सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई कसैले नियालिरहेको छ?

के तपाईंलाई कसैले नियालिरहेको छ?

के तपाईंलाई कसैले नियालिरहेको छ?

हरेक दिन काममा आइपुग्दा एलिजाबेथको हरेक चाल क्यामराले नियालिरहेको हुन्छ। भवनमा प्रवेश गर्ने बित्तिकै एउटा क्यामराले उनको मुहारमा फोकस गर्छ। दिनभरि अरू थुप्रै क्यामराहरूले उनीमाथि निरन्तर कडा निगरानी राख्छ। उनीमाथि यत्तिको निगरानी राख्नुको कारण हामी बुझ्न सक्छौं किनभने उनी दिनहुँ लाखौं डलरको कारोबार हुने कम्पनीमा काम गर्छिन्‌।

एलिजाबेथलाई काममा कडा निगरानी गरिनेछ भनेर थाह छ; उनले जागिर खाँदा नै यी सबै कुरा स्पष्ट गरिएको थियो। तथापि, अरू करोडौं मानिसहरूको लागि भने कत्तिको निगरानी गरिनेछ भनेर स्पष्टसित बताइएको हुँदैन।

कडा निगरानीमा राखिने समाजमा जीवन

के जागिरमा तपाईंमाथि निगरानी गरिन्छ? संसारभरि लाखौं कामदारहरूले काम गर्दागर्दै इन्टरनेट तथा इमेल कत्तिको प्रयोग गर्छन्‌ भनेर सुपरिवेक्षण गरिन्छ। अमेरिकन म्यानेजमेन्ट एसोसिएसनको सन्‌ २००१ को वार्षिक सर्वेक्षणअनुसार “ठूल-ठूला अमेरिकी फर्महरूमध्ये झन्डै तीन चौथाइले (७३.५%) . . . आफ्ना कामदारहरूले कामको दौडान गर्ने गतिविधिहरू निरीक्षण गरेर रेकर्ड राख्छन्‌, जस्तै फोनको प्रयोग, इमेल, इन्टरनेट कनेक्सन र कम्प्युटर फाइलहरू।”

सरकारले सुपरिवेक्षण उपकरणहरूमा करोडौं डलर लगानी गर्छ। जुलाई ११, २००१ मा युरोपेली संसदलाई बुझाइएको प्रतिवेदनअनुसार “अमेरिका, बेलाइत, क्यानाडा, अस्ट्रेलिया र न्युजील्यान्डमा . . . एकअर्काको साझेदारीमा सञ्चारमाध्यमको बीचैबाट अरूको कुरा सुन्‍ने विश्‍वव्यापी प्रणाली सञ्चालन भइरहेको छ।” एकेलोन भनिने भूउपग्रह रिसिभर स्टेशनको विश्‍वव्यापी नेटवर्कद्वारा भूउपग्रहमार्फत प्रसारण गरिएका टेलिफोन, फ्याक्स, इन्टरनेट तथा इ-मेल सन्देशहरू बीचैबाट सुनेर सुपरिवेक्षण गर्न सकिन्छ। अस्ट्रेलियन भन्‍ने अखबारले दाबी गरेअनुसार सरकारहरूले यस्तो प्रणाली अपनाउँदा “खास-खास फ्याक्स तथा इमेलहरू छुट्याउन सकिन्छ अनि कुनै खास आवाज चिन्‍न प्रोग्राम गरिएको छ भने ती मानिसहरूले गरेको फोन कल पनि छुट्याउन सकिन्छ।”

नियम लागू गराउने निकायहरू पनि आधुनिक सुपरिवेक्षण प्रविधिमा भर पर्छन्‌। संयुक्‍त राज्य अमेरिकामा बिजनेस वीक भन्‍ने पत्रिकाले रिपोर्ट गरेअनुसार एफ बिआई-सित कार्निभोर भन्‍ने प्रविधि छ र यो “इमेल, थुप्रैलाई प्रसारण गरिएको सन्देश र डिजिटल फोनको आदानप्रदानमाथि सुपरिवेक्षण गर्न” प्रयोग गरिन्छ। त्यतिन्जेल, बेलाइतमा पारित नयाँ नियमले ती नियम लागू गराउने निकायहरूलाई गोप्य तवरले “फोन, फ्याक्स मेसिन र इन्टरनेट प्रयोग गरिरहेका हजारौं मानिसहरूको सुपरिवेक्षण गर्न सक्षम बनाउने” भनी बि बि सि न्युज रिपोर्ट गर्छ।

गोप्य क्यामरा तथा विस्तृत तथ्यांक

फोन, फ्याक्स वा इमेलद्वारा कुराकानी नगरेको बेलामा पनि तिनको सुपरिवेक्षण भइरहेको हुन सक्छ। अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रान्तमा रेल प्रयोग गर्ने मानिसहरूलाई ५,५०० वटा क्यामराले सुरिवेक्षण गरिरहेका हुन्छन्‌। त्यही प्रान्तमा सरकारद्वारा सञ्चालित १,९०० वटा बसमा सुपरिवेक्षण क्यामराहरू जडान गरिएका छन्‌।

प्राप्त प्रमाणअनुसार प्रति व्यक्‍तिको हिसाब गर्दा बेलाइतमा सबैभन्दा बढी सुपरिवेक्षण क्यामराहरू छन्‌ अर्थात्‌ एउटा अध्ययनअनुसार प्रत्येक ५५ जनाको लागि एउटा क्यामरा। सन्‌ १९९६ मा संयुक्‍त अधिराज्यको केवल ७४ वटा शहरका सार्वजनिक स्थलहरूमा सुपरिवेक्षण क्यामरा जडान गरिएको थियो। सन्‌ १९९९ सम्म ५०० वटा शहरमा त्यस्ता उपकरणहरू जडान भइसकेका थिए। नयाँ कम्प्युटर प्रोग्रामहरू सुपरिवेक्षण क्यामरासित मिलाएर बनाइएको छ र यसो गर्दा एयरपोर्ट वा सार्वजनिक ठाउँको हुलमुलमा भए तापनि खास व्यक्‍तिको अनुहार चिन्‍न सकिन्छ।

तपाईंले चालै नपाई तपाईंको निजी जीवनको सुपरिवेक्षण अहिले जति पहिला कहिल्यै भएको थिएन। मानव अधिकार समूह प्राइभसी इन्टरनेशनलका निर्देशक, साइमन डेभिस यसो भन्छन्‌: “आम जनताबारे अहिले जति जानकारी मानव इतिहासमा पहिला कहिल्यै संकलन गरिएको थिएन होला। विकसित मुलुकको साधारण वयस्क जो सामान्य आर्थिक कारोबारमा संलग्न छन्‌, तिनीबारे ४०० वटा प्रमुख तथ्यांक केन्द्रमा जानकारी संकलन गरिएको हुन्छ र यो प्रत्येक व्यक्‍तिको लागि सन्दर्भ सामग्रीसहितको विशाल जानकारी प्रशोधन गर्न पर्याप्त छ।”

तपाईंले आफ्नो गोपनीयतालाई जोगाउन कस्तो कदम चाल्न सक्नुहुन्छ? (g03 1/22)