के मसीहीहरू गरिब हुनैपर्छ?
बाइबलको दृष्टिकोण
के मसीहीहरू गरिब हुनैपर्छ?
येशूले एक चोटि एक जना धनी शासकलाई आफ्नो जे जति छ बेचेर गरिबहरूलाई दिनू भन्नुभयो। विवरणअनुसार, येशूको यो कुरा सुनेपछि त्यो मानिस दुःखित भए “किनभने त्यो धेरै धन-सम्पत्ति भएको मानिस थियो।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “धनीहरू कस्तो कठिनसँग परमेश्वरको राज्यभित्र पस्छन्!” अनि येशूले थप यसो भन्नुभयो: “धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुनेछ।”—मर्कूस १०:२१-२३; मत्ती १९:२४.
येशूले के भन्न खोज्दै हुनुहुन्थ्यो? के धन र साँचो उपासना आपसमा नमिल्ने कुरा हुन्? कोही मसीहीसँग धन छ भने के तिनले दोषी महसुस गर्नुपर्छ? के परमेश्वर तिनीहरूले जोगीको जस्तो जीवन बिताएको चाहनुहुन्छ?
परमेश्वरले “सबै मानिसहरू[लाई]” स्वागत गर्नुहुन्छ
पुरातन समयमा इस्राएलीहरूले गरिबीमा जीवन बिताओस् भन्ने परमेश्वरले चाहनुभएन। विचार गर्नुहोस्: तिनीहरूलाई छुट्याइएको जमिन पाएपछि मानिसहरू आफू र आफ्ना प्रियजनहरूको लागि खेतीपाती र व्यापारमा संलग्न भए। आर्थिक अवस्था, स्वास्थ्य वा व्यापार गर्ने क्षमताजस्ता कुराहरूले तिनीहरूको सफलता प्रभावित हुन्थ्यो। मोशालाई दिइएको व्यवस्थाले इस्राएलीहरूलाई कसैले आर्थिक नोक्सानी भोगेकोले गरिब भएको छ भने अनुकम्पा देखाउने निर्देशन दिइएको थियो। (लेवी २५:३५-४०) अर्कोतर्फ, कोही-कोही धनी भए। येशू ख्रीष्टको पुर्खा भएका विश्वासी तथा निष्ठावान् बोअज “हुनेखाने कुटुम्ब” थिए भनी व्याख्या गरिएको छ।—रूथ २:१.
येशूको जीवनकालमा पनि अवस्था त्यस्तै थियो। सुरुमा उल्लेख गरिएको धनी व्यक्तिसँग कुरा गर्दा येशूको मनसाय जोगीको जस्तो जीवन शैलीलाई बढवा दिनु थिएन। बरु, उहाँले महत्त्वपूर्ण पाठ सिकाइरहनुभएको थियो। मानव दृष्टिकोणबाट हेर्दा, धनी मानिसले नम्रता देखाउनु र मुक्तिको लागि परमेश्वरले प्रबन्ध गर्नुभएको माध्यम स्वीकार्नु असम्भव जस्तो देखिन्छ। यद्यपि येशूले यस्तो भन्नुभयो: “मानिसहरूबाट ता यो असम्भव छ, तर परमेश्वरबाट सबै कुरा सम्भव छ।”—प्रथम शताब्दीको मसीही मण्डलीले “सबै मानिसहरू[लाई]” स्वागत गऱ्यो। (१ तिमोथी २:४) यसमा केही सम्पन्न जीवन बिताइरहेका धनीहरू र थुप्रै गरिबहरू थिए। कोही-कोही व्यक्तिविशेषले मसीही हुनुअघि धन कमाएको हुन सक्छ। अरू कतिको चाहिं उपयुक्त परिस्थिति र व्यापारमा बुद्धिमानी निर्णयको कारण पैसा आर्जन भएको हुन सक्छ।
त्यस्तै गरी आज पनि मसीही भ्रातृत्वमा विभिन्न आर्थिक परिस्थिति भएका व्यक्तिहरू छन्। तिनीहरू सबै पैसासम्बन्धी बाइबलको निर्देशन पछ्याउने प्रयास गर्छन् किनभने भौतिकवादले सबैलाई असर गर्न सक्छ। जवान धनी शासकसम्बन्धी येशूले सिकाउनुभएको शिक्षाले प्रत्येक मसीहीहरूलाई पैसा र धनसम्पत्तिले कस्तो बलियो गरी पक्रन सक्छ भनी सावधान गराउँछ।—मर्कूस ४:१९.
