सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन बढ्‌दो समस्या?

किन बढ्‌दो समस्या?

किन बढ्‌दो समस्या?

के तपाईंलाई लागू औषध र हातहतियारको बेचबिखनपछि संसारको तेस्रो ठूलो आपराधिक गतिविधि देहव्यापार हो भनेर थाह थियो? संयुक्‍त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनअनुसार सबै प्रकारका वेश्‍यावृत्तिमा तीव्र वृद्धि भइरहेको छ।

एउटा ल्याटिन अमेरिकी देशमा, संसदीय जाँचबुझ समितिको रिपोर्टअनुसार त्यस देशमा वेश्‍यावृत्ति गैरकानुनी भए तापनि ५,००,००० वेश्‍या बालिकाहरू हुन्‌।

अर्को देशमा झन्डै ३,००,००० बाल-वेश्‍याहरू सडकमा डुलिहिंड्‌छन्‌ र तिनीहरू विशेष गरी लागू औषध ओसारपसार हुने इलाकामा देखिन्छन्‌।

प्राप्त प्रमाणअनुसार एसियाली मुलुकहरूमा झन्डै दस लाख केटीहरूलाई दाससरह अत्यन्तै दयनीय अवस्थामा वेश्‍याको काममा लगाइन्छ। कुनै-कुनै देश त बाल-वेश्‍या र यौन पर्यटनको लागि नै नामुद भइसकेको छ।

एड्‌सजस्ता यौनजन्य रोगहरूको खतरामा वृद्धिको कारण ग्राहकहरू केटाकेटीको लागि बढी पैसा तिर्न तयार छन्‌ किनभने तिनीहरूले कौमार्य गुमाएका हुँदैनन्‌ र संक्रमण हुने सम्भावना पनि कम हुन्छ। ब्राजिलका कानुन मन्त्रालयका लुजी नाजिब इलुफ बताउँछिन्‌: “एड्‌सको डरको कारण पुरुषहरू झन्‌ झनै कलिला केटी र केटाहरू खोज्छन्‌ र यसले गर्दा समस्याले अझ विकराल रूप लिन्छ।” उनले अझ यसो भनिन्‌: “ब्राजिलका गरिब महिलाहरूमाझ सबैभन्दा गम्भीर सामाजिक समस्या भनेको बालिका तथा किशोरीहरूको यौन शोषण हो।”

गरिबी र बाल-वेश्‍यावृत्ति

दुःख र गरिबीको वातावरणमा बाल-वेश्‍यावृत्ति फस्टाउँछ। एक जना सरकारी अधिकारीका अनुसार उनको देशमा बाल-दुर्व्यवहार र वेश्‍यावृत्तिको “प्रत्यक्ष सम्बन्ध टुक्रिएको परिवारसित छ र यो गरिबी तथा दुःखको उपज हो।” कोही-कोही आमाबाबुहरू गरिबीको कारण आफ्ना छोराछोरीलाई वेश्‍यावृत्तिमा बेच्न विवश भएको बताउँछन्‌। खाते बच्चाहरू वेश्‍यावृत्तिमा लाग्छन्‌ किनभने तिनीहरूलाई यो आफ्नो हातमुख जोर्न एक मात्र माध्यम जस्तो लाग्छ।

ओ एस्टाडो डे साऊ पाऊलो नामक अखबारअनुसार सडक गुण्डाहरूको समूहमा सामेल हुने केटी अन्ततः वेश्‍या बन्‍न सक्छिन्‌। केही खानको लागि तिनले चोर्न थाल्लान्‌ र कहिलेकाहीं मात्र आफ्नो देहव्यापार गर्छिन्‌। तर पछि गएर पेशेवर वेश्‍या बन्‍न पुग्छिन्‌।

