सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

हाई काढेर मज्जा लिनुहोस्‌!

गर्भधारणको ११ हप्तापछि नै गर्भको बच्चाले हाई काढ्‌न सुरु गर्छ भनी सलुड नामक स्पेनी साप्ताहिक पत्रिकाले बताउँछ। अधिकांश स्तनधारी तथा केही खास चरा तथा घस्रने जन्तुहरूले यो स्वभाविक क्रिया गर्ने गर्छन्‌। हाई काढ्‌नुको मुख्य कारण हालसम्म पत्ता नलागे तापनि अनुसन्धाताहरूले जीउ तथा हात खुट्टाहरू तन्काउने क्रिया अक्सर हाई काढ्‌नुसित सम्बन्धित भएको कुरा बताएका छन्‌। तिनीहरू भन्छन्‌, यस्ता क्रियाकलापहरूले “मांसपेशी र जोर्नीहरूको तनावलाई कम गर्नुको अलावा रक्‍तचाप अनि मुटुको धड्‌कन बढ्‌छ।” आफ्नो बङ्‌गरा जोडेर हाई काढ्‌न रोकेको खण्डमा, हामी माथि बताइएका लाभहरू उठाउन सक्दैनौं। त्यसैले, यी अनुसन्धाताहरू हामीलाई यस्तो सल्लाह दिन्छन्‌, यदि परिस्थितिले दिन्छ भने हाई काढ्‌दा “आफ्नो बङ्‌गरा र अनुहारका मांसपेशीहरू स्वभाविक रूपले तन्काउनुपर्छ।” तपाईंले काढ्‌नुभएको एउटा मज्जाको हाईले तपाईंको पूरा दिनलाई नै उत्साहित बनाइदिन पनि सक्छ! (g02 11/08)

सुतिरहेका स्वीफ्ट चरा कसरी आ-आफ्नो क्षेत्रभित्र मात्र उडिरहन्छन्‌

स्वीफ्ट चरा उड्‌दा सुत्ने मात्र होइन तर हावाले नहुत्याउने गरी आफ्नो क्षेत्रभित्र मात्र उडिरहन सक्छ। तिनीहरूले यसो गर्न सक्नुको कारण पत्ता लगाउन स्वीडेनको लण्ड यूनिभर्सिटीका पक्षी विशेषज्ञहरू युहान ब्याकम्यान र थोमस अलरस्टामले रातमा यस चराको गतिविधि निरीक्षण गर्न राडारको प्रयोग गरे। जर्मन विज्ञान पत्रिका बिल्ट डर विसनसाफ्ट-ले रिपोर्ट गरेअनुसार अनुसन्धाताहरूले के कुरा पत्ता लगाए भने, यस चराले कुनै निश्‍चित उडान शैली अपनाएको देखियो जसले यसलाई यथास्थितिमा राख्छ। यी चराहरू ३००० मिटर जति माथि उड्‌छन्‌ र केही मिनेट बिराएर दिशा परिवर्तन गर्दै हावामा कोण पारेर उड्‌छन्‌। यसरी छिन-छिनमा दिशा परिवर्तन गर्दा तिनीहरूलाई आफ्नो निश्‍चित क्षेत्रभित्र यताउता उडिरहन मदत मिल्छ। यद्यपि, विस्तारै हावा चलेको बेला भने यी चराहरू हावामा घुम्दै सुत्ने गरेको कुरा पनि पत्ता लागेको छ। (g02 11/22)

