सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

“धनसम्पत्तिको कल्पना”

साँच्चै रकम जित्ने सम्भावना झीनो हुँदाहुँदै पनि जूवा खेलेर गरिबीको पन्जाबाट फुत्किन सकिन्छ भन्‍ने मानसिकतामा पारेर अति नै बढाइचढाइ गरिएको विज्ञापनले धेरै गरिब मानिसहरूलाई ठगेका छन्‌ भनी टाइम्स अफ जाम्बिया रिपोर्ट गर्छ। लेखले बताएअनुसार “वास्तवमा जित्ने सम्भावना अति कम भए तापनि चिट्ठाको विज्ञापनले धनसम्पत्ति, ऐसआराम र चुट्‌कीभरमा समस्यामुक्‍त जीवनको परिकल्पना गर्न उक्साउँछ।” उक्‍त पत्रिका अन्तमा यसो भन्छ: “व्यक्‍तिविशेषको तर्क जस्तोसुकै भए तापनि जूवा खेल्नु भनेको दिनदहाडै चोरी गर्नु बराबर हो र नैतिक तवरमा इमानदार समाजले यसलाई गैर-कानूनी घोषित गर्नुपर्छ।” (g02 10/22)

अन्धकारको डर

लण्डनको द टाइम्स-ले दिएको रिपोर्टअनुसार “अन्धकारमा आमाबाबुहरूभन्दा छोराछोरीहरू बढी डराउँछन्‌ किनकि कृत्रिम प्रकाशमा बस्ने बानी परिसकेको कारण उनीहरूले निष्पट्ट अँध्यारो कस्तो हुन्छ, त्यो कमै अनुभव गरेका हुन्छन्‌।” मनोवैज्ञानिक तथा लेखक एरिक सिगम्यानले गरेको अनुसन्धानले देखाएअनुसार दस वर्षमुनिका दुई तिहाइ छोराछोरीहरू बत्ती बालेरै सुत्न जिद्दी गर्छन्‌। राती सुत्दासमेत पूरै अँध्यारो नहुने हुँदा केटाकेटीहरूको कल्पना शक्‍ति विकास हुन पाउँदैन भनेर तिनी दाबी गर्छन्‌। “छोराछोरीहरूको कल्पना शक्‍ति विकास गर्ने मौका दिइनुपर्छ” भनी रिपोर्टमा उल्लेख गरिएको छ। “उनीहरूलाई अँध्यारोमा खेल्न तथा रमाइलो गर्न दिनु उनीहरूको लागि अति रोचक हुन सक्छ किनभने अँध्यारोमा उनीहरूले सोच्ने काल्पनिक चित्रहरू बडो अनौठो किसिमका हुनेछन्‌।” तर आज “टेलिभिजन, चलचित्र तथा कम्प्युटर खेलहरूमा देखाइने तयारी चित्रहरूले छोराछोरीहरूको दिमागमा पारेको छापले” गर्दा तिनीहरू अँध्यारोमा डराउँछन्‌। डा. सिगम्यान यस्तो टिप्पणी गर्छन्‌: “धेरै पढ्‌नु र टेलिभिजन कम हेर्नु भनेको पुरानो जमानाको सल्लाहजस्तो सुनिए तापनि यो सल्लाह दोहोऱ्‍याइरहनु आवश्‍यक छ।” (g02 10/22)

