सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चोर्नुमा के खराबी छ?

चोर्नुमा के खराबी छ?

युवा जनहरू सोध्छन्‌ . . .

चोर्नुमा के खराबी छ?

“चोर्नु हुँदैन भनेर सबैलाई थाह छ तर के गर्ने।”—१७ वर्षीय जिम्मी।

के तपाईंलाई जाँच दिंदा सँगैको साथीको उत्तर-पत्रमा चियाउँ जस्तो लागेको छ? छ भने, तपाईंलाई मात्र त्यस्तो लागेको होइन। बाह्र कक्षामा अध्ययनरत जेना आफ्ना सहपाठीहरूले कुनै अप्ठ्यारो नमानी चोर्नेबारे यसो भन्छिन्‌: “तिनीहरू आफूले चोर्ने तरिकाबारे धाक दिन्छन्‌। अरू कसैले, मैले चोरेको छैन भनेर बताउँदा तिनीहरू ट्‌वाँ परेर हेर्छन्‌!”

सं.रा.अ.-को एउटा सर्वेक्षणअनुसार आ-आफ्नो कक्षामा राम्रा विद्यार्थी गनिएकामध्ये ८० प्रतिशतले जाँचमा चोरेको कुरा स्वीकारे र यी “सबैभन्दा धेरै अंक प्राप्त गर्ने” विद्यार्थीमध्ये ९५ प्रतिशतले चोर्दा कहिल्यै पक्रिएनन्‌। माध्यमिक र उच्च माध्यमिक विद्यालयका २०,००० भन्दा बढी विद्यार्थीहरूसित गरिएको सर्वेक्षणपछि जोसेफसन्‌ इन्स्टिच्युट अफ एथिक्सले निष्कर्षमा यसो भन्यो: “इमानदारी र निष्ठाको कुरा गर्ने हो भने, कामकुरा झन्‌ झनै खत्तम हुँदै गइरहेको छ।” चोर्नु एकदमै व्याप्त भएको देखेर शिक्षण क्षेत्रमा संलग्न व्यक्‍तिहरू छक्क परेका छन्‌! स्कूलका निर्देशक ग्यारी जे. निल्सले यतिसम्म भने कि “अहिले त नचोर्नेहरू पो थोरै भएका छन्‌।”

अधिकांश आमाबाबु आफ्ना छोराछोरीले स्कूलका कामहरू इमानदार भएर गरून्‌ भन्‍ने चाहन्छन्‌। तर दुःखको कुरा थुप्रै जवानहरूले चोरेर आफ्नो इमानदारीको सम्झौता गर्छन्‌। तिनीहरूले कस्तो नयाँ तरिकाहरू चलाउन थालेका छन्‌? किन केही युवाहरू चोर्ने गर्छन्‌? तपाईंले किन चोर्नु हुँदैन?

चोर्ने अत्याधुनिक प्रविधि

आजभोलि जाँचमा चोर्नेहरूले थुप्रै प्रकारका छट्टू तरिकाहरू अपनाउँछन्‌। साँच्चै, आजभोलि जाँचमा चोर्न प्रयोग गर्ने अत्याधुनिक प्रविधिहरूलाई हेर्दा गृहकार्य सार्ने वा चिट चोर्ने त साधारण भइसक्यो। प्रश्‍नपत्रका जवाफहरू थाह पाउन पेजर चलाउने; “थप” जानकारीहरू राखेर पहिल्यै प्रोग्राम गरिएको क्याल्कुलेटर ल्याउने; अन्त कतै बसिरहेका सहायकलाई प्रश्‍नहरू प्रसारण गर्नहुने लुगामा लुकाउन मिल्ने एकदमै सानो क्यामरा; नजिकैको सहपाठीहरूलाई इन्फ्रारेड सन्देशहरू प्रसारण गर्ने उपकरणहरू र प्रायः सबै विषयका त्रैमासिक उत्तर पत्रहरू भएको इन्टरनेट साइटहरू पनि चलाउँछन्‌!