हृदयघात भएकाहरूको लागि मस्तिष्कको सुरक्षा

क्यानाडाको टोरोन्टो स्टार नामक अखबार यस्तो रिपोर्ट दिन्छ: “दुइटा अपूर्व अध्ययनअनुसार हृदयघात भएका बिरामीहरूको शरीरको तापक्रमलाई केही डिग्री मात्र चिसो बनाइदिएको खण्डमा पनि हृदयघातपछि मस्तिष्कमा हुन सक्ने हानि तथा मृत्युजस्ता जोखिमलाई निकै हदसम्म कम गर्न सकिन्छ।” पाँच युरोपेली मुलुक र अष्ट्रेलिया समावेश भएको एउटा अध्ययनले देखाएअनुसार शरीरको तापक्रम सामान्यभन्दा अलिकता कम राखेको खण्डमा बिरामीको स्नायुप्रणाली अनि बौद्धिक क्षमता त्यति बिग्रन पाउँदैन। अस्पतालमा ल्याउँदा बेहोसी अवस्थाका हृदयघात भएका बिरामीहरूको शरीरको तापक्रमलाई १२ देखि २४ घण्टाको लागि चिसो हावा अनि बरफका पोकाहरूद्वारा ३३ डिग्री सेल्सियसमा झारियो। मुटु विशेषज्ञ बेथ अब्रामसनका अनुसार यो सस्तो, साधारण प्रविधिको उपचारले “मस्तिष्कका कोषहरूलाई नष्ट गर्ने रासायनिक प्रक्रियाहरूलाई रोक्दै मस्तिष्कमा अक्सिजनको आवश्‍यकतालाई” कम गर्छ भनी स्टार बताउँछ। “यो चिस्याउने प्रविधि निकै प्रभावकारी साबित भएकोले क्यानाडा, संयुक्‍त राज्य अमेरिका, अष्ट्रेलिया अनि युरोपका चिकित्सकहरू अस्पतालमा ल्याइने सबै हृदयघातका बिरामीहरूको उपचार गर्न यस प्रविधिलाई प्रयोग गर्न प्रस्ताव राखिरहेका छन्‌।” (g02 11/08)

औषधोपचार अनि वृद्धावस्था

जर्मनीको खबरपत्रिका डर स्पीगल यसो भन्छ, “६० वर्ष नाघेका बिरामीहरूले औसतन तीन प्रकारका औषधीहरू खाने गर्नुका साथै तिनीहरूले वयस्क बिरामीहरूले भन्दा तीन गुणा बढी औषधीहरू खान्छन्‌। यद्यपि, जति धेरै औषधी खायो, औषधीले पार्ने प्रतिकूल असरको जोखिम अत्यधिक मात्रामा बढ्‌छ।” अर्को सम्भाव्य कठिनाइ “वृद्ध उमेरमा मृगौलाको कार्य क्षमतामा आउने कमीलाई अक्सर पारिवारिक चिकित्सकहरू ध्यान दिंदैनन्‌।” फलतः औषधीहरू शरीरमै सञ्चय भएर बस्न सक्छ। डर स्पीगल यसो भन्छ: “४० वर्ष पुगेको व्यक्‍तिलाई दिइने औषधीको मात्रा ७० वर्ष पुगेको व्यक्‍तिको लागि विष हुन सक्छ। अधिकांश वृद्ध व्यक्‍तिहरूले पर्याप्त पानी नपिएर झन्‌ धेरै कठिनाइहरू भोग्छन्‌।” रिपोर्ट अझै यसो भन्छ: पानीको कमीले दुखाइ कम गर्ने, तनाव अनि रक्‍तचाप घटाउने औषधीहरूले जत्तिकै प्रतिकूल असर गर्न सक्छ। यसबाट अलमल्लमा पर्ने, होस हराउने अनि मानसिक असन्तुलनजस्ता लक्षणहरू देखा पर्छन्‌ जसको दोष अक्सर बुढ्यौलीलाई दिइन्छ। (g02 11/08)

घरधन्दा राम्रो व्यायाम

के भ्याकुम गर्नु, झ्याल सफा गर्नु र बालक डुलाउने हाते बग्गी ठेल्नुलाई स्वास्थ्यकर व्यायाम भन्‍न सकिन्छ? अवश्‍य सकिन्छ, अष्ट्रेलियास्थित यूनिभर्सिटी अफ क्विन्सल्यान्डमा हालै गरिएको अध्ययनले यस्तो जवाफ दिन्छ। अनुसन्धाताहरूले पाँच वर्षमुनिका बच्चाहरू भएका सात जना आमाहरूको शरीरमा ग्याँस विश्‍लेषक यन्त्रहरू राखे, जसले दिनहुँ घरधन्दाको दौडान तिनीहरूले कति अक्सिजन लिन्थे भनेर नाप्थ्यो भनी क्यानबेरा टाइम्स-ले रिपोर्ट दिन्छ। अनुसन्धाताहरूका अनुसार “परिश्रम गर्नुपर्ने केही घरयासी कामकाजहरू हाम्रो स्वास्थ्यलाभको लागि पर्याप्त भएको यस परीक्षणले पुष्टि गरेको छ।” प्राध्यापक वेन्डी ब्राउनले यस्तो पत्ता लगाए, “महिलाहरूको घरधन्दालाई छिटो-छिटो हिंड्‌ने, साइकल चढ्‌ने वा पौडी खेल्नेजस्ता हल्का व्यायामसित तुलना गर्ने गरिन्थ्यो” भनी रिपोर्ट बताउँछ। ब्राउनले यसो भनिन्‌, “यो प्रारम्भिक अनुसन्धान मात्र हो तर स्पष्टतः दिनभरि घरधन्दामा व्यस्त रहने महिलाहरूलाई तपाईं निश्‍यच निष्क्रिय भन्‍न सक्नुहुन्‍न।” (g02 11/08)

