सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के एड्‌सको रोकथाम गर्न सकिएला? सकिन्छ भने कसरी?

के एड्‌सको रोकथाम गर्न सकिएला? सकिन्छ भने कसरी?

के एड्‌सको रोकथाम गर्न सकिएला? सकिन्छ भने कसरी?

के ही समयसम्म त थुप्रै अफ्रिकी मुलुकहरूले एडस-को महामारी फैलिएको छ भन्‍ने कुरालाई स्वीकार्नै मानेका थिएनन्‌। यस विषयमा अझ केही मानिसहरू त कुरै गर्न चाहँदैनन्‌। यद्यपि, हालैका वर्षहरूमा युवाहरूलाई यसबारे सिकाउन र खुलस्त कुराकानी गर्न प्रोत्साहन दिने प्रयासहरू गरिएका छन्‌। यस्ता प्रयासहरू केही हदसम्म सफल भएका छन्‌। मानिसहरूमा तिनीहरूको जीवन शैली र प्रचलनहरूले गहिरो छाप पारेको कारण त्यसमा परिवर्तन ल्याउनु असाध्यै गाह्रो छ।

चिकित्सा क्षेत्रमा उन्‍नति

चिकित्सा क्षेत्रमा वैज्ञानिकहरूले एच आई भी-बारे थुप्रै कुरा थाह पाइसकेका छन्‌ र बिरामीको आयु केही हदसम्म लम्ब्याउन सक्ने औषधीहरूको पनि विकास गरेका छन्‌। तीन प्रकारका एन्टिरिट्रोभाइरल औषधीहरू मिलाएर बनाएको एकदमै प्रभावकारी ठानिएको एन्टिरिट्रोभाइरल थेरापी निकै प्रभावशाली ढंगमा प्रयोग गरिएको छ।

यी औषधीहरूले यो रोगलाई शत प्रतिशत निको नपारे तापनि विशेष गरी विकसित मुलुकका एच आई भी रोगीहरूको मृत्युदरलाई कम गर्न यो सफल भएको छ। यी औषधीहरू विकासोन्मुख देशहरूमा पनि पठाउनुपर्ने महत्त्वमाथि थुप्रै मानिसहरू जोड दिन्छन्‌। तथापि, यी औषधीहरू असाध्यै महँगो भएकाले ती देशका अधिकांश मानिसहरूसित यो किन्‍ने औकात नै छैन।

यसले एउटा विवादलाई अघि सारेको छ: के आर्थिक लाभ मानव जीवनभन्दा महत्त्वपूर्ण हो? यस्तो अवस्था रहेको कुरा स्वीकार्दै ब्राजिलको एच आई भी/एडस-सम्बन्धी कार्यक्रमका निर्देशक डा. पौलो टेक्सिएरा यसो भन्छन्‌: “धेरै नाफा कमाउने दाउमा, जीवनदायी औषधीको अभाव सिर्जना गरेर हजारौं मानिसहरूले आफ्नो ज्यान गुमाइरहेको हामी हेर्न सक्दैनौं।” तिनले अझ यसो भने: “नैतिक र सामाजिक सम्बन्धहरूको बीचमा आर्थिक नाफाको कुरा ल्याइरहेको देख्दा मलाई साह्रै चिन्ता लागेको छ।”

केही देशहरूले ठूलठूला औषधी कम्पनीहरूको सर्वाधिकारलाई लत्याएर त्यस्तै खालका कुनै लेबल नराखिएका औषधीहरू कम मूल्यमा बेच्ने निर्णय गरेका छन्‌। a एउटा अध्ययनले देखाएअनुसार “[लेबल नराखिएका औषधीहरूको] मूल्य संयुक्‍त राज्य अमेरिकाको मापदण्डभन्दा ८२% कम पर्न आएको छ” भनी साउथ अफ्रिकन मेडिकल जर्नल रिपोर्ट गर्छ।

उपचारका बाधकहरू

केही समयअघिदेखि औषधी कम्पनीहरूले एडस-को औषधी खाँचोमा परेका विकासोन्मुख राष्ट्रहरूलाई एकदमै कम मूल्यमा बेच्न थालेका छन्‌। त्यसले गर्दा, थुप्रै मानिसहरूले यी औषधीहरूको प्रयोग गर्न सक्ने आशा गरिएको थियो। तथापि, विकासोन्मुख मुलुकहरूमा यस्ता औषधीहरू सर्वसुलभ ढंगमा उपलब्ध गराउन अझ थुप्रै बाधकहरूमाथि विजय हासिल गर्न बाँकी नै छ। यीमध्ये एउटा बाधक हो, मूल्य। यी औषधीहरूको मूल्यमा भारी कटौती गरिए तापनि यसको आवश्‍यकता परेका मानिसहरू अधिकांशको लागि भने यो अझै पनि महँगो छ।

