शान्तिको खोजीमा धर्महरू आसिसिमा
शान्तिको खोजीमा धर्महरू आसिसिमा
“हिंसाको अन्त! युद्धको अन्त! आतंकवादको अन्त! परमेश्वरको नाउँमा हरेक धर्मले पृथ्वीमा न्याय र शान्ति, क्षमा र जीवन अनि प्रेम ल्याओस्!”—पोप जोन पल द्वितीय।
जनवरी २४, २००२ मा, इटालीको आसिसिमा, विश्वका संगठित धर्महरू आतंकवाद, असहिष्णुता र अन्यायको कारण संकटमा परेको शान्तिको लागि प्रार्थना गर्न भेला भएका थिए। न्यु योर्क शहरमा जुम्ल्याहा भवनहरू ध्वस्त भएको लगभग दुई महिनापछि पोपले यस सभाको आह्वान गरेका थिए। थुप्रै धार्मिक नेताहरूले भ्याटिकनको उक्त निमन्त्रणा उत्साहपूर्वक स्वीकारे।
पहिला पनि दुई पटक, एक चोटि सन् १९८६ मा र अर्को सन् १९९३ मा पोपले इटालीको यही शहरमा एक दिने प्रार्थना सभाको आयोजना गरेका थिए। a सन् २००२ मा भएको सभामा संसारभरका एक हजारभन्दा बढी पत्रकारहरू पर्यवेक्षकका रूपमा आएका थिए। शान्तिको लागि गरिएको प्रार्थनामा मसीहीजगत् (क्याथोलिक, लुथरन, एंगलिकन, अर्थोडक्स, मेथोडिस्ट, ब्याप्टिस्ट, पेन्टिकोस्टल, मेन्नोनाइट, क्वेकर्सका साथै अरू), मुसलमान, हिन्दू, कन्फुशियन, शिख, जैन, टेन्रिक्यो, बौद्ध, यहूदी, परम्परागत अफ्रिकी धर्महरू, शिन्टो र फारसीजस्ता थुप्रै धर्महरूले भाग लिएका थिए। अरू धर्मका प्रतिनिधिहरूका साथै चर्चहरूको विश्व परिषद्का प्रतिनिधिहरू पनि यहाँ उपस्थित थिए।
शान्तिको पक्षमा गरिएका घोषणाहरू
भ्याटिकनको सानो रेल स्टेसनबाट “शान्ति रेल” छुटेपछि, बिहान ८:४० मा त्यस दिनको कार्यक्रम सुरु भयो। आरामदायी बनाउनको लागि झकिझकाउ पारिएको, सातवटा डिब्बा भएको यो रेलको सुरक्षाको लागि दुईवटा हेलिकोप्टरले पहरा दिएका थिए। दुई घण्टाको यात्रापछि पोप
र अरू धार्मिक नेताहरू आसिसि पुगे। सुरक्षा व्यवस्था निक्कै कडा थियो र लगभग एक हजार प्रहरीहरू सतर्क अवस्थामा थिए।धार्मिक नेताहरू ठूलो पालले ढाकिएको एउटा पुरातन चोकमा भेला भए। भित्र, धार्मिक प्रतिनिधिहरू अंग्रेजी अक्षर भि आकारको ठूलो, रातो मञ्चमा बसे र पोपको आसन बीचमा थियो। मञ्चको छेउपट्टि शान्तिको प्रतीक, जैतुनको रूख थियो। मञ्चको अगाडि चाहिं २,००० भन्दा बढी विशिष्ट पाहुनाहरू थिए। पहिलो लहर इटालीका उच्च-पदस्थ अधिकारीहरूले ओगटेका थिए। भाषणहरूको बीच-बीचमा विशाल गायन समूहहरूले भजनहरू गाए। शहरको अर्को भागमा हजारौं मानिसहरूले, अझ विशेष गरी युवाहरूले विभिन्न भाषामा युद्ध विरोधी नाराहरू लगाए र शान्तिगीतहरू गाए। थुप्रैको हातमा जैतुनका हाँगाहरू थिए।
