सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

सुस्वास्थ्यको लागि—हाँस्नुहोस्‌!

मिजासिलो हाँसोले कुनै व्यक्‍तिलाई खुसी बनाउने मात्र गर्दैन। जापानका केही चिकित्सकहरूको भनाइअनुसार यसले इन्डोक्राइन, स्नायु र रोग प्रतिरक्षा प्रणालीमा भएका असन्तुलनहरूलाई ठीक पनि गर्छ, मुटुको धड्‌कन तथा श्‍वासप्रश्‍वासलाई स्थिर बनाउँछ र बाथका रोगीहरूलाई केही क्षणका लागि भए पनि राहत दिन सक्छ। हाँसोले सिम्प्याथेटिक स्नायुहरूमा उत्तेजना पैदा गर्छ, जसको कारण मांसपेशीहरूमा रक्‍तप्रवाहको मात्रा बढ्‌नुका साथै दिमागको गतिविधि पनि बढ्‌छ। मन खोलेर हाँस्दा हाम्रा मांसपेशीहरूको कसरत पनि हुन्छ। आई एच टी आसाही शिम्बुन अखबारमा उल्लेख गरिएको एउटा परीक्षणअनुसार, “उत्तानो परेर सुतेको मानिसले कम्मरदेखि माथिको भाग उठाउँदा उसको पेटमा जति दबाब पर्छ,” हाँस्दै गरेको व्यक्‍तिको पेटका मांसपेशीहरूमा पनि त्यति नै दबाब परेको पाइयो। ओसाकाका मानसिक चिकित्सक मिचिओ तानाकाले हाँस्दा प्राप्त हुने लाभदायी नतिजाको प्रशंसा गरे। तानाकाको भनाइअनुसार “यो कुनै प्रतिकूल असर नपार्ने प्रभावकारी ओखती हो।” (g02 12/08)

“चिकित्सक” पशुहरू

“जंगली जनावरहरूले आफ्नो औषधोपचार आफै गर्न सक्छन्‌ र तिनीहरूले यसो गर्छन्‌ भन्‍ने कुरा जनावरको बानीबेहोरासम्बन्धी अध्ययन गर्ने थुप्रै विशेषज्ञहरू बताउँछन्‌” भनी लण्डनको दी इकोनोमिस्ट रिपोर्ट गर्छ। तान्जानियाका चिम्पान्जीहरूलाई जुका पर्दा, तिनीहरू जुका मार्ने रसायनयुक्‍त एक प्रकारको बोटको गुदी खान्छन्‌। अनि अफ्रिकाभरिकै चिम्पान्जीहरू खस्रो खालको पात खान्छन्‌, जसले आन्द्रामा टाँसिएर बसेका जुकाहरूलाई तुरुन्तै हटाउँछ। विषाक्‍त क्षारयुक्‍त बियाँ खाने मकाउ भनिने एक प्रकारका सुगाहरूले पनि आफूले खाएको खानामा भएको विषको असरलाई निस्तेज पार्न माटो खान्छन्‌। आन्द्रामा हुने परजीवीहरूबाट आफूलाई सुरक्षित राख्न अलास्काका खैरो भालु, क्यानाडाका हिमहाँस र ब्वाँसाहरू सबैले नै बोटबिरुवा खान्छन्‌। थुप्रै जंगली जनावरहरूमा गरिएको रक्‍त परीक्षणले देखाएअनुसार प्राकृतिक बासस्थानमा रहँदा भाइरस तथा ब्याक्टेरियाका गम्भीर संक्रमणहरूले समेत तिनीहरूमध्ये थुप्रैको ज्यान लिन सकेन, जब कि खोरमा थुनेर राखिएका जनावरहरूको लागि यो मृत्युजन्य साबित हुन सक्थ्यो। दी इकोनोमिस्ट बताउँछ, “जंगली जनावरहरूले आफूलाई स्वस्थ राख्नको लागि खोरमा थुनेर राखिएका जनावरहरूले गर्न नसक्ने काम गर्न सक्छन्‌ भनी यस्ता अवलोकनहरूले देखाउँछन्‌।” (g02 12/08)

