सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

खतरनाक कार्य छोडेर शान्तिको खोज

खतरनाक कार्य छोडेर शान्तिको खोज

खतरनाक कार्य छोडेर शान्तिको खोज

तोशिआकी निवाको वृत्तान्तमा आधारित

दोस्रो विश्‍वयुद्धको दौडान अमेरिकी युद्धपोतमा कामिकाजे आक्रमण गर्न प्रशिक्षित भूतपूर्व जापानी पाइलट यस खतरनाक कार्यमा लाग्दाको अनुभव बताउँछन्‌।

जून १९४२ मा मिडवेको युद्धमा लज्जास्पद पराजयको मुखैमा पर्दा प्रशान्त महासागरमा जापानी बिस्तार प्रायः ठप्पै भयो। त्यसपछि जापानले संयुक्‍त राज्य अमेरिका र यसका संयुक्‍त सेनासित एकपछि अर्को पराजय भोग्नुपऱ्‍यो र तिनीहरूले जापानले कब्जा गरेका भूमिहरू फिर्ता लिन थाले।

सेप्टेम्बर १९४३ मा जापानी सरकारले सैन्य सेवामुक्‍त गरिएका विश्‍वविद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरू अब सेनामा भर्ती हुनुपर्ने घोषणा गऱ्‍यो। म २० वर्षको उमेरमा विश्‍वविद्यालयको विद्यार्थी छँदै जलसेनामा भर्ती भएँ। यसको एक महिनापछि म जलसेनाको हवाई विद्यार्थी भएँ। डिसेम्बर १९४४ मैले जिरो भनिने आक्रमणकारी पाइलट हुने प्रशिक्षण पाएँ।

कामिकाजे विशेष आक्रमणकारी सेना

जापानले पराजय भोग्न लागेको थियो। फेब्रुअरी १९४५ मा जापानमाथि बी-२९ बमवर्षा तीव्र हुन थाल्यो। साथै, अमेरिकी जलसेनाले मुख्य भूमिमा अखडा जमाएर हवाई बम वर्षाको तारो बनायो।

यसको केही महिनाअघि जापानका सैन्य नेताहरूले आत्मघाती नीति अपनाएर निर्णायक युद्ध गर्ने निधो गरिसकेका थिए। यतिखेर जापान युद्धमा विजयी हुनेछैन भनेर प्रस्ट भइसकेको भए तापनि यस्तो निर्णयले युद्धलाई अझ लम्ब्यायो र थप हजारौंले आफ्नो ज्यान गुमाउनुपऱ्‍यो।

यसरी, कामिकाजे विशेष आक्रमणकारी सेनाको जन्म भयो। कामिकाजे भनेको १३ औं शताब्दीका मंगोलियन आक्रमणकारीका जहाजहरूलाई हुऱ्‍याएको भुमरी अर्थात्‌ एउटा शक्‍तिशाली दैवी हावा हो भन्‍ने पुरानो धारणा छ। प्रथम कामिकाजे आक्रमणको लागि पाँचवटा जिरो आक्रमणकारी हवाईजहाज प्रत्येकमा जहाजमा आत्मघाती आक्रमण गर्नको लागि २५० किलोग्राम बम राखिएको थियो।

विशेष आत्मघाती टोली तयार पार्ने जिम्मा याताबे युद्धपोत हवाईसेनालाई दिइएको थियो र म यसैको सदस्य थिएँ। हामी सबैलाई एउटा फाराम भर्न दिइयो। त्यसमा हामीले आफू आत्मघाती आक्रमणकारी सेनाको सदस्य हुने वा नहुने इच्छा व्यक्‍त गर्नुपर्थ्यो।

मलाई आफ्नो देशको लागि ज्यान दिनुपर्छ जस्तो लाग्यो। तर मैले आत्मघाती कार्यको लागि हवाई-आक्रमण गरेर आफ्नो ज्यान अर्पण गरे तापनि निशानामा हिर्काउनुअघि मलाई अरू कसैले हिर्काउन सक्थ्यो र बेकारमा मैले आफ्नो ज्यान गुमाइरहेको हुनेथिएँ। मैले पारिवारिक जिम्मेवारीहरू पूरा नगरी आफ्नो जीवन अन्त गरें भने के मेरी आमा खुसी हुनुहुनेछ? आत्मघाती कार्यको लागि आफ्नो जीवन दिनु सबैभन्दा उत्तम मार्ग हो भनेर मैले आफूलाई चित्त बुझाउनै सकिनँ। जे होस्‌, म यसको लागि तयार भएँ।