शिक्षकहरूले जाँचमा चोर्ने बढ्‌दो झुकावलाई उल्टाउने प्रयास गरिरहेका छन्‌ तर सजिलो छैन। किनभने सबै विद्यार्थी वा शिक्षकहरू वास्तवमा केलाई चोरी भन्‍ने विषयमा सहमत छैनन्‌। उदाहरणका लागि, विद्यार्थीहरूको समूह कुनै एउटा प्रोजेक्टमा सँगै काम गर्दा इमानदार सहयोग र बेइमानीबीच स्पष्ट भिन्‍नता नहुन सक्छ। अनि कोही यस्ता पनि हुन्छन्‌ जसले समूहगत रूपमा काम गर्दा आफू केही नगरी अरूलाई गर्न दिन्छन्‌। कम्युनिटि कलेज धाइरहेका युजि भन्छन्‌, “कोही-कोही विद्यार्थीहरू असाध्यै अल्छी हुन्छन्‌, तिनीहरूले केही पनि गर्दैनन्‌। तर अंक भने काम गर्ने विद्यार्थीले जति नै पाउँछन्‌। मेरो विचारमा त्यो पनि चोरी नै हो!”

तिनीहरू किन चोर्छन्‌?

एउटा सर्वेक्षणअनुसार थुप्रै विद्यार्थीहरूले चोर्नुको एउटा मुख्य कारण तयारीको कमी भएको पाइयो। अन्य विद्यार्थीहरू चाहिं स्कूलको प्रतिस्पर्धात्मक वातावरण वा आफ्ना आमाबाबुबाट अत्यधिक आशाको कारण चोर्नेबाहेक अरू विकल्प नै देख्दैनन्‌। “मेरा आमाबाबुको लागि सर्वमहत्त्वपूर्ण कुरा परीक्षामा प्राप्त गर्ने अंक हो” १३ वर्षीय साम भन्छन्‌। “उहाँहरू मलाई सोध्नुहुन्छ: ‘हिसाबको जाँचमा कति अंक पायौ? अंग्रेजीमा कति आयो?’ मलाई त्यो सुन्दा वाक्क लाग्छ!”

कोही-कोही राम्रो अंक प्राप्त गर्ने निरन्तर दबाबको कारण जाँचमा चोर्नेतर्फ उन्मुख हुन्छन्‌। द प्राइभेट लाइफ अफ दी अमेरिकन टिनएजर नामक पुस्तक यस्तो भन्छ: “सिक्दा पाइने सन्तुष्टिलाई भन्दा अझ राम्रो अंक प्राप्त गर्न दबाब दिइने व्यवस्थामा पक्कै पनि राम्रो तालमेल मिलेको छैन र यसको फलस्वरूप कहिलेकाहीं चोर्ने समेत गर्छन्‌।” थुप्रै विद्यार्थीहरू यस कुरामा सहमत छन्‌। आखिर कोही पनि जाँचमा फेल हुन चाहँदैन। उच्च माध्यमिक विद्यालयका विद्यार्थी जिम्मी यस्तो टिप्पणी गर्छन्‌, “कोही-कोही फेल भइएला भनेर असाध्यै डराउँछन्‌। तिनीहरूलाई प्रश्‍नको जवाफ थाह भए तापनि मिल्यो कि मिलेन भनेर पक्का गर्न चोर्ने गर्छन्‌।”

इमानदारीको स्तरलाई लत्याएर चोर्न पछि नपर्ने मानिसहरूको संख्या हेर्दा चोर्नु अहानिकारक जस्तो देखिन्छ। अनि कहिलेकाहीं एकदमै फाइदाजनक जस्तो देखिन्छ। सत्र वर्षीय ग्रेग यसो भन्छन्‌, “मैले हिजो एउटा जाँचमा एक जना विद्यार्थीले चोरिरहेको देखें। आज हामीले आफ्नो उत्तरपत्र फिर्ता पाउँदा उसले मैले भन्दा धेरै अंक पाएको थियो।” थुप्रै व्यक्‍तिहरू आफ्ना साथीहरूले जाँचमा व्यापक रूपमा चोर्ने देखेर प्रभावित हुन्छन्‌। युजि भन्छन्‌, “कसै-कसैलाई ‘अरू थुप्रैले गरिरहेका छन्‌ भने मैले पनि गरेर के भयो र’ भन्‍ने जस्तो लाग्छ।” तर के त्यसो गर्नु ठीक हो?

