सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको गर्भावस्था सुरक्षित बनाउने

तपाईंको गर्भावस्था सुरक्षित बनाउने

तपाईंको गर्भावस्था सुरक्षित बनाउने

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

संयुक्‍त राष्ट्र जनसंख्या कोषअनुसार प्रत्येक वर्ष पाँच लाखभन्दा बढी महिलाहरू गर्भावस्थासित सम्बन्धित समस्याहरूले मर्ने गर्छन्‌। साथै, संयुक्‍त राष्ट्र बाल कोषले (युनिसेफ) टिपोट गरेअनुसार वर्षेनी छ करोडभन्दा बढी महिलाहरू गर्भावस्थाको कारण उत्पन्‍न हुने जटिल समस्याहरूको सिकार हुन्छन्‌ भने यसमध्ये एक तिहाइले सहनुपर्ने क्षति वा संक्रमण आजीवन रहिरहन्छ। विकासोन्मुख मुलुकहरूमा थुप्रै महिलाहरू एकपछि अर्को गर्भधारण गर्छन्‌, बच्चा जन्माउँछन्‌ अनि आफ्नो राम्रो ख्याल नराखेकोले लखतरान हुन्छन्‌ र बिरामी पर्छन्‌। हो, गर्भावस्था हानिकारक अनि खतरनाकसमेत हुन सक्छ। के महिलाले आफ्नो गर्भावस्था सुरक्षित बनाउन सक्ने कुनै उपाय छ?

गर्भवती हुनुअघि स्वास्थ्य स्याहार

योजना। पति र पत्नीले कति जना बच्चा पाउने भनेर छलफल गर्नुपर्ने हुन सक्छ। विकासोन्मुख मुलुकहरूमा एउटा बच्चालाई स्तनपान गराउँदै गरेका महिलाहरूको अर्को बच्चा गर्भमा हुनु कुनै असामान्य कुरा होइन। बच्चाहरूबीच जन्मान्तर राख्न विचार पुऱ्‍याएर योजना बनाउँदा आमाले केही आराम पाउँछिन्‌ र बच्चा जन्माइसकेपछि अलि बलियो हुन सक्छिन्‌।

पोषण। कोआलिशन फर पोजिटिभ आउटकम्स इन प्रेग्नान्सी नामक संगठनअनुसार हानिकारक पदार्थहरूको प्रभावबाट मुक्‍त हुन तथा राम्रो पोषणको प्रबन्ध गर्न गर्भवती हुनुअघि चार महिना समय चाहिन्छ। उदाहरणका लागि, स्नायु ट्युब राम्ररी बन्द हुन नसक्दा हुने स्पाइना बिफिडाको खतरा कम गर्न गर्भवती महिलाले फोलिक एसिड प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। धेरैजसो महिलाहरूले आफू गर्भवती भएको थाह पाउनुभन्दा अघि नै, गर्भधारण भएको २४ औं देखि २८ औं दिन भित्र भ्रुणको स्नायु ट्युब बन्द हुने हुँदा गर्भवती हुने योजना बनाइरहेकाहरूले फोलिक एसिड सेवन गर्छन्‌।

अर्को महत्त्वपूर्ण पोषण आइरन हो। निस्सन्देह, गर्भवती महिलालाई दुई गुणा बढी आइरन चाहिन्छ। उसको शरीरमा आइरनको मात्रा कम छ भने आइरनको कमीले हुने रक्‍तअल्पता हुन सक्छ र यो अवस्था विकासोन्मुख मुलुकका प्रायजसो महिलाहरूमा व्याप्त छ। पटक-पटक गर्भवती हुँदा यो अवस्था झनै नाजुक हुन्छ किनभने महिलाले आफ्नो शरीरमा आइरनको भण्डार क्षतिपूर्ति गर्न पाउँदैनन्‌। a