मार्च १९४५ मा याताबे विशेष आक्रमणकारी सेनाको पहिलो समूह गठन गरियो। मेरा २९ जना सहकर्मीहरू छनौट गरिए तापनि म त्यो समूहमा परिनँ। विशेष प्रशिक्षण पाइसकेपछि तिनीहरू अप्रिल महिनामा कागोशिमा प्रान्तको कानोया हवाई अड्डाबाट यस खतरनाक कार्यको लागि प्रस्थान गर्नुपर्ने थियो। तिनीहरू कानोयामा स्थानान्तरण हुनुअघि म साथीहरूलाई भेट्‌न गएँ र तिनीहरू यस आत्मघाती कार्यमा जानुअघि कस्तो महसुस गरिरहेका छन्‌ भनेर बुझ्न खोजें।

तिनीहरूमध्ये एक जनाले शान्तपूर्वक यसो भने, “हामी मर्नेछौं तर तिमी मर्न हतार नगर। हामीमध्ये कोही बाँच्यौं भने शान्ति भनेको कस्तो अनमोल कुरा हो र यसलाई प्राप्त गर्ने प्रयास गर्नुपर्छ भनेर अरूलाई बताउनुपर्छ।”

अप्रिल १४, १९४५ का दिन मेरा सहकर्मीहरू प्रस्थान गरे। केही घण्टापछि, के भयो होला भनेर हामीले रेडियो प्रसारण सुन्यौं। उद्‌घोषकले यसो भने: “कामिकाजे विशेष आक्रमणकारी सेनाको पहिलो शोवा एकाइले किकाइशिमाको पूर्वतिर समुद्रमा शत्रुहरूको जहाजमा फाल हाने। युद्धमा सबैको मृत्यु भयो।”

ओहका—मानव बम

दुई महिनापछि मलाई जिनराई विशेष आक्रमणकारी टोलीको सदस्यको हैसियतमा कोनोइके जलसेना हवाईदलमा खटाइयो। जिनराई भनेको “दैवी मेघ” हो। यो टोलीमा स्थल-हवाईजहाज (आक्रमणकारी भनिने), सुरक्षा टोली र बम वाहकहरू थिए।

प्रत्येक “मुख्य” हवाईजहाज अर्थात्‌ दुइटा इन्जिन भएको आक्रमणकारीमा ओहका झुन्ड्याइएको थियो र यसको अर्थ हो, “पैयुँको फूल।” यसले आफ्नो ज्यान अर्पण गर्न तयार जवान पाइलटहरूको चित्रण गर्थ्यो। ओहका एक जना मात्र बस्न मिल्ने हवाईजहाज थियो र यसको पखेटाको फैलावट ५ मिटर हुनुका साथै वजन ४४० किलोग्राम (९७० पाउण्ड) थियो। यसको नाकमा एक टन बराबरको विष्फोटक राखिएको थियो।

मुख्य हवाईजहाज तारो नजिकै पुग्दा पाइलट ओहका-मा चढ्‌थ्यो र त्यसपछि मुख्य हवाईजहाजबाट छुट्टिन्थ्यो। प्रत्येक १० सेकेण्डसम्म रहने तीनवटा रकेटको मदतले एकछिन कावा खाइसकेपछि यो तारोमा झ्याम्म खस्थ्यो। यसलाई मानव बम पनि भन्‍न सकिन्छ। यो एक चोटि उडाइसकेपछि फर्कने आस थिएन!

अभ्यासको दौडान ओहका पाइलट जिरो फाइटरमा चढेपछि लगभग ६,००० मिटरको उचाइबाट आफ्नो निशानामा झ्याम्म फाल हान्थ्यो। यस्ता अभ्यासको दौडान थुप्रै पाइलटहरूले ज्यान गुमाएको मैले देखें।

म त्यस टोलीमा सामेल गरिनुअघि पहिलो समूह प्रस्थान गरिसकेको थियो। यसमा ओहका-सहितका १८ जना आक्रमणकारी हुनुका साथै १९ वटा सुरक्षा जहाज थियो। यी आक्रमणकारीहरू गह्रौं हुनुका साथै ढिला थिए। तीमध्ये कुनै पनि आफ्नो निशानासम्म पुग्न सकेनन्‌। सबै आक्रमणकारी तथा सुरक्षा जहाजलाई सं.रा.अ.-का लडाकुहरूले आक्रमण गरेर जमिनमा झारे।

सुरक्षा जहाज एउटै बाँकी नभएपछि जिनराई टोली तीविना नै उड्‌न बाध्य भयो। त्यसपछि गएकाहरूमध्ये एउटै पनि फर्केनन्‌। तिनीहरू सबै ओकिनावाको युद्धभूमिमा मरे।

युद्धका अन्तिम दिनहरू

अगस्त १९४५ मा मलाई ओत्सु जलसेना हवाई टोलीमा स्थानान्तरण गरियो। मलाई पठाइएको अड्डा क्योटो शहर नजिकै, हाइजान पहाडको फेदमा थियो। अमेरिकी सैन्यदल जापानको मुख्य भूमिमा ओर्लने हो कि भनेर अमेरिकी जलसेनावाहक जहाजहरूमा ओहका-ले पहाडबाट आत्मघाती आक्रमण गर्ने योजना बनायो। जहाज उडाउनको लागि पहाडको टुप्पामा धावन मार्ग बनाइयो।

