सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के कम्प्युटर गेम खेल्नेहरूलाई खतरा छ?

के कम्प्युटर गेम खेल्नेहरूलाई खतरा छ?

के कम्प्युटर गेम खेल्नेहरूलाई खतरा छ?

एक जना १२ वर्षीय केटाले “निश्‍शस्त्र प्रतिद्वन्द्वीलाई घेरामा पारेर तिनको निधारमा बन्दुक तेर्स्यायो। कम्प्युटर स्क्रिनमा देखा परेको पात्रलाई जिस्क्याउँदै, बौलाहाजस्तो हाँस्दै भन्यो, ‘तँ भाग्न सक्दैनस्‌!’ ‘तँ अब मेरो कब्जामा छस्‌!’ केटाले एउटा बटन थिचेर त्यस पात्रको अनुहारमै गोली हान्यो। त्यस पात्रको सेतो कोट रगतै रगत भयो र फनफन घुमेर तिनी भुइँमा ढले। हाँस्दै केटाले भन्यो, ‘तँ मरिस्‌!’ ”

यो जस्तो एक प्रकारको कम्प्युटर गेमबारे स्टिफन बारद्वारा लिखित “कम्प्युटर हिंसा: के तपाईंका छोराछोरीहरू खतरामा छन्‌?” भन्‍ने लेखले माथि शीर्षकमा दिइएको प्रश्‍न उठाएको हो। बजारमा अहिले ५,००० भन्दा बढी प्रकारका कम्प्युटर तथा भिडिओ गेमहरू उपलब्ध छन्‌। तीमध्ये केहीलाई शिक्षामूलक र अहानिकारक मनोरञ्जनको रूपमा लिइन्छ।

एउटा त्यस्तै गेमले भूगोलबारे र अर्कोले हवाईजहाज उडाउने तरिकाबारे सिकाउँछ; अरू कतिपयले चाहिं सहभागीहरूलाई तार्किक सोचाइ र समस्या समाधानसम्बन्धी ज्ञान दिन्छ। सहभागीहरूलाई उपचारात्मक प्रभाव हुने खालका खेलहरू पनि छन्‌। उदाहरणका लागि, एउटा गेमले बोल्न समस्या भएकाहरूलाई मदत गर्छ। कुनै-कुनै गेमहरूले कम्प्युटरबारे थप जानकारी हासिल गर्न चाहनेहरूलाई मदत गर्छ र यस्तो ज्ञान अहिलेको प्रविधि प्रवृत्त युगमा निकै महत्त्वपूर्ण हुँदै गइरहेको छ।

विशेषज्ञहरू यसको हानिकारक पक्ष औंल्याउँछन्‌

“कुनै-कुनै गेमहरूले हिंसा, यौन र अश्‍लील बोलीजस्ता गैरसामाजिक विषयहरू प्रस्तुत गर्छ” भनी सञ्चार तथा परिवारसम्बन्धी राष्ट्रिय संस्थानका अध्यक्ष, डेभिड वल्श बताउँछन्‌। तिनी अझै यसो भन्छन्‌: “दुःखको कुरा, यी गेमहरू नै विशेष गरी आठदेखि १५ वर्षका केटाकेटीहरूबीच अत्यन्तै लोकप्रिय भएको पाइन्छ।”

संयुक्‍त राज्य अमेरिकामा गरिएको एउटा अध्ययनले देखाएअनुसार जवान मानिसहरूले खेल्ने ८० प्रतिशत जति भिडिओ गेममा हिंसात्मक कुराहरू भएको पाइयो। भर्चुअल इमेज प्रडक्शनका अध्यक्ष, रिक डायर यसो भन्छन्‌: “यी खेल मात्र होइनन्‌। यी त सिक्ने साधनहरू हुन्‌। हामीले केटाकेटीलाई बन्दुकको घोडो कसरी तान्‍ने भनेर एकदमै असामान्य तरिकामा सिकाइरहेका छौं। . . . तिनीहरूले त्यस्तो कार्यबाट हुन सक्ने वास्तविक परिणामबारे भने सिकिरहेका छैनन्‌।”