उमेर। सोह्र वर्षमुनिका गर्भवती केटीहरूको मृत्यु हुने खतरा, २० देखि ३० वर्षबीचका महिलाहरूमा भन्दा ६० गुणा बढी हुन्छ। अर्कोतर्फ, ३५ वर्ष नाघिसकेका महिलाहरूले बच्चा जन्माउँदा डाउन्स सिन्ड्रोमजस्ता जन्मजात विकारहरू हुने सम्भावना बढी हुन्छ। एकदमै कम उमेर वा उमेर नाघिसकेका आमाहरूलाई प्रिक्लाम्पसिया हुने खतरा बढी हुन्छ। यो विकारमा, गर्भधारण गरेको २० औं हप्तामा उच्च रक्‍तचाप, एडेमा, पिसाबमा प्रोटिनको मात्रा बढी इत्यादि देखा पर्ने हुँदा आमा र बच्चा दुवैको मृत्यु दर बढ्‌छ।

संक्रमण। मूत्रसम्बन्धी, डिम्बनली र आन्द्रामा संक्रमणजस्ता समस्याहरू गर्भावस्थामा अझ चर्किन सक्छ र यसले समय नपुगी बच्चा जन्मने अनि प्रिक्लाम्पसियाजस्ता खतराहरू हुने सम्भावना बढ्‌छ। गर्भवती हुनुअघि नै संक्रमणको उपचार गर्नु बेस हो।

गर्भावस्थामा स्वास्थ्य स्याहार

गर्भावस्थामा स्याहार। गर्भावस्थाको दौडान नियमित तवरमा डाक्टरलाई जचाउँदा आमाको मृत्यु हुने खतरा कम हुन्छ। क्लिनिक र अस्पतालहरू नियमित तवरमा जाने सुविधा नभएका देशहरूमा समेत राम्रो प्रशिक्षण पाएका सुँडिनीहरू उपलब्ध हुन सक्छन्‌।

गर्भावस्थामा स्याहार गर्दा विशेष हेरचाहको खाँचो पर्ने परिस्थितिहरूमा प्रशिक्षित कर्मचारीहरूलाई सचेत गराउन सकिन्छ। यसअन्तर्गत गर्भमा एउटाभन्दा बढी भ्रुण हुनु, उक्‍त रक्‍तचाप, मुटु र मृगौलाको समस्या, मधुमेह हुन सक्छ। कुनै-कुनै देशमा गर्भवती महिलाहरूले गर्भावस्थामा हुने धनुष्टंकार विरुद्ध टिटानस टक्सोइड खोप लिन सक्छन्‌। गर्भ रहेको २६ औं देखि २८ औं हप्ता भित्र ग्रुप-बि स्ट्रेप्टोकोकसको लागि पनि परीक्षण गराउन सक्छिन्‌। तल्लो आन्द्रामा यी ब्याक्टेरियाहरू भएको खण्डमा बच्चा जन्मिने क्रममा संक्रमण हुन सक्छ।

गर्भवती महिलाले स्वास्थ्यकर्मीहरूलाई आफ्नो स्वास्थ्यसम्बन्धी सबै जानकारी उपलब्ध गराउनुपर्छ। उनले नहिचकिचाई प्रश्‍न सोध्नुपर्छ। योनिबाट रगत बग्नु, अचानक अनुहार सुन्‍निनु, एकनासले बेस्सरी टाउको दुखिरहनु वा औंलाहरू दुख्नु, दृष्टि अचानक कमजोर वा धमिलो हुनु, एकदमै पेट दुख्नु, बान्ता भइरहनु, काम्नु वा ज्वरो आउनु, भ्रुणको चलहल वा तीव्रतामा फरक आउनु, योनिबाट तरल पदार्थ बग्नु, पिसाब गर्दा पीडा हुनु वा राम्ररी पिसाब फेर्न नसक्नु इत्यादि भएको खण्डमा तुरुन्तै चिकित्सकको सहयोग मागिहाल्नुपर्छ।

मद्य तथा लागूपदार्थ। आमाले मद्य र लागूपदार्थ (धूम्रपान पनि) सेवन गरेको खण्डमा बच्चा सुस्त मनस्थितिको, शारीरिक विकार र अनौठो आनीबानीजस्ता खतराहरू हुन सक्ने सम्भावना बढ्‌छ। लागूपदार्थ दुर्व्यसनी आमाका बच्चाहरूले लत छोड्‌दा देखिने लक्षणहरूसमेत देखाएका छन्‌। कोही-कोही मानिसहरूले गर्भावस्थाको बेला कहिलेकाहीं अलिकता मद्यपान गर्नु ठिकै हो भने तापनि विशेषज्ञहरू भने पटक्कै नपिउने सल्लाह दिन्छन्‌। अरू कसैले धूम्रपान गर्दा निस्कने धूवाँबाट टाढा रहन पनि गर्भवती महिलाहरू सतर्क हुनुपर्छ।