कहिलेकाहीं किशोरकिशोरीलाई अर्को देशमा वेश्‍याको रूपमा काम गर्न पठाइन्छ। “ती प्रवासी वेश्‍याहरूले आफ्ना परिवारहरूलाई पठाउने रकम केही एसियाली र अफ्रिकी देशहरूको गरिबीलाई विचार गर्दा धेरै हुन्छ” भनी युनेस्को सोर्सेज-ले रिपोर्ट गर्छ। “यी देशहरूमा वेश्‍यावृत्तिको बढवा पनि गरिन्छ किनभने धनी राष्ट्रका पर्यटकहरू युवायुवती तथा बालबालिकाले उपलब्ध गर्ने ‘सेवाको’ मजा लिन मात्र पनि आउने गर्छन्‌।”

ल्याटिन अमेरिकी शहरहरूमा वेश्‍याको रूपमा काम गर्ने सडक बालबालिकाहरूले सामना गर्ने खतराहरूबारे वर्णन गर्दै टाइम पत्रिका यस्तो रिपोर्ट गर्छ: “कोही-कोही वेश्‍याहरू त भर्खर १२ वर्ष पुगेका हुन्छन्‌। अक्सर तिनीहरू टुक्रिएको परिवारका सन्तान हुन्छन्‌, तिनीहरू दिउँसो जहाँ पायो त्यहीं सुत्छन्‌ र बेलुका चाहिं नाविकहरू आउने डिस्कोतिर लाग्छन्‌।”

लागूपदार्थको प्रभावमा बाल-वेश्‍या आफूले साधारणतया कहिल्यै सहमत नहुने अपमानजनक कार्यहरू पनि सहनुपर्ने हुन सक्छ। उदाहरणका लागि, भेजा पत्रिकाअनुसार एक जना चिकित्सकले ५० जनाभन्दा बढी महिलाहरूलाई निर्ममतासाथ सास्ती दिइरहेको ९२ वटा भिडियोटेप प्रहरीले फेला पाऱ्‍यो र तीमध्ये कतिपय नाबालिग थिए।

यस कहालीलाग्दो वास्तविकताको बावजुद एक जवान वेश्‍याले यसो भनिन्‌: “मैले काम खोजें भने आफ्नो पेट पाल्न पुग्ने पैसा पनि कमाउन सक्दिनँ किनभने मसँग कुनै सीप छैन। मेरो परिवारलाई म के गर्छु भनेर राम्ररी थाह छ र म यो जीवन शैली छोड्‌ने वाला छैन। यो मेरो शरीर हो र म जे चाहन्छु त्यही गर्छु।”

यद्यपि, यी केटीहरूले आफू पनि वेश्‍या बन्छु भनेर कहिल्यै सोचेका हुँदैनन्‌। एक जना समाज सेविकाअनुसार थुप्रै जवान वेश्‍याहरू “विवाह गर्न चाहन्छन्‌” र “सुन्दर राजकुमारको” सपना देख्छन्‌। तिनीहरूलाई वेश्‍याको जीवन बिताउन बाध्य तुल्याउने जटिल परिस्थितिहरू भए तापनि एक जना अनुसन्धानकर्ताले यस्तो दाबी गर्छिन्‌: “सबैभन्दा दुःखदायी कुरा त के छ भने, अधिकांश आफ्नै घरमा बलात्कारका सिकार भएका थिए।”

के बाल-वेश्‍यावृत्तिको अन्त हुनेछ?

तथापि, यी निस्सहाय केटाकेटीको लागि आशा छ। सबै उमेरका वेश्‍याहरूले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याएका छन्‌। (पृष्ठ ७ मा “मानिसहरू परिवर्तन हुन सक्छन्‌” भन्‍ने पेटी हेर्नुहोस्‌।) परमेश्‍वरको वचन बाइबलले संसारभरि लाखौं मानिसहरूलाई असल छिमेकी र परिवारको वफादार सदस्य हुन मदत गरेको छ। कुनै समय व्यभिचारी, जारी गर्ने, चोर, लुच्चा, मतवालाहरूको सन्दर्भमा हामी यस्तो लेखिएको पाउँछौं: “तिमीहरूमा कोही कोही यस्तै थिए, तर प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्‍वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौ।”—१ कोरिन्थी ६:९-११.