अर्को समस्या भनेको कुन व्यक्‍तिलाई कति मात्रा औषधी दिने हो भन्‍ने कुरा ठम्याउन सजिलो छैन। हरेक दिन तोकिएकै समयमा थुप्रै गोली वा चक्कीहरू सेवन गर्नुपर्ने हुन्छ। यी औषधीहरू ठिकसित लिएन वा खानुपर्ने समयमा नखाएको खण्डमा एच आई भी-मा औषधीसित लड्‌ने क्षमता बढ्‌न सक्छ। अनि खाना, शुद्ध पिउने पानी र अस्पतालहरूको अभाव भएको अफ्रिकाजस्तो मुलुकमा लगातार ठीक मात्रामा औषधी लिइरहेको छ वा छैन भन्‍ने कुरा पक्का गर्नु साह्रै गाह्रो कुरा हो।

त्यसबाहेक, औषधी सेवन गर्नेहरूलाई राम्ररी निरीक्षण गर्नुपर्छ। औषधीले असर गर्न छोड्यो भने ती औषधीहरूको मिश्रण परिवर्तन गर्नुपर्ने हुन सक्छ। यसको लागि अनुभवी चिकित्सकहरूको आवश्‍यकता पर्छ र परीक्षण गर्दा पर्ने मूल्य पनि असाध्यै चर्को हुन्छ। साथै, औषधीले प्रतिकूल असर पनि पार्छ र भाइरसमा औषधीसित प्रतिरोध गर्ने क्षमता पनि बढिरहेको हुन्छ।

जून २००१ मा सम्पन्‍न संयुक्‍त राष्ट्रसंघ-को साधारण सभामा भएको एडस-सम्बन्धी विशेष सभाले विकासोन्मुख राष्ट्रहरूलाई मदत गर्न विश्‍वव्यापी स्वास्थ्य कोषको स्थापना गर्ने प्रस्ताव राख्यो। यसको लागि लगभग ७ देखि १० अरब अमेरिकी डलरको आवश्‍यकता पर्ने अनुमान गरियो। तर ती देशहरूले अनुदान दिन स्वीकृत गरेको रकम भने आवश्‍यक रकमभन्दा असाध्यै थोरै छ।

वैज्ञानिकहरूले यसको भ्याक्सिन पत्ता लगाउने बलियो विश्‍वास राखेका छन्‌ र विभिन्‍न मुलुकका भिन्‍नाभिन्‍नै मानिसहरूमा यसको परीक्षण पनि भइरहेको छ। यस्ता प्रयासहरू सफल भएको खण्डमा पनि भ्याक्सिन बनाउने, परीक्षण गर्ने र सुरक्षित प्रमाणित गरेर जनसाधारणको प्रयोगको लागि बजारमा ल्याउन अझ धेरै वर्ष लाग्नेछ।

ब्राजिल, थाइल्याण्ड र युगान्डाजस्ता केही देशहरूमा उपचार कार्यक्रममा उल्लेखनीय सफलता हासिल भएको पाइन्छ। ब्राजिलमा स्थानीय तवरमै उत्पादन गरिएका औषधीहरूको प्रयोगद्वारा एडस-बाट हुने मृत्युदरमा कमी आएको छ। आर्थिक स्रोतसाधन प्रशस्त मात्रामा भएको सानो देश बोत्स्वानाले आफ्नो देशमा एन्टिरिट्रोभाइरल औषधी चाहिएकाहरूलाई दिएर र आवश्‍यक अस्पतालहरू उपलब्ध गराउने सक्दो प्रयास गरिरहेको छ

एडस-माथि विजय

एडस अन्य केही महामारीभन्दा एउटा विशेष क्षेत्रमा एकदमै भिन्‍न छ: यसको रोकथाम गर्न सकिन्छ। मानिसहरूले बाइबलका आधारभूत सिद्धान्तहरूमा लागिरहन तत्पर रहेको खण्डमा संक्रमित हुनदेखि धेरै हदसम्म जोगिन सक्छन्‌।

बाइबलका नैतिक स्तरहरू स्पष्ट छन्‌। विवाह बन्धनमा नबाँधिएकाहरू यौन सम्पर्कबाट टाढै बस्नुपर्छ। (१ कोरिन्थी ६:१८) विवाहित दम्पती एकअर्काप्रति वफादार भएर व्यभिचारदेखि अलग बस्नुपर्छ। (हिब्रू १३:४) रगतबाट अलग बस्नु भन्‍ने बाइबलको सल्लाह पालन गर्नाले पनि जोगिन सकिन्छ।—प्रेरित १५:२८, २९.

