सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अफ्रिकामा एड्‌स फैलिन्छ

अफ्रिकामा एड्‌स फैलिन्छ

अफ्रिकामा एड्‌स फैलिन्छ

“हामी महाविनाशको सामना गर्दैछौं।”

अफ्रिकामा एच आई भी/एड्‌स-सम्बन्धी संयुक्‍त राष्ट्रसंघका विशेष दूत स्टिभेन लेविसले भनेका उपरोक्‍त कुराहरूले साहारा मरुभूमिको दक्षिणी भूभागमा पर्ने अफ्रिकी मुलुकहरूमा एड्‌स-को अवस्थाबारे थुप्रैले चिन्ता व्यक्‍त गरिरहेका छन्‌ भन्‍ने कुराको झझल्को दिन्छ।

एच आई भी फैलिनुमा थुप्रै कारणहरू मुछिएका छन्‌। एड्‌स-ले अन्य समस्याहरूलाई पनि चर्काएको छ। अफ्रिकी मुलुकहरू र विश्‍वका अन्य भागहरूमा एड्‌स रोग व्याप्त हुनुको पछाडि अक्सर निम्न कारणहरू मुछिएका छन्‌।

नैतिकता। एच आई भी संक्रमणको प्रमुख कारण यौन सम्पर्क भएको हुनाले स्पष्ट नैतिक स्तरहरूको कमीको कारण यो रोग झन्‌झनै फैलिरहेको छ भन्‍ने कुरा प्रस्ट छ। यद्यपि, थुप्रै मानिसहरू अविवाहितहरूले यौन संसर्ग गर्नै हुँदैन भनेर त्यसको पक्षमा बोल्नु व्यावहारिक नहुने महसुस गर्छन्‌। दक्षिण अफ्रिका, जोहानेसबर्गको द स्टार पत्रिकामा फ्रान्स्वाँ डुफोर यस्तो लेख्छन्‌, “युवाहरूलाई यौन सम्पर्कबाट अलग बस भन्‍नु मात्र पर्याप्त छैन। तिनीहरूले दिनदिनै जताततै कामुक दृश्‍यहरू देखिरहेका हुन्छन्‌ र त्यसैबाट आफ्नो रूपरंग र व्यवहार कस्तो हुनुपर्छ भन्‍ने कुरा सिकिरहेका हुन्छन्‌।”

यस विश्‍लेषणलाई जवानहरूको चालचलनले पनि पुष्टि गरेको देखिन्छ। उदाहरणका लागि, एउटा राष्ट्रमा गरिएको सर्वेक्षणले १२ देखि १७ वर्षका एक तिहाइ केटाकेटीले यौन सम्पर्क राखिसकेको देखाउँछ।

बलात्कारलाई त दक्षिण अफ्रिकाको राष्ट्रिय संकट भनेर व्याख्या गरिएको छ। जोहानेसबर्गको सिटिजन पत्रिकामा छापिएको समाचारले यस्तो उल्लेख गऱ्‍यो: यो “यतिबिघ्न व्याप्त भइसकेको छ कि यस रोगले अरू रोगहरूको तुलनामा त्यस देशका महिला तथा बालबच्चालाई धेरै नै प्रभाव पारिरहेको छ।” सोही लेख अझ यसो भन्छ: “हाल केटाकेटीमाथि गरिने बलात्कार दुई गुणाले वृद्धि भएको छ। . . . एच  आई  भी भएकाहरूले कौमार्य नगुमाएका व्यक्‍तिलाई बलात्कार गऱ्‍यो भने रोग निको हुन्छ भन्‍ने गलत धारणाले गर्दा यस्ता आपराधिक गतिविधिहरू भइरहेको देखिन्छ।”

यौनजन्य रोगहरू। यस क्षेत्रमा यौनजन्य रोगहरूको दर निकै उच्च छ। साउथ अफ्रिकन मेडिकल जर्नल यस्तो उल्लेख गर्छ: “यौनजन्य रोगहरू लागेको व्यक्‍तिलाई एच आई भी-१ बाट संक्रमित हुने खतरा २ देखि ५ गुणा हुन्छ।”

