विश्वदर्शन
विश्वदर्शन
“टेलि-आमाहरूले” राम्रो खाना प्रबन्ध गर्छन्
मेड्रिड, स्पेनमा व्यस्त जवान मानिसहरू स्वादिष्ट पोषिलो खाना खान रुचाउने तर खाना पकाउन समय वा झुकाव नभएकाहरूले एउटा नयाँ समाधान पत्ता लगाएका छन्। इन्टरनेटद्वारा तिनीहरूले “टेलि-आमाहरू” भेट्टाउँछन् भनी स्पेनको अखबार एल पायिस बताउँछ। यसरी आमा बनाएपछि तिनीहरूले हप्ताको दुई चोटि ट्याक्सी मार्फत केही दिनसम्म पुग्ने पोषिलो, घरमै पकाएको खाना पठाइदिन्छन्। खानाहरू चाहिं माछा, पास्ता, सागसब्जी, गेडागुडी, मासु, फलफूल र डेरी उत्पादनहरू हुन्। “टेलि-आमाहरूले” चाहिं यसरी भर्खर धर्मपुत्र बनाएका सन्तानसँग खाना कति बाँकी छ, तिनको रुचि र आवश्यकता बुझ्न सम्पर्क राख्छन्। चार वा त्योभन्दा बढी मानिसहरूको लागि खाना दिनहुँ पनि पठाउने गरिन्छ र सप्ताहन्तको लागि पनि मेनु उपलब्ध छ। (g03 1/22)
पाहाको लागि सुरुङ
क्यानाडाको भ्यानकुभर आइल्याण्ड राजपथमा काम गरिरहेका इन्जिनियरहरू यो राजमार्गले अर्को महत्त्वपूर्ण बाटो अर्थात् “पाहा मार्ग” काट्ने देखेर छक्क परे। ब्युटिफुल ब्रिटिश कोलम्बिया पत्रिकाअनुसार “तीन सेन्टिमिटर लामा लाखौं पश्चिमी पाहाहरू” निर्माणाधीन राजमार्गमा तिनीहरूको दलदले प्रजननस्थलबाट अग्लो ठाउँमा गइरहेका देखियो। राजमार्गको कारण पाहाहरूलाई खतरा हुने भएकोले “त्यस कार्यमा संलग्न इन्जिनियरहरू यसको समाधान कसरी गर्ने भनी गौर गर्न थाले।” तिनीहरूले यो समस्या कसरी समाधान गर्नेथिए? त्यस प्रोजक्टका वातावरण संयोजक क्रेग बार्लोका अनुसार इन्जिनियरहरूले “बार बनाए जसले बसाइँ सर्न लागेका पाहाहरूलाई तिनीहरूको लागि विशेष गरी बनाइएको राजमार्गमुनिको सुक्खा सुरुङबाट जान लगाउँछ।” पत्रिकाअनुसार पश्चिमी पाहालाई “पानीको प्रदूषण, बासस्थानको समस्या र मौसम परिवर्तनले तुरुन्तै प्रतिकूल असर पार्छ।” (g03 1/22)
क्षयरोग अझै छ
क्षयरोग (टिबी) पक्कै पनि निर्मूल भएको छैन भनी ब्योनस आयर्सको अखबार क्लेरिन-ले रिपोर्ट गर्छ। यो विशेष गरी गरिब मुलुकहरूमा व्याप्त छ। लेखमा उल्लेख गरिएअनुसार, अर्जेन्टिनामा “वर्षेनी १४,००० नयाँ बिरामीहरू देखा पर्छन्।” “विश्व स्वास्थ्य संघको रिपोर्टअनुसार . . . यो रोगले वर्षेनी अझै पनि २० लाख मानिसहरूको ज्यान लिइरहेको छ।” टिबी अक्सर कुपोषण र गरिबीको कारण हुने भनिए तापनि यो अत्यन्तै संक्रामक भएकोले सबै मानिसहरू खतरामा छन्। “टिबी एकदमै सरुवा रोग हो र समाजका जोसुकैलाई पनि लाग्न सक्छ” भनी टिबीको औषधीको प्रयोगमा अग्रज डा. हुलियो गोन्जालेज मोन्टानेर बताउँछन्। हवाई यात्रा गर्दा, आफ्नै समुदाय वा काम गर्ने ठाउँमा पनि मानिसहरूलाई यो रोग सर्न सक्छ भनेर तिनले बताए। (g03 1/22)
