सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बगिरहेको डरलाग्दो लाभाबाट हामी कसरी उम्क्यौं!

बगिरहेको डरलाग्दो लाभाबाट हामी कसरी उम्क्यौं!

बगिरहेको डरलाग्दो लाभाबाट हामी कसरी उम्क्यौं!

कंगोका (किन्सासा) ब्यूँझनुहोस्‌! लेखकद्वारा

मंगलबार, जनवरी १५, २००२ को दिन थियो। यसो हेर्दा मध्य अफ्रिकामा यो दिन सामान्यजस्तै देखिन्छ। ग्रेट लेक्स क्षेत्रका साक्षीहरूलाई भेट्‌न अर्का एक जना यहोवाको साक्षीसित म कंगोस्थित (किन्सासा) किभु, गोमामा आइपुग्छु।

चिन्ता लिनुपर्ने कुनै कारण छैन?

निरागङ्‌गो ज्वालामुखी (३,४७० मिटर अग्लो) गोमा शहरबाट १९ किलोमिटर टाढा रहेको भए तापनि यसको स्वभावले हामीलाई आकर्षित गर्छ। a हामीले यसको गडगडाहट सुन्‍न सक्छौं र ज्वालामुखीबाट निस्किरहेको धुवाँ पनि देख्न सक्छौं। स्थानीय मानिसहरूको लागि वर्षको यस बेला यसो हुनु असामान्य कुरा होइन र तिनीहरू आत्तिएका पनि छैनन्‌।

दिउँसो हामी यहोवाका साक्षीहरूको दुईवटा मण्डलीका सभाहरूमा उपस्थित हुन्छौं। हामीलाई जमिन हल्लिएझैं महसुस भइरहन्छ र गडगडाहट पनि सुनिरहन्छौं। तर यसो हेर्दा यसबाट कोही पनि विचलित भएजस्तो देखिंदैन। स्थानीय अधिकारीहरू पनि जनसमुदायलाई डराउनुपर्ने कुनै कारण नभएको कुरामा विश्‍वस्त गराउन भरमग्दुर प्रयास गरिरहेका छन्‌। कंगोका एक जना ज्वालामुखी विशेषज्ञले विस्फोट हुन्छ भनेर महिनौंअघिदेखि बताइरहेको भए तापनि तिनीमाथि कसैको रत्तिभर विश्‍वास छैन। एक जना मित्रले कुरैकुरामा यसो भन्छन्‌, “हेर्दै बस, फुट्‌नै लागेको त्यो ज्वालामुखीले यो साँझ, आकाशलाई पूरै रातो बनाइदिनेछ।”

“हामी तुरुन्तै भागिहाल्नुपर्छ!”

ज्वालामुखी फुट्‌ने पक्का भइसकेकोले आफ्नो डेरामा पुग्दा हामीलाई यसो भनिन्छ: “अब हामी तुरुन्तै भागिहाल्नुपर्छ!” परिस्थिति खतरनाक छ। शहर ठूलो खतरामा परेको छ। कत्ति छिटो परिस्थिति बदलिन्छ! बिहान मात्र गोमालाई साक्षी गतिविधिको एउटा केन्द्रिय थलोको रूपमा प्रयोग गर्ने सम्भाव्यताबारे हामी छलफल गरिरहेका थियौं। अहिले, साँझ परेको छैन, शहर नष्ट हुन सक्ने भएकोले हामीलाई शहर छोडेर भाग्न भनिन्छ!

रात नजिकिंदै जाँदा आगोको ज्वालाले आकाश झन्‌-झनै रातो हुन थाल्छ! निरागङ्‌गोबाट बगेको लाभा शहरतिर अघि बढिरहेछ। यो पर्वत कुनै वस्तु भकभक उम्लिएर पोखिरहेको बडेमानको भाँडो जस्तै देखिन्छ अनि प्रज्वलित पग्लिरहेको लाभाले आफ्नो बाटोमा आउने सबैलाई सोतर पार्दैछ। हामीले पहिले कहिल्यै यति छिटो सुटकेस प्याक गरेका थिएनौं! बेलुकीको सात बज्नै लागेको छ।