संक्रमित व्यक्‍तिहरूले परमेश्‍वरले निकट भविष्यमा ल्याउने प्रतिज्ञा गर्नुभएको यस रोगबाट मुक्‍त संसार र त्यस संसारमा बाँच्न पूरा गर्नुपर्ने आवश्‍यकताहरूबारे सिकेर असीम आनन्द तथा सान्त्वना पाउन सक्छन्‌।

बाइबलले अन्तमा रोगबिमारलगायत मानिसजातिका सबै पीडाहरू अन्त हुनेछ भनेर आश्‍वासन दिन्छ। यो प्रतिज्ञा प्रकाशको पुस्तकमा गरिएको छ: “सिंहासनबाट यसोभन्‍ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।’ ”—प्रकाश २१:३, ४.

यो आश्‍वासन धेरै पैसा खर्च गरेर उपचार गर्न सक्नेहरूका लागि मात्र होइन। प्रकाश २१ अध्यायमा गरिएको त्यस भविष्यसूचक प्रतिज्ञालाई यशैया ३३:२४ ले यसरी पुष्टि गर्छ: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें’ त्यहाँ बस्ने मानिसहरूका अधर्म क्षमा गरिनेछ।” त्यसपछि पृथ्वीका सबै बासिन्दा परमेश्‍वरको नियममा बाँधिनेछन्‌ र सुस्वास्थ्यको आनन्द उठाउनेछन्‌। यसरी एडस-को प्राणघातक अभियान र अरू सबै रोगहरू सदाको लागि थामिनेछ। (g02 11/08)

[फुटनोट]

a लेबल नराखिएका औषधीहरू अरू औषधी कम्पनीहरूको अधिकारमा रहेको औषधीको नकल गरेर बनाइएका हुन्छन्‌। विश्‍व-व्यापार संगठनका सदस्य राष्ट्रहरूले आपत्‌कालीन परिस्थितिमा औषधीका सर्वाधिकारहरूलाई वैध ढंगमै बदर गर्न सक्छन्‌।

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

मैले खोजिरहेको वास्तविक उपचार यही नै थियो

म अफ्रिकाको दक्षिणी भागमा बसोबास गर्छु र म २३ वर्षको भएँ। म अझै पनि आफूलाई एच आई भी पोजिटिभ भएको कुरा थाह पाएको त्यो दिन बिर्सन सक्दिनँ।

डाक्टरले त्यो खबर सुनाउँदा म आमासित परामर्श-कक्षमा थिएँ। मैले जीवनमा यो जस्तो दुःखलाग्दो खबर कहिल्यै सुनेको थिइनँ। म अलमल्लमा परें। मैले पत्याउनै सकिनँ। मलाई त ल्याबमै कुनै गल्ती भयो होलाजस्तो लाग्यो। म केही बोल्नै सकिनँ र बेहोसजस्तै भइरहें। मेरो मन रोइरहेको थियो तर आँसु भने झरिरहेको थिएन। डाक्टर आमासित एन्टिरिट्रोभाइरल औषधी र अरू विषयमा कुरा गर्दै हुनुहुन्थ्यो तर म यतिबिघ्न जिल्ल परेको थिएँ कि त्यहाँ भइरहेको गनथनमा मेरो ध्यानै थिएन।

म पढ्‌दै गरेको विश्‍वविद्यालयकै कुनै व्यक्‍तिबाट आफू संक्रमित भएँजस्तो लाग्यो। म आफ्नो परिस्थिति बुझ्न सक्ने कुनै पनि मान्छेसित कुरा गर्न चाहन्थें तर कसैले पनि व्यक्‍तिले मेरो कुरा सुन्लाजस्तो लागेन। मैले आफूलाई निकम्मा र असफल महसुस गर्न थालें। मेरो परिवारले सहयोग गरे तापनि म निराश र भयभीत भएको थिएँ। अरू युवायुवतीहरूका जस्तै मेरा पनि थुप्रै सपनाहरू थिए। मैले विज्ञान विषयको स्नातक तह पूरा गर्न दुई वर्ष मात्र बाँकी थियो।

मैले डाक्टरले बताएका एन्टिरिट्रोभाइरल औषधीहरू सेवन गर्न थालें र एड्‌स-सम्बन्धी सल्लाहकारकहाँ पनि गएँ तर मेरो निराशा हटेन। आफ्नो मृत्युअघि साँचो मसीही धर्म देखाइदिनुहोस्‌ भनी मैले परमेश्‍वरलाई प्रार्थना गरें। म पेन्टिकोस्टल चर्चको सदस्य थिएँ तर चर्चका कुनै पनि मानिस मलाई हेर्नसमेत आएनन्‌। म मृत्युपछि आफू कहाँ जानेछु भन्‍नेबारेमा सत्य सिक्न चाहन्थें।