सन्‌ १९७६ मा डेथ रेस भनिने खेल सुरु भएदेखि नै हिंसात्मक खेलहरू विरुद्ध आवाज उठाउँदै आएको छ। त्यस खेलको उद्देश्‍य कम्प्युटरको स्क्रिनमा देखिने बटुवाहरूलाई गाडीले किच्नु थियो। सबैभन्दा बढी बटुवाहरूलाई किच्न सक्ने सहभागी विजयी हुन्थ्यो। नयाँ, अत्याधुनिक खेलहरूको ग्राफिक्स राम्रो भएकोले सहभागीहरूले अझ वास्तविक देखिने हिंसात्मक कार्यमा भाग लिन सक्छन्‌।

उदाहरणका लागि, कारमागेडोन भनिने गेममा सहभागीले सबै तह पूरा गरुन्जेलसम्म ३३,००० भन्दा बढी मानिसहरूलाई गाडीले किचाइ सकेका हुन्छन्‌। यसपछिको गेम यसरी वर्णन गरिएको छ: “तपाईंले किच्याउने व्यक्‍तिहरू गाडीको टायरमुनि किचिमिची भएर चक्का रगतै रगत हुने मात्र होइन तर तिनीहरू घुँडा टेकेर दयाको भीख माग्छन्‌ वा आत्महत्या गर्छन्‌। चाहनुहुन्छ भने, तपाईंले त्यसलाई अंगभंग गर्न सक्नुहुन्छ।”

के यस्तो हिंसा अहानिकारक हो? यस विषयमा लगभग ३,००० वटा विभिन्‍न प्रकारका अध्ययनहरू गरिएका छन्‌। गेममा हुने हिंसा र यस्ता गेम खेल्ने व्यक्‍तिहरूमा वृद्धि भएको झगडालु स्वभावबीच सम्बन्ध भएको कुरा थुप्रैले बताउँछन्‌। यस्तै सम्बन्ध भएको कारण युवाहरूमाझ हिंसा बढिरहेको छ।

कोही-कोही विशेषज्ञहरूले यस्ता खेलहरूको प्रभावलाई हल्कासित लिन्छन्‌ र अरू कुरालाई पनि विचार गर्नुपर्छ भन्छन्‌। जस्तै, हिंसात्मक झुकाव राख्ने सम्भावना भएका केटाकेटीहरूले त्यस्तो खेल रोजिरहेका हुन सक्छन। तर कतै हिंसात्मक खेलहरूले पो त्यस्तो झुकावलाई अझ तीव्र बनाइरहेको छ कि? मानिसहरू आफूले देखेको कुराबाट प्रभावित हुँदैनन्‌ भन्‍नु अव्यावहारिक हो। त्यसो हुँदो हो त, के व्यापारजगत्‌ले वर्षेनी विज्ञापनमा मात्र अरबौं डलर खर्च गर्नेथियो र?

“मार्ने क्षमता र इच्छा”

अन किलिङ भन्‍ने पुस्तकका लेखक, सैन्य मनोवैज्ञानिक डेभिड ग्रसम्यानले बताएअनुसार कम्प्युटर गेमको हिंसाले बच्चाहरूलाई र सैन्य प्रशिक्षणले सिपाहीहरूलाई आफूले वास्तवमा नचाहँदा नचाहँदै पनि अरूलाई मार्न कठोर बनाउँछ। उदाहरणका लागि, सेनामा भर्ती भएका अधिकांश व्यक्‍तिहरूको अरूलाई मार्ने हिचकिचाहटलाई दबाउन, अभ्यासको दौडान सामान्यतया राखिने गोलो आकारको निसानाको तारोको सट्टा मानिस आकारको तारो राखिन्छ। त्यसरी नै, हिंसात्मक खेलहरूले पनि केटाकेटीमा “मार्ने क्षमता र इच्छा” जगाउँछ।

