सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बेलाइतको ब्याजर—वनको मालिक

बेलाइतको ब्याजर—वनको मालिक

बेलाइतको ब्याजर—वनको मालिक

बेलाइतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

जंगलको शान्त वातावरणमा कोइली चराको गीत गुञ्जियो। ढलेको पैंयुको रूखमा बस्दा घाम पनि बिस्तारै अस्ताउन लागेको थियो अनि पानी परेपछि भिजेका घाँसहरूको गन्ध त्यो साँझ चारैतिर फैलिएको थियो।

ब्याजर अर्थात्‌ मलसाँप्रोजस्तो एक किसिमको जन्तु हेर्न आएको कारण म सर्रर हावा बहने राम्रो ठाउँ खोजेर बसेको थिएँ। ब्याजरको आँखा साथै यसका सेता चुच्चे कानहरू स-साना हुन्छन्‌। तर यसको सुन्‍ने र सुँघ्ने क्षमता असाध्यै तीक्ष्ण हुने भएकोले यसलाई हल्कासित लिनुहुँदैन भन्‍ने कुरा मलाई थाह छ। यसले मेरो आवाज सुनेमा वा मेरो गन्ध चाल पाएमा तुरुन्तै जमिनमुनि पसिहाल्नेछ र रातभरि बाहिर निस्कनेछैन भनेर मलाई थाह थियो।

युरोपियन ब्याजर ठूलो, आफ्नै संसारमा रमाउन मन पराउने जन्तु हो। यो लगभग १ मिटर लामो र ३० सेन्टिमिटर अग्लो हुनुका साथै यसको सरदर वजन १२ किलोग्राम हुन्छ। यसको छालामा खरानी रङको खस्रो रौं, अनुहार तथा अनुहारदेखि मुन्तिरका भागहरू कालो, छोटा-छोटा खुट्टाहरू र छोटो तर मोटो खैरो पुच्छर हुन्छ। प्रत्येक खुट्टामा बलिया नंग्रा भएको पाँचवटा औंला हुन्छन्‌।

थुतुनादेखि कानसम्म गएको तीनवटा ठूलठूला सेता धर्काहरू यसको विशेष पक्ष मात्र नभई यो विवादको मुख्य विषय पनि बनेको छ। निष्पट्ट अन्धकारमा पनि एउटा ब्याजरले अर्को ब्याजरलाई यही धर्काहरूमार्फत ठम्याउन सक्छ भनी कोही-कोही भन्‍ने गर्छन्‌। तथापि, ब्याजरले एक अर्कालाई गन्धबाट चिन्छन्‌ भन्‍ने कुरा हामीलाई थाह छ। ती धर्काहरू हुनुको कारण जेसुकै भए तापनि त्यसले ब्याजरको सुन्दरता बढाउँछ।

बेलाइतको ग्रामीण क्षेत्रका मानिसहरू ब्याजरलाई माया गरेर “ओल्ड ब्रक” भन्‍ने गर्छन्‌। स्वभावैले खन्‍ने बानी भएको ब्याजरले आफ्नो घर अर्थात्‌ दुलो बनाउन सुरुङ, बाटो तथा कोठाहरू खनिरहन्छ। यसको दुलोको व्यास ३० मिटरसम्मको हुन्छ भने, अलमलिने किसिमको बाटोचाहिं ३०० मिटर लामोसम्म हुन सक्छन्‌। यो ब्याजर राती सक्रिय हुन्छ र यसको दुलोका कोठाहरू केवल दिउँसो सुत्न प्रयोग गरिन्छन्‌। झ्याउ, सुकेका पातपतिंगर बिछ्याएका विशेष कोठाहरूचाहिं बच्चा जन्माउने बेला माउ ब्याजरले प्रयोग गर्छ।

खुला जमिनमाथि अर्थात्‌ प्रायजसो उत्तिस र ठूलठूला काँढे रूखको झ्याङ भएको ठाउँमा बनाइएको दुलोमा धेरै प्रवेशद्वारहरू हुन्छन्‌। इंग्ल्याण्डमा ५० वटाभन्दा बढी प्रवेशद्वारहरू भएका कुनै-कुनै दुलो १५० वर्षभन्दा पुरानो मानिन्छ र एउटै परिवारको धेरै पुस्ता त्यहाँ बस्ने गर्छन्‌। ब्याजरको आयु साधारणतया २, ३ वर्ष भए तापनि कहिलेकाहीं तिनीहरू १५ वर्ष र त्योभन्दा बढी पनि बाँच्छन्‌।

गहिरो दुलोको प्रवेशद्वारमा थुप्रिएको माटो, ढुंगा र चट्टानहरूले गर्दा पनि ब्याजरको दुलो पत्ता लगाउन गाह्रो पर्दैन। दुलोभित्रबाट बाहिर फ्याँकिएका कुराहरू देख्नुभएपछि तपाईंले ब्याजर कत्तिको बलियो हुँदो रहेछ भन्‍ने कुरा थाह पाउनुहुनेछ।

