सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गोपनीयतासम्बन्धी व्यावहारिक दृष्टिकोण

गोपनीयतासम्बन्धी व्यावहारिक दृष्टिकोण

गोपनीयतासम्बन्धी व्यावहारिक दृष्टिकोण

“परमप्रभुको नजर दुष्ट र असल दुवैलाई हेर्दै सर्वत्र रहन्छ।”—हितोपदेश १५:३.

अर्को मानिसले आफ्नो हरेक पाइलामा सुपरिवेक्षण गरेको, गोप्य विचारहरू केलाएको, भित्री आन्तरिक इच्छाहरू पत्ता लगाएको मन पराउने मानिसहरू कमै होलान्‌। तर परमेश्‍वरले ठीक यस्तै गर्न सक्नुहुन्छ भनी बाइबलले बताउँछ। बाइबलको हिब्रू ४:१३ मा यसो भनिएको छ: “उहाँको दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन, तर जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सबै कुराहरू स्पष्ट र खुला राखिएका छन्‌।” के यो गोपनीयताको हनन होइन र? पटक्कै होइन। किन?

मानिलिनुहोस्‌, समुद्री किनारमा पौडी खेल्दा तपाईं सधैं टाठो जीवनरक्षकको निगरानीमा रहनुहुन्छ। तपाईं यसलाई आफ्नो गोपनीयता हनन भएको ठान्‍नुहुन्‍न। वास्तवमा भन्‍ने हो भने, तिनको उपस्थितिले तपाईंलाई सुरक्षाको अनुभूति दिन्छ। तपाईंलाई थाह छ, तपाईंमाथि कुनै आपत्‌ आइपऱ्‍यो भने तिनले तुरुन्तै बचाउनेछन्‌। त्यसरी नै, आमाले आफ्नो बच्चाको हर कदममाथि निगरानी राख्छिन्‌। उनले त्यसो गरिनन्‌ भने हेलचेक्राइँ गरेको ठहर्नेछ।

त्यसरी नै, यहोवा परमेश्‍वरले हाम्रो सोचाइ तथा काममाथि निगरानी राख्नुहुन्छ किनभने उहाँ हाम्रो भलाइ चाहनुहुन्छ। बाइबल अगमवक्‍ताले यसो भने: “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इतिहास १६:९) तर यहोवाले हाम्रो व्यक्‍तिगत सोचाइ र कार्य कुन हदसम्म देख्न सक्नुहुन्छ? परमेश्‍वरको पुत्र, येशू मुछिएको थुप्रै घटनाहरूले यसमा केही अन्तरदृष्टि दिन्छ।

मन अनि हृदय पढ्‌न सक्ने क्षमता

येशू एक जना फरिसीको घरमा भोजन गरिरहनुभएको बेला, पापी कहलिएकी एउटी स्त्री आएर येशूको खुट्टामा घोप्टो परिन्‌। उनी रुन थालिन्‌ र येशूको पाउमा परेको आँसु आफ्नो कपालले पुछिन्‌। विवरण यसो भन्छ: “यो देखेर उहाँलाई निम्तो गर्ने फरिसीले मनमनै यसो भन्‍न लागे, ‘यिनी अगमवक्‍ता हुँदा हुन्‌ ता उनलाई छुने को र कस्ती आइमाई हो भनी यिनले जान्‍ने थिए।’ ” येशूको जवाफले देखाएअनुसार उहाँलाई त्यस स्त्रीको पृष्ठभूमिका साथै फरिसीहरूले “मनमनै” भनेको कुरा पनि थाह थियो।—लूका ७:३६-५०.

अर्को अवसरमा, येशूले गर्नुभएका चमत्कारहरूको विरोध गर्ने एक हूल मानिसहरू आए। मत्ती ९:४ मा लिपिबद्ध विवरण यसो भन्छ: “येशूले तिनीहरूका विचार बुझेर भन्‍नुभयो, ‘तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचार गर्दछौ?’ ” अरूको सोचाइ बुझ्न सक्ने येशूको क्षमता, चतुर अड्‌कलबाजी मात्र थिएन।

