सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

म्याग्ना कार्टा अनि स्वतन्त्रताको लागि मानिसको खोज

म्याग्ना कार्टा अनि स्वतन्त्रताको लागि मानिसको खोज

म्याग्ना कार्टा अनि स्वतन्त्रताको लागि मानिसको खोज

बेलाइतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

अत्यन्तै सुन्दर बेलाइती जिल्ला सुरे हुँदै थेम्स नदी बग्छ। यो नदीको किनारको एउटा चौरमा १३ औं शताब्दीको एउटा घटनाको स्मृतिमा कुँदिएको स्मारक छ। यस रन्‍नीमेड भन्‍ने ठाउँमा अंग्रेज राजा जोनले (शासनकाल ११९९-१२१६) शाही तानाशाहका कारण असन्तुष्ट आफ्ना विरोधी, शक्‍तिशाली जमिनदारहरूसित भेटेका थिए। ती जमिनदारहरूले केही खास प्रकारका अधिकार दिएर आफ्नो दुःख कम गराइदिन राजासित माग गरे। तिनीहरूको अत्याधिक दबाबमा परेर राजाले अन्ततः एउटा कागजमा आफ्नो मोहर लगाइदिए जसलाई पछि गएर म्याग्ना कार्टा (महान्‌ बडापत्र) भनेर चिनियो।

“पश्‍चिमेली इतिहासको सबैभन्दा महत्त्वपूर्ण कानुनी कागजात” भनेर यसलाई वर्णन गरिनुको कारण के हो? यसको जवाफले स्वतन्त्रताको लागि मानिसको खोजबारे थुप्रै कुरा प्रकट हुन्छ।

जमिनदारहरूका शर्तहरू

रोमन क्याथोलिक चर्चसित राजा जोनको सम्बन्ध बिग्रिएको थियो। तिनले स्टिफन लाङटनलाई क्यान्टरबुरीको आर्चविशपको रूपमा स्वीकार्न इन्कार गरेर पोप इनोसेन्ट तृतीयको खुलेआम विरोध गरे। परिणामस्वरूप, राजाले चर्चको समर्थन गुमाउनुका साथै बहिकृत हुनुपऱ्‍यो। तथापि, जोनले पुनः मेलमिलाप कायम गर्ने कोसिस गरे। तिनी पोपलाई बेलाइत र आयरल्याण्डका राज्यहरू दिन सहमत भए। पोपले चाहिं राजाले चर्चप्रति भक्‍ति देखाएको आधारमा अनि वार्षिक कर तिरेको आधारमा यी राज्यहरू जोनलाई नै फिर्ता दिए। यसप्रकार जोन, पोपको वशवर्ती राजा भए।

आर्थिक संकटको कारण राजाको समस्या झनै बढ्यो। जोनले आफ्नो १७ वर्षे शासनकालमा जमिनदारहरूमाथि ११ गुणा बढी कर लगाए। चर्चसँगको कलह र आर्थिक विवादहरूले राजा भरपर्दो छैन भन्‍ने धारणा जनमानसमा बढ्‌न थाल्यो। जोनले त्यस्ता समस्याहरू साम्य पार्न खास केही गरेनन्‌।

अन्ततः देशका उत्तरी भागका जमिनदारहरूले थप कर तिर्न नमान्दा कलहले सीमा नाघ्यो। तिनीहरूले लण्डनसम्म विरोध ऱ्‍याली निकालेर राजद्रोह गरे। कुनै ठोस निर्णयमा पुग्न नसकेपछि जमिनदारहरूले नजिकैको शहर स्टेन्जमा शिविर बनाए भने, राजाचाहिं विन्डसरको राजदरबारमा बसे। गोप्यमा सम्झौता गरिसकेपछि ती दुई शहरका मानिसहरू रन्‍नीमेडमा भेला भए। यही ठाउँमा सोमबार, जून १५, १२१५ मा जोनले ४९ वटा शर्त भएको कागजमा मोहर लगाउनुपऱ्‍यो। यसको सुरुमा यस्तो लेखिएको छ: ‘यी धाराहरू राजाले स्वीकृति दिएका जमिनदारहरूका शर्तहरू हुन्‌।’