प्रमुख हत्यारा

“एड्‌स-ले इतिहासको सबैभन्दा खतरनाक रूढी भनेर चिनिने ब्ल्याक डेथलाई ओझेलमा पार्नै आँटेको छ” भनी न्यु साइन्टिस्ट बताउँछ। “चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको ब्ल्याक डेथले लगभग चार करोड मानिसको ज्यान लियो। अहिले, लगभग ७०० वर्षपछि त्यो इतिहास फेरि दोहोरिंदैछ।” ब्रिटिश मेडिकल जर्नल-को रिपोर्टअनुसार यस दशकको अन्तसम्ममा एच आई भी-ले लगभग ६.५ करोड मानिसको ज्यान लिइसकेको हुनेछ। अहिले थुप्रै मानिसहरू क्षयरोग वा औलोद्वारा प्रभावित भए तापनि यसको आर्थिक तथा सामाजिक असर एड्‌सको जत्तिको भयावह हुँदैन भनिन्छ। (g02 12/08)

“मुटुभरि माया —दिमाग भने रित्तो”

जर्मन साप्ताहिक डि भोके-अनुसार व्यावसायिक पत्र लेखकहरूद्वारा लिखित प्रेमपत्रको माग बढ्‌दो छ। आफ्ना भावनाहरूलाई शब्दमा उतार्न नसक्नेहरूलाई सेवा शुल्क लिएर मदत गर्ने लेखनदासहरू थुप्रै छन्‌। ग्राहकको अनुरोधअनुसार पत्रमा प्रयोग गरिएका शब्दहरू भावुक वा औपचारिक दुवै प्रकारका हुन सक्छन्‌। कविताहरू पनि उपलब्ध छन्‌ तर पहिला यसको मोल मिलाउनुपर्छ। अर्काको लागि प्रेमपत्र लेखिदिने व्यक्‍तिहरू भिन्‍नाभिन्‍नै किसिमका हुन्छन्‌। कतिपय व्यक्‍तिहरू व्यावसायिक लेखक तथा पत्रकारहरू हुन्‌ भने, अरूचाहिं सोखको रूपमा प्रेमपत्र लेख्छन्‌। कोही-कोहीले अन-लाइन प्रश्‍नावली पनि उपलब्ध गराउँछन्‌ र यसको आधारमा कम्प्युटरले नै पत्र तयार गरिदिन्छ। तर जुनसुकै तरिका अपनाए तापनि सफलता हात लाग्छ भनेर ठोकुवा गर्न भने सकिंदैन। तीन वर्षसम्म “हृदयस्पर्शी प्रस्ताव तथा वाचाहरू बाँध्दा” पनि एक जना लेखनदासको वफादार ग्राहकले आफ्नी प्रेमिकालाई आफूसँग विवाह गर्नको लागि मनाउन सकेको छैन। (g02 12/08)

आफ्नो ढाडको ख्याल गर्नुहोस्‌!

“अप्ठ्यारो गरी बस्दा, धेरै मोटाउँदा र पर्याप्त व्यायाम नगर्दा हाम्रो मेरुदण्ड बिस्तारै खिइँदै जान्छ” भनी स्पेनी अखबार एल पाइस सिमनाल बताउँछ। विकसित देशका लगभग ८० प्रतिशत जनसंख्यामा तिनीहरूलाई जीवनको कुनै न कुनै समयमा ढाड दुख्ने समस्या हुन्छ। विशेष गरी मेरुदण्डसम्बन्धी समस्याहरूको उपचार गर्ने स्पेनको कोभाक्स क्लिनिकले ढाड दुख्न नदिन वा दुखाइ कम गर्न हामीले सजिलोसँग उठबस गर्न सिक्नुपर्छ भन्‍ने सल्लाह दिन्छ। यसका लागि केही सरल उपायहरू हुन्‌: ढाड सीधा हुने गरी कोल्टे परेर सुत्नुहोस्‌। बस्नुहुँदा कुर्सिमा अडेस लागेर बस्नुहोस्‌। कम्प्युटरमा काम गर्नुहुँदा आफ्नो कुमलाई यसको स्वाभाविक अवस्थामा राख्नुहोस्‌। निहुरिन पर्दा ढाडबाट घोप्टो पर्नुको सट्टा घुँडा खुम्च्याएर निहुरिनुहोस्‌। अनि लामो समयसम्म उभिनुपर्ने छ भने, एउटा खुट्टा स्टुल वा सिंढीमाथि राखेर आफ्नो शरीरको भार एउटा खुट्टामा मात्र पार्नुहोस्‌। (g02 12/08)