दुलोभित्र ब्याजर छ कि छैन कसरी थाह पाउने नि? सर्वप्रथम दुलो वरिपरि ब्याजरको पाइखाना छ कि छैन याद गर्नुहोस्‌। यो पाइखाना १५ देखि २३ सेन्टिमिटर फराकिलो हुन्छ भने २३ सेन्टिमिटर गहिरो हुन्छ। यदि त्यहाँ आलो दिसा छ भने, ब्याजर दुलोमा हुन्छ। दुलोबाहिर ब्याजरको पाइला भएका बाटो छन्‌ कि हेर्नुहोस्‌। अनि गर्मी महिनामा चाहिं बाली लगाएका ठाउँहरूमा हेर्नुहोस्‌। हिलाम्मे ठाउँमा ब्याजरको पाइला हेर्नुहोस्‌ वा दुलोको छेउका रूखहरूमा बिरालोको जस्तो बलिया नंग्राहरूको दाग र जनावरहरू तन्कँदा कोतरेका दागहरू छन्‌ कि हेर्नुहोस्‌। दुलो ठूलो छ भने यी कुराहरू याद गर्न गाह्रो पर्न सक्छ किनभने ब्याजरले भित्र बाहिर गर्न अर्कै बाटो प्रयोग गरिरहेको हुन सक्छ। त्यसैले, बिहान सबेरै जानुहोस्‌ र प्रत्येक दुलोको मुखमा लट्ठीहरू राख्नुहोस्‌। भोलिपल्ट बिहान गएर हेर्नुहुँदा यस जन्तुले कुन-कुन बाटो प्रयोग गरेछ सो थाह पाउनुहुनेछ किनकि दुलोमा राखिएका लट्ठीहरू त्यहाँबाट पन्छाइएका हुनेछन्‌।

खानाको खोजीमा ब्याजर रातभरि कटुस वा कटुसजस्तै अन्य खानेकुरा खोज्दै हिंड्‌छ अथवा त्यसले सुँघेर जमिनमुनिबाट खरायो अथवा बारुलाका बच्चाहरू खनेर निकाल्न सक्छ। यसको मुख्य आहार के हो? गड्यौंला! ब्याजरले भेटेजति जे पनि खान्छ—जंगली फलफूल, कन्द, च्याउ र गोब्रे कीरा आदि। जुलाई महिनाको एक ओसिलो रात ब्याजरहरू हेर्दै बसेको घटना मैले अझै बिर्सेको छैन। आफ्नो दुलोको छेउछाउ खस्रो अग्ला घाँसहरूमा पानीले बगाएर ल्याएका प्रशस्त स्वादिलो खानेकुरा अर्थात्‌ कालो चिप्ले कीराहरू जम्मा भएको कारण तिनीहरू अन्त कतै गएनन्‌।

साधारणतया ब्याजरहरूको सहवास जुलाई महिनामा हुन्छ र फेब्रुअरीमा चार पाँचवटा बच्चाहरू जन्मन्छन्‌। बच्चाहरू त्यस्तै तीन महिनाको भएपछि तिनीहरू जमिनमाथि अर्थात्‌ दुलोको प्रवेशद्वारमा खेल्न निस्कन्छन्‌। बच्चाहरू दुलोबाट बाहिर निस्केपछि भाले र पोथी दुवै मिलेर फेरि नयाँ ओछ्यान बनाउँछन्‌। ब्याजरहरू सफा-सुग्घर बस्ने प्राणीहरू हुन्‌ र तिनीहरूले आफ्नो घर अत्यन्तै सफा राख्छन्‌। साधारणतया वसन्त तथा शरत्‌ऋतुमा ओछ्यानलाई घाममा सुकाउने काम हुन्छ तर वर्षको कुनै पनि महिनामा तिनीहरूले यसो गर्छन्‌। आमाबाबुले पुरानो, सुक्खा घाँस र उनिउँ बाहिर निकाल्छन्‌ र रातभरिमा ३० मुठा जति घाँस बटुलेर फेरि ओछ्यान बनाउँछन्‌। तिनीहरूले घाँसको मुठा च्यापु र अगाडिको खुट्टाले च्याप्छन्‌ र पछाडि घिसार्दै दुलो बाहिरसम्म पुऱ्‍याउँछन्‌।

पुच्छरमुनि भएको एउटा ग्रन्थिबाट ब्याजरहरूले एक किसिमको कडा गन्ध आउने तरल पदार्थ निकालेर आफ्नो इलाका चिह्न लगाउन घाँस, ढुंगा वा बार लगाएको खम्बामा त्यो छर्कन्छन्‌। चिन्‍न सजिलो होस्‌ भनेर तिनीहरूले एक अर्काको जीउमा पनि त्यो पदार्थ छर्कने गर्छन्‌। यही गन्धले गर्दा दुलोमा फर्कंदा ब्याजरले सजिलै प्रवेशद्वार भेट्टाउन सक्छ।

कोइली चराको गीत बन्द भइसकेको थियो र अँध्यारो हुँदै गइरहेको जंगलमा सन्‍नाटा छाएको थियो। सकेसम्म सास रोकेर एक टक लगाएर हेरिररेको बेला मैले कालो र सेतो टाउको भएको ब्याजर स्वाट्ट गएको देखें। केही क्षणको लागि ब्याजर दुलोको प्रवेशद्वारमा ठिंग उभियो अनि राती बाहिर चर्न जानुअघि कुनै खतरा पो छ कि भनेर साँझपखको हावा सुँघ्न थाल्यो—मानौं धेरै जग्गा जमिनको मालिक आफ्नो पैतृक सम्पत्ति हेर्न जानुअघि तयार भएझैं। (g02 11/08)

[पृष्ठ १२-मा भएको चित्र]

बच्चा जन्माउने बेला प्रयोग गरिने कोठा

सुत्ने कोठा

ओछ्यान

[पृष्ठ १३-मा भएको चित्र]

ब्याजरका बच्चाहरू

[पृष्ठ १३-मा भएको चित्र]

ब्याजरको मुख्य आहार कटुस, च्याउ र गड्यौंलाहरू हुन्‌

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

Badger photos: © Steve Jackson, www.badgers.org.uk