लाजरसको पुनरुत्थानको विवरणबारे बुझ्दा अझ बढी कुरा प्रकट हुन्छ। येशूको घनिष्ठ मित्र लाजरसको मृत्यु भएको चार दिन भइसकेको थियो। तिनका विचारहरू सबै माटोमा मिलिसकेका अनि शरीर कुहिन थालिसकेको थियो। (भजन १४६:३, ४) येशूले लाजरसको चिहानको ढुंगा निकाल्ने निर्देशन दिनुहुँदा लाजरसकी दिदी मार्थाले यसो भनिन्‌: “हे प्रभु, यस बेलासम्म ता त्यो गह्नाउन लागिसक्यो होला।” यद्यपि, परमेश्‍वरको शक्‍तिद्वारा येशूले लाजरसको पुनरुत्थान गर्नुभयो र मर्नुअघिको लाजरसमा हुनुपर्ने सबै आन्तरिक तथा व्यक्‍तिगत स्मरण राखिदिनुभयो।—यूहन्‍ना ११:३८-४४; १२:१, २.

हाम्रो भित्री सोचाइ थाह पाउन सक्ने यहोवा परमेश्‍वरको क्षमतालाई प्रार्थनासम्बन्धी येशूको टिप्पणीले प्रमाणित गर्छ। चेलाहरूलाई नमुना प्रार्थना सिकाउनुअघि येशूले यसो भन्‍नुभयो: “तिमीहरूलाई कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्छ।” येशूले यसो पनि भन्‍नुभयो: “तिमी जब प्रार्थना गर्दछौ, त्यसबेला आफ्नो भित्री कोठाभित्र पस, र ढोका थुनेर गुप्तमा बसेका तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।”—मत्ती ६:६, ८.

परमेश्‍वरले हामीलाई हेरिरहनुभएको छ भनी थाह पाउनुका लाभहरू

परमेश्‍वरले सबै हृदय जाँच्नुहुन्छ र “हरेक विचारलाई थाह पाउनुहुन्छ” भनेर बुझ्दा के हाम्रो क्रियाकलाप सीमित हुनुका साथै हाम्रो स्वतन्त्रता हनन हुन्छ र? (१ इतिहास २८:९) यसको विपरीत, परमेश्‍वरबाट केही पनि लुकाउन सकिंदैन भनी थाह पाउँदा यसले भलाइ गर्न ठूलो उत्प्रेरणा दिन्छ।

सुरुको लेखमा उल्लिखित एलिजाबेथले उनी इमानदार रहनुको मुख्य कारण काम गर्ने ठाउँमा सुपरिवेक्षण क्यामराहरू जडान गरिएकोले होइन भनी बताइन्‌। बरु, उनी यसो भन्छिन्‌: “यहोवाले मेरो आचरण नियालिरहनुभएको छ भनी थाह पाउँदा म काम गर्ने ठाउँमा मात्र नभई सबै व्यवहारमा इमानदार हुन उत्प्रेरित हुन्छु।”

जिम पनि त्यस्तै टिप्पणी गर्छन्‌। तिनी काम गर्ने कारखानामा कामदारहरूले चोरी गर्नु सामान्य कुरा हो। तर जिम आफ्नो हाकिमबाट चोर्न इन्कार गर्छन्‌। तिनी यसो भन्छन्‌: “मैले कम्पनीबाट चोरे तापनि कसैले थाह पाउँदैनन्‌ होला तर परमेश्‍वरसित आफ्नो सम्बन्धलाई म मूल्यवान्‌ ठान्छु र मेरो सबै काम उहाँले देख्नुहुन्छ भनी मलाई थाह छ।”

परमेश्‍वरलाई हाम्रा सबै कार्यहरू थाह छ भन्‍ने ज्ञान अनि उहाँसित राम्रो सम्बन्ध कायम गर्ने इच्छाले मानिसलाई जीवनमा आमूल परिवर्तनहरू गर्न उत्प्रेरित गर्न सक्छ। उदाहरणका लागि, डग मसीही परिवारमा हुर्केका थिए तर परमेश्‍वरले तिनका सबै कार्यहरू देख्न सक्नुहुन्छ भन्‍ने तथ्यलाई तिनले कहिल्यै गम्भीरतासाथ लिएनन्‌। फलस्वरूप, तिनले दोहोरो जीवन बिताए। तिनी आफ्नो परिवारसित मसीही सभाहरूमा जान्थे तर साथीहरूसँगै लागूपदार्थ सेवन पनि गर्थे। मोटरसाइकलप्रतिको मोहले गर्दा तिनी एउटा अत्यन्तै हिंस्रक मोटरसाइकल गिरोहको सदस्य भए। गिरोहमा स्वीकार्य हुन डगले गम्भीर अपराधहरू गरे।

