सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं प्रकृतिमा उद्देश्‍यपूर्ण डिजाइन देख्न सक्नुहुन्छ

तपाईं प्रकृतिमा उद्देश्‍यपूर्ण डिजाइन देख्न सक्नुहुन्छ

तपाईं प्रकृतिमा उद्देश्‍यपूर्ण डिजाइन देख्न सक्नुहुन्छ

फूर्सतको बेला यसो गाउँघरतिर घुम्न जाँदा प्रायजसो हामी प्रकृति कति सुन्दर रहेछ भन्‍ने महसुस गर्छौं। त्यो सुन्दरता फूलका गुच्छामा, रंगीविरंगी चरा, विशाल रूख वा आकर्षक दृश्‍यमा देख्न सकिन्छ। थुप्रै मानिसहरू त्यस्तो सुन्दरताको श्रेय सृष्टिकर्ता वा प्रमुख योजनाकारलाई दिन्छन्‌।

तपाईं प्रकृतिको जटिल डिजाइनहरू वैज्ञानिकहरूले मात्र पत्ता लगाउन सक्छन्‌ भन्‍ने विचार गर्नुहोला।

तथापि, प्रकृतिका डिजाइनहरू ठम्याउन जटिल वैज्ञानिक उपकरणहरूको आवश्‍यकता छैन। तपाईंसित हुनुपर्ने कुरा भनेको तीक्ष्ण आँखा, केही कल्पनाशक्‍ति र त्यसको सुन्दरता तथा आकृतिको मूल्यांकन हो। तपाईंले खासै वास्ता नगर्ने कुनै चिरपरिचित वस्तुलाई पनि गहिरिएर हेर्नुपर्ने हुन सक्छ।

एकदमै सरल डिजाइनमध्ये एउटा हो, गुँडुल्को। यो मानिसले बनाएका सामान्य वस्तुहरू; जस्तै: डोरी अथवा कर्कस्क्रिउमा पनि देख्न सकिन्छ। तथापि, तपाईं सुन्दर गुँडुल्कोहरू सिपी कीरा वा सल्लाको फलमा पनि देख्न सक्नुहुन्छ। अनि तपाईंले सूर्यमुखी फूलको बीचतिर राम्ररी नियाल्नुभयो भने, त्यसमा पनि त्यस्तै प्रकारको ढाँचा देख्न सक्नुहुन्छ। झट्टै नदेखिने गुँडुल्को गुलाब र माकुराको जालोको बीच भागमा पनि सजिएको पाइन्छ।

माकुराको जालोमा राम्ररी नियाल्नुहोस्‌। सर्वप्रथम, माकुराले चक्काको तारजस्तै आधारशिला बनाउँछ। त्यसपछि बीचतिर च्यापच्याप टाँसिने रेसमी धागोले ती रेसाहरूलाई जोड्‌दै लैजान्छ। वृत्ताकारमा घुम्दै माकुरोले जालो बुनी सिद्धयाउँछ। अनि यही बढ्‌दै जाने वृत्ताकार धागोहरू नै गुँडुल्को बन्छन्‌।

प्रकृतिको अर्को आकर्षक नमुना आँखाजस्तै कालो धब्बामा देख्न सकिन्छ। त्यस्ता धब्बाहरू चराको प्वाँख, पुतलीको पखेटा वा माछाका कत्लाहरूमा समेत देख्न सकिन्छ। यस्तो धब्बाले जोडी खोज्न, सिकारीलाई झुक्याउन वा अनावश्‍यक ध्यान नखिच्न मदत गर्छ भनी वैज्ञानिकहरू बताउँछन्‌। तथापि, यस्तो आँखा जस्तै कालो धब्बा भएको जन्तुहरूमा सबैभन्दा प्रख्यात उदाहरण मयूर नै होला अनि यसले जोडी खोज्ने कार्यमा निभाउने भूमिका प्राकृतिक संसारकै आश्‍चर्यहरूमध्ये एक हो। मयूरको सुन्दरताले महान्‌ सिकन्दर पनि असाध्यै मोहित भएका थिए र तिनले आफ्नो राज्यभरि त्यस चराको सुरक्षा गर्नुपर्ने कुरामा जोड दिए।

वृत्ताकार तथा गोलाकार पनि प्रख्यात नमुनाहरू हुन्‌। डुब्न लागेको सुनौलो सूर्य वा पूर्णिमाको जूनको गोलाकार देख्दा हामी त्यसको प्रशंसा नगरी रहन सक्दैनौं। डेजी परिवारका थुप्रै फूलहरूको सूर्यको जस्तै रूप हुन्छ, जसको बीचको भाग पहेंलो हुन्छ र पातहरूचाहिं विभिन्‍न उज्यालो रङका हुन्छन्‌। यो सुनौलो “केन्द्रबिन्दुले” गुलियो रस उत्पादन गर्छ र सुनौलो समुद्रीतटले पर्यटकहरूलाई आकर्षित गरेझैं यसले पुतलीहरूलाई पनि सजिलै आकर्षित गर्छ।

गोलाकार व्यापारिक तवरमा मालसामान पोको पार्न पनि निकै प्रयोग गरिन्छ र फलफूल तथा सानातिना फलहरू पनि विभिन्‍न साइजको गोलाइ र रङमा पाइन्छ। ती फलहरूको चहकिलो रङहरूले चराहरूलाई आकर्षित गर्छन्‌ र मीठो भोजन खाने सुरमा ती चराहरूले यसको बीउ अन्यत्र सार्छन्‌।

हो, प्रकृतिमा पाइने विभिन्‍न प्रकारका ढाँचाहरूमध्ये केही उदाहरणहरू गुँडुल्को, कालो धब्बा, वृत्ताकार र गोलाकार हुन्‌। केहीको विशेष उद्देश्‍य भए तापनि अरूचाहिं सुन्दरता दिने वा भेष बदल्ने काममा प्रयोग हुन्छ। जे भए तापनि, तिनीहरूलाई नियालेर हेर्नुहोस्‌ र आनन्द उठाउनुहोस्‌। (g02 12/08)