“रोकेर रोक्न नसकिने रोग”

अष्ट्रेलियाको द सन हेलार्ड यसो भन्छ: “अस्टियोपोरोसिस रोकेर रोक्न नसकिने रोग हो। . . . यस रोगबाट हामी धेरै हदसम्म बच्न सक्छौं। तैपनि, सन्‌ २०२० भित्रमा अस्पतालमा तीन बिरामीमध्ये एक जना हड्डी भाँच्चिएका महिलाहरू हुनेछन्‌ भन्‍ने अनुमान लगाइएको छ।” अष्ट्रेलियाको रिपोर्टअनुसार हड्डीलाई खोक्रो र कमजोर बनाउने यो अस्टियोपोरोसिस रोग “उच्च कोलेस्ट्रोल, एलर्जी वा साधारण रुघा-खोकीभन्दा व्यापक छ। मधुमेह अथवा दमभन्दा यसको उपचारमा बढी खर्च लाग्छ। अनि महिलाहरूलाई लाग्ने क्यानसरबाट भन्दा नितम्बको हाड भाँच्चिएर मर्ने महिलाहरूको संख्या धेरै छ।” प्राध्यापक फिलिफ सामब्रुकको अनुमानअनुसार अष्ट्रेलियामा आधा महिला र एक तिहाई पुरुषहरूले अस्टियोपोरोसिसद्वारा आफ्नो जीवनकालमा हाँड जोर्नी भाँच्चिएको अनुभव गर्नेछन्‌। उक्‍त अखबार यसो भन्छ: “सबैभन्दा राम्रो रोकथाम भनेको व्यायाम गरेर अनि पर्याप्त क्याल्सियम भएको खाना खाएर जीवनको पहिलो तीन दशकमा हड्डीलाई सकेसम्म बलियो बनाउनु हो।” धूम्रपान र अत्यधिक रक्सी वा क्याफिनको प्रयोग नगरेर अस्टियोपोरोसिसबाट पीडित हुन सक्ने जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। नियमित व्यायाम गर्ने अनि क्याल्सियम र भिटामिन डि भएका खाना खानु स्वास्थ्यकर बानीहरू हुन्‌। (g02 11/22)

गाँठोहरू फुकाउने “सन्त”

खबरपत्रिका भेजा यसो भन्छ: “हालैका वर्षहरूमा सफलताका संरक्षक सन्त जुड थाडाइस; निराशाका उद्धारक सन्त रिता; ऋणबाट बचाउने सन्त हाटभिक अनि कामकुरा छिटो सम्पन्‍न गर्न मदत गर्ने सन्त एक्सपिडिटस लोकप्रिय भएका छन्‌। हाल ब्राजिलका क्याथोलिकहरूबीच लोकप्रियता हासिल गर्न सफल अर्की सन्त “गाँठोहरू फुकाउने हाम्री कुमारी मरियम” हुन्‌। यो असामान्य उपाधि जर्मनीस्थित आन्सबर्गको एउटा सानो गिर्जाघरमा झुन्ड्याइएको चित्रबाट लिइएको हो, जसमा कुमारी मरियमले रिबनको गाँठो फुकाइरहेको दृश्‍य चित्रित गरिएको छ। सञ्चारजगत्‌का व्यक्‍तित्वहरूले गरेको प्रचारप्रसारले गर्दा मानिसहरू “गाँठोहरू फुकाउने हाम्री कुमारी मरियम”-का भक्‍त बनेका छन्‌। ती भक्‍तहरू स्वास्थ्य, वैवाहिक र आर्थिक क्षेत्रहरूमा भएका गाँठै-गाँठारूपी आफ्ना समस्याहरूलाई सुल्झाउन तिनीसित मदत खोज्छन्‌। साथै, लकेट, जपमाला, मूर्ति अनि स्टीकरहरूको व्यापारलाई पनि यी भक्‍तहरूले चकाचक बनाइदिएका छन्‌। ब्राजिलको सबैभन्दा ठूलो क्याथोलिक उपासनास्थलका प्रबन्धक डारसी निकोली यस्तो पूर्वानुमान गर्छन्‌, “यो ‘गाँठो फुकाउने’ मोहले खासै हानि त गर्दैन तर यो मोह धेरै बेर रहने पनि छैन।” (g02 11/22)