हामीले धावन मार्ग छोड्‌ने आदेश पर्खिरह्‍यौं। तर त्यो आदेश हामीकहाँ आउँदै आएन। अगस्त ६ र ९ मा एटम बमले हिरोशिमा र नागासाकी ध्वस्त पारेपछि अगस्त १५ तारिखका दिन जापानले संयुक्‍त राज्य अमेरिका र त्यसका संयुक्‍त सेनालाई विना कुनै शर्त आत्मसमर्पण गऱ्‍यो। आखिरमा युद्धको अन्त भयो। जसो तसो मेरो ज्यान जोगियो।

अगस्तको अन्ततिर म आफ्नो गृहनगर योकोहामा फर्कें तर बी-२९ को बमवर्षाले मेरो घर ध्वस्त भएर खरानी भएको थियो। मेरो परिवार निराशाको भुमरीमा परेको थियो। मेरी दिदी र भान्जाको पनि ज्यान गएछ। तर, हाम्रो कान्छो भाइ सकुशल घर फर्कंदा हामी सबैले ढुक्क महसुस गऱ्‍यौं।

भताभुंग अवस्था अनि अनिकालको वातावरणमा म आफ्नो अध्ययन पूरा गर्न विश्‍वविद्यालय फर्कें। एक वर्ष पढेपछि त्यहाँबाट स्नातक भएर जागिर खाएँ। सन्‌ १९५३ मा मैले मिचिकोसित विवाह गरें अनि हाम्रा दुई जना छोरा भए।

शान्तिको खोज

सन्‌ १९७४ मा मिचिकोले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌। चाँडै उनले सभाहरू धाउन र प्रचारकार्यमा भाग लिन थालिन्‌। धेरै चोटि यसरी घरबाहिर जान थालेकीमा मैले विरोध गरें। उनले मसीही सेवकाईले साँचो शान्ति र आनन्द ल्याउँछ भनेर बताइन्‌। यदि त्यसो हो भने त मैले उनलाई विरोध गर्नुहुँदैन भनेर मनमनै सोच्न थालें। बरु, मैले उनलाई सहयोग गर्नुपर्छ।

यही समयतिर मैले दुई चार जना साक्षी जवानहरूलाई राती सुरक्षा गार्डको रूपमा भर्ती गराएँ। ती जवान साक्षीहरू आउँदा मैले तिनीहरूको संगठन र सेवकाईबारे सोधें। तिनीहरूको उमेरका अरू युवकहरूजस्तो नभएर तिनीहरू आफ्नो काममा एकदमै दत्तचित्त र आत्म-त्यागी देखेर छक्क परें। तिनीहरूले बाइबलबाट ती गुणहरू सिकेका रहेछन्‌। संसारभरिका साक्षीहरूले जातीय भेदभाव राख्दैनन्‌ अनि परमेश्‍वर र आफ्नो छिमेकीलाई प्रेम गर्ने बाइबलको आज्ञाअनुरूप गर्छन्‌ भनेर तिनीहरूले बुझाए। (मत्ती २२:३६-४०) तिनीहरूले आफ्ना सहचरहरू जुनसुकै राष्ट्रियताको भए तापनि सबैलाई भाइ र बहिनी ठान्थे।—यूहन्‍ना १३:३५; १ पत्रुस २:१७.

मैले सोचें, ‘यो त केवल एउटा धारणा हो।’ मसीहीजगत्‌का थुप्रै सम्प्रदायहरूबीच झगडा भइरहेको हुँदा यहोवाका साक्षीहरूमाझ अवस्था अर्कै होला भनेर मैले पत्याउनै सकिनँ।

मैले तिनीहरूलाई आफ्नो मनमा लागेका शंका उपशंकाबारे बताएँ। ती जवान साक्षीहरूले यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज-बाट जर्मनीका साक्षीहरूले हिटलरको शासनमा आफ्नो तटस्थ अडान कायम गरेको हुँदा कसरी थुनिए अनि कतिपय त मारिए भनेर देखाए। मलाई यहोवाका साक्षीहरू साँचो मसीहीहरू हुन्‌ भनेर पक्का विश्‍वास भयो।