पहिलो प्रकाश प्रदूषण नियम
बर्लिनर मोर्गेनपोस्ट-ले उल्लेख गरेअनुसार प्रकाश प्रदूषणलाई निषेध गर्ने नियम निकाल्ने पहिलो देश चेक गणतन्त्र भएको छ। प्रोटेक्सन अफ द आटमोसफेर आक्ट भनिने नियम जून १, २००२ देखि लागू गरिएको हो। खगोलविद् र आमजनताले यसको पूरा समर्थन गरेका छन्। “कृत्रिम प्रकाशद्वारा विशेष गरी क्षितिजको लेभलभन्दा माथि चढेको प्रकाशलाई” प्रकाश प्रदूषण भनी त्यस नियमले व्याख्या गरेको छ। नागरिक तथा संगठनहरूले राती आकाश हेर्न बाधा पुऱ्याउने सबै प्रकारका प्रकाश कम गर्नुपर्छ। जून १ भन्दाअघि नै ब्रोन शहरमा प्रकाश कम गर्ने उपाय सुरु गरिसकिएको थियो। “एकदमै राम्रो प्रगति भएको छ” भनी चेक खगोलशास्त्री यान होलान बताउँछन्। (g03 1/22)
विश्वभरि साक्षरताको समस्या
हिजोआज विद्यार्थीहरूले कत्तिको राम्रो शिक्षा पाइरहेका छन्? आर्थिक सहयोग तथा विकास संगठनले “अनिवार्य स्कूल शिक्षा पूरा गर्न लागेका विद्यार्थीहरूमध्ये कति जनासँग समाजमा पूर्णतया सहभागी हुन आवश्यक ज्ञान र सीप छ” भनी जाँच्न ३२ वटा देशमा १५ वर्षका २,६५,००० जना उच्च माध्यमिक स्तरमा अध्ययनरत विद्यार्थीहरूको सर्वेक्षण गऱ्यो। तिनीहरूको अध्ययनबाट छ प्रतिशत विद्यार्थीहरू “पढ्ने कलामा एकदमै न्यून” भएको पत्ता लाग्यो। अरू १२ प्रतिशतसित “केही सरल जानकारीहरू वा कुनै लेखको मुख्य शीर्षक मात्र चिन्न सक्ने पढाइ” थियो। सामान्यता सबै देशमा केटाहरूभन्दा केटीहरू पढाइमा राम्रो पाइयो। फिनिश विद्यार्थीहरूको पढ्ने क्षमता सबैभन्दा राम्रो थियो भने जापानी र कोरियाली विद्यार्थीहरू विज्ञान र हिसाबमा उत्कृष्ट थिए। “२८ वटा देशमध्ये २० वटा देशका चार विद्यार्थीमध्ये एक जनाले स्कूल जान मन नलाग्ने कुरा” बताए। (g03 1/22)
धूम्रपानको ४० वर्षे इतिहास
सन् १९६२ मा बेलाइतको रोयल कलेज अफ फिजिसियन्सले स्मोकिङ एण्ड हेल्थ प्रकाशित गऱ्यो र “बेलाइतमा पहिलो चोटि आधिकारिक निकायले धूम्रपानको खतराको स्पष्ट चेतावनी दिएको” भनी लण्डनको द इन्डिपेन्डेन्ट-ले बतायो। त्यतिबेला ७० प्रतिशत पुरुष र ४३ प्रतिशत स्त्रीले धूम्रपान गर्थे। त्यसपछिको ४० वर्षमा “संयुक्त अधिराज्यमा ५० लाख मानिसहरूले धूम्रपानको कारण आफ्नो ज्यान गुमाइसके र यो दोस्रो विश्वयुद्धमा मारिएको मानिसहरूको संख्याभन्दा १२ गुणा बढी हो।” अहिले २९ प्रतिशत पुरुष र २५ प्रतिशत महिलाहरूले मात्र धूम्रपान गर्ने भए तापनि यसको “अझै विज्ञापन गरिन्छ, रोमाञ्चकारी देखाइन्छ र युवाहरूलाई यसको विशेष तारो बनाइन्छ” भनी दी