अगस्त १९९९ को सुरुतिर एक बिहानी दुई जना यहोवाका साक्षीहरू मेरो ढोकामा आइपुगे। म त्यस दिन साह्रै बिरामी परेको थिएँ र बल्ल तल्ल उठेर बैठक कोठासम्म जान सकें। ती दुई महिलाले आफ्नो परिचय दिएपछि मानिसहरूलाई बाइबल अध्ययन गर्न मदत गर्दैछौं भनी मलाई बताए। मेरा प्रार्थनाहरूको सुनुवाइ भएकोमा मलाई साह्रै सन्चो महसुस भयो। तर त्यतिबेला सम्ममा म एकदमै कमजोर भइसकेको कारण मैले पढ्‌न वा धेरै समय ध्यान दिन सकिनँ।

तैपनि, मैले तिनीहरूलाई आफूले बाइबल अध्ययन गर्न चाहेको कुरा बताएँ र तिनीहरूले मसित फेरि भेट्‌ने समय मिलाए। दुःखको कुरा तिनीहरू आइपुग्नुअगावै निराशाले छोपेको कारण मलाई मानसिक अस्पतालमा लगियो। तीन हप्तापछि घर फर्कंदा ती साक्षीहरूले मलाई बिर्सेका रहेनछन्‌ भन्‍ने कुरा थाह पाउँदा मलाई धेरै खुसी लाग्यो। तिनीहरूमध्ये एक जनाले मेरो हालखबर बुझ्न आइरहने गरेको मलाई अझसम्म याद छ। शारीरिक तवरमा मैले केही सन्चो महसुस गर्न थालें र त्यस वर्षको अन्ततिर बाइबल अध्ययन सुरु गरें। यद्यपि, मलाई सजिलो भएन किनभने मेरो अवस्था अस्थिर थियो। तर मलाई अध्ययन गराउने महिला बुज्झकी र धीरजी थिइन्‌।

यहोवा तथा उहाँका गुणहरूलगायत उहाँलाई चिन्‍नु र अनन्त जीवनको प्रतिक्षा गर्नुको साँचो अर्थ के हो भन्‍ने कुरा बाइबलबाट अध्ययन गर्दा म एकदमै प्रभावित भएँ। साथै, मानव पीडाहरूको कारण के रहेछ भन्‍ने कुरा पनि मैले पहिलोपल्ट बुझें। चाँडै नै सबै मानव सरकारहरूलाई हटाएर शासन गर्ने परमेश्‍वरको राज्य स्थापित हुनेछ भन्‍ने कुरा सिक्न पाउँदा पनि मलाई साह्रै आनन्द महसुस भयो। यसले मलाई आफ्नो जीवन शैली पूर्णतया परिवर्तन गर्न उत्प्रेरित गऱ्‍यो।

मैले खोजिरहेको वास्तविक उपचार यही नै थियो। यहोवा मलाई अझ पनि माया गर्नुहुन्छ र मेरो फिक्री गर्नुहुन्छ भन्‍ने कुरा थाह पाउनु साह्रै सान्त्वनादायी छ! सुरुमा त मैले परमेश्‍वरले मलाई घृणा गर्नुभएको हुनाले यस रोगले संक्रमित भएको हुँ भन्‍ने लाग्थ्यो। तर अहिले यहोवाले मायालु ढंगमा येशू ख्रीष्टको रगतको बलिदानद्वारा पाप क्षमा गर्ने प्रबन्ध गर्नुभएको छ भन्‍ने कुरा मैले सिकें। यसको साथै परमेश्‍वरले मेरो फिक्री गर्नुहुन्छ भन्‍ने कुरा पनि १ पत्रुस ५:७ मा बताएको यस कुराबाट थाह पाएँ: “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”

हरेक दिन बाइबल अध्ययन गर्दै र राज्यभवनका सभाहरू धाउँदै म यहोवाको नजिक हुन यथासक्दो परिश्रम गर्दैछु। परिस्थिति सधैं सजिलो नभए तापनि म आफ्ना चिन्ताहरू यहोवासामु प्रार्थनामा पोख्छु र उहाँसित बल अनि सान्त्वना माग्छु। यसको अलावा, मण्डलीका सदस्यहरूले पनि मलाई सहयोग गर्ने भएकोले म साह्रै खुसी छु।

स्थानीय मण्डलीसित म नियमित तवरमा प्रचार कार्यमा भाग लिन्छु। म अरूलाई अझ भनौं भने मैले जस्तै दुःख भोगिरहेकाहरूलाई आध्यात्मिक तवरमा मदत गर्न चाहन्छु। मैले डिसेम्बर २००१ मा बप्तिस्मा लिएँ।

[चित्र]

परमेश्‍वरको राज्यबारे सिकेर म साह्रै आनन्दित भएँ

[पृष्ठ ८-मा भएको चित्र]

बोत्स्वानाको एड्‌स परामर्श टोली

[पृष्ठ १०-मा भएको चित्र]

प्रमोदवनमा सबैले सुस्वास्थ्यको आनन्द उठाउनेछन्‌