मञ्चमा राखिएको आफ्नो आसनमा बसिसकेपछि, पोपले विभिन्न धर्मका प्रतिनिधिहरूलाई स्वागत गरे। “एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन” भनी यशैया २:४ मा गरिएको भविष्यवाणीमा आधारित ल्याटिन भाषाको भजन गाएपछि, भिन्ना-भिन्नै धार्मिक वेशभूषामा सजिएका एक दर्जनजति प्रतिनिधिहरूले शान्तिको पक्षमा औपचारिक घोषणाहरू गरे। तीमध्ये केही उदाहरणहरू यसप्रकार छन्।
“यस ऐतिहासिक अवसरमा मानवहरूले शान्तिको अभिव्यक्ति देख्नुपर्छ र आशाका शब्दहरू सुन्नुपर्छ।”—कार्डिनल फ्राँस्वाँ जाभ्या नेविअन भान टूआन।
परमेश्वर, “युद्ध र द्वन्द्वको परमेश्वर हुनुहुन्न तर शान्तिको परमेश्वर हुनुहुन्छ।”—विश्वव्यापी कुलपति बार्थोलोमस आइ।
“धार्मिक मतभिन्नताको कारण [मानिसहरूले] आफूभन्दा भिन्न व्यक्तिहरूलाई बेवास्ता वा घृणा गर्नु हुँदैन।”—डा. सट्रि निओमी, वर्ल्ड अलाइन्स अफ रिफर्म्ड चर्चेज।
“मानिसहरूबीच साँचो शान्ति स्थापना गर्न न्याय र भ्रातृप्रेम दुई अपरिहार्य पक्षहरू हुन्।”—मुखिया आमाडू गसेटो, परम्परागत अफ्रिकी धर्महरूका प्रतिनिधि।
“शान्ति मात्र पवित्र हुन्छ, युद्ध कहिले पनि पवित्र हुँदैन!”—आन्ड्रा रिकार्डो, क्याथोलिक चर्च।
असहिष्णुता र युद्ध मच्चाउन धर्महरू धेरै हदसम्म जिम्मेवार छन् भन्ने कुरा केही प्रतिनिधिहरूले स्वीकारे। लुथरन वर्ल्ड फेडरेसनका प्रतिनिधिले संसारलाई “धार्मिक कट्टरपन्थीहरूले उक्साएको घृणाले तर्साएको छ” भनी बताए।
यहूदी धर्मका एक जना प्रतिनिधिले यसो भने: “धर्महरूले अनगिन्ती भयंकर तथा रक्तपातपूर्ण युद्धहरू उक्साएका छन्।” एक जना हिन्दू प्रतिनिधिले यसो भने: “स्वघोषित धर्मरक्षकहरूले धर्मको सहारा लिएर मानिसहरूलाई अधीनतामा राखेको र तिनीहरूबीच फाटो ल्याएको कुरा इतिहासले बारम्बार प्रमाणित गरेको छ।”आतंकवाद र युद्धको कटु आलोचना गरेपछि, सबै प्रतिनिधिहरू शान्तिको लागि आ-आफ्ना ईश्वरहरूलाई प्रार्थना गर्न तिनीहरूको लागि छुट्याइएको ठाउँमा गए।
शान्तिका लागि प्रार्थनाहरू
