सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के मैले म्युजिक भिडिओ हेर्नु ठीक हो?

के मैले म्युजिक भिडिओ हेर्नु ठीक हो?

युवा जनहरू सोध्छन्‌ . . .

के मैले म्युजिक भिडिओ हेर्नु ठीक हो?

“म्युजिक भिडिओहरू क्या मजाका हुन्छन्‌, तीमध्ये कति त छोटो चलचित्रजस्तै हुन्छ। तिनीहरूले कथा बताउँछन्‌ र त्यसको नृत्य सम्पादन देखेर मलाई ताजुब लाग्छ।”—केजी।

“म्युजिक भिडिओ भनेको नयाँ-नयाँ संगीत पत्ता लगाउने राम्रो तरिका हो। त्यसमा एकदमै लोकप्रिय ४० वटा भन्दा बढी गीतहरू देखाइन्छ। यसको साथै, म्युजिक भिडिओ गफ छाँट्‌ने एकदमै राम्रो विषय हुन सक्छ।”—जस।

“भिडिओमा देखाइने सबै जानकारीहरू मेरोलागि एकदमै महत्त्वपूर्ण हुन्छन्‌, जस्तै: कसले गाइरहेको छ, उसले कस्तो पहिरन लगाएकी छे, उसले कस्तो नृत्य गरेकी छे। यी सबैले गीतका शब्दहरूको अर्थ बताउँछ।”—किम्बर्ली।

“आफूलाई मनपर्ने ब्यान्डले यस पटक के गर्न लागिरहेको छ भनेर जान्‍न म एकदमै उत्सुक हुन्छु। मलाई स्पेशल इफेक्टहरू मनपर्छ। अनि कुनै-कुनै भिडिओहरू त साह्रै हाँसउठ्‌दा हुन्छन्‌। तर होसियार पनि हुनुपर्छ।”—शाम।

सायद तपाईंलाई पनि म्युजिक भिडिओ हेर्न निकै मनपर्छ होला। पहिलो चोटि टेलिभिजनमा देखाइँदा तिनीहरू तुलनात्मक हिसाबले अलि कम बजेटमा तयार पारिएका थिए होलान्‌। तर म्युजिक भिडिओ भनेको केही समय चलेर त्यसै हराएर जाने कुरा होइन भन्‍ने कुरा प्रमाणित हुनुका साथै रेकर्ड गरिएका भिडिओहरूले राम्रो बजार लिन थालेपछि तिनीहरू कलात्मक तथा प्राविधिक रूपमा अझ बढी परिष्कृत भए। आज यो संगीतजगत्‌को एउटा अभिन्‍न भाग हुनुका साथै जवानहरूमाझ एकदमै लोकप्रिय साबित भएको छ। कुनै-कुनै मुलुकहरूमा त म्युजिक भिडिओ मात्रै देखाउने थुप्रै टिभी स्टेशनहरू छन्‌।

तर यहाँ उल्लिखित शामजस्ता युवाहरूले किन होसियार हुनुपर्ने कुरा गरे? के कुनै-कुनै म्युजिक भिडिओहरूले तपाईंमा नकारात्मक असर पार्न सक्छ अथवा यसले तपाईंको सोचाइ तथा नैतिक मूल्यमान्यतालाई भ्रष्ट वा सृष्टिकर्तासितको तपाईंको सम्बन्धलाई समेत खतरामा पार्न सक्छ भनेर हो? यस्तो प्रश्‍न अलि अचाक्ली लाग्न सक्छ। तर सोच्नुहोस्‌, तपाईं कुनै एउटा ताल वा समुद्रमा पौडी खेल्न जानुहुँदा त्यहाँ तपाईंले यहाँ पौडी खेल्नु एकदमै खतरनाक छ भनेर लेखिएको चेतावनी चिन्ह देख्नुभयो भने, के यस्ता चेतावनीहरूलाई बेवास्ता गर्नु बुद्धिमानी हुनेछ? पक्कै हुने छैन। उसोभए, म्युजिक भिडिओहरूको सन्दर्भमा दिइएका कुनै-कुनै चेतावनीहरूलाई विचार गर्नु बुद्धिमानी हुनेछ।