औषधीहरू। गर्भावस्थाबारे राम्ररी थाह पाएर सम्भाव्य खतराहरूबारे विचार गरिसकेका चिकित्सकले दिएको बाहेक अरू औषधी सेवन गर्नु हुँदैन। कुनै-कुनै थप भिटामिन पनि हानिकारक हुन सक्छ। उदाहरणका लागि, धेरै भिटामिन ए सेवन गर्दा भ्रुण विकारहरू हुन सक्छ।

वजन बढ्‌नु। गर्भवती महिला अत्यन्तै वजन बढ्‌न र घट्‌न नदिन होसियार हुनुपर्छ। क्राउसेज फुड, न्युट्रिशन एण्ड डायट थेरापी-अनुसार वजन एकदमै कम भएको बच्चा जन्मिंदा, सामान्य वजनको बच्चाभन्दा मृत्यु हुन सक्ने खतरा ४० गुणा बढी हुन्छ। अर्कोतर्फ, दुई जनाको लागि खाना खाँदा वजन स्वतः बढ्‌ने नै भयो। विशेष गरी गर्भावस्थाको चौथो महिनादेखि उचित परिमाणमा वजन बढ्‌दा गर्भवती महिलाले आवश्‍यकताअनुसार खाना खाइरहेको कुरा प्रमाणित हुन्छ। b

स्वास्थ्य तथा ध्यान दिनुपर्ने अन्य बुँदाहरू। पूरै शरीर नुहाउने र जीउ मात्र पखाल्ने जस्ता कामहरू सदाझैं गर्न सकिन्छ तर योनिभित्र तेज गतिले पानी छ्याप्ने उपकरण प्रयोग गर्नु हुँदैन। गर्भवती महिला रुबेला अर्थात्‌ जर्मन दादुरा पनि भनिने जीवाणु संक्रमण भएका व्यक्‍तिहरूबाट टाढै बस्नुपर्छ। यसबाहेक, टक्सोप्लाजमोसिस हुन नदिन राम्ररी नपाकेको मासु वा बिरालोहरूको फोहरबाट अलग्गै बस्नुपर्छ। हात धुनु अनि काँचो खानेकुरा पखाल्न नबिर्सनु अत्यावश्‍यक छन्‌। गर्भावस्थाको अन्तिम हप्तामा वा रक्‍तस्राव, संकुचन वा पहिले गर्भ तुहेको अवस्थामा बाहेक अन्यथा यौनसम्बन्ध राख्दा कुनै खतरा हुँदैन।

सफलतापूर्वक बच्चा जन्माउने

गर्भवती हुँदा राम्रो स्याहारसुसार गर्ने स्त्रीलाई सुत्केरी हुँदा त्यति धेरै समस्याहरू आइपर्दैन। हुन पनि, उनले घरमा अथवा अस्पतालमा बच्चा जन्माउने भनेर पहिल्यै तयारी गरिसकेकी हुन्छिन्‌। उनले निपुण सुँडिनी वा डाक्टरलाई कसरी सहयोग गर्ने भनेर पनि यथेष्ट जानकारी हासिल गरिसकेकी हुन्छिन्‌। यसो गर्दा उक्‍त गर्भवती महिलाले छनौट गर्न सक्छिन्‌ भने उनको राय पनि बुझ्ने मौका पाउँछिन्‌ जस्तै: प्रसव व्यथाको आसन, एपिसियोटोमी, कैंचीको प्रयोग, एनाल्जेसिक र भ्रुणको चलहल जाँच्ने उपकरण। अन्य बुँदाहरूमा पनि सहमति हुनुपर्छ: घरमै बच्चा जन्माउँदा केही कठिनाइहरू देखा पर्दा कुन अस्पताल वा क्लिनिक जाने? धेरै रगत बगेमा के गर्ने? रगत बगेको कारण धेरै आमाहरूको मृत्यु हुने हुँदा रक्‍तक्षेपण गर्न इन्कार गर्नेहरूको लागि रगतको क्षतिपूर्ति गर्न दिइने पदार्थहरू तुरुन्तै उपलब्ध गराउनुपर्छ। साथै, सिजेरियन गर्नुपर्नेको खण्डमा के गर्ने भनेर पनि पहिल्यै विचार गर्नुपर्छ।