मसीहीजगत्का धर्महरूका प्रतिनिधिहरूले सेन्ट फ्रान्सिसको तल्लो बेसिलिकामा, चिहान नजिकै एकसाथ प्रार्थना गरे, जुन ठाउँको नाउँबाटै यो चर्चको नाउँ बेसिलिका रहन गएको हो। पोप र अरू तीन जना प्रतिनिधिहरूले “त्रिएकको मदतको लागि आह्वान” गरेपछि समारोह सुरु भयो। प्रार्थनाको बीच-बीचमा शान्तिको महिमा गर्दै भजन गाउनुका साथै यससँग सम्बन्धित बाइबल पदहरू पढिए। एउटा प्रार्थनामा “अविभाजित विश्वास” स्थापना गर्न अनुरोध गरियो। सहभागीहरूले मत्ती अध्याय ६, पद ९ देखि १३ मा आधारित हाम्रो पिता भन्ने ल्याटिन गीत गाएर यो समारोह टुंग्याए।
यस समयमा, अरू धर्मका प्रतिनिधिहरू पनि अर्कै ठाउँमा प्रार्थना गरिरहेका थिए। मक्कातिर फर्किएको भवनमा, मुसलमानहरूले भुईंको कार्पेटमा घुँडा धसेर अल्लाहलाई पुकारे। जैन र कन्फुशियन धर्मावलम्बीहरूको नजिकै प्रार्थना गरिरहेका फारसी धर्मावलम्बीहरूले अग्निहोत्री गरे। परम्परागत अफ्रिकी धर्मका प्रतिनिधिहरूले आफ्ना पुर्खाका आत्माहरूलाई प्रार्थना गरे। हिन्दूहरूले आफ्ना ईश्वरहरूसँग शान्तिको वर मागे। सबैले आ-आफ्नो संस्कारअनुसार आ-आफ्नो देवी-देवतालाई पुकारे।
शान्तिप्रति साझा सहमति
समारोहको समापनका लागि सबै प्रतिनिधिहरू फेरि ठूलो पालमुनि जम्मा भए। भिक्षुहरूले सबै प्रतिनिधिहरूलाई शान्तिको आशाको प्रतीक, प्रज्वलित दीपहरू विधिपूर्वक हस्तान्तरण गरे। दृश्य निकै नै मनमोहक थियो। प्रतिनिधि मण्डलका विभिन्न सदस्यहरूले शान्तिप्रति साझा सहमति जनाउँदै हरेकले छुट्टा-छुट्टै घोषणा गरे।
“शान्ति स्थापना गर्न आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ।”—विश्वव्यापी कुलपति बार्थोलोमस आइ।
“हिंसा र आतंकवाद धर्मको साँचो भावनाको प्रतिकूल छन्।”—डा. कोन्राट रिजे, चर्चहरूको विश्व परिषद्का प्रतिनिधि।
“हामी मानिसहरूलाई आपसी आदर र सम्मानबारे सिकाउन वचनबद्ध हुन्छौं।”—भाइ साहिबजी मोहिन्दर सिंह, शिख धर्मका प्रतिनिधि।
“न्यायविनाको शान्ति वास्तविक शान्ति होइन।”—अर्थोडक्स विशप बासिल्योस।
अन्तमा, पोपले यो लेखको परिचयमा उल्लेख गरिएका शब्दहरू पढे। शान्तिको संकेत स्वरूप प्रतिनिधिहरूले एक-अर्कालाई अँगालो हालेपछि यो अन्तरविश्वास सभाको समापन भयो। तडकभडकपूर्ण समारोहमा भाषाहरू पनि उच्चकोटिको चलाइएको थियो। तथापि, यस चित्ताकर्षक समारोहप्रतिको प्रतिक्रिया कस्तो थियो?