जर्नल अफ पर्सनालिटी एण्ड सोसियल साइकोलोजी भन्‍ने प्रकाशनमा प्रकाशित अनुसन्धानअनुसार भिडिओ गेम र कम्प्युटर गेमको हिंसा टेलिभिजन वा चलचित्रमा देखाइने हिंसाभन्दा खतरनाक हुन सक्छ किनभने यस्ता गेम खेल्ने व्यक्‍तिहरू ती पात्रहरूसित हत्यामा संलग्न भइरहेका हुन्छन्‌। टेलिभिजन हेर्दा हामी केवल दर्शक हौं, तर कम्प्युटर गेमले हामीलाई सहभागीजस्तो महसुस गराउँछ। यसबाहेक, बच्चालाई कुनै चलचित्र हेर्न दुई चार घण्टा मात्र लाग्न सक्छ तर एउटा सामान्य भिडिओ गेममा पोख्त हुन तिनले १०० घण्टासम्म बिताउन सक्छन्‌।

कुनै-कुनै देशले हिंसाले भरिएका गेमहरू वयस्कहरूको लागि मात्र भनेर वर्गीकरण गर्ने प्रणाली बसालेका छन्‌। तर यस्तो प्रणाली जति लागू गर्न सकिन्छ, त्यति मात्रै प्रभावकारी हुन्छ। संयुक्‍त राज्य अमेरिकामा गरिएको एउटा अध्ययनले देखाएअनुसार सर्वेक्षण गरिएकामध्ये ६६ प्रतिशत आमाबाबुलाई वर्गीकरण प्रणालीबारे अत्तोपत्तो थिएन। एन्टरटेनमेन्ट सफ्टवेर रेटिङ बोर्डका निर्देशकले बताएअनुसार यो प्रणाली केटाकेटीले कुनै-कुनै गेम नखेलोस्‌ भन्‍ने हेतुले बनाइएको होइन। तिनी यसो भन्छन्‌: “हाम्रो उद्देश्‍य, राम्रो के हो भनेर बताउनु होइन। हामी आमाबाबुहरूलाई आफैले छोराछोरीको लागि उपयुक्‍त र अनुपयुक्‍त निर्धारण गर्ने साधन दिन्छौं।”

लग्गू बनाउने गेमहरू?

संसारभरिका मानिसहरूसित इन्टरनेटमा खेलिने नयाँ अन लाइन गेमहरूले हरेक सहभागीलाई आफूले चाहेको पात्र रोज्न दिन्छ अनि तिनीहरूले विभिन्‍न चुनौती पार गर्दै आफू सफल भएको महसुस गर्न सक्छन्‌। सहभागीले आफ्नो पात्रको लागि बिताउने समय नै उसको लगानी हुन्छ र इनामको आभाष दिने हुँदा खेलमा झन्‌-झन्‌ डुब्न थाल्छन्‌। कोही-कोही यसरी खेल्दा-खेल्दा पूरै लग्गूसमेत हुन सक्छन्‌ र अन लाइन गेमहरू महिनौं वा वर्षौंसम्म चल्नुको एउटा कारण यही नै हो।

टाइम पत्रिकाले रिपोर्ट गरेअनुसार हाल दक्षिण कोरियामा लिनिएज भनिने अन-लाइन गेम एकदमै लोकप्रिय भइरहेको छ। यस गेममा सहभागीले मध्यकालीन वातावरणमा विजयी हुन प्रतिस्पर्धा गर्छ। सहभागीले विभिन्‍न तह पार गर्दै विशेष ओहदा हासिल गर्न खोज्छ। कोही युवाहरू रातभरि खेल्छन्‌ अनि भोलिपल्ट बिहान स्कूलमा आँखै खोल्न सक्दैनन्‌। आमाबाबु चिन्ता गर्छन्‌ तर समस्या कसरी समाधान गर्ने भनेर तिनीहरूलाई सधैं थाह हुँदैन। एक जना जवान सहभागीले अन्तरवार्तामा यसो भने: “मानिसहरूले मलाई अन-लाइन भेट्‌दा म तेज छु भन्ठान्छन्‌ तर व्यक्‍तिगत तवरमा भेटेपछि भने वजन घटाउने सल्लाह दिन्छन्‌।”