अन्तरिक्षमा सुसमाचार

अन्तरिक्षबाहिर जीवनको सम्भाव्यताबारे वैज्ञानिकहरूको विवाद चलिरहेकै बेला भ्याटिकन अभर्जभेटरीका पादरीहरू “ब्रह्‍माण्डमा परमेश्‍वरले पृथ्वीका बासिन्दाहरू मात्र सृष्टि गर्नुभएको होइन” भन्‍ने निष्कर्षमा पुगेका छन्‌ भनी बरलाइनर मोर्गेनपोष्ट रिपोर्ट दिन्छ। परमेश्‍वरले पृथ्वीबाहिर पनि जीवहरू सृष्टि गर्नुभयो।” उक्‍त अभर्जभेटरीका निर्देशक जर्ज कोइनको भनाइअनुसार “यत्रो विशाल ब्रह्‍माण्डमा हामी पृथ्वीवासीहरू मात्र छैनौं।” पृथ्वीबाहिर बस्नेहरूकहाँ सुसमाचार पुऱ्‍याउने हेतुले धेरै धर्मपीठहरूले नयाँ नियमलाई कोड गरेर सन्देशको रूपमा अन्तरिक्षमा पठाएका छन्‌। अब भ्याटिकनले “येशू ख्रीष्टले अरू ग्रहहरूमा पनि आफूलाई प्रकट गर्नुभएको छ कि छैन” भन्‍ने विषयमा जान्‍न चाहेको कुरा उक्‍त अखबार बताउँछ। अनि कोइन अझै यसो भन्छन्‌, ती ग्रहहरूका “बासिन्दाहरूलाई पनि कतै येशू ख्रीष्टले बचाउन चाहनुभएको त छैन?” (g02 11/22)

संयुक्‍त राष्ट्रसंघको सदस्यता लिने स्वीट्‌जरल्याण्डको निर्णय

न्यु योर्क टाइम्स यस्तो रिपोर्ट दिन्छ, “दशकौंसम्मको असंलग्नतालाई त्यागेर यस पटकको जनमतसंग्रहमा अत्यन्त कम अन्तरमा तटस्थ स्वीट्‌जरल्याण्डले संयुक्‍त राष्ट्रसंघको सदस्य बन्‍ने निर्णय गऱ्‍यो।” यस संघको १९० औं सदस्य बन्‍नको लागि स्वीट्‌जरल्याण्डले संयुक्‍त राष्ट्रसंघको साधारण सभामा औपचारिक निवेदन पेश गर्नु आवश्‍यक छ। पछिल्लो पटक, सन्‌ १९८६ मा भएको जनमतसंग्रहमा स्वीट्‌जरल्याण्डका जनताले “देशको परम्परागत तटस्थतामा सम्झौता होला भन्‍ने डरले” संयुक्‍त राष्ट्रसंघको सदस्यता लिने कुराको विपक्षमा अत्यधिक बहुमतले मतदान गरेका थिए। तर पछि परिवर्तन आउनुको मुख्य कारण के हो त? टाइम्स यसो भन्छ, “जेनेभास्थित संयुक्‍त राष्ट्र युरोपेली संघका मुख्यालयहरू यसै देशमा रहेको अनि यसका धेरै राष्ट्र संघीय निकायहरूमा सक्रिय भूमिका रही आएको भए तापनि सदस्य बन्‍ने निरन्तर अनिच्छुकता देखाउँदा स्वीट्‌जरल्याण्ड राजनैतिक तथा आर्थिक रूपमा कमजोर हुने अनि यस देशले धेरै टाढा-टाढाको संघर्षमा गर्ने गरेको मध्यस्थताको प्रयास फितलो होला भन्‍ने कुरामा सरकार डरायो।” स्वीट्‌जरल्याण्डका बैंकहरूले नाजी विध्वंसका सिकार भएकाहरूको खाता पचाएको अनि नाजी जर्मनीबाट भाग्न कोसिस गर्ने धेरै शरणार्थीहरूलाई आफ्नो सीमामा प्रवेश गर्न रोकेको कुरा पर्दाफास भएपछि स्वीट्‌जरल्याण्डले आफ्नो प्रतिष्ठामा सुधार ल्याउनुपर्ने आवश्‍यकता पनि महसुस गरेको हुन सक्छ। (g02 11/22)