मानिसदेखि एलर्जी

“थुप्रै पशुहरूलाई मानिसदेखि एलर्जी हुन्छ” भनी जर्मन खबरपत्रिका लिपजीगर भोल्क्सजाइटुङ बताउँछ। उक्‍त खबरपत्रिकामा उल्लेख गरिएअनुसार “मानिसहरूसित बस्दा २० वटा पाल्तु पशुमध्ये एउटालाई छालामा खटिराहरू आउने वा निरन्तर हाच्छिउँ आउन बन्द नहुने” जस्ता सामान्य एलर्जीका लक्षणहरू देखा परेको कुरा जर्मन एलर्जी एण्ड एज्मा एसोसिएसनले (डी ए ए बी) हालै घोषणा गऱ्‍यो। भनिन्छ, धेरै अवस्थाहरूमा यसो हुनुको कारण मानिसको छालाबाट झर्ने पाप्रा र यसमा हुने सुलसुले कीराहरू हुन्‌। यदि जीउमा उपियाँ नहुँदा पनि कुकुरले आफ्नो जीउ कन्याइरह्‍यो वा चाटिरह्‌यो अथवा जीउबाट रौं निकालिरह्‍यो भने, यसको मालिकले कुकुरलाई मानिसदेखि एलर्जी भएको संकेत पाउँछन्‌ र मालिक नहुँदाचाहिं त्यस्ता कुनै पनि लक्षणहरू देखा परेनन्‌ भने, कुकुरलाई मानिसदेखि नै एलर्जी भएको रहेछ भनेर थप पुष्टि हुनेछ। खानेकुरा र परागकणले पनि पशुहरूमा एलर्जी हुन सक्छ। उदाहरणका लागि, हालैका वर्षहरूमा नाक र घाँटीको रोगबाट पीडित घोडाहरूको संख्यामा वृद्धि भएको छ।

(g02 8/22)

एनोरेक्सीयाका प्रारम्भिक संकेतहरू

“आमाबाबुहरूले छोराछोरीहरूको खाने बानीबाट उनीहरूमा एनोरेक्सीया वा बुलेमियाका प्रारम्भिक संकेतहरू पत्ता लगाउन सक्छन्‌” भनी लण्डनको द टाइम्स रिपोर्ट गर्छ। द इटिङ डिसअडर्स एसोसिएसनले (इ डी ए) एउटा निर्देशिका प्रकाशित गरेको छ, जसले आमाबाबु तथा सुसारेहरूलाई खानेकुरासम्बन्धी समस्याहरू जटिल बन्‍नुअघि नै यसलाई चिन्‍न मदत गर्छ। पूर्व चेतावनीमूलक संकेतहरूमा खानेकुरालाई अति सानो-सानो टुक्रा बनाउँदै खाने, एक गाँस खानेकुरा खान पनि पाँच-छ मिनेट लगाउने जस्ता कुराहरू समावेश छन्‌। खाना खाने असन्तुलित बानी भएकाहरूले नखाएका खानेकुराहरू लुकाउनको लागि खुकुलो लुगा लगाउँछन्‌। तिनीहरूले आफू स्वस्थ र सामान्य वजन भएका देखिने आफ्नै फोटोहरू पनि लुकाउन अनुरोध गर्न सक्छन्‌। इ डी ए निर्देशिका आमाबाबुहरूलाई यस्ता लक्षणहरू देखिएमा यसलाई बेवास्ता नगर्न र आफूले देखेका कुराहरू उनीहरूसित खुलस्त भएर छलफल गर्ने सुझाव दिन्छ। (g02 10/8)

थर्मोमिटरको विष

“एउटा थर्मोमिटरको पारोले ११ एकड क्षेत्रफल भएको ताललाई दूषित पार्न सक्छ र वर्षेनी संयुक्‍त अमेरिकाको फोहोर नालीमा टुटेफुटेका थर्मोमिटरहरूको लगभग १७ टन पारो बग्छ” भनी नेशनल जियोग्राफिक पत्रिका उल्लेख गर्छ। पहिला माछाले पारो खान्छ र मानिसले त्यो माछा खाँदा उक्‍त धातु शरीरमा प्रवेश गर्छ। यसरी निलेको पारोले स्नायुलाई हानि गर्न सक्छ। बस्टनलगायत अन्य धेरै शहरहरूमा पारो भएका थर्मोमिटरहरू प्रयोग गर्न प्रतिबन्ध लगाइसकिएको छ। ती शहरहरूका कुनै कुनै पसलहरूले पारो भएका थर्मोमिटरहरू फिर्ता गरे बापत डिजिटल थर्मोमिटर तथा अन्य कम हानिकारक उपकरणहरू दिने गर्छन्‌। (g02 10/8)