लाखौं मानिसहरू सडकतिर भाग्दै

हामी हतारिंदै भाग्ने तरखर गर्दै गर्दा गोमा शहर जाने बाटो ज्यान जोगाउन भागिरहेका मानिसहरूको भीडले खचाखच भइसकेछ। धेरैजसो मानिसहरू आफूले सकेजति जायजेथा कुम्ल्याएर हिडिंरहेका छन्‌। धेरैले टाउकोमा समेत भारी बोकेका छन्‌। केही सामानहरू खचाखच भरिएका गाडीहरूमा कोचिएका छन्‌। सबै जना नजिकैको रूवाण्डाली सीमातर्फ अघि बढिरहेका छन्‌। यद्यपि, मानिसले बनाएका सीमाहरूले ज्वालामुखीलाई रोक्दैन। न त कुनै सेनाले नै यसको बाटो छेक्न सक्छ! लाभासामु सेनाहरू लाचार भएको दृश्‍य हाम्रोअगाडि छ; आफ्नो ज्यान जोगाउन सेनाहरूसमेत भागिरहेका छन्‌। सडकमा गाडी गुड्‌न सम्भव छैन। हामीलाई हिंड्‌नै पर्ने बाध्यता छ। हामी ज्वालामुखीको क्रोधबाट बच्न भागिरहेका ३,००,००० पुरुष, स्त्री, केटाकेटी र काखे बालाकहरूको संघर्षरत भीडको बीचमा छौं। हामीले टेकिरहेको भूमि गडगडाउन र डगमगाउन अझै छाडेको छैन।

सबैजना आफ्नो ज्यान जोगाउन भागिरहेका छन्‌। ठूलो शहरबाट आएका त्यस ठाउँका लागि बिलकुलै बिरानो म अनि मेरो साथी हाम्रो ख्याल राख्ने केही साक्षीहरूसित भीडसँगसँगै हिंडिरहेका छौं। यो अति तनावग्रस्त अनि पीडादायी परिस्थितिमा तिनीहरूको उपस्थिति अनि तिनीहरूले देखाएको गहिरो चासोले हाम्रो भित्री हृदय छुन्छ अनि हामीलाई सुरक्षाको अनुभूति हुन्छ। मानिसहरू सकेजति लुगाफाटा, भाँडाकुडा र बचेखुचेका खानेकुरा कुम्ल्याएर भागिरहेका छन्‌। मानवताको यस भीडमा मानिसहरू एकअर्कालाई घचेटाघचेट अनि ठेलमठेल गरिरहेका छन्‌। गुडिरहेको गाडीले ठक्कर दिंदा केही व्यक्‍तिहरूको सामान हातबाट फुत्केर भुइँमा खस्न पुग्छ र मानिसहरूले कुल्चेर ती सबै धूलोपिठो बनाइदिन्छ। बिचरा ठेस लागेर लड्‌नेहरू! मानिसहरूले भोगिरहेको तनाव वर्णन गरेर साध्य छैन। सबै त्रसित छन्‌। हामी रूवाण्डाबाट केही किलोमिटर टाढा गीसेनीतर्फ जाने प्रयास गरिरेहका छौं। आफ्नो पाइलालाई रत्तीभर विश्राम नदिई हामी अघि बढिरहेका छौं।

एउटा सुरक्षित रात

हामी एउटा सानो होटलमा आइपुग्छौं तर सुत्ने ठाउँ छैन। त्यसैले, बगैंचाको एउटा टेबलको चारैतिर बसेरै हामीले चित्त बुझाउनुपर्ने हुन्छ। यो साढेतीन घण्टा थकाइलाग्दो यात्रापछिको विश्राम हो। ज्यान जोगिएको र खतराबाट मुक्‍त भएको अनि हामीसित यात्रा गर्ने मसीही भाइहरूको साथ नछुटेकोमा हामी खुसी छौं। योभन्दा पनि खुसीको कुरा त, कुनै पनि साक्षीले आफ्नो ज्यान गुमाउनु परेन।