छलपूर्ण कुलत

जाँचमा चोर्नेलाई अरू सरसामान चोर्नेसित तुलना गर्नुहोस्‌। थुप्रै मानिसहरूले चोरी गर्छन्‌ भन्दैमा के यो स्वीकार्य हुन्छ र? ‘पक्कै पनि हुँदैन’ भनेर तपाईंले भन्‍नुहोला र अझ विशेष गरी तपाईंको पैसा चोरिएको छ भने! चोर्दा हामीले जे आफ्नो होइन, त्यसको श्रेय लिइरहेका हुन्छौं र सायद इमानदारीसाथ गर्नेहरूको नाजायज फाइदा उठाइरहेका समेत हुन सक्छौं। (एफिसी ४:२८) भर्खरै स्कूलको पढाइ सिध्याएका टमी यसो भन्छन्‌, “यो बिलकुलै गलत हो। तपाईंले आफूलाई थाहै नभएको कुरा पनि ‘मलाई थाह छ’ भनिरहनुभएको हुनेछ। त्यसकारण त्यो झूट बोल्नुसरह हो।” यस विषयमा बाइबलको दृष्टिकोण कलस्सी ३:९ मा स्पष्ट गरी बताइएको छ: “एउटाले अर्कोलाई, नढाँट।”

चोरी गर्ने बानी छोड्‌नु भनेको छोड्‌न असाध्यै गाह्रो अम्मल जस्तो हुन सक्छ। “परीक्षामा चोर्नेहरूले जाँचमा पास हुन पढ्‌नु पनि पर्दैन भनी थाह पाउँछन्‌ र तिनीहरू चोरेरै उतीर्ण हुन्छन्‌। अनि पछि एक्लै पर्दा के गर्ने, कसो गर्ने तिनीहरूलाई केही थाह हुँदैन।”

गलाती ६:७ मा लिपिबद्ध सिद्धान्त विचारणीय छ: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” स्कूलमा चोर्ने बानी गर्दा विचलित अन्तस्करण, साथीहरूको विश्‍वास गुमाउनु, सिक्ने प्रयास नगर्दा बौद्धिक तवरमा पूर्णतया बढ्‌न नसक्नु जस्ता नतिजाहरू हुन सक्छन्‌। शरीरभरि फैलिएर घातक साबित हुने क्यान्सर रोगजस्तै यो ठग्ने बानीले जीवनको अन्य क्षेत्रहरूमा असर गरेर तपाईंको सबैभन्दा बहुमूल्य सम्बन्धलाई नै खतरामा पार्न सक्छ। निश्‍चय पनि यसले परमेश्‍वरसँगको तपाईंको सम्बन्धलाई असर गर्छ किनभने उहाँ छलछामदेखि प्रसन्‍न हुनुहुन्‍न।—हितोपदेश ११:१.

जाँचमा चोर्ने मानिसहरूले आफैलाई ठगिरहेका हुनेछन्‌। (हितोपदेश १२:१९) तिनीहरूको काम पुरातन शहर यरूशलेमको भ्रष्ट शासकहरूको जस्तै हुनेछ: “हामीले झूटको शरण लिएका छौं, र असत्यको आड़मनि हामी लुकेका छौं।” (यशैया २८:१५) तथापि, वास्तवमा चोरी गर्ने मानिसले परमेश्‍वरबाट आफ्नो काम लुकाउन सक्दैन।—हिब्रू ४:१३.

नचोर्नुहोस्‌

थुप्रै अवसरमा जवानहरूले निकै दिमाग खियाएर चोर्न मेहनत गर्छन्‌ जुन तिनीहरूले वास्तवमा राम्रो मनसायले पढ्‌न खर्च गरेको भए बेस हुनेथियो। अठाह्र वर्षीय एबीले भनेझैं “तिनीहरूले चोर्न जत्तिकै राम्रोसँग पढ्‌न मेहनत गरेको भए तिनीहरूले सायद धेरै राम्रो गर्ने थिए।”

हो, जाँचमा चोर्ने प्रलोभन निकै तीव्र हुन सक्छ। तर तपाईं यो नैतिक पासोबाट बच्नुपर्छ! (हितोपदेश २:१०-१५) तपाईं कसरी त्यसो गर्न सक्नुहुन्छ? प्रथमतः तपाईं स्कूलमा किन हुनुहुन्छ भनी सम्झनुहोस्‌—सिक्नको लागि। हो, आफूले जीवनमा पछि कहिल्यै नचलाउने कुराहरू सिक्नु केही फाइदा छैन जस्तो लाग्न सक्छ। तर चोरेर यो प्रक्रियालाई बेवास्ता गर्दा कुनै पनि व्यक्‍तिले नयाँ कुरा सिक्ने र सिकेको कुरा व्यवहारमा उतार्ने क्षमतामा बाधा पुऱ्‍याइरहेको हुनेछ। प्रयासविना कुनै पनि कुरा राम्ररी बुझ्न सकिंदैन, केही त गर्नैपर्छ। बाइबल यस्तो उल्लेख गर्छ: “सत्य किन्‌, औ त्यसलाई कहिल्यै नबेच्‌, बुद्धि, अर्ती र समझ-शक्‍तिलाई किन्‌।” (हितोपदेश २३:२३) हो, तपाईंले पढाइ र तयारीबारे गम्भीरतापूर्वक सोच्नुपर्छ। जिम्मी भन्छन्‌, “हामीले जाँचअघि मेहनत गर्नुपर्छ। जवाफ थाह पाउँदा तपाईंको आत्मविश्‍वास बढ्‌नेछ।”