खतरनाक क्षेत्र

तपाईंले हेर्नुहुने र सुन्‍नुहुने कुराले तपाईंलाई असर गर्न सक्छ भन्‍ने तथ्यलाई तपाईंले स्वीकार्नु खाँचो छ। इस्राएलका प्रथम राजा, शाऊलले आफ्नो आवेगलाई शान्त गर्न संगीतलाई उपयोग गरेका थिए भनी बाइबलले हामीलाई बताउँछ। (१ शमूएल १६:१४-२३) के संगीतले नकारात्मक असर पनि पार्न सक्छ? रक एण्ड रोल—इट्‌स हिस्ट्री एण्ड स्टाइलिस्टिक डिभेलपमेन्ट भन्‍ने पुस्तक यसो भन्छ: “संगीतको द्विपक्षीय प्रभाव हुँदैन भन्‍न सकिंदैन। यदि हामी रक म्युजिकले सकारात्मक असर पारेको थियो (जस्तो पारिरहेको पनि छ) भनी मानिलिन्छौं भने, यसले नकारात्मक असर पनि पारेको थियो (जस्तो पारिरहेको पनि छ) भनेर स्वीकार्न हामी तयार हुनै पर्छ। खूब घमण्ड गर्दै ‘म त संगीत सुन्छु, तर यसले मलाई कुनै असर गर्दैन’ भन्‍ने व्यक्‍ति कि त एकदमै मूर्ख हो नभए ऊ यस विषयमा अनभिज्ञ छ।”

आँखाले हाम्रा सोचाइ तथा भावनाहरूमा पार्ने असरबारे बाइबलले पटक-पटक जोड दिन्छ। (हितोपदेश २७:२०; १ यूहन्‍ना २:१६) त्यसैकारण त म्युजिक भिडिओमा प्रभावशाली दृश्‍य सामग्रीहरू थपथाप गरेर यसका निर्माताहरूले श्रोताहरूको लागि एकदमै प्रभावकारी संगीत तयार पार्छन्‌। साधारणतया कस्ता दृश्‍य सामग्रीहरू प्रयोग गरिन्छन्‌?

एउटा अध्ययनअनुसार लगभग ५७ प्रतिशत रक भिडिओमा हिंसाका दृश्‍यहरू हुन्छन्‌। लगभग ७६ प्रतिशतमा यौनसम्बन्धी दृश्‍यहरू देखाइन्छन्‌। अर्को हालै गरिएको एउटा विश्‍लेषणले के कुरा पत्ता लगाएको छ भने, धारणा-भिडिओहरूमा (कथा बताउने भिडिओहरू) पनि अनैतिक दृश्‍यहरू समावेश गरिएका हुन्छन्‌ र आधाभन्दा बढी त महिलाहरू विरुद्ध गरिएका हिंसाले भरिएका हुन्छन्‌। त्यसोभए, के यस्ता भिडिओहरू हेर्दा तपाईंलाई साँच्चै हानि पुग्छ? एउटा पत्रिकाले औंल्याएअनुसार “म्युजिक भिडिओले कलिलो उमेरमै वा जोखिमपूर्ण यौन सम्बन्ध राख्ने विषयमा किशोरकिशोरीहरूको विचारधारालाई साँच्चै असर गर्छ भन्‍ने कुरा ३७ वटा प्रयोगात्मक अध्ययनले देखाउँछ।” अनि संगीतकारहरूले आफूभन्दा पहिलेका संगीतकार तथा साथीहरूलाई उछिन्‍ने क्रममा साधारणतया म्युजिक भिडिओहरू झन-झनै छाडा हुँदै गएका छन्‌ भन्‍ने कुरालाई कसैले नकार्न सक्दैन।

शिक्षण क्षेत्रका एक जना विशेषज्ञले यसो भने: “म्युजिक भिडिओहरूमार्फत आफूले सुन्‍ने र हेर्ने कुराहरू विगत पुस्ताहरूमा संगीतले जति प्रभाव पारेको थियो त्योभन्दा खासै फरक छैन भनी अधिकांश व्यक्‍तिहरू भन्‍ने गर्छन्‌। . . . तर आजका बहुसंख्यक कलाकर्मीहरूले रेकर्ड गरिएका कुराहरूको व्यापार विस्तारको लागि लापरवाहीपूर्वक अपवित्र तथा घृणित कुरालाई स्वीकार्य साधनको रूपमा लिन्छन्‌ जस्तो देखिन्छ।” अनि खास-खास म्युजिक भिडिओ च्यानल हेर्ने व्यक्‍तिहरूको विषयमा सिकागो पत्रिका यसो भन्छ: “यी च्यानलले सीधै अश्‍लील भन्‍नचाहिं नमिल्ने तर वास्तवमा अश्‍लील कुराले नै भरिएको कार्यक्रम निरन्तर प्रसारण गरिरहन्छ।”