रद्दी मालसामानलाई सुनमा परिवर्तन गर्ने

जापानको एउटा खानी कम्पनीले बहुमूल्य धातुहरू निकाल्ने अझ सजिलो र मुनाफादायी तरिका पत्ता लगाएको छ। धाउ खोज्न थुप्रो समय र पैसा खर्च गर्नुको सट्टा आकिटा क्षेत्रमा अवस्थित एउटा स्मेल्टिङ तथा रिफाइनिङ कम्पनीले यस्ता बहुमूल्य धातुहरू प्राप्त गर्नको लागि फ्याँकिएका मोबाइल फोन र कम्प्युटरका टुक्राटाक्रीहरू पगाल्दैछ भनी टोकियोको अखबार आई एच टी आसाही शिम्बुन रिपोर्ट गर्छ। कम्पनीका अध्यक्षको भनाइअनुसार “ब्याट्री नभएका १ टन फ्याँकिएको मोबाइल फोनबाट सयौं ग्राम सुन प्राप्त हुन सक्छ।” खनिज पदार्थ निकाल्ने परम्परागत विधि प्रयोग गरेर धाउबाट धातुहरू निकाल्नुभन्दा यस “शहरी खानी”-बाट हुने उत्पादन प्रति टन लगभग १० गुणा बढी हुन सक्छ। साथै, परम्परागत विधिको सट्टा यो नयाँ तरिकाबाट उत्पादन गर्न थप यन्त्रहरू किनिरहनु पर्दैन किनकि मोबाइल फोनबाट सुन निकाल्ने तरिका धाउबाट धातुहरू निकाल्ने तरिकासँग मिल्दोजुल्दो छ। (g02 12/22)

चिस्याउने प्राकृतिक पदार्थ

जर्मनीको एउटा अनुसन्धान टोलीले मेन्थोलको प्रयोग गर्दा भन्दा ३५ गुणा बढी चिस्याउने क्षमता भएको एक प्रकारको प्राकृतिक रसायन फेला पारेको छ र यो प्रयोग गरेर चिस्याउँदा, चिस्याइएको वस्तुमा चिस्याउने पदार्थको कुनै स्वाद बाँकी रहँदैन। बियर तथा ह्विस्कीमा प्राकृतिक रूपमै पाइने यो रसायन, म्युनिख नजिकैको गार्किङ्‌मा अवस्थित जर्मन रिसर्च सेन्टर फर फुड केमिस्ट्रीमा पत्ता लागेको हो। यस अनुसन्धान टोलीका निर्देशक थोमस होफ्मानको भनाइलाई न्यु साइन्टिस्ट पत्रिका यसरी उद्धृत गर्छ: “यसले बियर, बोतलको पानी, अमिलो फलफूलको रस, चक्लेट र गुलियो खानेकुराहरूदेखि लिएर थुप्रै उत्पादनहरूमा चिसो र ताजा स्वाद थप्न सक्छ।” अनि यसलाई पुदिनाको घोलभन्दा २५० गुणा पातलो घोल बनाउँदा समेत यसले छालालाई चिसो बनाउने भएकोले यसलाई श्रृंगार सामग्री वा छालामा लगाउने मलहममा मिसाउन सकिन्छ। (g02 12/22)