गरिबी। अफ्रिकाका थुप्रै देशहरू गरिबीसित जुझिरहेका छन्‌ र यसैकारण पनि एड्‌स तीव्र गतिमा फैलिरेहको छ। विकसित देशहरूमा आधारभूत आवश्‍यकता ठानिने कुराहरूसमेत अधिकांश विकासोन्मुख राष्ट्रहरूमा उपलब्ध हुँदैनन्‌। थुप्रै मानिसहरू विद्युत्‌ र शुद्ध पिउने पानीबाट वञ्चित छन्‌। ग्रामीण क्षेत्रहरूमा बाटोघाटो पर्याप्त मात्रामा छैनन्‌ वा छँदै छैन भने पनि हुन्छ। थुप्रै बासिन्दाहरू कुपोषणको सिकार भएका छन्‌ र स्वास्थ्य सुविधाहरूको पनि ठूलो अभाव छ।

एड्‌स-ले व्यापार र उद्योग धन्दाहरूमा पनि नकारात्मक असर पारेको छ। बढ्‌दो संख्यामा कामदारहरू संक्रमित हुन थालेपछि खानी कम्पनीहरूले आफ्नो उत्पादनमा ह्रास आएको महसुस गरेका छन्‌। मानव श्रमिकहरूमा आएको यस्तो ह्रासको क्षतिपूर्ति गर्न कसै-कसैले केही खास कार्यहरू स्वचालित यन्त्रको प्रयोगद्वारा पूरा गर्ने विचार गरेका छन्‌। एउटा प्लाटिनम धातुको खानीमा काम गर्ने कामदारहरूमा एड्‌सबाट संक्रमित कामदारहरूको संख्या २००० सम्ममा दुई गुणा बढ्यो भने, लगभग २६ प्रतिशत कामदारहरू संक्रमित भए।

एड्‌स-ले पारेको अर्को दुःखलाग्दो असर त यो रोग लागेर मरेका मानिसहरूका छोराछोरी टुहुराटुहुरी हुनु हो। आमाबाबु र आर्थिक सहयोग गुमाउनुका साथै यी केटाकेटीले एड्‌स-सितै जोडिएको बदनामको पनि सामना गर्नुपर्छ। आफ्ना नातेदार वा समुदायका मानिसहरू आफै पनि असाध्यै गरिब हुने भएकोले उनीहरू तिनीहरूलाई मदत गर्न सक्ने अवस्थामा हुँदैनन्‌ वा मदत गर्नै चाहँदैनन्‌। थुप्रै टुहुराटुहुरीहरूले स्कूल छोड्‌छन्‌। कोही-कोही वेश्‍यावृत्तिमा लाग्छन्‌ र यसप्रकार यो रोग झनै फैलिन्छ। केही राष्ट्रहरूमा यस्ता टुहुराटुहुरीलाई मदत गर्न सरकारी वा निजी कार्यक्रमहरू सञ्चालन गरिएका छन्‌।

अशिक्षा। एच आई भी-बाट संक्रमित थुप्रै मानिसहरू यसबारे अनभिज्ञ हुन्छन्‌। कतिपयचाहिं यो रोग लागेको थाह पाएपछि बदनाम हुनुपर्ला भन्‍ने डरले परीक्षण गराउनै चाहँदैनन्‌। “एच आई भी भएका वा हुन सक्ने आशंका गरिएका मानिसहरूको स्वास्थ्य केन्द्रहरूमा उपचार गर्न इन्कार गरिन्छ, तिनीहरूलाई घरमा राख्दैनन्‌ न त जागिर नै दिन्छन्‌, तिनीहरू साथीभाइ तथा सहकर्मीहरूद्वारा तिरस्कृत हुन्छन्‌, बिमा गर्न पाउँदैनन्‌ वा विदेशमा जानदेखि रोकिन्छन्‌” भनी जोइन्ट युनाइटेड नेशन्स प्रोग्राम अन एच  आई  भी/एड्‌स-को (यु  एन  एड्‌स) प्रेस विज्ञप्तिले बतायो। एड्‌स रोगी भनेर थाह पाउँदा कसै-कसैको त हत्यासमेत गरिएको छ।

संस्कृति। थुप्रै अफ्रिकी संस्कृतिका महिलाहरूसित आफ्नो पतिको विवाहबाहिर कसैसित यौन सम्पर्क भएको छ वा छैन भनेर सोधपुछ गर्ने, यौन सम्पर्क गर्न इन्कार गर्ने वा सुरक्षित यौन सम्पर्क गर्न आग्रह गर्ने कुनै अधिकार हुँदैन। यी सांस्कृतिक विश्‍वासहरूले अक्सर एड्‌स-बारे ज्ञानको अभाव र वास्तविकतालाई स्वीकार्न इन्कार गर्न खोजेको देखिन्छ। उदाहरणका लागि, यस रोगको दोष बोक्सीहरूमाथि थोपरेर उपचारको लागि झाँक्रीकहाँ जाने गर्छन्‌।