कोरियाली मनोवैज्ञानिक जुन्मो क्वनले लिनिएज यत्तिको लोकप्रिय हुनुको कारण यसरी बताउँछन्‌: “कोरियाको वास्तविक संसारमा तपाईं आफ्नो अभिलाषा र इच्छा व्यक्‍त गर्न सक्नुहुन्‍न। खेलमा भने त्यस्तो कुनै रोकटोक हुँदैन।” यसर्थ, जवानहरू वास्तविक संसारबाट काल्पनिक संसारमा हराउँछन्‌। एक जना समझदार टिप्पणीकार, कम्प्युटर गेमका सहभागीहरूको वर्णन यसरी गर्छन्‌: “सहभागीको लागि खेलजगत्‌, वास्तविक संसारभन्दा आकर्षक हुन्छ। उसको लागि वास्तविक संसार भनेको खेललाई निरन्तरता दिन केही पैसा कमाउने ठाउँ मात्र हो।”

स्वास्थ्यमा असर

संयुक्‍त राज्य अमेरिकाको तथ्यांकले देखाएअनुसार छ कक्षामा पढ्‌ने विद्यार्थीले दिनहुँ त्यस्तै चार घण्टाजस्तो टेलिभिजन हेर्छ र यसमा कम्प्युटर वा टिभीमा गेम खेल्ने समयको हिसाब गरिएको छैन। सन्‌ १९९५ को सर्वेक्षणअनुसार ६० प्रतिशतभन्दा बढी केटाकेटीले आफूले चाहेको भन्दा बढी समय खेल्नमा बिताएको कुरा स्वीकारे। यसो हुँदा स्कूलको पढाइमा हेलचेक्य्राइँ हुन कति बेर पनि लाग्दैन। एउटा जापानी अध्ययनले देखाएअनुसार कम्प्युटर गेमले दिमागको एउटा भाग मात्र सक्रिय बनाउँछ। उक्‍त अध्ययनअनुसार केटाकेटीले पढ्‌न, लेख्न अनि हिसाब गर्न समय बिताउनुपर्छ। तर दिमागको पूरा विकास हुनको लागि तिनीहरू बाहिर अरू केटाकेटीसित खेल्नु अनि घुलमिल हुनु पनि आवश्‍यक छ।

रिपोर्टहरूले देखाएअनुसार सं.रा.अ.-का पाँचदेखि आठ वर्षबीचका लगभग ४० प्रतिशत केटाकेटीहरू चिकित्सा दृष्टिकोणबाट अत्यन्तै मोटा छन्‌। सम्भवतः टिभी वा कम्प्युटर स्क्रिनको अगाडि धेरै समय बिताएकोले पर्याप्त व्यायाम गर्न नपाएको कारण यस्तो भएको हुनुपर्छ। एउटा कम्पनीले कम्प्युटर गेम खेल्दा खेल्दै व्यायाम गर्न सकिने उपकरणसमेत बनाएको छ। तर, त्यस्ता गेमहरू खेल्न समय कटौती गरेर सम्पूर्ण व्यक्‍तित्व विकास हुने अन्य क्रियाकलापहरूमा भाग लिन केटाकेटीसित प्रशस्त समय हुनु बेस हो।

अर्को स्वास्थ्य समस्या हो: टिभी वा कम्प्युटर स्क्रिनमा एकोहोरो हेरिरहँदा आँखासम्बन्धी समस्या हुन सक्छ। सर्वेक्षणले देखाएअनुसार कम्प्युटर चलाउनेहरूमध्ये एक चौथाइको आँखासम्बन्धी समस्याहरू देखिएको थियो। यसो हुनुको एउटा कारण हो, झिमझिम गर्ने दर कम हुँदा आँखा सुख्खा हुने र चिलाउने हुन सक्छ। झिमझिम गर्दा आँखा सफा हुनुका साथै आँसु उत्पादन हुन्छ र यसले फोहोर कसिंगरहरू सफा गर्छ।

यी सबै कुराहरूबारे यथेष्ट चेतना नभएको हुँदा केटाकेटीले बीचबीचमा एक चोटि पनि नछोडी घण्टौंसम्म कम्प्युटर गेम खेलिरहन सक्छन्‌। यसले गर्दा आँखा दुख्ने र दृष्टि धमिलो हुन सक्छ। विशेषज्ञहरूले कम्प्युटर प्रयोग गर्दा हरेक एक घण्टापछि एकछिन आराम गर्ने सुझाव दिन्छन्‌। a