नियन्त्रित व्यायाम

“हप्ताको तीन चोटि ३० मिनेट वा एक घण्टाको लागि सहनशीलता चाहिने क्रियाकलापमा (बिस्तारै दौड्‌नु, साइकल चढ्‌नु वा पौडी खेल्नु) सहभागी हुनु लाभदायी हुन्छ” भनी फ्रान्सेली खबरपत्रिका ल एक्सप्रेस उल्लेख गर्छ। तर यदि तपाईं गम्भीर स्वास्थ्य समस्याबाट बच्न चाहनुहुन्छ भने अत्यधिक व्यायाम नगर्नुहोस्‌। अचाक्ली कसरतले गर्दा जोर्नीहरू कमजोर हुन सक्छन्‌, कुर्कुरे हाड फुट्‌न सक्छ, ढाडको गेडी फुस्कन सक्छ, शरीर तन्काउने व्यायामहरू निरन्तर गरिरहँदा अत्यधिक भारले गर्दा हड्डी भाँचिन सक्छ, रक्‍तचाप बढ्‌न सक्छ, पाचनसम्बन्धी समस्याहरू उत्पन्‍न हुन सक्छन्‌, बेलै नपुगी हड्डी खिइनुका साथै हृदयघातसमेत हुन सक्छ। “प्रत्येक वर्ष फ्रान्समा शारीरिक व्यायामले गर्दा १,५०० जना तन्दुरुस्त खेलाडीहरूको अचानक मृत्यु भएको छ” भनी ल एक्सप्रेस बताउँछ। धेरै “आइतबारे खेलाडीहरू”, जो अन्ततः पुनः स्वास्थ्य हुनको लागि अस्पताल जाने गर्छन्‌, उनीहरूलाई पेरिसस्थित पिट्या सालपेट्यर अस्पतालका खेलकुदसम्बन्धी औषधीका विशेषज्ञ, डा. स्टाफान कास्का यस्तो सुझाव दिन्छन्‌: नियमित रूपमा व्यायाम गर्नुहोस्‌ तर तपाईंको मुटुको अधिकतम क्षमताको ७५ प्रतिशत मात्र व्यायाम गर्न लगाउनुहोस्‌। (g02 10/8)

चीनको अन्तरिक्ष कार्यक्रम

अप्रिल १, २००२ मा चीनको मानवरहित सन्जो तेस्रो अन्तरिक्ष-यान एक हप्ते विशेष कार्यपछि मंगोलियाको भित्री भागमा अवतरण गर्न सफल भयो भनी बी बी सी न्युज रिपोर्ट गर्छ। त्यस अन्तरिक्ष यानमा “कृत्रिम मानव” अर्थात्‌ मानिसको पुत्ला थियो। त्यस पुत्लामा, भविष्यमा साँच्चिकै मानिस भएको यानमा प्रयोग गर्न मिल्ने मानव रक्षा प्रणाली परीक्षणको रूपमा अक्सिजनको तह तथा तापक्रम नाप्ने यन्त्र जडान गरिएको थियो। चिनियाँ अन्तरिक्ष अधिकारीहरूले सकेसम्म सन्‌ २००५ भन्दा अघि नै अन्तरिक्षमा मानिस पठाउने आफ्नो योजनाबारे घोषणा गरेका छन्‌। “चिनियाँ अन्तरिक्ष निकायले निकट भविषयमा अर्थात्‌ सन्‌ २०१० सम्ममा मानिसलाई चन्द्रमामा पुऱ्‍याउने लक्ष्य राखेको छ” भनी रिपोर्ट बताउँछ।

(g02 10/22)