अपर्याप्त स्वास्थ्य केन्द्र। भएका थोरै स्वास्थ्य केन्द्रहरू पनि एड्‌स रोगीहरूले खचाखच भरिएका छन्‌। दुइटा ठूलठूला अस्पतालहरूले आफूकहाँ भर्ना भएका बिरामीहरूमध्ये आधाभन्दा बढी एच आई भी पोजिटिभ बिरामीहरू भएको कुरा बताएका छन्‌। क्वाजुलु-नाटलको एउटा अस्पतालका प्रमुख चिकित्सा अधिकारीले आफ्नो वार्डमा क्षमताभन्दा बढी अर्थात्‌ १४० प्रतिशतको उपचार गरिरहेको बताए। कहिलेकाहीं दुई जना बिरामी एउटै खाटमा र अर्को एक जनाचाहिं तल भुइँमा सुत्नुपर्ने हुन्छ!—साउथ अफ्रिकन मेडिकल जर्नल।

अहिले अफ्रिकाको अवस्था एकदमै दयनीय छ तरै पनि यस अवस्थामा सुधार आउने कुनै संकेत छैन। यु एन एड्‌स-का पिटर पियोट यसो भन्छन्‌, “यो महामारी अझ पनि प्रारम्भिक चरणमै छ।”

केही राष्ट्रहरूमा यस रोगसित लड्‌ने प्रयासहरू भइरहेका छन्‌ भन्‍ने कुरा प्रष्ट देखिन्छ। अनि जून २००१ मा संयुक्‍त राष्ट्रसंघको साधारण सभाले पहिलोपल्ट एच आई भी/एड्‌स-बारे छलफल गर्न विशेष सम्मेलनको आयोजना गरेको थियो। के मानव प्रयासहरू सफल हुनेछन्‌? के एड्‌स-को प्रकोप कहिल्यै थामिएला? (g02 11/08)

[पृष्ठ ५-मा भएको पेटी/चित्र]

एड्‌सको औषधी नेभिरापीन र दक्षिण अफ्रिकाको संकट

नेभिरापीन भनेको के हो? पत्रकार निकोल इटानोका अनुसार यो “एउटा यस्तो एन्टिरिट्रोभाइरल औषधी हो जसले बच्चालाई [आमाबाट] एड्‌स संक्रमण हुनदेखि रोक्न सक्छ।” एन्टिरिट्रोभाइरल जर्मनको एउटा औषधी कम्पनीले यो औषधी दक्षिण अफ्रिकामा आउँदो पाँच वर्षसम्म निश्‍शुल्क आपूर्ति गर्ने प्रस्ताव राख्यो। तथापि, अगस्त २००१ सम्म पनि त्यहाँको सरकारले यस प्रस्तावलाई स्वीकारेको थिएन। किन?

दक्षिण अफ्रिकामा ४७ लाखभन्दा बढी मानिसहरू एच आई भी पोजिटिभबाट संक्रमित छन्‌ र यो संख्या संसारमै सबैभन्दा बढी हो। फेब्रुअरी २००२ मा लण्डनको द इकोनोमिस्ट-ले रिपोर्ट गरेअनुसार दक्षिण अफ्रिकी राष्ट्रपति ताबो एमबेकी “एच आई भी-ले गर्दा एड्‌स हुन्छ भन्‍ने सामान्य धारणामा पक्का छैनन्‌” र तिनी “एड्‌स विरोधी औषधीहरूको मूल्य, सुरक्षा र प्रभावकारितामाथि पनि आशंका प्रकट गर्छन्‌। तिनले त्यस औषधीमाथि प्रतिबन्ध त लगाएका छैनन्‌ तर दक्षिण अफ्रिकाका डाक्टरहरूलाई भने त्यसको प्रयोग गर्नदेखि निरुत्साहित गरेका छन्‌।” यो किन सोचनीय विषय हो? किनभने दक्षिण अफ्रिकामा हरेक वर्ष हजारौं शिशुहरू एच आई भी-बाट संक्रमित भएको अवस्थामा जन्मन्छन्‌ र कुल गर्भवती महिलाहरूमध्ये २५ प्रतिशतमा यो भाइरस भेट्टिएको छ।