‘भनाइअनुसारै साँच्चै काम पनि हुने हो भने’
अखबार तथा टेलिभिजनहरूले पोपको अग्रसरताको प्रशंसा गरे। कसै-कसैले त पोपलाई “सबै मसीहीजगत्का प्रवक्ता”-समेत भने। भ्याटिकनको पत्रिका लोस्सरभाटोरा रोमानो-ले आसिसिको त्यो दिनलाई “शान्तिको सभ्यता बसाल्ने कदमको कोसेढुंगा” भनेर वर्णन गऱ्यो। कोरिएरा डेलउम्ब्रिआ अखबारको शीर्ष समाचार “आसिसिले शान्तिको किरण दिन्छ” भन्ने थियो।
तर सबै पर्यवेक्षकहरू उत्तिकै उत्साहित भने थिएनन्। सन् १९८६ र १९९३ मा शान्तिको लागि प्रार्थना दिनहरू आयोजना गरिए तापनि धर्मको नाउँमा लडिएका युद्धहरूले मानिसजातिलाई अझै पनि सताइरहेको कारण कसै-कसैले शंका व्यक्त गरे। धार्मिक द्वेषले युगाण्डा, पूर्व युगोस्लाभिया, इन्डोनेसिया, पाकिस्तान, मध्यपूर्व र उत्तरी आयरल्याण्डमा रक्तपात उक्साएको छ।
केही आलोचकहरूले यस सभालाई “आडम्बर” भन्ने संज्ञा दिंदै, यसप्रति चासो नै देखाएनन् भनी इटालेली अखबार ला रेपूब्लिका-ले बतायो। एक जना युरोपेली सांसद्ले यसरी बताए: शान्ति स्थापना गर्न धर्महरूले “सुसमाचारका पुस्तकहरू व्यवहारमा उतार्नुपर्छ” अर्थात् “आफ्ना शत्रुहरूलाई प्रेम गर, अर्को गाला पनि फर्काइदेओ” भन्ने
वचन पालन गर्नुपर्छ। तिनको विचारमा “कसैले पनि यस्तो गरेका छैनन्।”इटालेली यहूदी समाजका अध्यक्षले यसो भने: “भनाइअनुसारै साँच्चै काम र वास्तविक परिवर्तन पनि हुने हो भने, आउँदा दिनहरू निक्कै राम्रा हुनेछन्।” त्यस्तै इटालेली बौद्ध धर्मावलम्बीहरूकी प्रतिनिधिले पनि यसो भनिन्, “राम्रो मनसाय हुँदैमा मात्र शान्ति आउँदैन भन्ने कुरा बुझ्नुपर्छ।” इटालेली पत्रिका लेस्प्रेसो-का एक जना पत्रकारले, आसिसिमा भेला भएका मसीहीजगत्का धर्महरूका लागि त्यस सभाले अर्कै उद्देश्य पूरा गऱ्यो भनी लेखे। तिनले यसलाई “धार्मिक असन्तुष्टि, अनुशासनहीनता र अविश्वास विरुद्धको ऐक्यबद्धता” अनि युरोपको “मसीही इतिहास”-को बावजुद यहाँका मानिसहरूमाझ “तीव्र गतिमा बढेको धार्मिक अविश्वास” विरुद्ध भिड्ने प्रयत्न भने।
यस समारोहका सबैभन्दा कटु आलोचकहरू परम्परावादी क्याथोलिकहरू थिए। किनभने तिनीहरू कतै यस समारोहले आफ्नो चर्चका सिद्धान्तहरूलाई बेकम्मा बनाउने त होइन भनी तर्सिएका थिए। एउटा टेलिभिजन अन्तरवार्तामा, एक जना प्रख्यात क्याथोलिक लेखक भिट्टोऱ्यो मेस्सोरीले आसिसिको घटनाले धर्महरूबीचको भिन्नतालाई धमिल्याउन सक्ने आशंका व्यक्त गरे। निस्सन्देह, चर्चका अधिकारीहरूले धर्महरूबीच छ्यासमिस भएको भान नपार्न आवश्यक सावधानीहरू अपनाएका थिए। पोप आफैले समेत यस्ता अभियोगहरूको खण्डन गर्दै व्यक्तव्य निकाले। तैपनि, त्यहाँ भएको भेलाको प्रकृतिलाई हेर्दा धेरैजसो मानिसहरूले विभिन्न धर्महरू भनेका एउटै सर्वोच्च शक्तिकहाँ पुग्ने भिन्ना-भिन्नै बाटो मात्र हुन् भन्ने महसुस गरे।
धर्म र शान्ति
तथापि, शान्ति ल्याउनको लागि संगठित धर्महरूले के गर्न सक्छन्? धर्महरू युद्ध रोक्नभन्दा युद्ध गराउनमा अग्रसर भएकोले कतिपय व्यक्तिहरूलाई यो प्रश्न व्यंग्यात्मकजस्तो लाग्छ। युद्ध उक्साउनका लागि राजनैतिक शक्तिहरूले कसरी धर्मलाई चलाएका छन् भन्नेबारे इतिहासकारहरूले लेखेका छन्। यद्यपि, यस्तो प्रश्न खडा हुन्छ: धर्महरू किन यसरी कठपुतली बनेका हुन्?