केही वर्षपछि डगले फेरि बाइबल अध्ययन गर्न थाले। तिनले यहोवालाई साँचो व्यक्‍तिको रूपमा हेर्न थाले जो मानिसका क्रियाकलापहरूबारे सजग हुनुका साथै तिनीहरूका कार्यहरूको असर महसुस गर्नुहुन्छ। डग परमेश्‍वरको उच्च नैतिक स्तरअनुसार जीवन बिताउन उत्प्रेरित भए। गिरोह छोड्‌ने व्यक्‍तिलाई बेसरी पिट्‌ने गिरोहको रीति नै भए तापनि डग गिरोहको सभामा उपस्थित भएर सबै सदस्यहरूसामु राजिनामा दिए। तिनी यसो भन्छन्‌: “म आफ्नो कुरा बताउन तिनीहरूसामु उभिंदा मेरो मुटुमा ढ्यांग्रो ठोकिरहेको थियो। मैले सिंहको खोरमा थुनिएको दानियलजस्तै महसुस गर्न थालें। तर मैले यहोवालाई मनमनै प्रार्थना गरें अनि मैले छोड्‌नुको कारण शान्तपूर्वक बताएँ। मैले छोड्‌दा एक जनाबाहेक सबैले मसँग हात मिलाएर मलाई शुभकामना दिए। मैले यशैया ४१:१३ को सत्यता महसुस गरें: ‘म, परमप्रभु तेरा परमेश्‍वरले तँलाई यसो भनेर तेरो दाहिने हात समात्नेछु, “नडरा, म तँलाई सहायता गर्नेछु।” ’ ” डग आफ्नो जीवन परिवर्तन गर्न आवश्‍यक बल यहोवाले दिनुभएको महसुस गर्छन्‌।

व्यावहारिक दृष्टिकोण

हामीले यहोवाबाट केही कुराहरू लुकाउन सक्छौं भनी सोच्नु अव्यावहारिक हो। बाइबलले स्पष्टसित यसो भन्छ: “मूर्खले आफ्नो मनमा भनेको छ, ‘ईश्‍वर छैन।’ ” (भजन १४:१) अघिल्ला लेखहरूले जोड दिएझैं मानिसहरूले हूलमूलमा पनि खास अनुहार पत्ता लगाउन सक्ने सुपरिवेक्षण क्यामराहरू बनाएका छन्‌। मानिसहरूले हजारौंमध्येबाट एउटा आवाज छुट्याएर अरूको कुराकानी सुन्‍नसक्ने टेलिफोन उपकरण बनाएका छन्‌। त्यसकारण मानव मस्तिष्कको सृष्टिकर्ताले अवश्‍य सबै मानिसहरूको सोचाइ प्रक्रिया आफूले चाहेअनुसार थाह पाउन सक्नुहुन्छ।

सृष्टिकर्तासित सबै मानिसहरूको निजी व्यवहार जान्‍ने अधिकार छ तर मानिसहरूसित छैन। परमेश्‍वरको अनुग्रह चाहने सबैलाई प्रेरित पत्रुस यस्तो आग्रह गर्छन्‌: “तिमीहरूमध्ये कसैले पनि . . . खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्नेले झैं दुःख नभोग।” (१ पत्रुस ४:१५) प्रेरित पावलले “अरूको काममा हात हाल्ने” विरुद्ध पनि चेतावनी दिए।—१ तिमोथी ५:१३.

अचाक्ली “अर्काको कुरामा हात हाल्ने” एउटा उदाहरण हो, कुनै कुनै देशका नागरिकहरूले अरूको मामिलामा चियोचर्चा गर्न सानो अडियो वा भिडियो रेकर्डिङ गर्ने उपकरणहरू निकै प्रयोग गर्न थालेका छन्‌। उदाहरणका लागि, जापानको म्याराथन धाविका र सिड्‌नी ओलम्पिक गेम्समा स्वर्ण पदक विजेता नाओको ताकाहाशीले हालै के थाह पाइन्‌ भने, एउटा सानो क्यामरा तिनको बाथरुममा जडान गरेर तिनले थाहै नपाउने गरि फिल्म खिचिएको रहेछ। त्यसको भिडियो बनाएर गैरकानुनी तवरमा हजारौं प्रतिहरू बिक्री गरियो।

साथै, व्यक्‍तिगत जानकारी चोर्नको लागि अत्याधुनिक प्रविधि प्रयोग गरेर परिचय-पत्र चोर्ने वा जालसाजी गर्ने पनि सामान्य भएको छ। त्यसकारण अनधिकृत व्यक्‍तिहरूको नजरबाट आफ्नो गोपनीयताको सुरक्षा गर्नु व्यावहारिक हो। a बाइबल यसो भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २२:३.