मल तथा असाधारण कीटाणुहरू

“पाल्तु पशुहरूलाई खुवाइएको एन्टिबायोटिकको अत्यधिक मात्राले युरोपका खेतहरू प्रदूषित भएका छन्‌” भनी न्यु साइन्टिस्ट पत्रिका रिपोर्ट गर्छ। पाल्तु पशुहरूलाई हलक्क बढाउन तथा रोगबाट बचाउन युरोपेली राष्ट्रहरू तथा संयुक्‍त राज्य अमेरिकामा, तिनीहरूलाई हरेक वर्ष १०,००० टनभन्दा पनि बढी एन्टिबायोटिक खुवाइन्छ। “तर हालसालै गरिएको अध्ययनले पशुहरूलाई खुवाउने औषधीको बढ्‌दो प्रयोग र मानिसहरूलाई असर गर्ने एन्टिबायोटिक प्रतिरोधात्मक कीटाणुहरूबीच प्रत्यक्ष सम्बन्ध भएको कुरा पत्ता लगाएको छ” भनी उक्‍त पत्रिका बताउँछ। “खेतमा मल छर्दा, यसमा भएको औषधी हाम्रो खाना र पानीमा पर्न सक्छ . . . [र यसले] हामीले खाने अनाज प्रदूषित पार्छ” भनी न्यु साइन्टिस्ट बताउँछ। (g02 12/22)

हजुरबुबा तथा हजुरआमालाई “गोद लिने”

स्पेनका केही परिवारहरूले कोही पनि नातेदार नभएका ६६ जना वृद्ध-वृद्धाहरूलाई “गोद लिने” प्रबन्ध मिलाएका छन्‌ भनी स्पेनी अखबार एल पाइस रिपोर्ट गर्छ। “यस कार्यक्रमको लक्ष्य भनेको . . . अरूको सहाराविना बाँच्न नसक्नेहरूलाई वृद्धाश्रमको विकल्प उपलब्ध गराउनु हो” भनेर उक्‍त अखबार बताउँछ। वृद्ध-वृद्धाहरूलाई आफूसँग राख्न इच्छुक निवेदकहरूमा उमेर पाकेकाहरूसँग बस्न रुचाउने, ५० वर्ष नाघिसकेका दम्पतीहरू पनि छन्‌। साना बच्चाहरू भएका परिवारहरूले घरमा हजुरबुबा वा हजुरआमा चाहेको कुरा बताए। गोद लिने परिवारहरूले केही रकम पाउने भए तापनि “तिनीहरूले गोद लिनुको मुख्य कारण पैसा होइन” भनी यस कार्यक्रमका महानिर्देशक मारिसा मून्योस-काबालेरो बताउँछिन्‌। “यदि त्यसो हो भने त तिनीहरू चाँडै नै वाक्क हुनेथिए किनकि वृद्ध-वृद्धाहरूको स्याहार गर्नु कुनै चानचुने कुरा होइन।” (g02 12/22)

रिसले तपाईंलाई मार्न सक्छ

“रिसाहा मानिसलाई मस्तिष्कघात हुने सम्भावना धेरै हुन्छ” भनी स्पेनी अखबार डिआर्यो मेडिको बताउँछ। आक्रमक बानीबेहोराले मुटुसम्बन्धी रोग बढाउँछ भनी चिकित्सकहरूले धेरै समयअघिदेखि भन्दै आएका छन्‌। यस्तो बानीले मस्तिष्कघातको खतरा पनि बढाउँछ भन्‍ने कुरा हालसालै गरिएको अनुसन्धानले देखाएको छ। चौध हजार वयस्कहरूमा गरिएको एउटा सर्वेक्षणमा, ६० वर्षभन्दा कम उमेरका रिसाहा मानिसहरूलाई मस्तिष्कघात हुने खतरा तीन गुणा बढी भएको पाइयो। किन? रिसले रक्‍तचाप “एकदमै बढाउन,” रक्‍तनलीहरू खुम्चाउन र रगत जमाउने पदार्थको मात्रा वृद्धि गराउन सक्छ जस्तो देखिन्छ, जसको कारण “समयमा यसले मस्तिष्कको रक्‍तसञ्चारमा असर गर्न सक्छ” भनी उक्‍त रिपोर्ट बताउँछ। (g02 12/22)