संकटमा परेका सिंहहरू

“अफ्रिकाका अधिकांश भागहरूमा सिंहहरू छिट्टै लोप हुन सक्ने सम्भावना छ” भनी न्यु साइन्टिस्ट पत्रिका रिपोर्ट गर्छ। सय जोडी बच्चा उत्पादन गर्नको लागि कम्तीमा ५०० देखि १,००० वटा सिंह भएको खण्डमा एउटै प्रजातिबीच प्रजनन प्रक्रिया गराउनुपर्नेछैन। विश्‍व संरक्षण संघअनुसार पश्‍चिम तथा मध्य अफ्रिकामा सिंहको संख्या त्योभन्दा निकै कम छ। “यो एकदमै चिन्ताजनक अवस्था हो” भनी नेदरल्याण्डस्‌स्थित लेडन युनिभर्सिटीका हान्स बावर बताउँछन्‌। “लोप हुने खतराबाट बच्न सक्ने कुनै पनि जीवजन्तु छैन।” यस्तो पतन हुनुको मुख्य कारण मानिसहरूले जनावरहरूको प्राकृतिक वासस्थानलाई अतिक्रमण गरेकोले हो। सिंहहरूलाई सिकार खेल्न एकदमै ठूलो इलाका चाहिन्छ अर्थात्‌ एउटा भाले सिंहलाई लगभग २०० वर्ग किलोमिटर इलाका चाहिन्छ। “सिंह भनेको अपरिहार्य जन्तु हो” भनेर बावर चेतावनी दिन्छन्‌। “सिंहहरू अहिले संकटमा पर्नुको अर्थ अरू जीवजन्तुहरू पनि अबको २० देखि ३० वर्षको समयावधिमा संकटमा पर्न सक्छन्‌ भन्‍ने कुराको संकेत हो।” (g02 10/22)

रक्सीको दुर्व्यसन

बेलाइतमा प्रत्येक १३ जनामध्ये एक जना रक्सीको दुर्व्यसनी भएका छन्‌। यसले गर्दा अवैध अथवा चिकित्सकको सुझावभन्दा बढी औषधी सेवन गर्नेहरूभन्दा रक्सी दुर्व्यसनीहरू दोब्बर भएका छन्‌ भनी लण्डनको दी इन्डिपेन्डेन्ट रिपोर्ट गर्छ। सन्‌ १९९४ देखि १९९९ सम्म, प्रत्यक्षतः रक्सीको दुर्व्यसनको कारण हृदयरोग, कलेजोको रोग र रक्सीको प्रतिकूल असरबाट मर्नेहरूको संख्या ४३ प्रतिशतले वृद्धि भयो। सन्‌ १९९८ मा मात्तिएर सवारीसाधन चलाएको कारण दुर्घटनाको संख्या १०,१०० थियो भने, सन्‌ २००० सम्ममा यसको संख्या ११,७८० पुग्यो र सडक दुर्घटनामा मर्ने सात जनामध्ये एक जनाको मृत्युको कारण यही थियो। अत्यधिक रक्सी पिउने कर्मचारीहरूको कारण साठी प्रतिशत मालिकहरूलाई अप्ठ्यारो परिरहेको छ र जघन्य अपराध गर्ने ४० प्रतिशतले यस्तो अपराध रक्सीले मात्तिएको सुरमा गर्ने गर्छन्‌। ब्रिटिस च्यारिटी अल्कोहल कन्सर्नका निर्देशक एरिक एप्पलबाइले यसो भने: “सार्वजनिक सेवामा पारेको असरलाई त परै छाडौं, यसले मानिसहरूको स्वास्थ्य, मानव सम्बन्ध र दैनिक खर्चमा पारेको व्यापक समस्यालाई विचार गर्ने हो भने पनि यसको लागि यथाशीघ्र, एकजुट भएर कदम चालिहाल्नुपर्ने बेला भएको छ।” (g02 10/22)