सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरले हाम्रा कमजोरीहरूको बेवास्ता गर्नुहुन्छ?

के परमेश्‍वरले हाम्रा कमजोरीहरूको बेवास्ता गर्नुहुन्छ?

बाइबलको दृष्टिकोण

के परमेश्‍वरले हाम्रा कमजोरीहरूको बेवास्ता गर्नुहुन्छ?

‘म दुष्ट होइन! मैले आफ्ना खराब बानीहरू त्याग्न कडा प्रयत्न गरेको छु तर के गर्ने, म कमजोर छु!’

के तपाईं वा तपाईंले चिन्‍नुहुने कसैले यस्तै बह पोख्ने गर्छन्‌? धेरै जना जरा गाडेर बसिसकेका नैतिक कमजोरीहरूमाथि विजयी हुन असम्भव छ भन्‍ने निष्कर्षमा पुग्छन्‌। कतिपय मानिसहरू रक्सी, सुर्ती वा लागूपदार्थमा आश्रित छन्‌। अरू थुप्रैको जीवनलाई लोभले वशमा पारेको हुन्छ। अनि यौनको कुलतमा पूर्णतया फसिसकें भन्दै यौन दुराचारमा चुर्लुम्मै डुब्नेहरू पनि छन्‌।

मत्ती २६:४१ मा संकेत गरिएअनुसार आफूले मानव कमजोरीहरूलाई राम्ररी बुझेको कुरा येशूले उल्लेख गर्नुभयो। a वास्तवमा, सम्पूर्ण बाइबल रेकर्डले मानवजातिप्रति यहोवा परमेश्‍वर र येशू साँच्चै दयालु हुनुहुन्छ भनी प्रस्ट पार्छ। (भजन १०३:८, ९) तर के हामी आफ्ना सारा कमजोरीहरू परमेश्‍वरले बेवास्ता गरेको आशा गर्न सक्छौं?

मोशा र दाऊद

मोशाको विवरणलाई विचार गर्नुहोस्‌। उनी “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए” र त्यस असल गुणलाई कायम राख्न तिनले प्रयत्न गरे। (गन्ती १२:३) इस्राएलीहरू उजाडस्थान हुँदै यात्रा गर्दा तिनीहरूले अक्सर अव्यावहारिक ढंगमा कार्य गरे अनि परमेश्‍वर र उहाँका प्रतिनिधिहरूको अनादर गरे। यी सबै परिस्थितिमा मोशाले नम्रतासाथ ईश्‍वरीय निर्देशन खोजे।—गन्ती १६:१२-१४, २८-३०.

यद्यपि, यस्तो लामो अनि थकाइलाग्दो यात्रा टुंगिनै लाग्दा मोशाले पूरै राष्ट्रसामु आफ्नो रिस थाम्न सकेनन्‌ र परमेश्‍वरका निर्देशनहरू उल्लंघन गरे। परमेश्‍वरले तिनलाई क्षमा त दिनुभयो तर के उहाँले त्यस घटनालाई बेवास्ता गर्नुभयो? गर्नु भएन। उहाँले मोशा र हारूनलाई यसो भन्‍नुभयो: “तिमीहरूले ममाथि विश्‍वास गरेनौ, यसकारण मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुऱ्‍याउन पाउनेछैनौ।” मोशा प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाउने थिएन। त्यो अद्‌भुत सुअवसर पाउनको लागि ४० वर्षसम्म संघर्ष गरिसकेपछि एउटा गम्भीर मानव गल्तीले गर्दा त्यस सुअवसरबाट तिनी बञ्चित हुनुपऱ्‍यो।—गन्ती २०:७-१२.

कमजोरी भएको अर्को ईश्‍वरभक्‍त पुरुष राजा दाऊद थिए। एक चोटि कामवासनामा जलेर तिनले अर्काकी पत्नीसित यौन सम्पर्क राखेका थिए। त्यसपछि तिनले त्यस स्त्रीको पतिलाई मार्न लगाएर आफ्नो पापलाई ढाकछोप गर्ने प्रयास गरे। (२ शमूएल ११:२-२७) पछि, तिनले आफ्ना अपराधहरूका लागि साँचो पश्‍चात्ताप गरे र परमेश्‍वरले तिनलाई क्षमा दिनुभयो। तर दाऊदले एउटा परिवारको विनाश गरेका थिए अनि तिनीमाथि आइपर्ने विनाशकारी विपत्तिबाट यहोवाले तिनलाई बचाउनु भएन। दाऊदका नाबालक छोरा सिकिस्त बिरामी परे र दाऊदले आफ्नो बच्चाको खातिर प्रार्थना गरे तापनि यहोवाले कुनै कदम चाल्नु भएन। बालक मऱ्‍यो र त्यसपछि दाऊदको घरानामा एकपछि अर्को विपत्तिहरू आइपऱ्‍यो। (२ शमूएल १२:१३-१८; १८:३३) नैतिक कमजोरीको वशमा पर्दा दाऊदले ठूलो मोल चुकाउनुपऱ्‍यो।

परमेश्‍वरले मानिसजातिलाई तिनीहरूको कार्यको जिम्मेवार ठहराउनुहुन्छ भन्‍ने कुरा यी उदाहरणहरूले पुष्टि गर्छ। उहाँको सेवा गर्न चाहनेहरूले आफ्नो आध्यात्मिकताका कमजोर पक्षहरूलाई सबल बनाएर असल मसीही बन्‍नै पर्छ। प्रथम शताब्दीमा धेरैले यसो गरे।

