मक प्रदर्शनी सुरु हुनै लागेको थियो। सर्वप्रथम, अधिकांश दर्शकहरूले कहिल्यै नदेखेका सुतुरमुर्ग र जिराफहरूलाई रंगशालाबाट बाहिर भाग्न नमिल्ने गरी खुला छोडियो। दर्शकहरूलाई रोमाञ्चित तुल्याउन थुप्रै निसानेबाज धनुर्धारीहरूले तीर हानेर ती असहाय जनावरहरू एउटै बाँकी नछोडी मार्थे।
उल्लासित भीडहरूको मनोरञ्जनको लागि हस्तिहाडमा लामो अनि तीखो फलामे डण्डी अड्काइएका दुई भीमकाय हात्तीहरूबीचको जीवन र मृत्युको युद्ध प्रस्तुत गरियो। एउटा शक्तिशाली जन्तुले अर्कोलाई रगत छताछुल्ल भएको बालुवामा मरणासन्न हुने गरी लडाएको देख्दा दर्शकहरूले जोड-जोडले ताली बजाए। यस दृश्यले केही छिनपछि हुने मुख्य तमासा हेर्ने दर्शकहरूको इच्छालाई झनै बढायो।
मुख्य कार्यक्रम
दुई जना तरबारबाजहरू रवाफिलो ढंगमा रंगशालामा प्रवेश गर्दा रोमाञ्च खोजिरहेको ठूलो जनसमुदाय जुरुक्क उठ्छन्। तिनीहरूमध्ये कसै-कसैले तरबार र ढाल बोकेका हुन्छन् भने अरू हेलमेट लगाएका वा किरिच बोकेकाहरू हुन्छन्। अनि कोही-कोही भने धेरै हतियार नबोकेका र हल्का पहिरनमा सजिएका हुन्छन्। तिनीहरू एकअर्कालाई घात पुग्ने गरी एक वा दुवैको मृत्यु नहोउन्जेलसम्मै कुस्ती लड्छन् र दर्शकहरूले भने अझै उक्साइरहेका हुन्छन्। रेकर्डले देखाएअनुसार यस्तो एउटा तमासामा १०० दिनमा ५,००० जनावर मारिएको थियो। अनि अर्को एउटा तमासामा चाहिं १०,००० जना तरबारबाजहरू मारिए। तैपनि मानिसहरू अझ बढी तमासा हेर्न उत्तेजित हुन्थे।
यस्ता खेलका खेलाडीहरू भन्नु नै अपराधीहरू र युद्धबन्दीहरू थिए। तथापि, एउटा स्रोत यसो भन्छ: “तर तिनीहरू धेरै पैसा कमाइसकेका र मृत्युदण्डको सजाय नपाएका हतियार प्रयोग गरेर लड्ने दक्ष तरबारबाजहरू जस्तै हुन् भन्ने चाहिं ठान्नुहुँदैन।” केही ठाउँहरूमा ती तरबारबाज बन्न लागेकाहरूलाई अरूलाई घात पुऱ्याउने किसिमले लड्ने कला सिकाउन विशेष स्कूलहरूमा पठाइन्थ्यो। तिनीहरू जोसले उन्मत्त भएर यस खेलको रोमाञ्च र घातक आकर्षणद्वारा प्रभावित हुन्थे। फेरि लड्नुपर्छ भन्ने सम्झेर तिनीहरू झनै आवेगमा आउँथे। “पचासवटा भिडन्तमा विजयी भएर अवकाश लिने तरबारबाजलाई सफल ठानिन्थ्यो”, भनेर एउटा स्रोतले ठहर गरेको छ।
साँढेसित जुध्ने
अहिले हामी नयाँ सहस्राब्दीमा प्रवेश गरिसकेका छौं। तैपनि जोखिमपूर्ण खेल अझ विशेष गरी ज्यानै हत्केलामा राखेर खेलिने खेलप्रति मानिसहरूको मोह अझै कम भएको छैन भन्ने कुरा प्रष्टै छ। उदाहरणका लागि, दक्षिण अमेरिका तथा मेक्सिकोमा बुलफाइट अर्थात् साँढेसित जुध्ने खेल शताब्दीयौंदेखि लोकप्रिय छ। आज यो ल्याटिन अमेरिका, पोर्चुगल र स्पेनमा पनि त्यत्तिकै लोकप्रिय छ।