सिकागो पत्रिकाले वर्णन गरेको एउटा म्युजिक भिडिओमा “रेष्टुराँमा एक जना जवान मानिस आफ्नो टाउको पछिल्तिर लत्र्याएर बसिरहेको हुन्छ। उसको घाँटीमा रगतजस्तो रातो चिरा देखा पर्छ र टाउको भुइँमा खस्छ।” अर्को भिडिओमा चाहिं एक जना मानिसले आफूले लगाएका लुगा एउटा-एउटा गर्दै फुकाल्ने क्रममा आफ्नो शरीर र मांसपेशी काटेर रक्‍तपातपूर्ण कार्य गरेको देखाइन्छ। वर्णन नै गर्न नसकिने अन्य कुराहरू पनि देखाइएका थिए।

यहाँ वर्णन गरिएका भिडिओहरू असाध्यै बढाइचढाइ गरेर भनिएका कुराहरू हुन्‌ र साँच्चै भन्‍ने हो भने, ती भिडिओहरू त्यति नराम्रा हुँदै हुँदैनन्‌ भनेर कसै-कसैले यी तथ्यहरूलाई बेवास्ता गर्लान्‌। कतिले त झनै तिनीहरूले हेरेको म्युजिक भिडियो आपत्तिजनक वा हानिकारक भएजस्तो महसुसै गर्दैनन्‌। तर के त्यसले यस्ता भिडिओहरू बारम्बार हेरेकोले यी व्यक्‍तिविशेषहरू भावशून्य भएका छन्‌ भन्‍ने कुरा संकेत गर्दैन र? सुरुमा उल्लिखित केजी यसरी स्वीकार्छिन्‌: “आफूले हेर्ने कुरामा तपाईंले कुनै सीमा तोक्नुभएन भने, सुरु-सुरुमा आपत्तिजनक लाग्ने कुरा पनि अन्ततः तपाईंलाई सामान्य लाग्नेछ। चालै नपाउने गरी तपाईं त्योभन्दा तल्लो स्तरको कुरा हेर्न थाल्नुहुन्छ र सुरुमा आफूलाई ज्यादै आपत्तिजनक लागेका कुरा स्वीकार्य हुन थाल्छ।”

त्यसको परिणाम कस्तो हुन सक्छ? असल नैतिक निर्णयहरू गर्ने तपाईंको क्षमतामा ठूलो क्षति पुग्न सक्छ। हाम्रो मनलाई नकारात्मक कुराहरूले सजिलै असर गर्न सक्ने भएको कारण बाइबलले हामीलाई “आफ्नो योग्यता र विवेकको रक्षा गरिराख्‌” भनी सल्लाह दिन्छ। (हितोपदेश ३:२१; ५:२) अर्को नकारात्मक परिणाम भनेको यसले गर्दा यहोवा परमेश्‍वरसितको तपाईंको मित्रतामा आँच आउन सक्छ। के त्यो तपाईंको सबैभन्दा अनमोल सम्पदा होइन र? त्यसैकारण, कुनै पनि किसिमको अनुपयुक्‍त मनोरञ्जनदेखि टाढै बस्न ठोस कदमहरू चालेर तपाईंले त्यस मित्रतालाई जोगाउनु आवश्‍यक छ। तपाईं कसरी यसो गर्न सक्नुहुन्छ?

आफूलाई सुरक्षित राख्ने

सर्वप्रथम, बाइबलले स्पष्टसित निन्दा गर्ने तडकभडक दृश्‍यहरू हेर्नु सरासर गलत हो भनी स्वीकार्नुहोस्‌। (भजन ११:५; गलाती ५:१९-२१; प्रकाश २१:८) ‘पवित्र जनहरूलाई उचित’ नहुने किसिमका कुराहरूको भिडिओमा गुनगान गर्न थालियो भने, त्यसलाई तुरुन्तै रोक्न तपाईं कटिबद्ध हुनै पर्छ। (एफिसी ५:३, ४) हुन त हो, एकदमै रोमाञ्चक म्युजिक भिडिओ हेरिरहनुहुँदा च्यानल फेर्नु वा टिभी बन्द गर्नु त्यति सजिलो नहुन सक्छ। त्यसैकारण, भजनहारले जस्तै तपाईंले यस्तो प्रार्थना गर्नु जरुरी पर्न सक्छ: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।”—भजन ११९:३७.

