सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सवारीसाधान—विगत र वर्तमान

सवारीसाधान—विगत र वर्तमान

सवारीसाधान—विगत र वर्तमान

परापूर्व कालदेखि नै मानिसले यातायातमा चासो राख्दै आएको छ। सुरु-सुरुमा मानिस एक ठाउँबाट अर्को ठाउँमा जान पशुहरूमा निर्भर थियो। तर यताउता जान अझ प्रभावकारी तरिकाको आवश्‍यकता थियो। त्यसको लागि मुख्य तत्त्व पाङग्रा थियो जसले गर्दा पछि घोडाले तान्‍ने गाडा र बग्गीहरू बनाइए। तथापि, १९ औं शताब्दीमा यातायातको क्षेत्रमा भएका प्रगतिहरू युगान्तकारी साबित भए जुन पहिला अकल्पनीय थिए।

उन्‍नत इन्जिनहरू

उन्‍नाइसौं शताब्दीको बीचतिर निकोलस अगस्त ओट्टो नाउँ गरेका जर्मनले ग्यासबाट चल्ने फोर-स्ट्रोक इन्जिन बनाए जुन अन्ततः वाष्प तथा इलेक्ट्रिक इन्जिनको सट्टामा प्रयोग गर्न थालियो। युरोपमा सवारीसाधनको उत्पादन सुरुवात गर्ने अग्रजहरू जर्मनीका कार्ल बेन्ज र गटलेब डेम्लर थिए। सन्‌ १८८५ मा बेन्जले दुई स्ट्रोक चक्रले चल्ने तीन पाङ्‌ग्रे गाडी चलाउँथे र यसको इन्जिन एक सिलिन्डरको थियो र प्रति मिनेट २५० चक्कर घुम्थ्यो। डेम्लरले कुनै एक ठाउँमा जडान गरिएको ग्यास-इन्जिन १८७२ देखि उत्पादन गर्न थाले। त्यसको झन्डै एक दशकपछि विल्हेम मेबाकको साथमा तिनले उच्च गतिको कार्बोरेटरसहितको इन्टरनल-कम्बसनको इन्जिन बनाए र यसले गर्दा इन्धनको रूपमा ग्यासोलिन प्रयोग गर्न सम्भव भयो।

यसको लगत्तै डेम्लर र मेबाकले प्रति मिनेट ९०० चोटि घुम्न सक्ने इन्जिन बनाए। पछि तिनीहरूले अर्को इन्जिन बनाए र यसलाई तिनीहरूले साइकलमा हाले अनि यसलाई पहिलो चोटि नोभेम्बर १०, १८८५ मा गुडाइयो। सन्‌ १९२६ मा डेम्लर र बेन्जको कम्पनी एउटै गरियो र तिनीहरूले आफ्ना सामानहरू मर्सिडिज-बेन्जको नाउँमा बेच्न थाले। a चाखलाग्दो कुरा के हो भने, यी दुई मानिसहरूको कहिल्यै भेट भएन।

सन्‌ १८९० मा दुई फ्रान्सेली पुरुषहरू, एमिली लेभासोर र रेने पानार्डले च्यासिसको बीचमा इन्जिन राखेर चार पाङ्‌ग्रे गाडी बनाए। त्यसपछि तिनीहरूले इन्जिनलाई अगाडितिर राखे र यसो गर्दा गोरेटो बाटोमा धूलो र हिलोबाट बचाउन सकिन्थ्यो।

गाडीहरू सजिलै उपलब्ध गराउने

सुरुसुरुका गाडीहरू असाध्यै महँगा र साधारण जनताको औकातले नभ्याउने थिए। तर १९०८ मा हेनरी फोर्डले मोडल टि-को गाडी उत्पादन सुरु गर्न थालेपछि यो सबै परिवर्तन भयो र यसलाई टिन लिज्जी भनेर चिनिन थाल्यो। यो गाडी सवारीसाधन उद्योगमा क्रान्तिकारी साबित भयो। यो सस्तो, बहुउपयोगी र स्याहारसम्भार गर्न सजिलो थियो। यसलाई सीमित आयस्रोत भएकाहरूले पनि किन्‍न सक्थे। b ग्रेट कार्स अफ द ट्‌वेनटियथ सेन्चुरी नामक पुस्तकअनुसार “अमेरिका र अन्ततः पूरै संसारलाई गाडी उपलब्ध गराइदिन” मोडल टि-को ठूलो योगदान छ।