यस्तो वैचारिक मतभेदको कारण सरकारलाई नेभिरापीन वितरण गर्न दबाब दिने हेतुले अदालतमा थुप्रै मुद्दाहरू दर्ता गरिए। दक्षिण अफ्रिकाको संवैधानिक अदालतले अप्रिल २००२ मा आफ्नो आधिकारिक वक्‍तव्य प्रकाशित गऱ्‍यो। द वाशिङटन पोस्ट-मा लेखक रबी नेसमेनले लेखेअनुसार त्यस अदालतले “सरकारले यस औषधीको प्रयोगबारे राम्रो ज्ञान भएका दक्ष जनशक्‍तिका साथ यो औषधी हरेक स्वास्थ्य चौकीहरूमा उपलब्ध गराउनुपर्छ” भन्‍ने निर्णय गऱ्‍यो। दक्षिण अफ्रिकी सरकारले देशभरि १८ वटा अस्थायी शिविरहरूमा औषधी त वितरण गरिरहेकै थियो तर यो नयाँ कानून बनेपछि त झनै त्यस राष्ट्रका एच आई भी पोजिटिभ भएका गर्भवती महिलाहरूको लागि आशाको किरण प्रदान गरेको छ भनी भन्‍न थालेको पाइन्छ।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

छट्टु भाइरसले कोषलाई झुक्याउँछ

आउनुहोस्‌, हामी एकछिन मानव रोग प्रतिरोधात्मक क्षमतालाई निष्क्रिय पार्ने भाइरसको (एच आई भी) सानो संसारभित्र छिरौं। एक जना वैज्ञानिक यसो भन्छन्‌: “भाइरस कणहरूलाई वर्षौं लगाएर इलेक्ट्रोन माइक्रोसकोपबाट जाँच गरेपछि त्यस्तो असाध्यै सूक्ष्म कुरामा पनि सबै कुरा दुरुस्त मिलेको र जटिल किसिमले बनेको देख्दा मलाई त अझ पनि आश्‍चर्य लाग्छ र त्यसबारे अझ बढी जान्‍न उत्सुकता जाग्छ।”

यो भाइरस, ब्याक्टेरियमभन्दा पनि सानो हुन्छ र फलतः मानव कोषभन्दा त झनै सानो हुन्छ। एउटा स्रोतअनुसार एच आई भी यति सानो हुन्छ कि एउटा सानो “थोप्लोमै २३ करोडवटा [एच आई भी-का कणहरू] अटाउँछन्‌।” यो भाइरस कुनै एउटा कोषमा पसेर त्यस कोषका सम्पूर्ण स्रोतहरूमाथि नियन्त्रण नजमाउन्जेल यसको वृद्धि हुन सक्दैन।

त्यसकारण, एच आई भी -ले मानव शरीरमाथि आक्रमण गरेपछि रोगप्रतिरोधात्मक प्रणालीका थुप्रै शक्‍तिहरूसित यसले लड्‌नुपर्ने हुन्छ। a सेता रक्‍त कोषहरूले बनेको प्रतिरोधात्मक संजाल हाडको मासीमा बन्छ। सेता रक्‍त कोषहरूमा दुइटा मुख्य-मुख्य लसीका कोषिकाहरू हुन्छन्‌ जसलाई टी र बी कोषहरू भनिन्छ। अन्य केही सेता रक्‍तकोषहरूलाई भक्षकाणु अथवा “कोषभक्षीहरू” भनिन्छ।

विभिन्‍न प्रकारका टी कोषहरूको आ-आफ्नै कार्यहरू हुन्छन्‌। सहायक टी कोषहरू भनिने कोषहरूले रणनीति बनाउनमा प्रमुख भूमिका खेल्छ। सहायक टी कोषहरूले बाह्‍य आक्रमणकारीहरूलाई चिन्‍न र शत्रुलाई आक्रमण गरेर नष्ट पार्न सक्ने कोषहरू उत्पादन गर्न निर्देशन दिन्छ। एच आई भी -को सन्दर्भमा भन्‍ने हो भने, यसले विशेष गरी सोही सहायक टी कोषहरूलाई आक्रमण गर्छ। हत्यारा टी कोषहरूलाई आक्रमणको मारमा परेका शरीरका कोषहरूलाई मार्न सक्रिय बनाइन्छ। बी कोषहरूले संक्रमण विरुद्धको युद्धमा प्रयोग गरिने एन्टिबडी उत्पादन गर्छ।