रिपोर्टअनुसार मेक्सिकोमा लगभग २०० वटा र स्पेनमा ४०० वटा रंगशालाहरू छन्। मेक्सिकोको एउटा रंगशालामा ५०,००० जना अटाउँछन्। साँढेसित जुधेर आफ्नो साहस देखाउने व्यक्तिहरूलाई हेर्न आउने मानिसहरूले ती रंगशालाहरू टन्नै भरिन्छन्। साँढेसित जुध्ने व्यक्तिले कायरता देखाउँदा भीडहरू निराश हुँदै खिसी गर्न थाल्छन्।
अहिले महिलाहरू पनि साँढे मार्ने खेलमा सुरिएका छन् र तिनीहरूले करोडौं रूपियाँ कमाउँछन्। एक जना महिला खेलाडीलाई टेलिभिजनले अन्तरवार्ता लिंदा आफ्नो रोमाञ्चित हुने तृष्णालाई ज्यानै जोखिममा राखेर रंगशालामा आक्रामक जनावरसित जुध्ने खेलले बाहेक अरू कुनै कुराले पनि सन्तुष्ट पार्न सक्दैन भन्ने जवाफ तिनले दिइन्।
साँढेहरूको दौडाइ
“पाम्प्लोना कली भनिने ठाउँमा अवस्थित सिक्सटोका सडकमा चार लहर मानिसहरूको भीड लागेको हुन्छ र तिनीहरू ठूलठूलो सोरले चिच्याइरहेका हुन्छन्” भनेर एउटा रिपोर्टले उल्लेख गऱ्यो। “कुराकानी विभिन्न भाषामा गरिन्छन् जस्तै: बास्केली, कास्टिलियाली, क्याटालान, अंग्रेजी।” तमासा हेर्न भीडहरू चाँडै भेला हुन थाल्छन्। मैदानमा खेलाइने साँढेहरूलाई रंगशालाबाट केवल आधा कोस टाढाको गोठमा राख्ने गरिन्छ।
साँढेजुधाइ हुने दिन, बिहान गोठका ढोकाहरू खोलेर छवटा साँढेहरू छोडिन्छ अनि एउटालाई चाहिं त्यस रात युद्ध गराउनको लागि जगेडा राखिन्छ। त्यस सडकको दुवै किनारमा लहरै घरहरू हुन्छन् र दायाँबायाँका बाटोहरू छेकबार लगाएर बन्द गरिन्छ। त्यसले गर्दा साँढेहरू बीचमा कतै नअलमलिईकन दुई मिनेटभित्र सीधै रंगशाला पुग्छन्।
वर्षौंअघि मानिसहरूले विपत्तिको जोखिम उठाउँदै साँढेहरूभन्दा छिटो दगुरेर आफ्नो सीप देखाउने निर्णय गरे। अझै पनि केही मानिसहरू वर्षेनी त्यसो गर्छन्। समयको दौडान यो एउटा अन्तरराष्ट्रिय तमासा भएको छ। थुप्रै मानिसहरू साँढेहरूबाट गम्भीर घाइते भएका छन् भने अरूचाहिं सीङले हानेकोले मरेका छन्। “तपाईं तिनीहरूभन्दा छिटो दगुर्न सक्नुहुन्छ भन्ने सोचाइ राख्नुहुन्छ भने तपाईं ठूलो गल्ती गर्दै हुनुहुन्छ” भनेर एक जना धावकले बताए। स्पेनी रेडक्रसका अनुसार गएको २० वर्षको दौडान “हरेक दिन एक जनालाई साँढेले हानेर घाइते बनाएकै पाइन्छ।” अरू २०/२५ जना मानिस पनि घाइते भएकोले दिनहुँ उपचार गरियो।
यस्तो प्राणघातक आकर्षण नै किन? एक जना धावकले यस्तो जवाफ दिए: “आफूसँगसँगै साँढेहरू आइपुग्नु तिनीहरूको गन्ध आउनु, खुरको आवाज सुन्नु अनि आफ्नो एकदमै नजिक सीङ हल्लिरहेको देख्नु, यी नै त हुन् त्यहाँ दगुर्नुको वास्तविक मजा।” ती धावकहरूलाई उत्तेजित भीडले झनै उक्साउँछ। सात सय किलोग्रामसम्म हुने क्रोधित साँढेले धावकहरूलाई रगताम्य हुने गरी हानेको वा तिनीहरूलाई फालेको देखेन भने दर्शकहरू नरमाइलो मान्छन्? तिनीहरूमध्ये कसै-कसैलाई रगतपच्छे भएको हेर्न पाउनु रोमी रंगशालामा जम्मा भएका भीडलाई जत्तिकै आकर्षक लाग्ने थिएन होला र?