अघि लम्किरहेको विश्‍वव्यापी व्यापार

सारा संसारभरि नै अन-लाइन गेमप्रति चासो बढिरहेको पाइन्छ। थुप्रै ठाउँमा इन्टरनेट क्याफे खुलेका छन्‌। ती क्याफेहरूमा थुप्रै कम्प्युटर हुन्छन्‌ अनि पाहुनाहरूले नेटवर्क गेमहरू खेल्न पैसा तिर्छन्‌। युवाहरूले यस्ता क्याफेहरूमा महिनामा झन्डै १०,००० रुपैयाँसम्म खर्च गर्नु कुनै अनौठो कुरा होइन।

निस्सन्देह, यो गेमको व्यापार तीव्र गतिमा अघि लम्किरहेको छ। आगामी पाँच वर्षमा अन-लाइन गेमहरू ७० प्रतिशतले वृद्धि हुने आशा गरिएको छ।

तर एउटा कुरा स्पष्ट छ, यस फस्टाउँदो उद्योगको हानिकारक पक्ष पनि छ। यसका खतराहरू वास्तविक हुन्‌। हामी कसैले पनि आफ्नो स्वास्थ्यसित खेलबाड गर्न सक्दैनौं, समय र पैसा बर्बाद गर्न सक्दैनौं वा हिंसा अनि हत्यालाई सामान्य ठान्‍न सक्दैनौं। हाम्रा छोराछोरीले त झन्‌ यीमध्ये कुनै पनि गर्न सक्दैनन्‌। त्यसकारण, कम्प्युटर गेमहरू सधैं शिक्षामूलक वा अहानिकारक मनोरञ्जन हुन्‌ भन्‍न सकिंदैन। माथि उल्लिखित डेभिड वल्श यस्तो चेतावनी दिन्छन्‌: “मनोरञ्जनजगत्‌ हामीले सोचेभन्दा बढी नै प्रभावशाली छ।” तिनी अझै यसो भन्छन्‌: “छोराछोरीको हेरचाहको लागि आमाबाबु जिम्मेवार छन्‌ भने, बदलँदो सञ्चारजगत्‌मा हेरचाहको परिभाषासँगसँगै चल्न पनि जान्‍नुपर्छ।”

निस्सन्देह, बाइबलले भनेझैं “यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरिन्थी ७:३१) अनि मनोरञ्जनजगत्‌ जति छिटो-छिटो परिवर्तन हुने अरू कुनै चीज छैन। थुप्रै आमाबाबुहरू आफ्ना छोराछोरीमाथि दिनहुँ प्रहार हुने लहड तथा प्रभावहरू कसरी सामना गर्ने होला भनेर अत्तालिन्छन्‌। तर, हरेस नखानुहोस्‌। साँच्चिकै महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न केटाकेटीलाई मदत गरेर थुप्रै आमाबाबुहरू छोराछोरी हुर्काउन सफल भइरहेका छन्‌। हामीले जस्तै छोराछोरीले पनि हाम्रा महत्त्वपूर्ण आवश्‍यकताहरू मनोरञ्जनले पूरा गर्न सक्दैन भन्‍ने कुरा बुझ्नु जरुरी छ, चाहे त्यो मनोरञ्जन कम्प्युटर, टिभी वा अन्य माध्यमद्वारा नै किन नहोस्‌। येशूले भन्‍नुभएझैं, साँचो आनन्द “आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग हुनेहरूले” प्राप्त गर्नेछन्‌।—मत्ती ५:३, NW. (g02 12/22)

[फुटनोट]

a साथै, कोही-कोहीले कम्प्युटर प्रयोग गर्ने सबै व्यक्‍तिहरूलाई हरेक १५/१५ मिनेटमा स्क्रिनदेखि टाढाको वस्तु हेर्ने सुझाव दिन्छन्‌। अरूले भने कम्प्युटर स्क्रिनदेखि ६० सेन्टिमिटर पर बस्ने अनि थाकेको बेला कम्प्युटर प्रयोग नगर्ने सुझाव दिन्छन्‌।

[पृष्ठ ६-मा भएको पेटी]