हो, कहिलेकाहीं तपाईंलाई सबै प्रश्‍नको जवाफ नआउला र यसले गर्दा कम अंक आउन सक्छ। तैपनि तपाईंले आफ्नो सिद्धान्तमा सम्झौता गर्नुभएन भने तपाईंलाई आफूले कुन क्षेत्रमा उन्‍नति गर्नुपर्छ भनी थाह हुनेछ।—हितोपदेश २१:५.

सुरुमा पनि उल्लेख गरिएको युजि एक जना यहोवाका साक्षी हुन्‌। तिनले अरू साथीहरूले जाँचमा चोर्न दबाब दिंदा के गर्छन्‌ भन्‍नेबारे यसो भन्छन्‌: “पहिला त तिनीहरूलाई आफू साक्षी भएको कुरा बताउँछु। यसले मलाई धेरै मदत गऱ्‍यो किनभने तिनीहरूलाई यहोवाका साक्षीहरू इमानदार हुन्छन्‌ भनी थाह छ। जाँचको बेला मलाई कसैले जवाफ सोध्यो भने म भन्दिन। अनि पछि मैले जवाफ नभन्‍नुको कारण बताउँछु।”

युजि प्रेरित पावलले हिब्रूहरूलाई लेखेका कुरासित सहमत छन्‌: “सबै कुरामा इमान्दारीसाथ रहने इच्छा . . . हामी . . . गर्दछौं।” (हिब्रू १३:१८) इमानदारीको उच्च स्तर पक्रिराखेर जाँचमा नचोरेर सम्झौता गर्न इन्कार गर्दा तपाईंले साँचो मोल भएको राम्रो अंक प्राप्त गरिरहनुभएको हुनेछ। आफ्ना आमाबाबुलाई तपाईंले दिन सक्ने सबैभन्दा उत्तम उपहार दिइरहनुभएको हुनेछ—त्यो हो, मसीही निष्ठाको प्रमाण। (३ यूहन्‍ना ४) यसबाहेक, तपाईंले सफा अन्तस्करण राख्न सक्नुहुनेछ र यहोवाको हृदय प्रसन्‍न तुल्याइरहेको छु भनी थाह पाउँदा तपाईं आनन्दित हुनुहुनेछ।—हितोपदेश २७:११.

त्यसकारण जाँचमा चोर्नु एकदमै व्याप्त भए तापनि तपाईंले नचोर्नुहोस्‌! त्यसो गर्दा तपाईंले अरूसित र अझ महत्त्वपूर्ण, सत्यका परमेश्‍वर यहोवासित असल सम्बन्ध कायम गर्न सक्नुहुनेछ।—भजन ११:७; ३१:५. (g03 1/22)

[पृष्ठ १४-मा भएको ठूलो अक्षरको क्याप्सन]

जाँचमा चोर्ने मानिसले चोर्नु भनेको अरूको सरसामान चोर्नु बराबर हो भनेर अक्सर बुझ्दैन

[पृष्ठ १४-मा भएको ठूलो अक्षरको क्याप्सन]

अक्सर, जाँचमा चोर्दा बेइमानीका अन्य गम्भीर कार्यहरू गर्नतर्फ डोऱ्‍याउन सक्छ

[पृष्ठ १५-मा भएको ठूलो अक्षरको क्याप्सन]

चोर्ने मानिसले आफ्नो काम परमेश्‍वरबाट लुकाउन सक्दैन

[पृष्ठ १५-मा भएको चित्र]

जाँचअघि राम्रोसँग पढ्‌नुभयो भने तपाईंको आत्मविश्‍वास बढ्‌नेछ