कानुनले दिएको स्वतन्त्रता

तथापि, जोनका छली अभिप्रायहरू चाँडै नै उदांग हुन थाल्यो। मानिसहरू राजा र पोपको पक्षमा नभएको महसुस गर्दै राजाले तुरुन्तै रोमको पोपकहाँ दूतहरू पठाए। पोपले पनि तुरुन्तै आधिकारिक विज्ञप्ति जारी गरेर रन्‍नीमेडको सम्झौता बदर गरिएको घोषणा गरे। त्यसको लगत्तै इंग्ल्याण्डमा गृहयुद्ध सुरु भयो। यद्यपि, त्यसको अर्को वर्ष अचानक जोनको मृत्यु भयो र तिनको नौ वर्षीय छोरो हेनरीले राजगद्दी आरोहण गरे।

जवान हेनरीका समर्थकहरूले रन्‍नीमेडको उक्‍त सम्झौतालाई पुनः जारी गर्ने प्रबन्ध मिलाए। म्याग्ना कार्टा पुस्तिकाअनुसार यस संशोधित संस्करणलाई “अत्याचारको अन्त गरेर मर्यादित दृष्टिकोण भएका मानिसहरूलाई [राजाको] समर्थनमा ल्याउन हतारपतार पुरानो कानुनी कागजातको ठाउँमा जारी गरिएको थियो।” हेनरीको शासनकालमा यस सम्झौतालाई अरू केही पटक पुनः जारी गरियो। तिनको उत्तराधिकारी एड्‌वार्ड प्रथमले म्याग्ना कार्टालाई अक्टोबर १२, १२९७ मा पुनः एकपल्ट कानुनी मान्यता दिइयो। पछि, त्यसको प्रतिलाई विशेष सार्वजनिक महत्त्वका कागजपत्रहरू राखिने मुठ्ठाहरूमा समावेश गरियो।

त्यस बडापत्रले सम्राट्‌लाई असीमित शक्‍ति दिइएको थिएन। यसमा आफ्ना अधीनमा रहेका जनताजस्तै राजा पनि कानुनको अधीनमा रहनुपर्ने विधान थियो। इंग्ल्याण्डका २० औं शताब्दीका लोकप्रिय प्रधानमन्त्री तथा इतिहासकार विन्सटन चर्चिलका अनुसार म्याग्ना कार्टामा “नियन्त्रण तथा सन्तुलन गर्ने प्रणाली छ र त्यसले राजालाई आवश्‍यक मात्रामा शक्‍ति दिनुका साथै तानाशाह वा मूर्खहरूलाई शक्‍तिको दुरुपयोग गर्नदेखि रोक्न सक्छ।” साँच्चै यी विचारधाराहरू उत्कृष्ट छन्‌! तर सर्वसाधारणको लागि यस कागजले के अर्थ राख्थ्यो? त्यतिबेला यसले खासै केही अर्थ राख्दैनथ्यो। म्याग्ना कार्टामा “स्वतन्त्र मानिसहरूको” अधिकारबारे मात्र वर्णन गरिएको थियो र ती मानिसहरू पनि थोरै संख्यामा रहेका विशेष समुदाय थिए। a

इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार म्याग्ना कार्टा “सुरुदेखि नै दमन विरुद्धको अभियानको प्रतीक बन्यो र प्रत्येक पुस्ताले यसलाई खतरामा परेको आफ्नो स्वतन्त्रताको सुरक्षाको रूपमा लिन थाल्यो।” यसको महत्त्वलाई मनमा राख्दै इंग्ल्याण्डको संसद्‌को हरेक कार्यक्रम म्याग्ना कार्टालाई पछ्याउने बाचासहित सुरु हुने गर्छ।

इंग्ल्याण्डका १७ औं शताब्दीका वकिलहरूले जुरीले गर्ने जाँचबुझ, बन्दी-प्रत्यक्षीकरण, b कानुनी समानता, मनपरी गरिने गिरफ्तारी र संसद्‌को कर नियन्त्रण विरुद्ध हकप्रद लाभहरूको लागि म्याग्ना कार्टालाई नै आधारको रूपमा प्रयोग गर्थे। तसर्थ, बेलाइती राजनीतिज्ञ विलियम पिटको दृष्टिकोणमा म्याग्ना कार्टा ‘अंग्रेज संविधानको प्रमुख आधार’ थियो।