धनीहरूको लागि चेतावनी
बाइबलमा धनको होइन तर रुपैयाँ पैसाको प्रेमको निन्दा गरिएको छ। बाइबल लेखक पावलले यस्तो लेखे: “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो।” धनी हुने लालसामा कसै-कसैले आध्यात्मिक कुराहरू त्याग्दा ‘विश्वासबाट कुमार्गमा तर्केका र धेरै दुःखले तिनीहरूका हृदय छेंडेको’ तिनले टिप्पणी गरे।—१ तिमोथी ६:१०.
चाखलाग्दो कुरा के हो भने, पावलले धनीहरूको लागि खास निर्देशन दिए। तिनले यसो भने: “यस वर्त्तमान संसारका धनीहरूलाई कडा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्, र अनिश्चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्वरमाथिनै आशा राखून्।” (१ तिमोथी ६:१७) प्राप्त प्रमाणअनुसार धनीहरू घमण्डी हुने र आफूलाई अरूभन्दा श्रेष्ठ ठान्ने खतरा धेरै हुन्छ। साथै, धनले साँचो सुरक्षा दिन्छ भन्ने सोचाइ राख्न पनि तिनीहरू लालायित हुन सक्छन् तर यो परमेश्वरले मात्र प्रदान गर्न सक्नुहुने कुरा हो।
सम्पन्न मसीहीहरू “असल काममा . . . धनवान” भएर यी खतराहरूबाट बच्न सक्छन्। यी कामहरूमा “उदारचित्त भएर . . . बाँडचुड गर्नामा तत्पर” अर्थात् खाँचोमा परेकाहरूलाई उदार भई मदत गर्नु समावेश छ। (१ तिमोथी ६:१८) धनी र गरिब सबै मसीहीहरूले आफ्नो सम्पत्तिको केही भाग परमेश्वरको राज्यको सुसमाचार फैलाउन प्रयोग गर्न सक्छन् जुन आज साँचो मसीहीहरूको लागि प्रमुख चिन्ताको विषय हो। यस्तो उदार मनोभावले धनसम्पत्तिप्रति उचित मनोवृत्ति प्रकाश पार्छ र खुसीसाथ दिनेहरूलाई प्रेम गर्नुहुने यहोवा परमेश्वर र येशू ख्रीष्टतर्फ मानिसहरू आकर्षित हुनेछन्।—मत्ती २४:१४; लूका १६:९; २ कोरिन्थी ९:७.
उत्तम कुराहरू
स्पष्टतः मसीहीहरू गरिब हुनैपर्छ भन्ने होइन। नता तिनीहरूले “धनी हुने इच्छा” गर्नु उचित हो। (१ तिमोथी ६:९) तिनीहरू केवल आफ्नो जीवन धान्न पुग्दो पैसा कमाउन परिश्रम गर्छन्। विभिन्न पक्ष तथा तिनीहरू बस्ने आर्थिक व्यवस्था अन्तर्गत विभिन्न किसिमको सफलता हासिल गर्न सक्छन्।—उपदेशक ११:६.
तिनीहरूको आर्थिक अवस्था जस्तोसुकै भए तापनि मसीहीहरूले ‘जे उत्तम छ त्यो खुट्याउनु पर्छ।’ (फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण) आध्यात्मिक कुराहरूलाई प्रथम स्थान दिंदै “पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राखून्।”—१ तिमोथी ६:१९. (g03 1/8)