मृत्युसित खतरा मोल्ने
त्यस्तै गरी अन्य तरिकामा पनि मृत्युसित जिस्किन रुचाउनेहरू छन्। मृत्यु र गम्भीर चोटपटकलाई हाँक दिंदै लहरै राखिएका ५० वटा कार वा थुप्रै यात्रु बसहरू अथवा बीचमा गहिरो खाडल भएको डाँडा पार गर्न खोज्ने
मोटरसाइकलका जोखिम प्रदर्शकहरू पनि नभएका होइनन्। एक जना त्यस्तै जोखिम प्रदर्शकले आफ्ना शरीरका ३७ वटा हड्डी भाँचिएको र ३० दिनसम्म बेहोस भइसकेको कुरा बताए। तिनले भने: “हाड वा पाखुरा भाँचिनु भनेको त मेरोलागि कुनै नौलो कुरा होइन। . . . मेरो अहिलेसम्म १२ वटा ठूलठूला शल्यक्रियाहरू भइसके। यस्तो शल्यक्रिया गर्दा छाला काटेर पाता राखिन्छ वा पेच कसिन्छ। मेरो विचारमा मेरो शरीरभित्र अहिलेसम्म पैंतीस वा चालिसवटा पेच भइसके होलान्। अस्पतालमा त मेरो जाने आउने भइरहन्छ।” एकपल्ट तिनी अभ्यासको क्रममा थुप्रै कारहरूलाई नाघ्न नसकेर घाइते हुँदा भीडहरूले तिनलाई खिसी गर्दै चिच्याए।रोमाञ्चित हुन रुचाउने थुप्रै मानिसहरू हदै नाघेर मृत्युलाई हाँक दिने जोखिमपूर्ण खेलहरूमासमेत भाग लिन्छन्। जस्तै: शहरका गगनचुम्बी भवनहरूको भित्तामा सुरक्षाका कुनै साधनहरू नलिई चढ्नु, ६,००० मिटरको भिरालो हिमालबाट चिप्लेटी खेल्दै ओर्लनु, अग्ला टावर तथा पुलहरूबाट बन्जी जम्पिङ गर्नु, अर्को खेलाडीको पिठ्यूँमा बाँधिएर हवाईजहाजबाट प्यारासुटसहित फाल हाल्नु वा हिमाल चढ्दा प्रयोग गर्ने दुइटा स-साना पिक लिएर हिउँले ढाकेको ठाडो चट्टाने भीरमा चढ्नु। एक जना त्यस्तै आरोहीले यस्तो दुःख व्यक्त गरे, “मलाई वर्षमा तीन चार जना साथीहरू गुमाउनुपर्ला भन्ने पीर लागिरहन्छ। खेलजगत्मा प्रख्यात मृत्युलाई हाँक दिएर खेलिने जोखिमपूर्ण प्रदर्शनका यी केही उदाहरणहरू मात्र हुन्। “विनाशकारी परिणाम भोग्नुपर्ने सम्भावना भएकोले जोखिमपूर्ण खेलहरूप्रति धेरै मानिसहरू मोहित भएका हुन्” भनेर एक जना लेखकले बताए।
“अत्यन्तै जोखिमपूर्ण खेलहरू लोकप्रिय हुन थालेका छन्” भनेर यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट पत्रिकाले उल्लेख गऱ्यो। “प्यारासुटबाट हामफाल्नमा खप्पिस मानिसहरूले ग्राफाइट बोर्डमा ४००० मिटर माथिबाट हामफालेर नागबेली चालमा सर्कसजस्तो खेल देखाउँदै आकाशमा सर्फिङ गर्ने कुरा १९९० मा छँदै थिएन तर अहिले हजारौं मानिसहरू यसतिर आकर्षित भइरहेका छन्। त्यस्तै गरी १९८० मा आधिकारिक तवरमा स्थापित बेस जम्पिङ . . . भनेर चिनिने खेलले पनि सयौं मानिसहरूलाई आकर्षित गरिरहेको छ र ती मानिसहरू प्रायजसो गैरकानूनी ढंगमा राती अग्ला ठाउँहरू,” जस्तै: भवन, एन्टेना, पुल वा अग्ला डाँडाहरूबाट हामफाल्छन्। यो खेलले दर्जनौं मानिसहरूको ज्यान लिइसकेको छ। धेरै चोटि त्यसरी हामफालिसकेका एक जना मानिसले यसो भने “बेस जम्पिङ गर्दा मानिस प्रायजसो घाइते हुँदैन। या त बाँच्छ या मर्छ।”