धूर्त रणनीति

एच आई भी-लाई रेट्रो भाइरसमा वर्गीकरण गरिएको छ। एच आई भी-को प्रजनन प्रक्रियाको ब्लुप्रिन्ट डि एन ए-को (डिअक्सिरिबोन्युक्लिक एसिड) रूपमा नभई आर एन ए-को (रिबोन्युक्लिक एसिड) रूपमा हुन्छ। एच आई भी, लेन्टिभाइरस भनेर चिनिने रेट्रो भाइरसको एउटा खास उप-समूहमा पर्छ किनभने यसका गम्भीर लक्षणहरू देखापर्न धेरै समय लाग्छ।

एच आई भी-ले कुनै एउटा कोषमा प्रवेश पाउने बित्तिकै यसले आफ्ना उद्देश्‍यहरू पूरा गर्न त्यस कोषलाई चलाउन सक्छ। यसले एच आई भी -को थुप्रै प्रति बनाउन डि एन ए-लाई “रिप्रोग्राम” अर्थात्‌ निर्देशित गर्छ। तर त्यसो गर्नुअघि एच आई भी-ले आफ्नो “भाषा” बदल्नुपर्छ। यसले आफू पसेको कोषको संयन्त्रले आफ्नो सूचना पढ्‌न र बुझ्न सकोस्‌ भनेर आफ्नो आर एन ए-लाई डि एन ए-मा बदल्नुपर्छ। यसो गर्न एच आई भी-ले रिभर्स ट्रान्स्क्रिप्टेज भनिने भाइरल रसको प्रयोग गर्छ। हजारौं नयाँ एच आई भी कणहरू उत्पादन गरेर त्यो कोष मर्छ। यी नयाँ कणहरूले अन्य कोषहरूलाई संक्रमण गर्न थाल्छ।

सहायक टी कोषहरूमा ह्रास आउन थालेपछि अन्य शक्‍तिहरू शरीरभरि कुनै डरत्रासविना बढ्‌दै जान सक्छ। शरीरले जुनसुकै रोग र संक्रमणको प्रतिकार गर्न नसक्ने हुन्छ। त्यसपछि संक्रमण पूर्णतया विकसित भएर शरीरमा एडस लाग्छ। यसप्रकार एच आई भी रोग प्रतिरोधात्मक क्षमतालाई पूर्णतया खत्तम गर्न सफल हुन्छ।

यो त सरल विवरण मात्र हो। रोग प्रतिरोधात्मक प्रणाली र एच आई भी-ले कसरी काम गर्छ भन्‍ने विषयमा अनुसन्धाताहरूले अझ पनि पूर्णतया थाह पाउन सकेका छैनन्‌ भन्‍ने कुरा हामीले मनमा राख्नुपर्छ।

विगत दुई दशकमा यो सानो भाइरसको अनुसन्धानमा संसारका नामुद चिकित्सासम्बन्धी अनुसन्धाताहरूले मानसिक र भौतिक स्रोतसाधनहरू लगाएका छन्‌ र यसमा पैसा पनि निकै खर्च भएको छ। परिणामस्वरूप एच आई भी-बारे धेरै कुरा जान्‍न सकिएको छ। केही वर्षअघि शल्य चिकित्सक डा. स्रेविन बी नुलान्डले यस्तो टिप्पणी गरे: “ह्‍युमन इम्युनोडेफिशियन्सी भाइरसबारे बटुलिएको जानकारी र यसको रोकथाममा गरिएको प्रगति साँच्चै आश्‍चर्यलाग्दो छ।”

जे भए तापनि एडस-को प्रकोप बढिरहेको छ।

[फुटनोट]

[चित्र]

एच आई भी-ले रोग प्रतिरोधात्मक प्रणालीको लसीकाहरूमा हमला गरेर रिप्रोग्राम गर्छ

[स्रोत]

CDC, Atlanta, Ga.

[पृष्ठ ७-मा भएको चित्र]

हजारौं युवाहरू बाइबल स्तरअनुरूप जीवन बिताउँछन्‌