खुला ठाउँमा रात बिताउनुबाहेक हामीसित अरू विकल्प छैन। टाढाबाट गोमा शहरको प्रज्वलित रातो आकाशलाई हामी नियाल्न सक्छौं। साँच्चै, कत्ति चित्ताकर्षक र सुन्दर दृश्‍य! विस्तारै दिनको उज्यालो छाउँछ। रातभरि गडगडाहट र कम्पन रोकिंदैन। त्यस दिनका कठिन घटनाहरूलाई फर्केर हेर्दा, आफ्ना स-साना बालबच्चा लिएर भाग्नुपरेका हजारौं परिवारहरू सम्झँदा दया जाग्छ।

तुरुन्तै मदत आइपुग्छ

शुक्रबार, जनवरी १८ को मध्यदिनमा रूवाण्डाको राजधानी किगालीका साक्षीहरू पनि हामी भएको ठाउँमा आइपुग्छन्‌। गोमा र गिसेनीका भाइहरूको संयुक्‍त राहत समिति काममा जुट्‌न कुनै ढिलो गर्दैन। यस समितिको पहिलो काम वरपरका छवटा राज्यभवनमा शरणार्थी भएर बसिरहेका साक्षीहरूको बसोबासको प्रबन्ध गर्नु हो। यो काम त्यसै दिन गरिन्छ। सडक छेउमा फ्रान्सेली र स्वाहिली भाषामा स्थानीय राज्यभवन जाने बाटो देखाउने संकेत राखिन्छ। त्यस राज्यभवनमा शरणार्थीहरूले मदत र सान्त्वना पाउन सक्छन्‌। साथै, त्यसै दिन साक्षीहरू बसोबास गरिरहेका राज्यभवनहरूमा तीन टन आधारभूत आवश्‍यक राहत सामग्रीहरू आइपुग्छन्‌। भोलिपल्ट शनिबार किगालीबाट खाद्य-सामग्री, कम्बल, प्लास्टिक, साबुन र औषधीहरूले भरिएको एउटा ट्रक आइपुग्छ।

चिन्ता बढ्‌दै जान्छ

वास्तवमा यो एकदमै चिन्ताको विषय हो। यी सब मानिसहरूको आवश्‍यकता कसरी पूरा गर्न सकिन्छ? ज्वालामुखीबारे चाहिं के भन्‍न सकिन्छ? विस्फोटन कहिले रोकिएला? गोमा शहरको कुन हदसम्म क्षति भएको छ? समाचार चारैतिर फैलिंदैछ अनि जमिनको निरन्तर हलचलले पक्कै राम्रो संकेत दिंदैन। सल्फर डाइअक्साइडको खतरनाक तहले पर्यावरणलाई प्रदूषित पार्ने कुरामा विशेषज्ञहरू भयवित छन्‌। रासायनिक प्रतिक्रियाले किभु तालको पानीलाई दूषित बनाउने कुरा पनि अर्को चिन्ताको विषय हो।

विस्फोटन भएको ४८ घण्टाभित्रमै चारैतिर विचलित पार्ने खबरहरू फैलिएका थिए। त्यसपछि शनिबार दिउँसो हामीलाई ८ जना साक्षीहरू र एक जना बच्चासहितको १०,००० मानिसहरू लाभाको घेराउमा परेको र कुनै-कुनै ठाउँमा त यो लाभाको घेराको उचाइ दुई मिटरसम्म गहिरो भएको कुरा थाह हुन्छ। हावामा विषालु ग्याँसहरू मिसिन्छ। हामीलाई तिनीहरूको ज्यानको डर लागिरहेछ। परिस्थिति सुध्रिएलाजस्तो देखिंदैन। अघि बढिरहेका क्रूर लाभाहरूद्वारा गोमाका गिर्जाघरहरूसमेत प्रायः नष्ट भइसकेका छन्‌। सबैको मनबाट यस विपत्तिबाट बच्ने आशा मरिसकेको छ।