मसीहीजगत्का धर्महरूसँग कमसेकम पवित्र नियम त छ, जसले तिनीहरूलाई युद्धसम्बन्धी दोषबाट जोगिन मदत गर्न सक्ने थियो। येशूले आफ्ना चेलाहरू “यस संसारका” होइनन् यूहन्ना १५:१९; १७:१६) मसीहीजगत्का धर्महरू यी वचनहरूअनुरूप चलेका भए, तिनीहरूले राजनैतिक शक्तिहरूसँग मिलेर सेनाहरू तथा युद्धलाई आशिष् दिने थिएनन्।
भन्नुभयो। (वास्तवमा, आसिसिमा भनिएका मनमोहक शब्दहरूअनुसार चल्ने हो भने, धर्मिक नेताहरू राजनैतिक शक्तिभन्दा टाढै बस्नुपर्थ्यो। साथै, तिनीहरूले आफ्ना अनुयायीहरूलाई पनि शान्तिको मार्ग सिकाउनुपर्थ्यो। तथापि, संसारमा हिंसा मच्चाउने अधिकांश व्यक्तिहरू भनेकै परमेश्वरमा विश्वास गर्ने वा उहाँमा विश्वास गरेको दाबी गर्ने व्यक्तिहरू नै हुन् भनी इतिहासकारहरू लेख्छन्। हालसालैको एउटा अखबारको सम्पादकीयमा यसो भनिएको थियो: “सेप्टेम्बर ११ को घटना घटेको केही समयपछि, वाशिङ्टन डि.सि.-को एउटा भित्तामा मनै कटक्क खाने यस्तो भनाइ पोतिएको थियो: ‘हे ईश्वर, हामीलाई तिमीमाथि विश्वास गर्ने मानिसहरूदेखि जोगाऊ।’ ”
आसिसिमा भएको तडकभडकपूर्ण समारोहले अझै पनि केही अप्ठ्यारा प्रश्नहरू अनुत्तरित नै छोडेको छ। तर धर्मप्रति आस्था भएका थुप्रै व्यक्तिहरूको लागि निम्न प्रश्न जति महत्त्पूर्ण र अन्योलपूर्ण प्रश्न सायद अरू छैन होला: शान्तिको लागि संसारका धर्महरूले गरेका प्रार्थनाहरूको जवाफ परमेश्वरले अहिलेसम्म किन नदिनुभएको होला? (g02 10/22)
[फुटनोट]
a सन् १९८६ मा शान्तिको लागि आयोजना गरिएको प्रार्थना दिनबारे अझ बढी बुझ्न, कृपया यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट!, पृष्ठ २४९-५० हेर्नुहोस्।
[पृष्ठ ७-मा भएको चित्र]
प्रतिनिधिहरू शान्तिको आशाको प्रतीक, प्रज्वलित दीपको साथमा
[स्रोत]
AP Photo/Pier Paolo Cito
[पृष्ठ ७-मा भएको चित्रको स्रोत]
AP Photo/Pier Paolo Cito