इलेक्ट्रोनिक गेम्सखतराबारे संक्षिप्त जानकारी

▸ हिंसात्मक कम्प्युटर वा भिडिओ गेमले झगडालु व्यवहारलाई बढवा दिइरहेको हुन्छ।

▸ इलेक्ट्रोनिक गेममा तपाईं हिंसाको प्रत्यक्षदर्शी मात्र होइन तर आफै सहभागी भएजस्तो महसुस गर्नुहुन्छ।

▸ यस्ता गेमहरूबाट सजिलै प्रभावित हुनेहरूको वास्तविकता र काल्पनिक जगत्‌बीचको भिन्‍नता धमिलो हुन सक्छ।

▸ लत लागेझैं यस्तो गेम खेल्दा महत्त्वपूर्ण दायित्व तथा जिम्मेवारीहरूको हेलचेक्य्राइँ हुन सक्छ।

▸ केटाकेटीले अन्य महत्त्वपूर्ण गतिविधिमा बिताउनुपर्ने समय गेम खेल्नुमै खर्च हुन सक्छ, जस्तै पढ्‌ने, अरूसित घुलमिल गर्ने अनि सृजनात्मक खेलमा भाग लिने।

▸ स्क्रिनमा एकोहोरो हेरिरहँदा आँखालाई असर गर्छ।

▸ धेरै गेम खेलेको परिणामस्वरूप व्यायामको कमीले गर्दा मोटोपन हुन सक्छ।

▸ यस्ता गेमहरू खेल्दा पैसा र समय बर्बाद हुन सक्छ।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

यो लत छोड्‌ने एउटा तरिका

थमस नाउँका २३ वर्षीय मसीही आफ्नो घटना यसरी सम्झन्छन्‌: “म स्कूलमा छँदा मैले यस्तो गेम धेरै खेलेकोले गृहकार्यमा प्रतिकूल असर पऱ्‍यो। पछि गएर जीवनमा यसले अरू कुराहरूलाई पनि असर गऱ्‍यो। म पूर्ण-समय सेवक भइसकेपछि पनि खेल्न छोडिनँ। यसले मेरो निकै समय र शक्‍ति खाइरहेको छ भनेर पछि मात्र बल्ल होस खुल्यो। कहिलेकाहीं सेवकाई वा मसीही सभामा जानुअघि खेल्दा मलाई ध्यान दिनै गाह्रो पर्थ्यो। म सधैं त्यस गेममा आइपरेको समस्या कसरी घरमा पुग्ने बित्तिकै समाधान गरुँ भनेर सोचिरहेको हुन्थें। यसले मेरो व्यक्‍तिगत बाइबल अध्ययन र पढाइमा असर गऱ्‍यो। परमेश्‍वरको सेवा गर्दाको आनन्द घट्‌न थाल्यो।

“एक दिन राती ओछ्यानमा ढल्किरहेको बेला यसरी धेरै दिन चल्न सक्दैन भन्‍ने महसुस गरें। जुरुक्क उठेर कम्प्युटर खोलें, सबै गेम सेलेक्ट गरें र डिलिट बटन थिचिदिएँ। सेकेण्ड भरमै ती सबै हराए! तर यसो गर्न सजिलो भएन। म ती गेमहरूप्रति कत्तिको आसक्‍त भइसकेको रहेछु भनेर बल्ल बुझें। तर आफूले ठूलो विजय हासिल गरेजस्तो पनि मैले महसुस गरें किनभने यसैमा मेरो हित छ भनेर मलाई थाह थियो। हो, त्यसपछि पनि मैले एक दुईवटा गेम किनेको छु। तर आफूलाई एकदमै कडा नियन्त्रणमा राख्छु। आफ्नो खेल र अन्य क्रियाकलापलाई सन्तुलनमा राख्न गाह्रो परेको महसुस गर्ने बित्तिकै म तुरुन्तै डिलिट बटन थिचिहाल्छु।”

[पृष्ठ ६-मा भएको चित्र]

कसै-कसैले गेममा हिंसा र गेम खेल्नेहरूको झगडालु स्वभावबीच सम्बन्ध छ भन्छन्‌

[पृष्ठ ६-मा भएको चित्र]

सियोल, कोरियाको एउटा इन्टरनेट गेम कक्ष