सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मानव इतिहासकै सबैभन्दा विनाशकारी महामारी”

“मानव इतिहासकै सबैभन्दा विनाशकारी महामारी”

“मानव इतिहासकै सबैभन्दा विनाशकारी महामारी ”

दक्षिण अफ्रिकाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“पृथ्वीको सतहमा लडिएको कुनै पनि युद्ध एड्‌स-को महामारीजस्तो विनाशकारी साबित भएको छैन।”—सं.रा.अ.-का विदेशमन्त्री कोलिन पावेल।

एड्‌स-बारे (अक्वायर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम) सबैभन्दा पहिलो आधिकारिक प्रतिवेदन जून १९८१ मा प्रकाशित भएको थियो। “एड्‌स भर्खर-भर्खर देखा पर्दा त्यस रोगसित सम्बन्धित काम गर्ने हामी कसैले पनि यो रोग आज यस्तो बिगबिगी होला भनेर कहिल्यै पनि सोचेका थिएनौं” भनी जोइन्ट युनाइटेड नेशन्स प्रोग्राम अन एच आई भी/एड्‌स-का (यु एन एड्‌स) कार्यकारी निर्देशक पिटर पियोट बताउँछन्‌। बीस वर्षभित्रै यो सबैभन्दा ठूलो महामारी साबित भएको छ र यो अझै बढ्‌ने संकेत पाइन्छ।

तीन करोड साठी लाखभन्दा धेरै मानिसहरू एच आई भी-बाट (ह्‍युमन इम्युनोडेफिशियन्सी भाइरस) ग्रसित छन्‌ भने, अरू २ करोड २० लाख जना एड्‌स-ले गर्दा मरिसकेका छन्‌ भन्‍ने अनुमान गरिएको छ। a सन्‌ २००० मा मात्रै एड्‌स लागेर विश्‍वका ३० लाख मानिसहरू मरेका थिए र यो यस महामारीको सुरुवातदेखि वर्षेनी मर्नेहरूको संख्यामा सबैभन्दा ठूलो वृद्धि हो। विशेष गरी, सम्पन्‍न मुलुकहरूमा एन्टिरिट्रोभाइरल नाउँ गरेको औषधी प्रयोग गरिएको भए तापनि बिरामीहरूको संख्यामा कुनै कमी आएको छैन।

एड्‌स अफ्रिकाभरि फैलिन्छ

साहारा मरुभूमीको दक्षिणी भूभागमा पर्ने अफ्रिकी मुलुकहरूमा २५ करोड ३० लाख मानिसहरू संक्रमित भएका छन्‌, जसले गर्दा यो क्षेत्र यस महामारीको केन्द्रबिन्दु नै बनेको छ। सन्‌ २००० मा यस क्षेत्रमा मात्रै एड्‌स संक्रमणद्वारा २ करोड ४० लाखको ज्यान गएको थियो जुन विश्‍वव्यापी तथ्यांकको ८० प्रतिशत थियो। त्यस क्षेत्रमा मानिसहरूको मृत्यु हुनुको प्रमुख कारण एड्‌स नै हो। b

दक्षिण अफ्रिकामा यस रोगबाट संक्रमित मानिसहरूको संख्या संसारमै सबैभन्दा धेरै छ। त्यहाँ लगभग ४ करोड ७० लाख मानिसहरू संक्रमित भएको अनुमान गरिएको छ। यहाँ हरेक महिना ५,००० शिशुहरू एच आई भी पोजिटिभद्वारा संक्रमित भएकै अवस्थामा जन्मन्छन्‌। जुलाई २००० मा डर्बानमा आयोजना भएको १३ औं अन्तरराष्ट्रिय एड्‌स सम्मेलनमा दक्षिण अफ्रिकाका भूतपूर्व राष्ट्रपति नेल्सन मन्डेलाले यसो भने: “दक्षिण अफ्रिकामा मात्र २ मध्ये १ जना अर्थात्‌ आधाजसो जवानहरू एड्‌स-बाट मर्नेछन्‌ भन्‍ने कुरा थाह पाउँदा हामीलाई साह्रै दुःख लागेको छ। अझ डरलाग्दो कुरा त के हो भने, तथ्यांकहरूले देखाएअनुसार यी सबै संक्रमण र त्यसले निम्त्याएका मानव पीडाहरूको . . . रोकथाम गर्न सकिन्थ्यो जस्तो देखिन्छ। अनि साँच्चै भन्‍ने हो भने, त्यसको रोकथाम गर्न सकिन्छ।”

अन्य देशहरूमा पनि एड्‌स-को तीव्र फैलावट

पूर्वी युरोप, एसिया र क्यारिबियनमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ। सन्‌ १९९९ को अन्तसम्ममा पूर्वी युरोपमा संक्रमित हुनेहरूको संख्या ४,२०,००० पुगेको थियो। सावधानीसाथ गरिएको अनुमानअनुसार सन्‌ २००० को अन्तसम्ममा त्यो संख्या बढेर ७,००,००० पुगेको थियो।

अमेरिकाका छवटा ठूलठूला शहरहरूमा गरिएको सर्वेक्षणले समलिंगी युवाहरूमाझ १२.३ प्रतिशतको दरले एच आई भी संक्रमण भएको कुरा देखाएको छ। त्यसबाहेक, एच आई भी पोजिटिभ भएकाहरूमध्ये २९ प्रतिशतलाई मात्र आफूलाई संक्रमण भएको कुरा थाह थियो। यस सर्वेक्षणका प्रमुख, महामारी रोकथाम विशेषज्ञ यसो भन्छिन्‌: “एकदमै कम पुरुषहरूलाई मात्र आफूलाई एच आई भी पोजिटिभ भएको कुरा थाह भएको सुन्दा हामी निरुत्साहित भयौं। यसको अर्थ, भर्खर-भर्खर संक्रमण भएका मानिसहरूले अन्जानमै अरूलाई पनि त्यो भाइरस सारिरहेका छन्‌।”

मे २००१ मा स्वीट्‌जरल्याण्डमा भएको एड्‌स विशेषज्ञहरूको भेलाले यस रोगलाई “मानव इतिहासकै सबैभन्दा विनाशकारी महामारी” घोषित गरेको छ। माथि उल्लेख गरिएझैं एड्‌स साहारा मरुभूमीको दक्षिणी भूभागमा पर्ने अफ्रिकी मुलुकहरूमा असाध्यै डरलाग्दो किसिमले तीव्र गतिमा फैलिरहेको छ। त्यसो हुनुको कारण के हो, त्यसबारे अर्को लेखमा छलफल गरिनेछ। (g02 11/08)

[फुटनोटहरू]

a यहाँ प्रयोग गरिएका तथ्यांकहरू यु एन एड्‌स-द्वारा प्रकाशित अनुमानित तथ्यांकहरू हुन्‌।

b फेब्रुअरी २२, २००१ को अवेक! पृष्ठ १४-१५ हेर्नुहोस्‌।

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

“अझ डरलाग्दो कुरा त के हो भने, . . . सबै संक्रमण र . . . मानव पीडाहरूको . . . रोकथाम गर्न सकिन्थ्यो जस्तो देखिन्छ। अनि साँच्चै भन्‍ने हो भने, त्यसको रोकथाम गर्न सकिन्छ।”—नेल्सन मन्डेला

[पृष्ठ ३-मा भएको चित्र]

एच आई भी संक्रमण भएका थुप्रै मानिसहरूलाई आफूलाई संक्रमण भएको कुरा थाहै छैन

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

UN/DPI Photo 198594C/Greg Kinch