बाइबल समयमा जस्तै आज पनि आफ्नो जीवनमा राम्रो परिवर्तन गरेका व्यक्‍तिविशेषहरू छन्‌। तैपनि यौन शोषणको अन्त गर्न अझ केही गर्नुपर्छ। केही सरकार तथा संगठनहरूले यौन पर्यटन र बाल-वेश्‍या विरुद्ध अभियान चलाएका छन्‌। तर वास्तवमा दुःख र गरिबीलाई निर्मूल गर्न मानिसले खासै केही गर्न सक्दैन। विधायकहरूले विचार तथा मनोवृत्तिमा जरा गाडेको अनैतिकतालाई रोक्न सक्दैन।

तथापि, मानिसहरूको प्रयासको बावजुद अर्को एउटा माध्यमले मात्र यी सबै समस्याहरू समाधान गर्नेछ। त्यो हो, परमेश्‍वरको राज्य। अर्को लेखले यसबारे बताउनेछ। (g03 2/08)

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

अक्सर गरिबीले केटाकेटीलाई बाल-वेश्‍यावृत्तितर्फ धकेल्छ

[पृष्ठ ६-मा भएको पेटी]

चर्को मोल

आफ्नै दाइद्वारा यौन दुर्व्यवहारको सिकार हुँदा डेजी छ वर्षकी मात्र थिइन्‌। फलस्वरूप उनी १४ वर्षको नहोउन्जेलसम्म आफ्नो दाइसँग बसिन्‌ र त्यसपछि नाइटक्लबमा काम गर्न थालिन्‌। त्यसको केही समयपछि डेजी बिरामी परिन्‌। निको भएपछि नाइटक्लबको मालिकले उनीमाथि लागेको ऋण देखाए र उनलाई वेश्‍याको रूपमा काम गर्न जबरजस्ती गरे। झन्डै एक वर्षपछि पनि उनको ऋण चुक्‍ता भएको थिएन र यसो हेर्दा ऋण तिर्न जिन्दगीभर पनि सकिंदैन जस्तो थियो। तथापि, एक जना नाबिकले उनको बाँकी ऋण चुक्‍ता गरिदिए र उनलाई अर्कै शहरमा लगे र त्यहाँ उनलाई दाससरह व्यवहार गरियो। उनले त्यस नाविकको घर छोडिन्‌ र पछि एक जना पुरुषसँग तीन वर्ष बसेपछि तिनीहरूले विवाह गरे। थुप्रै वैवाहिक समस्याले गर्दा उनले तीन चोटि आत्महत्या गर्ने प्रयास गरिन्‌।

अन्ततः उनी र उनको श्रीमान्‌ दुवैले बाइबल अध्ययन गर्न थाले। तर डेजीलाई आफू यहोवाको साक्षी हुन अयोग्य छु जस्तो लाग्थ्यो। यहोवा परमेश्‍वरले आवश्‍यक परिवर्तन गर्नेहरूलाई ग्रहण गर्नुहुन्छ भनी बाइबलबाट देखाएपछि उनले आफ्नो जीवन उहाँमा समर्पित गरिन्‌। डेजीले सही कुरा गर्न पूरापूर प्रयास गरिन्‌ तर उनले कहिल्यै पर्याप्त गरेजस्तो महसुस गरिनन्‌ र समय समयमा निराशामा डुब्थिन्‌। तर खुसीको कुरा, उनले यौन दुर्व्यवहार र बाल-वेश्‍याको रूपमा आफ्नो जीवनको वेदनामाथि विजय हासिल गर्न र भावनात्मक तवरमा सन्तुलन प्राप्त गर्न तथा त्यसलाई कायम राख्न मदत स्वीकारेकी छिन्‌।

[पृष्ठ ७-मा भएको पेटी]