खोज जारी रहन्छ

“विगतमा धेरैपल्ट म्याग्ना कार्टाको संवैधानिक महत्त्व जति हुनुपर्ने भनिएको थियो बडापत्रले त्योभन्दा थोरै महत्त्व दिएको छ” भन्‍ने कुरा इंग्ल्याण्ड तथा वेल्समा सन्‌ १९९६ देखि २००० सम्म प्रधान न्यायाधीशको रूपमा काम गरेका लर्ड बिङघमले स्वीकारेका छन्‌। तैपनि, त्यस बडापत्रका स्वतन्त्रतासम्बन्धी आदर्शहरू पछि अंग्रेजी भाषा बोल्ने संसारमा फैलियो।

पछि सन्‌ १६२० मा अमेरिकामा सबैभन्दा पहिला बसाइँ सरेका अंग्रेजहरूले आफूसितै म्याग्ना कार्टाको एक प्रति पनि लगे। सन्‌ १७७५ मा अमेरिकामा रहेका बेलाइती उपनिवेशहरूले कुनै प्रतिनिधि नपठाईकन उठाइएको करको विरोध गरे। हाल मासाचुसेट्‌स राज्य भनिने ठाउँका मानिसहरूले त्यसरी कर उठाउनु म्याग्ना कार्टाको विपरीत हो भनी घोषणा गरे। वास्तवमा, त्यतिबेला मासाचुसेट्‌समा प्रयोग गरिएको छापमा एक हातमा तरवार र अर्को हातमा म्याग्ना कार्टा बोकेको मानिस कुँदिएको थियो।

भर्खर अस्तित्वमा आउन लागेको राष्ट्रका प्रतिनिधिहरूले संयुक्‍त राज्य अमेरिकाको लागि संविधान तय गर्न भेटघाट गर्दा तिनीहरूले कानुनमा स्वतन्त्रताको सिद्धान्तलाई समर्थन गरे। संयुक्‍त राज्यको नियमावली यसै सिद्धान्तमा आधारित छ। तसर्थ, सन्‌ १९५७ मा म्याग्ना कार्टाको कदर गर्दै अमेरिकन बार एसोसिएसनले रन्‍नीमेडमा यस्तो अक्षर कुँदिएको स्मारक खडा गरे, “स्वतन्त्रतासम्बन्धी कानुनको प्रतीक म्याग्ना कार्टाको सम्झनामा।”

सन्‌ १९४८ मा अमेरिकी राजनीतिज्ञ इलियानोर रुजवेल्टले “सबै ठाउँका मानिसहरूको लागि अन्तरराष्ट्रिय म्याग्ना कार्टा” हुने आशामा संयुक्‍त राष्ट्रसंघको विश्‍वव्यापी मानवअधिकार घोषणापत्र तयार पार्न मदत गरिन्‌। साँच्चै, म्याग्ना कार्टाको इतिहासले मानव परिवार स्वतन्त्रता पाउन कति गहिरो चाह गर्दा रहेछन्‌ भन्‍ने कुरा देखाउँछ। यस्तो आकांक्षाको बावजुद आज थुप्रै राष्ट्रहरूमा आधारभूत मानवअधिकार अझै पनि खतरामा परेको छ। मानव सरकारहरूले बारम्बार आफू मानिसहरूको स्वतन्त्रता सुनिश्‍चित गर्न असक्षम भएको कुरा देखाइसकेका छन्‌। त्यही कारणले गर्दा पनि लाखौं यहोवाका साक्षीहरू एउटा भिन्‍नै प्रकारको सरकारअन्तर्गत पाइने एकदमै उच्च किसिमको स्वतन्त्रताको कदर गरिरहेका छन्‌।

बाइबलले परमेश्‍वरबारे एउटा उल्लेखनीय कुरा बताउँछ: “जहाँ [यहोवाका] आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७) तपाईं पनि परमेश्‍वरको राज्यमा पाइने स्वतन्त्रताबारे जान्‍न इच्छुक हुनुहुन्छ भने, अर्कोपल्ट यहोवाका साक्षीहरू तपाईंलाई भेट्‌न आउँदा तिनीहरूलाई यसबारे सोधे कसो होला? तपाईंले पक्कै पनि रोचक अनि स्वतन्त्र तुल्याउने जवाफ पाउन सक्नुहुनेछ। (g02 12/22)