इन्डिपेन्डेन्ट बताउँछ। रोयल कलेजको हालैको रिपोर्टअनुसार धूम्रपान गर्नेहरूको संख्या फेरि बढ्न थालेको छ र अझै पनि सार्वजनिक स्वास्थ्यको यो प्रमुख खतरा हो। धूम्रपान र फोक्सोको क्यान्सरको सम्बन्धबारे १९५० मा महत्त्वपूर्ण अध्ययन गरेका सर रिचर्ड डलले यो बानी छोड्न कहिल्यै ढिलो गर्नुहुँदैन भनेर बताउँछन्। तिनी अझ यसो भन्छन्, “म त यति नै भन्न चाहन्छु, धूम्रपान गर्न छोड्नुहोस्, जीवनको अझ बढी आनन्द उठाउनुहोस्।” (g03 1/22)
मोटोपन—विश्वभरि बढ्दो चिन्ता
“विश्वभरि नै” वयस्क तथा केटाकेटीहरू दुवैमा मोटोपनको समस्या “एकदमै बढिरहेको छ” र अहिले यो समस्या केही असाध्यै गरिब देशहरूमा पनि देखा परेको छ भनी द ल्यान्सेट बताउँछ। नर्थ क्यालोराइना युनिभर्सिटीका अर्थशास्त्री र पोषणको एपिडेमियोलोजिस्ट ब्यारी पोप्किनका अनुसार यो समस्या केही हदसम्म मकै, भटमास र कपासको बीउबाट तेल निकाल्ने प्रविधिको विकासले गर्दा भएको हो। द ल्यान्सेट-अनुसार “एसिया तथा अफ्रिकी देशहरूमा साधारणतया दिनहुँ खाने भोजनमा थप क्यालोरी यस्तो तेलबाट प्राप्त हुन्छ।” साथै, सरकारको कृषि तथा व्यापार नीतिनियमहरूले कम मोलमा चिनी निर्यात गर्ने अनुमति दिन्छ जसले गर्दा उत्पादकहरूले खाना स्वादिष्ट बनाउने सस्तो चिनी बजारमा बिक्री गर्न थाल्छन्। विभिन्न क्षेत्रमा भएको प्राविधिक विकासको कारण त्यति चलहल गर्नु पर्दैन र बल पनि खर्च हुँदैन। फलस्वरूप बिस्तारै वजन बढ्न थाल्छ। मोटोपनले मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगहरू निम्त्याउन सक्ने हुँदा भोजन तथा स्वास्थ्यविद्हरू चिन्तित छन्। (g03 1/8)
विश्वका २५ प्रतिशत अन्धाहरू भारतमा
“भारतमा १.२ करोड अन्धा मानिसहरू छन् जुन संसारको कुल अन्धाहरूको संख्याको २५ प्रतिशत हो” भनी भारतको डेक्कन हेराल्ड बताउँछ। भारतभरिको ४० वटा भन्दा बढी शहरका स्कूल तथा कलेजहरूमा संकलन गरिएको जानकारीको आधारमा युथ भिजन इन्डिया, २००२ ले तयार पारेको रिपोर्टअनुसार “आँखासम्बन्धी समस्या भएका ५० प्रतिशतभन्दा बढी युवाहरूलाई आफ्नो समस्या भएको कुरा थाहै नभएको” पाइयो। खोजअनुसार आँखासम्बन्धी समस्याको मुख्य कारण, रेटिनाले एउटै ठाउँमा केन्द्रित गर्न नसक्नु र मोतीबिन्दु भएको थाह पाइयो र यी दुवैको उपचार गर्न सकिन्छ। भारतमा आँखासम्बन्धी समस्याको मुख्य कारण “मानिसहरूमा ज्ञानको अभाव र आँखासम्बन्धी विशेषज्ञहरूको कमी हो” भनी अखबारमा उल्लेख गरिएको छ। त्यसमा अझ यसो भनिएको छ: “भारतमा आँखासम्बन्धी विशेषज्ञहरू ५,००० मात्रै छन् जबकि विश्व स्वास्थ्य संघले ४०,००० हुनुपर्ने सुझाव दिन्छ।” (g03 1/8)