केही सान्त्वनादायी खबरहरू

आइतबार बिहान ९ बजे लाभाको घेराउमा परेका एक जना भाइले हामीलाई फोन गर्छन्‌। उनले हामीलाई परिस्थिति परिवर्तन हुँदै गएको खबर सुनाउँछन्‌। सुधार हुँदैछ, पानी परिरहेको छ, लाभा चिसिंदैछ अनि वातावरण सफा हुँदैछ। लाभा अझै तातो र खतरनाक भए तापनि सुरक्षित भूमिमा जान मानिसहरू बगिरहेको लाभा पार गर्न थालेका छन्‌। शहर पूर्णतया नाश भएको छैन।

विपत्तिजनक घटनाहरू सुरु भएपश्‍चात्‌को पहिलो सुसमाचार यही नै हो। ज्वालामुखी पहिले जस्तो सक्रिय देखिंदैन। आसपासका विशेषज्ञहरूका भनाइ एक-अर्कामा बाँझिन्छन्‌। हामी किभु तालको पल्लो छेउमा रहेको छिमेकी शहर बुकाभुमा सम्पर्क स्थापित गर्न सक्षम हुन्छौं। हामीले पाँच साक्षी परिवार र आमाबाबुबाहेक तीन जना बच्चाहरू डुंगाबाट बुकाभु पुगेको खबर पाउँछौं। त्यस शहरका साक्षीहरूले तिनीहरूको हेरविचार गर्नेछन्‌।

हामी फर्कन सक्यौं!

जनवरी २१ सोमबार हामी गीसेनीमा पीडितहरूलाई प्रोत्साहन र सान्त्वना दिन अनि तिनीहरूका आवश्‍यकताहरूलाई बुझ्न सक्षम हुन्छौं। हामीले छवटा राज्यभवनमा अस्थायी रूपमा बसोबास गरिरेहका भाइहरू व्यवस्थित ढंगमा बस्न थालेको पायौं। भाग्नुपरेका साक्षीहरूको कुल संख्या बच्चाहरूसहित १८०० भएको कुरा हामी थाह पाउँछौं।

भविष्यको कुराबारे नि? स्थानीय अधिकारीहरू शरणार्थीहरूको लागि शिविर बनाउने योजना बनाउँछन्‌। यद्यपि, सन्‌ १९९४ मा भएको जातीय संहारपछि केही मानिसहरूको मनसपटलबाट शरणार्थी शिविरहरूका दुःखदायी सम्झनाहरू अझै मेटिएका छैनन्‌। हामी गोमा फर्कने निर्णय गर्छौं र दिउँसोतिर त्यस शहरमा पुग्यौं। शहरको २५ प्रतिशत भाग नष्ट भइसकेको छ। अहिले हामी शहरको बाटोमा बगेका कडा भइसकेको लाभामा हिंड्‌न सक्छौं। यो अझै मनतातो छ अनि त्यसबाट निस्केका ग्याँसहरू वातावरणमा मिसिरहेका छन्‌। अधिकांश मानिसहरू शहर फर्कने दृढ अडान लिएर बसेका छन्‌।

दिउँसो १ बजे गोमा सेन्ट्रल क्रंगिकेशनको राज्यभवनमा ३३ जना मसीही प्राचीनहरूसित हाम्रो भेट हुन्छ। सबैको विचार एउटै छ: तिनीहरू गोमा फर्कने निर्णय गर्छन्‌। तिनीहरू भन्छन्‌, “हामी गोमाका बासिन्दा हौं।” फेरि ज्वालामुखी विस्फोटन हुने खतराबारे चाहिं के गर्ने? भन्‍ने प्रश्‍नमा तिनीहरू यस्तो जवाफ दिन्छन्‌, “हामीलाई यसको बानी परिसकेको छ।” चाँडै नफर्केमा आफ्ना सारा सम्पत्ति लुटिने तिनीहरूलाई डर छ। भागेका सबै साक्षी परिवारहरू भोलिपल्ट गोमा फर्कन्छन्‌। सीमा पार गर्ने ३,००,००० मानिसहरू पनि यस संकटग्रस्त शहरमा फर्कन्छन्‌।