अहिले झन्डै एक शताब्दीपछि थुप्रैले सवारीसाधनलाई विलासिताको साधन नभई आवश्‍यकताको रूपमा लिन्छन्‌। साँच्चै, लण्डनको इन्डिपेन्डेन्ट नाउँ गरेको दैनिक पत्रिकामा प्रकाशित अध्ययनअनुसार मानिसहरूले एक किलोमिटरभन्दा कम दूरीको लागि पनि गाडी चलाउँछन्‌।

प्राविधिक उन्‍नतिले गर्दा गाडी तेज गतिमा हाँक्न सक्नुका साथै सुरक्षित पनि भएको छ। निस्सन्देह, हालका वर्षहरूमा थुप्रै देशहरूमा घातक सवारी दुर्घटनाहरूको संख्यामा कमी आएको छ। केही मानिसहरूको लागि गाडीको बाहिरी रूपभन्दा सुरक्षा महत्त्वपूर्ण भएको छ र यो बिक्री बढाउने मुख्य पक्ष भएको छ। उदाहरणका लागि, गाडी नराम्ररी ठोक्किंदा अझ विकसित क्रम्पल जोन्सको कारण च्यासिसको केही खास भागले बोझ थाम्छ र अरू अझ जब्बर भागहरू चाहिं तुरुन्तै चालक र यात्रुहरूको लागि सुरक्षा खोर बन्छ। चिप्ला सतहहरूमा एन्टिलक ब्रेकको कारण गाडीको नियन्त्रण अझ राम्रो हुन्छ। बेस्सरी ठोक्किंदा छाती र कम्मरमा टमक्क हुने सिट-बेल्टका साथै चालक तथा यात्रुको सुरक्षाको लागि स्वतः निस्कने एयर-ब्यागले स्टेरिङ वा ड्यासबोर्डमा ठोक्किनदेखि बचाउँछ। c

निस्सन्देह, राम्ररी गाडी हाँक्नुको अरू कुनै विकल्प छैन। “गाडी चलाउने हाम्रो तरिका नै ठीक छैन भने गाडीलाई जत्तिनै सुरक्षात्मक बनाए तापनि केही फाइदा हुँदैन; हामीले केही भौतिक नियमहरू तोड्‌ने कोसिस गऱ्‍यौं भने कुनै पनि अत्याधुनिक प्रविधिले बचाउन सक्दैन” भनी मेक्सिको सिटीको एल इकोनोमिस्टा-ले औंल्याउँछ।

आजभोलि कुनै-कुनै सवारीसाधनहरू त गुड्‌ने घरजस्ता देखिन्छन्‌। गाडीमा कम्प्याक्ट डिस्क प्लेयर, टेलिभिजन, टेलिफोन तथा गाडीको अगाडि र पछाडि तापक्रम मिलाउने उपकरण सबै हुन्छ। अनि कुनै-कुनै गाडीमा भूउपग्रह सहायक ग्लोबल पोजिसनिङ प्रणालीले चालकहरूलाई आफ्नो गन्तव्यस्थान पुग्ने सबैभन्दा सजिलो मार्ग पत्ता लगाउन मदत गर्छ। केही प्रणालीले बाटोघाटोको समस्याबारे नवीनतम जानकारीहरू दिन्छ। निश्‍चय पनि केही मानिसहरूको लागि सबैभन्दा अत्याधुनिक उपकरणहरू राख्नु र सबैभन्दा नयाँ मोडलको गाडी किन्‍नु आफ्नो प्रतिष्ठा र ओहदाको चिनारी भइसक्यो र यो कुरा उत्पादक तथा विज्ञापनदाताहरूले पनि महत्त्व दिएको पाइन्छ।

सवारीसाधनहरूको झन्डै एक शताब्दी लामो इतिहास हेर्दा अहिले निकै प्रगति भइसकेको हामीले देख्यौं। जिम्मेवार ढंगमा राम्रोसँग चलायौं भने गाडी व्यापारिक कारोबार र घुम्न जानको लागि असाध्यै उपयुक्‍त साधन हुन सक्छ। (g03 1/8)