त्यतिन्जेल, मेरी श्रीमतीले डिसेम्बर १९७५ का दिन पानीको बप्तिस्माद्वारा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरिन्‌। त्यही अवसरमा मलाई पनि बाइबल अध्ययन गर्ने प्रस्ताव राखियो। तथापि, छोराहरूको स्कूलको खर्च अनि हाम्रो घरको ऋण तिर्नुपर्ने जस्ता कुराहरूको आर्थिक बोझ सम्झेर मैले त्यो कदम चालिनँ। मण्डलीका विवाहित पुरुषहरूले अलि बढी समय निकाल्न जागिरमा छाँटकाँट गरिरहेका थिए। मबाट त्यस्तै आशा गरिन्छ होला भन्‍ने अड्‌कल काटें। तर मसीही जीवन बिताउन जागिरलाई कसरी छाँटकाँट गरेर सन्तुलित जीवन बिताउन सकिन्छ भनी देखाइएपछि मैले बल्ल यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने निधो गरें।

शान्तिको परमेश्‍वरलाई सेवा गर्ने निर्णय

दुई वर्ष अध्ययन गरिसकेपछि मेरो बाइबल अध्ययन सञ्चालकले मैले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नेबारे सोचेको छु कि भनेर सोध्नुभयो। तथापि, मैले त्यो कदम चालिनँ तर कदम नचालेको कारण मेरो मनोशान्ति हरायो।

एक दिनको कुरा हो, म कामपछि हतार-हतार भऱ्‍याङबाट ओर्लंदै थिएँ। म लडें अनि टाउको ठोक्किएर बेहोस भएँ। मेरो होस फर्कंदा मलाई असाध्यै टाउको दुख्यो अनि एम्बुलेन्समा मलाई अस्पताल लगियो। मेरो टाउकोको पछाडिको भाग नराम्ररी सुनिएको थियो तर टाउको फुटेको वा आन्तरिक रक्‍तस्राव केही भएन।

यसरी ज्यान बचेकोमा म यहोवाप्रति साह्रै कृतज्ञ भएँ! त्यल समयदेखि मैले यहोवाको इच्छा गर्ने अनि उहाँलाई आफ्नो जीवन समर्पण गर्ने निधो गरें। जुलाई १९७७ मा ५३ वर्षको उमेरमा मैले बप्तिस्मा लिएँ। मेरो जेठो छोरा यासुयुकीले पनि बाइबल अध्ययन गरेर दुई वर्षपछि बप्तिस्मा लिए।

मैले बप्तिस्मा लिएको दस वर्षपछि आफ्नो कामबाट अवकास लिएँ। त्यस समयको दौडान मैले आफ्नो जागिर र मसीही जीवनलाई सन्तुलनमा राखें। हाल, मैले योकोहामामा प्राचीनको हैसियतमा सेवा गर्ने सुअवसर पाएको छु र मसीही सेवकाईमा पनि धेरै समय बिताउँछु। मेरो जेठो छोरा पनि नजिकैको मण्डलीमा प्राचीन तथा पूर्ण-समय सेवकको हैसियतमा सेवारत छन्‌।

विशेष आक्रमण टोली र यसको खतरनाक कार्यबाट बचेर जीवित हुन पाएकोमा कृतज्ञ छु र “राज्यको यो सुसमाचार” प्रचार गर्ने कार्यमा भाग लिन पाउनुलाई म ठूलो सुअवसर ठान्छु। (मत्ती २४:१४) जीवन बिताउने सर्वोत्तम तरिका परमेश्‍वरका जनको हैसियतमा हिंड्‌नु हो भन्‍ने कुरामा म पूरा विश्‍वस्त छु। (भजन १४४:१५) चाँडै आउने नयाँ संसारमा मानिसहरूले अब उप्रान्त युद्धको सामना गर्नेछैनन्‌ किनभने “एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”—यशैया २:४.

परमेश्‍वरको इच्छा भयो भने, युद्धमा मर्ने मैले चिनेका व्यक्‍तिहरू, जस-जसको पुनरुत्थान हुनेछ तिनीहरू सबैलाई भेट्‌न चाहन्छु। परमेश्‍वरको स्वर्गीय राज्यको अधीनमा पार्थिव प्रमोदवनमा कायम हुने धार्मिक शासनमा आनन्दमय जीवन बिताउने प्रत्याशाबारे कुरा गर्नु औधी रोमाञ्चकारी हुनेछ!—मत्ती ६:९, १०; प्रेरित २४:१५; १ तिमोथी ६:१९. (g02 12/08)

[पृष्ठ १७-मा भएको चित्र]

म जलपोत हवाई अड्डामा हुँदा

[पृष्ठ १७-मा भएको चित्र]

“ओहका”—मानव बम

[स्रोत]

© CORBIS

[पृष्ठ १८-मा भएको चित्र]

खतरनाक अभियानअघि कमरेडहरू। म मात्र बचें, बायाँबाट दोस्रो

[पृष्ठ १९-मा भएको चित्र]

मेरी पत्नी मिचिको र जेठो छोरा, यासुयुकीसित

[पृष्ठ १६-मा भएको चित्रको स्रोत]

U.S. National Archives photo