हिमालको ठाडो परेको भागतिरको चट्टानमा हात र खुट्टाका औंलाहरू अड्याउने ठाउँहरूको भरमा मात्रै चढ्ने खेलले पनि हजारौंलाई आकर्षित गरिरहेको छ। ट्रकदेखि लिएर टाउको दुःखाइ कम गर्ने औषधीको टेलिभिजन तथा पत्रिकामा देखाइने व्यापारिक विज्ञापनहरूमा समेत त्यस्ता आरोहीहरूलाई आङ नै सिरिङ्ङ हुने गरी त्यस्ता सयौं मिटर अग्ला ठाडो पहाडहरूमा एउटा डोरीको भरमा हावामा झुण्डिरहेको देखाइन्छ। सन् १९८९ को एउटा रिपोर्टअनुसार संयुक्त राज्य अमेरिकाका झन्डै ५०,००० मानिसहरूले यस खेलमा भाग लिने साहस गरे भने हालैचाहिं अनुमानित पाँच लाख मानिसहरू यस प्राणघातक आकर्षणतिर मोहित भएका छन्। संसारभर यसप्रति मोहित हुनेहरूको संख्या बढ्दै छ।
फ्यामिलि सर्कल पत्रिकाले संयुक्त राज्य अमेरिकामा, “अनौठा नयाँ खतरनाक खेलहरूले गर्दा ‘साधारण’ केटाकेटीहरू मारिएका वा लूला लङ्गडा भएका छन्” भन्ने प्रतिवेदन दियो। “कार सर्फिङ” अर्थात् बेगसित दौडिरहेको कारको झ्यालबाट माथि चढ्ने र तीव्रगतिमा दौडिरहेको कारको छानामा ठाडो उभिने वा चलिरहेको लिफ्ट वा तीव्रगतिमा दौडिरहेको सब-वे ट्रेनमाथि उभिने प्रयास गर्दा थुप्रै जवानहरूको मृत्यु भएको छ।
सगरमाथा आरोहणमा पनि पहिले भन्दा झन् धेरै आकर्षित हुन थालेका छन्। पर्याप्त प्रशिक्षण नै नपाएका आरोहीहरूले समेत गाइडलाई लगभग ५० लाख ४० हजार रूपैयाँ तिरेर चढ्ने गर्छन्। सन् १९५३ देखि झन्डै ७०० जना आरोहीहरू चुचुरोमा पुगिसकेका छन्। तिनीहरूमध्ये कतिपयको तल झर्ने क्रममा मृत्यु भयो। केही लाशहरू अझ पनि त्यहीं छन्। “अहिले आरोहीहरू सगरमाथामा सबैभन्दा जवान, वृद्ध वा सबैभन्दा छिटो पुग्ने मानिसको रूपमा आफ्नो नाउँ कमाउन प्रतिस्पर्धा गरिरहेका छन्,” भनेर एक जना पत्रकारले लेखे। “अन्य खेलमा जस्तो नभई हिमाल आरोहीहरू मर्न इच्छुक हुनैपर्छ,” भनेर अर्काले लेखे। के कुनै पनि व्यक्तिले साहसी छु भनेर देखाउन विपत्तिमाथि विजयी हुनैपर्छ र? एक जना दक्ष आरोहीले, “साहसी हुनु भनेको जथाभावी गर्नु होइन,” भनेर चेतावनी दिए। त्यस्तो “जथाभावी” गर्नुमा तिनले, “अनुभवहीन आरोहीहरूले ‘जोखिमपूर्ण यात्रा’ गरेर सगरमाथा चढ्नुलाई” पनि समावेश गरे।
यस्ता परिस्थितिहरू अझ पनि कायमै छन्। संसारभरि मृत्युलाई हाँक दिएर खेलिने यस्ता खेलहरूको संख्या र प्रकार, नयाँ किसिमका खेलहरू सिर्जना गर्न चाहनेहरूको कल्पना शक्तिजस्तै असीमित छन्। एक जना मनोवैज्ञानिक चिकित्सकले जीवन र मृत्युको दोसाँधमा रहेर भाग लिने त्यस्ता जोखिमपूर्ण खेलहरू, “२१ औं शताब्दीमा तमासाका प्रमुख विषय हुनेछन् र थुप्रै मानिसरूले हेर्ने खेल हुनेछ” भनेर भविष्यवाणी गरे।
तिनीहरू किन त्यसो गर्छन्?
