सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मौसमलाई असर गर्ने बार

मौसमलाई असर गर्ने बार

मौसमलाई असर गर्ने बार

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! लेखकबाट

यसले कुनै समय पश्‍चिमी अस्ट्रेलियालाई माथिदेखि तलसम्म छुट्याउँथ्यो। सन्‌ १९०७ मा यसको निर्माणकार्य पूरा हुँदा यो काठ र तारले बाँधेको १,८३० किलोमिटर लामो बार संसारमै सबैभन्दा लामो थियो। यसको आधिकारिक नाउँ नम्बर वान ऱ्‍याबिट प्रुफ फेन्स थियो।

यो नाउँले संकेत गरेझैं १९ औं शताब्दीको अन्ततिर अस्ट्रेलियाको पश्‍चिमी भागमा खरायोको महामारीलाई रोक्न बनाइएको पहिलो बार थियो। आज, यस सय वर्ष पुरानो बारको अधिकांश भाग अहिलेसम्म छ। तथापि, हालैका वर्षहरूमा भने यसले एउटा बेग्लै कारणको लागि वैज्ञानिकहरूको ध्यानाकर्षण गरेको छ। मानव-निर्मित यो बारले अप्रत्यक्ष ढंगमा स्थानीय मौसम प्रणालीलाई असर गरेको जस्तो देखिन्छ।

लगभग एक मिटर अग्लो बारले त्यस्तो असर कसरी पार्न सक्छ भनी पत्ता लगाउनुअघि यो उल्लेखनीय संरचनाको इतिहास अलिकता बुझौं।

असफल प्रयासहरू

आक्रमणकारी खरायोहरू विरुद्ध लड्‌न ४०० जति कामदारहरूले नम्बर वान ऱ्‍याबिट प्रुफ फेन्स बनाउन १९०१ देखि १९०७ सम्म कडा परिश्रम गरे। पश्‍चिमी अस्ट्रेलियाको कृषि विभागअनुसार “जहाजमा ८,००० टन सामग्री ढुवानी गरेर डिपोसम्म पुऱ्‍याइयो अनि त्यसपछि बार निर्माणाधीन दुर्गम इलाकामा घोडा, उँट र गधालाई बोकाएर लगियो।”

कामदारहरूले बारको दुवैतिर जमिन सम्याएर तीन मिटर चौडा कच्ची बाटो बनाए। यसरी ढालिएका कतिपय रूखहरू बारको खम्बा बनाइयो भने रूखहरू नभएको ठाउँको लागि धातुका खम्बाहरू झिकाइयो। यो काम पूरा हुँदा खरायोको लागि मात्र बार नभई पूरै महादेशमा फैलिएको कच्ची बाटो हुन पुग्यो।

यो बार छेडेर भित्र पस्न खोज्ने खरायोहरू समातेर यसले विशाल पासोको काम गऱ्‍यो। तथापि, बारको कुनै-कुनै भागमा खरायोहरू चढ्‌न सक्थे। कसरी? पश्‍चिम दिशातर्फ तिनीहरू सर्दै जाँदा यी खरायोहरू मरेका सिनुहरूको थाकमाथि चढेर पारिपट्टि जान्थे। पहिलो बारमै जोडेर अर्को दुईवटा बार निर्माण गरियो। यसरी जम्माजम्मी ३,२५६ किलोमिटर लामो बार बन्‍न पुग्यो।

मानव धैर्यको प्रमाण

एफ. एच. ब्रुमहलजस्ता मुठीभर व्यक्‍तिहरूले यस विशाल बारको सुरक्षा गरे। द लंगेस्ट फेन्स इन द वर्ल्ड पुस्तकका लेखक ब्रुमहल यसो भन्छन्‌: “सुरक्षा गार्डको कर्तव्य . . . बार र कच्ची बाटोलाई सँगसँगै स्याहारसम्भार गर्नु थियो . . . बारको दुवैपट्टि घाँसपात र काठ दाउरा हटाएर फराकिलो पार्नु [अनि] हरेक ३२ किलोमिटरको दूरीमा राखिएका ढोका राम्रो अवस्थामा राख्नुका साथै पासोमा परेका [खरायो] झिक्नुपर्ने थियो।”

सीमाना सुरक्षा गार्डको जस्तो एक्लैले गर्नुपर्ने नरमाइलो काम अरू केही थिएन होला। साथीको नाउँमा उँट मात्र हुन्थ्यो अनि कुनै अन्त नदेखिने पर क्षितिजसम्म किलोमिटरौंको दूरी एक्लैले निगरानी राख्नुपर्थ्यो। यीमध्ये कोही-कोही सुरक्षा गार्डसित उँटसमेत थिएन र तिनीहरूको जिम्मामा छोडिएको इलाका गस्ती गर्न साइकलबाट फन्को मार्नुपर्थ्यो। आज, आरामदायी फोर ह्वील ड्राइभ गाडी प्रयोग गरेर बाँकी रहेको भागलाई निगरानी राखिन्छ।