एक हप्तापछि

चहलपहलकासाथ शहर एक चोटि फेरि पुनर्जीवित भएको छ। अब यस शहरको अस्तित्व मेटिने त कुरै भएन। विभाजित भएर दुई भाग भएको शहरलाई पुनः जोड्‌न लाभालाई सम्याउने काम छिट्टै सुरु हुन्छ। लाभा बग्ने बाटोमा भएका सबै कुरा स्वाहा भए। शहरको व्यापारिक केन्द्र र प्रशासनिक शाखा नष्ट भए। विमानस्थलको एक तिहाइ धावनमार्ग नष्ट भएको अनुमान गरिएको छ।

आफ्नो सर्वस्व गुमाउने अनि घरबारविहीन हुनेहरूमा १८० जना साक्षीहरू पनि परेको कुरा तथ्यांकले देखाउँछ। राहत समितिले लगभग ५,००० पुरुष, महिला तथा बच्चाहरूलाई दिनहुँ खाना जुटाएर मदत गर्ने प्रबन्ध मिलाउँछन्‌। घरबारविहीन भएकाहरूको अस्थायी बास तथा राज्यभवनहरू नराम्रो गरी क्षति भएका वा पूर्णतः नष्ट भएका मण्डलीहरूको सभा स्थलहरूको लागि बेल्जियम, फ्रान्स अनि स्वीट्‌जरल्याण्डका यहोवाका साक्षीहरूद्वारा अनुदान दिइएको प्लास्टिकका तिरपालहरू प्रयोग गरिनेछन्‌। घरबारविहीन केही साक्षी परिवारहरू, घर क्षति नभएका साक्षीहरूसित बस्नेछन्‌ अनि बाँकी रहेकाहरूचाहिं अस्थायी शिविरहरूमा बस्नेछन्‌।

त्यस भयावह रातको त्यस्तै दश दिनपछि, शुक्रबार जनवरी २५ मा गोमास्थित एउटा स्कूलको चौरमा आयोजना गरिएको सभामा १,८४६ मानिसहरू धर्मशास्त्रबाट प्रोत्साहनजनक शब्दहरू सुन्‍न भेला भए। यहोवाले उहाँको संगठनमार्फत दिनुभएको सान्त्वना अनि व्यावहारिक मदतको लागि भाइहरूले कृतज्ञता व्यक्‍त गर्छन्‌। आफ्नो दयनीय अवस्थाका बावजुद भाइहरूले देखाएको जोस अनि बलियो विश्‍वासले हामी आगन्तुकहरूको मन छोएको छ। यस्ता संकष्टहरूको बीचमा रहनुपरे तापनि अनन्त सान्त्वनाका स्रोत साँचो परमेश्‍वर यहोवाको उपासनामा एकताबद्ध भ्रातृत्वको एक भाग बन्‍न पाउनु कत्ति आनन्दको कुरा हो!—भजन १३३:१; २ कोरिन्थी १:३-७. (g02 11/08)

[फुटनोट]

a स्वाहिली भाषामा ज्वालामुखीलाई मुलिमा या मोटो भनिन्छ, जसको अर्थ “आगोको पर्वत” हो।—जुलाई ८, १९७५ को अवेक! मा “भिजिटिङ एन एक्टिभ भल्केनो” शीर्षकको लेख हेर्नुहोस्‌।

[पृष्ठ २२-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

वाण आकारका लाइनहरूले लाभाको बहावलाई संकेत गर्छ

कंगो (किन्सासा)

निरागङ्‌गो पर्वत

↓ ↓ ↓

गोमा विमानस्थल ↓ ↓

↓ गोमा

↓ ↓

किभु ताल

रूवाण्डा

[पृष्ठ २३-मा भएको चित्र]

पग्लिरहेको लाभाको कारण लाखौं लाख वासिन्दाहरू गोमा शहरबाट भाग्न बाध्य भए

[स्रोत]

AP Photo/Sayyid Azim

[पृष्ठ २४-मा भएको चित्र]

एक हप्ताभित्र नै साक्षीहरूले आफ्नो मसीही सभाहरू सञ्चालन गरे