त्यस्ता थुप्रै जोखिम प्रदर्शकहरू उराठलाग्दो अवस्थाबाट भाग्न त्यस्ता जोखिमपूर्ण खेलहरूमा भाग लिन्छन्। जागिरदेखि वाक्क लागेर कसै-कसैले आफ्नो काम छोडेका छन् र जोखिमपूर्ण खेल संसारमा नयाँ पेसा अंगालेका छन्। “मैले बन्जि जम्पिङलाई मेरा समस्याहरूलाई बिर्सेर ताजगी प्राप्त गर्ने औषधीको रूपमा प्रयोग गरें” भनेर एक जना व्यक्तिले बताए। “म फाल हाल्छु र यस्तो महसुस गर्छु, ‘समस्या? कस्तो समस्या?’ ” “तिनी ४५६ चोटि फाल हानिसकेका अनुभवी व्यक्ति हुन् साथै तिनले योसेमाइटको एल क्यापटेन, सान फ्रान्सिस्कोको बे ब्रिज र फ्रान्समा रहेको संसारकै सबैभन्दा ठूलो ट्रामबाट हामफालिसकेका छन्,” भनेर एउटा पत्रिकाले रिपोर्ट गऱ्यो।
अर्का जोखिमपूर्ण खेलका सहभागीले यस्तो घोषणा गरे: “समय टक्क रोकिन्छ। संसारमा के भइरहेछ त्यसको केही वास्ता हुँदैन।” अर्काले यसो भने: “हामी जुन काम आनन्द पाउनका लागि [थुप्रैले चाहिं दाम कमाउन यसो गर्छन्] गरिरहेका छौं त्यो काम अधिकांश मानिसलाई तिनीहरूको निधारमा बन्दूक तेर्स्याएर जबरजस्ती गराउन खोज्यौं भने पनि गर्ने छैनन्।” न्युजवीक पत्रिकाले यस्तो टिप्पणी गऱ्यो: “तिनीहरू सबै अपार उत्साह अनुभव गर्न कटिबद्ध भएका छन्।”
केही मनोवैज्ञानिकहरूले रोमाञ्चको तृष्णाबारे बृहत् अनुसन्धान गरेका छन्। एक जनाले रोमाञ्चको तृष्णा गर्नेहरूलाई अंग्रेजी अक्षरमा टी प्रकारको व्यक्तित्त्व भएकाहरू भनेर वर्गीकरण गरेका छन्। अंग्रेजी शब्द ‘ “थ्रिल्सबाट[रोमाञ्चहरू]” लिइएको टी अक्षरले जोखिम उठाउने, उत्तेजित हुन चाहने, उत्साहित हुन चाहने र उत्सुक हुन चाहने भन्ने बुझाउँछ।’ तिनी
भन्छन्: “केही मानिसहरू जीवनका नीतिनियमहरूलाई अपनाएर सुरक्षित रहन चाहन्छन्।” “यो टी प्रकारको व्यक्तित्त्व भएकाहरूले चाहिं त्यस्ता नीतिनियमहरूलाई वास्ता गर्दैनन्। तिनीहरू आफ्नो जीवन शैली आफै निर्माण गर्छन्।” यस्ता टी प्रकारका विशेषता भएका व्यक्तिहरूको राजमार्गहरूमा दुई गुणा बढी दुर्घटना भएको अध्ययनद्वारा देखिएको कुरा तिनी दाबी गर्छन्। “किशोर किशोरीहरूको मृत्युको प्रमुख कारण दुर्घटना हो र तिनीहरू रोमाञ्चित हुनुपर्छ भन्ने विचार गर्दै आफैलाई त्यस्ता खतरनाक परिस्थितिहरूमा पुऱ्याउँछन्।”अत्यधिक जोखिमपूर्ण खेलहरूको पछि लाग्नु जोकोहीको लागि पनि अस्वाभाविक कुरा हो भनेर वैज्ञानिकहरू तथा मनोचिकित्सकहरू स्वीकार्छन्। मानिसहरूले ज्यानै जाने खालका गम्भीर चोटपटकहरू लागेर अस्पताल तथा उपचार केन्द्रहरूमा लामो समय बिताइसकेपछि फेरि मृत्युलाई हाँक दिने त्यस्तै खेलहरू खेल्नुले तिनीहरू मानसिक तवरमा पूर्णतया स्वस्थ छैनन् भन्ने कुरा देखाउँछ। तथापि, ती एकदमै पढे लेखेका मानिसहरू हुन सक्छन्।