सुरुमा वर्णन गरिएजस्ता एकदमै नराम्रा भिडिओहरू हेर्नदेखि तपाईं स्वतः पछि हट्‌नुहोला। तथापि, कुनै-कुनै भिडिओमा देखाइने कुराहरू कुन किसिमका हुन्‌ सजिलै छुट्याउन सकिंदैन। यौन अनैतिकताका दृश्‍यहरू छोटा हुन सक्छन्‌। स्पष्टसित केही नभनी वा नदेखाईकन अभक्‍त विचारधारालाई बढवा दिन गीतका बोल तथा दृश्‍यहरू बडो चलाखीपूर्वक संयोजन गरिएका हुन सक्छन्‌। यद्यपि, कुनै भिडिओ हेर्दा तपाईंले अलिकति पनि दोषी महसुस गर्नुभयो भने, त्यो कुनै न कुनै तरिकामा अस्वास्थ्यकर वा गैरमसीही भएको हुन सक्छ। त्यसोभए, के उचित छ के छैन भन्‍ने विषयमा कुनै स्पष्ट जानकारी नहुँदा तपाईं कसरी के हेर्नुहुन्छ के हेर्नु हुँदैन भनेर निर्णय गर्न सक्नुहुन्छ?

निस्सन्देह, तपाईं म्युजिक भिडिओ हेर्नुहोस्‌ या नहेर्नुहोस्‌, त्यो तपाईंको व्यक्‍तिगत निर्णय र तपाईंका आमाबाबुले राख्नुपर्ने चासोको विषय हो किनभने तपाईंले के हेर्नुहुन्छ, के हेर्नु हुँदैन सो निर्णय गरिदिने जिम्मेवारी उहाँहरूको हो। (एफिसी ६:१, २) तर आमाबाबुले तपाईंलाई म्युजिक भिडिओ हेर्ने अनुमति दिनुहुन्छ भने, आफूलाई जे उचित लाग्छ त्यसैको भरमा मात्र निर्णय गर्नु पर्याप्त नहुन सक्छ। हिब्रू ५:१४ हामीलाई ‘असल र खराब छुट्याउनलाई ज्ञानेन्द्रियको अभ्यास’ गर्न प्रोत्साहन दिन्छ। हाम्रो ज्ञानेन्द्रिय शक्‍ति बाइबल सिद्धान्तहरूको अध्ययनद्वारा प्रशिक्षित छन्‌। यही सिद्धान्तले यहोवाको नजरमा के असल र के खराब छ निधो गर्ने आधार प्रदान गर्छ। यस्ता बाइबल सिद्धान्तहरू मनन गरेर तपाईं आफूलाई डोऱ्‍याउने निश्‍चित बाइबल नियम नहुँदासमेत आफ्नो आध्यात्मिक स्वास्थ्यको लागि के हानिकारक छ, सो ठम्याउन सक्नुहुनेछ।

उसोभए, विशेष गरी कस्ता बाइबल सिद्धान्तहरूले तपाईंलाई म्युजिक भिडिओ हेर्ने सन्दर्भमा डोऱ्‍याइ प्रदान गर्न सक्लान्‌ त? यसबारे आउँदो लेखमा छलफल गरिनेछ। (g03 2/22)

[पृष्ठ २२-मा भएको ठूलो अक्षरको क्याप्सन]

“खूब घमण्ड गर्दै ‘म त संगीत सुन्छु, तर यसले मलाई कुनै असर गर्दैन’ भन्‍ने व्यक्‍ति कि त एकदमै मूर्ख हो नभए ऊ यस विषयमा अनभिज्ञ छ”

[पृष्ठ २३-मा भएको चित्र]

कुनै हानिकारक कुरा हेरेर के तपाईं साँच्चै यसले पार्ने प्रभावबाट बच्न सक्नुहुन्छ?