पापबाट मुक्‍त हुन लडन्त

प्रेरित पावललाई मसीही जीवनको एक आदर्श मानिन्छ। तर तिनले पनि आफ्ना कमजोरीहरू विरुद्ध निरन्तर संघर्ष गर्नुपरेको थियो भनी के तपाईंलाई थाह छ? रोमी ७:१८-२५ ले यस द्वन्द्वलाई जीवन्त ढंगमा वर्णन गरेको छ अथवा पद २३ मा यसलाई “लडाइँ” भनिएको छ। पावलले हरेस नखाई युद्ध लडिरहे किनकि पापको पकड एकदमै बलियो हुन्छ भनेर तिनलाई थाह थियो।—१ कोरिन्थी ९:२६, २७.

पुरातन कोरिन्थको मसीही मण्डलीका केही सदस्यहरू एक समय खराबीको वशमा परेकाहरू थिए। बाइबलले तिनीहरू ‘व्यभिचारीहरू, जारी गर्नेहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू’ थिए भनी बताउँछ। तर बाइबलले तिनीहरू “पखालिएका” छन्‌ भनेर पनि भन्छ। (१ कोरिन्थी ६:९-११) कसरी? तिनीहरूले सही ज्ञान, मसीही संगति अनि परमेश्‍वरको आत्माद्वारा आफ्ना दुष्ट आनीबानीहरू रोक्न बल पाए। अन्ततः तिनीहरूलाई ख्रीष्टको नाउँमा परमेश्‍वरले धर्मी ठहराउनुभयो। हो, परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुभएर सफा अन्तस्करण दिनुभयो।—प्रेरित २:३८; ३:१९.

पावल अनि कोरिन्थका मसीहीहरूले आफ्ना पापी झुकावहरूलाई हल्कासित लिएनन्‌। बरु, तिनीहरू आफ्ना कमजोरीहरूसित लडे। अनि परमेश्‍वरको मदतले गर्दा तिनीहरू विजयी पनि भए। आफ्ना वरिपरिको वातावरण अनि असिद्ध झुकावहरूको बावजुद प्रथम शताब्दीका ती उपासकहरू नैतिक तवरमा प्रशंसायोग्य भए। हामी नि?

परमेश्‍वर हामी आफ्ना कमजोरीहरूसित लडेको आशा गर्नुहुन्छ

कमजोरीसित लड्‌दा यो पूर्णतया नहट्‌न सक्छ। तर असिद्धतालाई नामेट पार्न सक्दैनौं भन्दैमा हामी आफ्नो असिद्धतासामु झुक्नु आवश्‍यक छैन। असिद्धताले कमजोरीहरूलाई जन्म दिन्छ, जुन हटाउन गाह्रो हुन सक्छ। यद्यपि, हामीले कमजोरीहरूसामु हार मान्‍नु हुँदैन। (भजन ११९:११) यसो गर्नु किन महत्त्वपूर्ण छ?

असिद्धतालाई निहुँ बनाएर खराब आचरणमा सधैं फस्नु परमेश्‍वरको निम्ति स्वीकार्य छैन। (यहूदा ४) यहोवा मानिसहरू शुद्ध भएको अर्थात्‌ असल नैतिक जीवन बिताएको चाहनुहुन्छ। बाइबलले यसो भन्छ: “जुन कुरो खराब छ, त्यसलाई घृणा गर।” (रोमी १२:९) परमेश्‍वर किन यत्तिको दृढ अडान लिनुहुन्छ?

एउटा कारण हो, कमजोरीको वशमा पर्नु हानिकारक हुन्छ। बाइबलले गलाती ६:७ मा यसो भन्छ, “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” लागूपदार्थको नशा, लोभ अनि छाडा जीवन शैलीमा डुब्ने मानिसहरूले अक्सर आफ्नो जीवनमा डरलाग्दो कटनी गर्छन्‌। तर यसमा योभन्दा पनि महत्त्वपूर्ण कारण विथोलित छ।

पापले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछ। यसले हामीलाई यहोवाबाट “अलग” गराउँछ। (यशैया ५९:२) पापी कार्य गर्नेहरूले उहाँको निगाह प्राप्त गर्न नसक्ने हुँदा उहाँले यस्ता व्यक्‍तिहरूलाई यस्तो सल्लाह दिनुहुन्छ: “आफूलाई धोएर चोखो पार। . . . खराबी गर्न छोड़।”—यशैया १:१६.

हाम्रा सृष्टिकर्ता मायालु र कृपालु हुनुहुन्छ। उहाँ “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ। (२ पत्रुस ३:९) कमजोरीको वशमा परिरहनु भनेको परमेश्‍वरको निगाह प्राप्त गर्नुबाट बञ्चित हुनु हो। किनभने, परमेश्‍वरले हाम्रा कमजोरीहरूलाई बेवास्ता गर्नुहुन्‍न न त हामीले गर्नुहुन्छ। (g02 11/08)

[फुटनोट]

a येशूले यसो भन्‍नुभयो: “आत्मा . . . तयार छ, तर शरीर दुर्बल छ।”