[फुटनोटहरू]

a “सन्‌ १२१५ मा ‘स्वतन्त्र मानिस’ भन्‍ने शब्दको अर्थ सीमित थियो भने, सत्रौं शताब्दीसम्ममा यसले हरेक व्यक्‍तिलाई समेट्यो।”—हिस्ट्री अफ वेस्टर्न सिभिलाइजेशन।

b “बन्दीलाई हाजिर गराऊ” भन्‍ने अर्थ लाग्ने ल्याटिनबाट लिइएको यस बन्दी-प्रत्यक्षीकरणको रिट एउटा कानुनी पत्र हो, जसले कुनै व्यक्‍तिलाई हिरासतमा राख्नुको वैधता गर्ने आदेश दिन्छ।

[पृष्ठ १३-मा भएको पेटी/चित्र]

महान्‌ बडापत्र

म्याग्ना कार्टाको (“महान्‌ बडापत्र”-को ल्याटिन रूप) सुरुवात “जमिनदारहरूका लागि धाराहरूको” रूपमा भएको थियो। सुरुमा ४९ वटा धारा भएको यस बडापत्रलाई राजा जोनले मोहर लगाएका थिए। त्यसको केही दिनभित्र यसमा वृद्धि भएर ६३ वटा धारा भयो र त्यस कागजातलाई राजाले फेरि मोहर लगाए। यसलाई सन्‌ १२१७ मा पुनः कानुनी मान्यता दिइँदा यसमा एउटा सानो बडापत्र पनि थपियो, जसमा वनसम्बन्धी कानुन पाइन्छ। तैपनि, यसलाई म्याग्ना कार्टाकै धाराको रूपमा लिइन्छ।

यी ६३ वटा शर्तहरू नौ समूहमा विभाजित छन्‌। तीमध्येका केही भाग जमिनदारहरूले गरेको उजुरी, नियम कानुन सुधार र चर्चको स्वतन्त्रतासित सम्बन्धित छन्‌। अंग्रेज नागरिकहरूको स्वतन्त्रताको ऐतिहासिक आधार ३९ औं धारामा यस्तो लेखिएको छ: “कुनै पनि स्वतन्त्र मानिसलाई गिरफ्तार गर्न, थुनामा राख्न अथवा उसको हक वा जायजेथाबाट बेदखल गर्न वा कानुनी रूपमा बहिष्कृत गर्न तथा निर्वासनमा पठाउन वा कुनै पनि तरिकामा उसको मानमर्यादामा ठेस पुऱ्‍याउन पाइँदैन अनि कानुनी न्यायले दिएभन्दा बढी सजाय दिने वा त्यस देशको नियमले दिएभन्दा बढी शक्‍ति प्रयोग गर्ने वा गर्न पठाउनेछैनौं।”

[चित्र]

पृष्ठभूमिमा: म्याग्ना कार्टाको तेस्रो संशोधन

[स्रोत]

By permission of the British Library, 46144 Exemplification of King Henry III’s reissue of Magna Carta 1225

[पृष्ठ १२-मा भएको चित्र]

राजा जोन

[स्रोत]

From the book Illustrated Notes on English Church History (Vols. I and II)

[पृष्ठ १२-मा भएको चित्र]

राजा जोनले आफ्नो राजमुकुट पोपका दूतलाई समर्पण गर्दै

[स्रोत]

From the book The History of Protestantism (Vol. I)

[पृष्ठ १३-मा भएको चित्र]

राजा जोन आफ्ना जमिनदारहरूसित भेटेर म्याग्ना कार्टामा मोहर लगाउन सहमत हुन्छन्‌, सन्‌ १२१५

[स्रोत]

From the book The Story of Liberty, 1878

[पृष्ठ १४-मा भएको चित्र]

इंग्ल्याण्डको रन्‍नीमेडस्थित म्याग्ना कार्टा स्मृति

[स्रोत]

ABAJ/Stephen Hyde

[पृष्ठ १२-मा भएको चित्रको स्रोत]

Top background: By permission of the British Library, Cotton Augustus II 106 Exemplification of King John’s Magna Carta 1215; King John’s Seal: Public Record Office, London