मानिसहरू परिवर्तन हुन सक्छन्‌

येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा उहाँ पीडित र पापी मानिसहरू देखेर टिठाउनुभयो। जस्तोसुकै उमेरको वेश्‍याले पनि आफ्नो जीवन परिवर्तन गर्न सक्छ भनेर उहाँले बुझ्नुभयो। येशूले धर्मगुरुहरूलाई समेत यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, महसूल उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्दा अगि परमेश्‍वरका राज्यमा प्रवेश गर्छन्‌।” (मत्ती २१:३१) तिनीहरूको जीवन शैलीको कारण तिनीहरूको छि:छि: दूरदूर गरिने भए तापनि निष्कपट हृदय भएकाहरूले परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्दा क्षमा पाउन सक्छन्‌। पश्‍चात्तापी पापीहरू वेश्‍याको काम त्यागेर परमेश्‍वरको राज्यका आशिष्‌हरू पाउन इच्छुक थिए। त्यसपछि तिनीहरूले परमेश्‍वरको धार्मिक स्तरअनुरूप जीवन बिताए। आज पनि सबै क्षेत्रका मानिसहरूले परमेश्‍वरको वचनको सत्य अँगाल्छन्‌ र आफ्नो जीवन शैलीमा परिवर्तनहरू गर्छन्‌।

सुरुको लेखमा उल्लेख गरिएका मारिया, करिना र एस्तेलालाई के भयो विचार गर्नुहोस्‌। वेश्‍याको काम नछोड्‌ने आमाको दबाबबाहेक मारियाले लागूपदार्थको दुर्व्यसन विरुद्ध संघर्ष गर्नुपऱ्‍यो। तिनी भन्छिन्‌: “वेश्‍याको रूपमा जीवन बिताइरहेको कारण मनभित्र आउने बेकम्माका भावनाहरूलाई दबाउन म लागू औषध सेवन गर्थें।” यहोवाका साक्षीहरूको मसीही मण्डलीमा तिनलाई गरिएको स्वागतबारे मारिया भन्छिन्‌: “मण्डलीका सदस्यहरूले मलाई देखाएको प्रेमबाट म प्रभावित भएँ। केटाकेटीलगायत वयस्कहरू सबैले मलाई आदरका साथ व्यवहार गरे। विवाहित पुरुषहरू आफ्नो श्रीमतीप्रति वफादार भएको देखें। तिनीहरूले मलाई साथीको रूपमा स्वीकारेकोले म असाध्यै खुसी छु।”

करिना १७ वर्षकी हुँदा तिनको यहोवाका साक्षीहरूसँग भेट भयो। तिनले बाइबल अध्ययन गर्न थालिन्‌ तर केही समयसम्म वेश्‍याकै हैसियतमा काम गरिरहेकी थिइन्‌। समय बित्दै जाँदा तिनले बाइबलका सत्य कुराहरू मूल्यांकन गर्न थालिन्‌। त्यसैकारण तिनले टाढा शहरमा बसाइँ सर्ने निर्णय गरिन्‌ र यहोवाको एक जना साक्षी भइन्‌।

कलिलै उमेरदेखि वेश्‍यावृत्ति, मोजमस्ती र मतवालापनमा संलग्न एस्तेलाको बाइबलमा चासो जाग्यो। तथापि, परमेश्‍वरले तिनलाई कहिल्यै क्षमा गर्नुहुने छैन भन्‍ने निष्कर्षमा तिनी पुगिन्‌। तर समयको अन्तरालमा तिनले यहोवा परमेश्‍वरले पश्‍चात्तापीहरूलाई क्षमा दिनुहुन्छ भनेर बुझिन्‌। अहिले मसीही मण्डलीको सदस्य, विवाहित र तीन छोराछोरीकी आमा एस्तेला यसो भन्छिन्‌: “म यहोवाप्रति साह्रै कृतज्ञ र खुसी छु किनभने उहाँले मलाई हिलोको दलदलबाट निकाल्नुभयो र उहाँको स्वच्छ संगठनमा स्वीकार्नुभएको छ।”

यी विवरणहरूले देखाएअनुसार परमेश्‍वरले ‘सत्यको ज्ञानमा आउने सबै मानिसहरूको उद्धार गर्नुहुन्छ’ भन्‍ने बाइबलको कथनलाई समर्थन गर्छ।—१ तिमोथी २:४.

[पृष्ठ ७-मा भएको चित्र]

बाल-वेश्‍याहरू सामान्यतया लागूपदार्थको दुर्व्यसनमा फसेका हुन्छन्‌

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

© Jan Banning/Panos Pictures, 1997