आफ्नो ज्यान र हातखुट्टालाई जोखिममा पारेर ती रोमाञ्चित खेलहरूको पछि लाग्नुको कारण विशेषज्ञहरूले बुझ्न सकेका छैनन् यसको जवाफ तिनीहरूको दिमागमै छ भनेर तिनीहरू भन्छन्। “कसैले पनि त्यस्तो रोमाञ्चित हुने चाहनालाई रोक्न सक्दैन, तर तिनीहरूलाई त्यस्तो प्राणघातक जोखिम उठाउनदेखि रोक्ने कोसिस भने गर्न सक्नुहुन्छ,” भनेर तिनीहरू बताउँछन्। “तिनीहरूलाई रोमाञ्चित हुनदेखि रोक्न नसके तापनि तपाईंले तिनीहरूलाई अरू मानिसहरूको ज्यानलाई जोखिममा पार्नदेखि चाहिं रोक्न चाहनुहुन्छ होला।”
मसीही दृष्टिकोण
मसीहीहरूले जीवनलाई यहोवा परमेश्वरबाट पाएको अमूल्य वरदानको रूपमा लिन्छन्। कुनै व्यक्तिले आफ्नो साहस, पुरुषत्वको प्रदर्शन गर्न वा भीडलाई उत्तेजित तुल्याउन वा आफ्नै क्षणिक आनन्दको लागि त्यस्ता अनावश्यक खतरा मोलेर जानाजानी आफ्नो जीवनलाई खतरामा पार्दा तिनले परमेश्वरले हामीलाई दिनुभएको जीवनको अद्भुत वरदानलाई अनादर गरिरहेको हुन्छ। येशूले स्पष्टैसित जीवनप्रतिको आफ्नो गहिरो आदरलाई प्रकट गर्नुभयो र यसलाई अनावश्यक ढंगमा खतरामा पार्नुभएन। उहाँले परमेश्वरको परीक्षा गर्न इन्कार गर्नुभयो।—मत्ती ४:५-७.
त्यस्तै गरी मसीहीहरूले पनि जीवनप्रति आदर देखाउनुपर्छ। एक जना मसीहीले यस्तो लेखे, “मैले एकपल्ट ठाडो पहाड चढ्ने प्रयास गर्दा म न अघि बढ्न सकें न त पछि नै हट्न सकें। त्यस घटनालाई सम्झँदा अहिले पनि मेरो आङ सिरिङ्ङ हुन्छ। म त मृत्युको मुखैमा परिसकेको थिएँ। झन्डै मेरो जीवन व्यर्थै गएको!”
एक जना मसीही जवानले यसो भने, ‘म बसोबास गर्ने इलाकातिर केटाकेटीहरू यस्ता थुप्रै किसिमका रोमाञ्चक खेलहरूमा भाग लिन्छन्। तिनीहरू सधैंभरि मलाई पनि त्यसमा सहभागी बनाउने कोसिस गरिरहन्छन्। तथापि, मैले साथीहरूले मलाई प्रायजसो खेल्न कर गर्ने ती रमाइला खेलहरूले गर्दा नै मानिसहरूको मृत्यु वा गम्भीर घाइते भएको समाचारहरू सुन्ने गर्छु। यहोवाले मलाई दिनुभएको जीवन क्षणिक समयमात्र रहने त्यस्तो रोमाञ्चको लागि खतरामा हाल्नु मूर्खतापूर्ण हुनेछ भन्ने कुरा मैले बुझेको छु।’ तपाईंहरूले पनि त्यस्तै समझदार हुनुका साथै उचित निर्णय गर्न सकोस्। (g02 10/8)
[पृष्ठ १३-मा भएको चित्रको स्रोत]
© Reuters NewMedia Inc./CORBIS
[पृष्ठ १६-मा भएको चित्रको स्रोत]
Steve Vidler/SuperStock