व्यक्‍तिगत काम—जनसाधारणसामु छर्लंगै

अपराध, हिंसा र आतंकवाद बढ्‌दै गएपछि सरकारहरूले आफ्ना नागरिकहरूलाई अझ बढी नियाल्नेछन्‌। तर चाँडै, कुनै पनि प्रकारको सुपरिवेक्षण क्यामरा तथा अन्य उपकरणहरू चाहिनेछैन। यहोवा परमेश्‍वरले निकट भविष्यमा सारा मानिसजातिलाई तिनीहरूको सार्वजनिक तथा व्यक्‍तिगत कार्यको लेखा दिन लगाउनुहुनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ।—अय्यूब ३४:२१, २२.

त्यसपछि पृथ्वीमा कुनै प्रकारको अपराध, घृणा र आपराधिक गतिविधि हुनेछैन जुन कुराले मानिसजातिलाई पिरोलिरहेका छन्‌। यो कसरी सम्भव हुनेछ? त्यतिबेला जीवित सबैलाई यहोवाले मात्र व्यक्‍तिगत तवरमा चिन्‍नुहुने होइन, सबै मानिसहरूले यहोवालाई व्यक्‍तिगत तवरमा चिन्‍नेछन्‌। अगमवक्‍ता यशैयाका यी शब्दहरू साँचो साबित हुनेछन्‌: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:९. (g03 1/22)

[फुटनोट]

a “होशियार रहनुहोस्‌!” भन्‍ने पेटी हेर्नुहोस्‌

[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वरबाट केही पनि लुकाउन सकिंदैन भनी थाह पाउँदा यसले भलाइ गर्न ठूलो उत्प्रेरणा दिन्छ

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

होसियार रहनुहोस्‌!

गोपनीयता र अन-लाइन जागिर साइट: जागिर खोज्नेहरूले आफ्नो बायोडाटा अन-लाइन राख्दा तिनीहरूको गोपनीयता निकै खतरामा पर्न सक्छ। यी बायोडाटाहरू वर्षौसम्म अन-लाइन जागिर साइटमा रहिरहन्छन्‌। पछि यही जानकारीको आधारमा तपाईंको परिचय अरूले चोर्न सक्छन्‌। कुनै-कुनै जागिर साइटहरूले जागिर खोज्नेहरूबाट नाउँ, ठेगाना, उमेर, कामको अनुभवजस्ता व्यक्‍तिगत जानकारीहरू माग गर्छन्‌ अनि त्यो जानकारी तेस्रो पक्ष अर्थात्‌ विज्ञापनदाताहरूलाई दिन्छन्‌।

गोपनीयता र मोबाइल सञ्चार: हालको लागि कर्डलेस वा सेलुलर फोनमा गोपनीयताको ग्यारेन्टी दिने कुनै सस्तो तरिका छैन। तपाईं व्यक्‍तिगत कुराकानी गर्दै हुनुहुन्छ भने पहिलेदेखि चल्दै आएको टेलिफोन प्रयोग गर्नु सुरक्षित हुन सक्छ। तपाईं र अर्को व्यक्‍ति दुवैले सामान्य फोन प्रयोग गर्नुहोस्‌। कर्डलेस फोनबाट आउने थुप्रै संकेतहरू रेडियो र अर्को कर्डलेस फोन वा शिशुहरूको हृदयगति नाप्न प्रयोग गरिने उपकरणले टिप्छ। तपाईंले फोनबाट कुनै सामान किन्‍न क्रेडिट कार्ड नम्बर र त्यो सिद्धिने मिति दिंदै हुनुहुन्छ भने, तपाईंको सेलुलर फोन अरू कसैले सुनेर तपाईं जालसाजीको सिकार बन्‍न सक्नुहुन्छ। b

[फुटनोट]

b प्राइभसी वाच क्लियरिङहाउस वेब साइटबाट लिएर छाँटकाँट गरिएको जानकारी।

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

जीवनरक्षकको चनाखो आँखाले गोपनीयता भंग गरेको ठानिंदैन

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

हाम्रा कार्यहरू परमेश्‍वरले जान्‍नुहुन्छ भनी थाह पाउँदा डग आफ्नो जीवनमा परिवर्तनहरू गर्न उत्प्रेरित भए