[फुटनोटहरू]

a डेम्लरका प्रमुख लगानीकर्ता एमिल येल्निकले आफ्नी छोरी मर्सिडिजको नाउँमा गाडीहरूको नाउँ राख्ने सुझाव दिए। डेम्लर भन्‍ने नाउँ जर्मन जस्तो सुनिने भएकोले फ्रान्समा गाडी त्यति बिक्री नहोला भन्‍ने तिनको डर थियो।

b सुरुमा मोडल टि-को मोल ८५० अमेरिकी डलर थियो तर १९२४ सम्ममा नयाँ फोर्ड गाडी नै २६० अमेरिकी डलरमा पाइन्थ्यो। मोडल टि-को उत्पादन १९ वर्षसम्म गरियो जुन समयावधिमा १.५ करोडभन्दा बढी गाडीहरू बनाइए।

c एयर-ब्याग विशेष गरी केटाकेटी र सानो कदका वयस्कहरूलाई एक मात्र सुरक्षात्मक साधनको रूपमा चलाउँदा खतरनाक हुन सक्छ।

[पृष्ठ २४-मा भएको नक्सा/चित्र]

संकेत गरिएका वर्षहरू उत्पादन समयावधि हुन्‌

१८८५ बेन्ज मोटर कार,

संसारको पहिलो व्यावहारिक सवारीसाधान

१९०७-२५ रोल्स-रोयस सिल्भर गोस्ट,

छरितो, शक्‍तिशाली, शान्त, विलासी र भरपर्दो थियो

१९०९-२७ फोर्ड मोडल टि

-को धेरै उत्पादन गरियो; १,५०,००,००० भन्दा धेरै बिक्री भयो

पृष्ठभूमिमा: फोर्डको उत्पादन लाइन

१९३०-७ क्याडिल्याक भि१६ ७.४-एल

संसारको पहिलो र सबैभन्दा सफल १६ सिलिन्डर इन्जिनको गाडी

१९३९-आजको भोल्क्सवागन बिटल

२,००,००,००० भन्दा बढी उत्पादन गरियो। नयाँ बिटल (तल बायाँ) १९९८ मा बजारमा ल्याइयो

१९४१-आजको जिप

यो संसारको सबैभन्दा चिरपरिचित गाडी हुन सक्छ

१९४८-६५ पोर्स ३५६

भोल्क्सवागन बिटल नकल गरेर बनाइएको; पोर्स सफल हुन थाल्यो

१९५२-७ मर्सिडिज-बेन्ज ३०० एस एल

गुलविङ्‌ग उपनाउँ दिइएको, स्पेस-फ्रेम र फ्युल-इन्जेक्सन इन्जिन भएको पहिलो गाडी

१९५५-६८ सिट्रियन डि एस १९

यसको स्टेरिङ र ब्रेकमा हाइड्रोलिक पावर हुनुका साथै चार स्पिडको गेयर र सडकको लेभलअनुसार गाडीको चक्का तलमाथि गर्ने क्षमता थियो

१९५९-आज अस्टिन मिनि

यो नविन र लोकप्रिय गाडी रेस र ऱ्‍यालीमा पनि धेरै सफल भयो

१९६२-४ फेरारी २५० जि टि ओ

३०० हर्सपावर भि-१२, एकदमै सक्षम रेस गाडी

१९७०-३ ड्याटसन २४०जि

भरपर्दो र औकातले भ्याउने स्पोर्टस गाडी

१९७०-आजको रेन्ज रोभर

संसारको सबैभन्दा राम्रो मानिएको फोर-ह्वील गाडी

१९८४-आजको क्रिस्लर मिनिभ्यान

यसप्रकारको गाडीको लोकप्रियता बढाउन मदत गऱ्‍यो

थ्रस्ट एस एस सि

अक्टोबर १५, १९९७ मा सं.रा.अ.-को नेभाडाको ब्ल्याक रक मरुभूमि पार गर्दा यसले प्रति घण्टा १२२८ किलोमिटरको वेगमा हुँइकिने आधाकारिक रेकर्ड राख्यो

[स्रोत]

Benz-Motorcar: DaimlerChrysler Classic; background: Brown Brothers; Model T: Courtesy of VIP Classics; Rolls-Royce: Photo courtesy of Rolls-Royce & Bentley Motor Cars

Jeep: Courtesy of DaimlerChrysler Corporation; black Beetle: Courtesy Vintage Motors of Sarasota; yellow Beetle: VW Volkswagen AG

Citroën:© CITROËN COMMUNICATION; Mercedes Benz: PRNewsFoto

Chrysler Minivan: Courtesy of DaimlerChrysler Corporation; Datsun: Nissan North America; Thrust SSC: AP Photo/Dusan Vranic