पूरै असफल होइन

यो बारले खरायोको महामारीलाई रोक्न नसके तापनि अर्को उपद्रयाहा अस्ट्रेलियाको स्थानीय चरा, इमुलाई रोक्न भने प्रभावकारी साबित भएको छ। सन्‌ १९७६ मा १,००,००० भन्दा बढीको संख्यामा यी विशाल चराहरू उक्‍त बारको पश्‍चिम दिशाको उर्वर भूमिमा बसाइँ सर्न थाले। तर यो बारले गर्दा तिनीहरूले यात्रा पूरा गर्न सकेनन्‌ अनि ९०,००० चरा मरे तर जे होस्‌, त्यो वर्षको अधिकांश बाली स्वाहा हुनबाट जोगियो।

यो संकट भएदेखि अस्ट्रेलियाको खुला खेती योग्य जमिन इमु र जंगली कुकुरका बथानको ओइरोबाट रोक्ने बारको १,१७० किलोमिटर दूरी अझ बलियो बनाउनुका साथै संरक्षित इलाका अझ विस्तार गरिएको छ। a फलस्वरूप, यो बार अब सिमाङ्‌कन रेखा भएको छ। पूर्वपट्टि अस्ट्रेलियाको मुटुमा अवस्थित बन्जर मरुभूमि छ। पश्‍चिमपट्टि भने मानिसहरूले खेतीपाती गर्ने राम्रो हेरचाह गरिएको जमिन छ।

मौसमलाई अप्रत्याशित असर गर्ने पर्खाल

बालीनालीमा भएको भिन्‍नताले मौसममा उक्‍त बारले पारेको असरबारे बुझ्न सकिन्छ। विज्ञान पत्रिका द हेलिक्स यसो भन्छ: “पत्याउन गाह्रो भए तापनि बारको पूर्वतिर वर्षामा वृद्धि भएको छ भने पश्‍चिमतिर कम भएको छ।” तसर्थ, पूर्वतिरको बालीनालीमा निरन्तर आकासे पानी रहन्छ भने पश्‍चिमका किसानहरू भने सिंचाइमा निर्भर छन्‌। यस्ता परिवर्तन हुनुको एउटा सम्भाव्य कारणबारे उक्‍त पत्रिका यसो भन्छ: “खेती गरिएको क्षेत्रका बालीनालीको जरा त्यति गाडिएको हुँदैन र जरा धेरै गडेका वनस्पतिको तुलनामा त्यसले कम मात्र पानी निष्कासन गर्छ।”

वायुमण्डलीय विज्ञानका प्राध्यापक, टम लियोन्स अर्को पक्षबारे यस्तो टिप्पणी गर्छन्‌: “हाम्रो अध्ययनको निचोड के हो भने, खेतीपाती गरिएको जमिनभन्दा बन्जर जमिनको बालीनाली अत्यन्तै गाढा रङको भएको हुँदा यसले वायुमण्डलमा बढी ताप फ्याँक्छ . . . जसको फलस्वरूप वायुमा पार्ने प्रभावको कारण बादल बन्छ।”

ऱ्‍याबिट प्रुफ फेन्सले पश्‍चिमी अस्ट्रेलियाका किसानहरूलाई खरायोको महामारीबाट त जोगाउन सकेन होला तर यसले मौसममा पारेको असर प्रस्ट पार्नुका साथै जमिनको संरचना बदल्ने प्रयास गर्दा दूरदर्शी हुनुपर्ने पाठ भने सिकाउँछ। (g03 2/08)

[फुटनोट]

a यो बारलाई अहिले स्टेट बारियर फेन्स भनिन्छ।

[पृष्ठ १४-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

नम्बर वान ऱ्‍याबिट प्रुफ फेन्स

[पृष्ठ १५-मा भएको चित्र]

खरायो

[पृष्ठ १५-मा भएको चित्र]

२० औं शताब्दीको सुरुतिर बारको सुरक्षा गर्दै

[पृष्ठ १५-मा भएको चित्र]

इमु

[पृष्ठ १५-मा भएको चित्र]

कुल १,८३३ किलोमिटर दूरीसम्म फैलिएको नम्बर वान ऱ्‍याबिट प्रुफ फेन्स कुनै समय संसारको सबैभन्दा लामो बार थियो। यो बारले खेतीयोग्य जमिन र मरुभूमिलाई छुट्याएर मौसमलाई असर गर्ने पर्खाल खडा गरेको छ

[पृष्ठ १५-मा भएको चित्रको स्रोत]

All color pictures: Department of Agriculture, Western Australia; top center: Courtesy of Battye Library Image number 003582D