बाइबलले छोराछोरी परमेश्‍वरको आशिष्‌ अर्थात्‌ उहाँको “इनाम” हो भनेर बताउँछ। (भजन १२७:३) गर्भावस्थाबारे महिलालाई जति बढी थाह हुन्छ, त्यति नै राम्रो हुनेछ। गर्भवती हुनुअघि र गर्भावस्थाको दौडान राम्रो हेरचाह गर्नुका साथै सुत्केरी हुँदाका विभिन्‍न पक्षहरूलाई पहिल्यै विचार गर्दा गर्भावस्था सुरक्षित बनाउन गर्भवती महिलाले यथाशक्य गरिरहेकी हुनेछिन्‌। (g03 1/8)

[फुटनोटहरु]

a फोलिक एसिड र आइरन पाउन सकिने केही स्रोतहरू कलेजो, गेडागुडी, हरियो सागपात, किसमिस र भिटामिन तथा प्रशस्त मात्रामा खनिज पाइने अन्‍नहरू हुन्‌। प्रशस्त मात्रामा आइरन पाउनको लागि भिटामिन सी पाइने ताजा फलफूल खानु बेस हुन्छ।

b स्वास्थ्यकर वजनबाट गर्भावस्था सुरु भएको महिलाको लागि गर्भावस्थाको अन्तसम्म ९ देखि १२ किलोग्राम बढ्‌नु राम्रो मानिन्छ। तैपनि, शारीरिक तवरमा पूरा बढ्‌न बाँकी वा पोषणको कमी भएका महिलाहरूले १२ देखि १५ किलोग्राम वजन बढाउनुपर्छ भने वजन बढी भएकाहरूले भने ७ देखि ९ किलोग्राम मात्र बढ्‌न दिनुपर्छ।

[पृष्ठ २२-मा भएको पेटी]

गर्भवती महिलाको लागि सुझावहरू

● सामान्यतया एउटी गर्भवती महिलाको भोजनमा फलफूल, सागपात (विशेषगरी गाडा हरियो, सुन्तला अनि रातो रङका), गेडागुडी (जस्तै: सिमी, भटमास, दाल र कोसा), अन्‍नहरू (जस्तै: गहुँ, मकै, जौ अनि सम्भव भए सिंगो दाना वा प्रशस्त पोषण भएको), जनावरबाट प्राप्त हुने भोजन (माछा, कुखुरा, बिफ, अण्डा, चिज र दूध खास गरी चिल्लो पदार्थ निकालिएको भए बेस) समावेश गर्नुपर्छ। चिल्लो पदार्थ, प्रशोधित चिनी र नून ठिक्क मात्रामा खानुपर्छ। प्रशस्त मात्रामा पानी पिउनुहोस्‌। क्याफिन भएको पेय पदार्थलगायत भोजन संचय गर्न कृत्रिम तत्त्वहरू (जस्तै कृत्रिम रङ र स्वाद) थपिएका भोजनहरू सकेसम्म नखानुहोस्‌। माड, माटो र खान अयोग्य पदार्थहरू खाँदा कुपोषण र विषाक्‍त हुन सक्छ।

● वातावरणीय खतराहरूदेखि पनि होसियार हुनुहोस्‌। जस्तै: एक्सरे तथा हानिकारक रासायनिक पदार्थहरूको अत्यधिक प्रयोग। घरमा प्रयोग गरिने स्प्रे र अन्य पदार्थहरू सकेसम्म कम प्रयोग गर्नुहोस्‌। चर्को घाम वा अत्यधिक व्यायामको कारण शरीरलाई बेस्सरी तातिन नदिनुहोस्‌। लामो समयसम्म उठ्‌ने नगर्नुहोस्‌ वा धेरै भार पर्ने गरी काम नगर्नुहोस्‌। सिट बेल्ट राम्रोसँग मिल्ने गरी बाँध्नुहोस्‌।