सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंको जुत्ता साँच्चै आरामदायी छ?

के तपाईंको जुत्ता साँच्चै आरामदायी छ?

के तपाईंको जुत्ता साँच्चै आरामदायी छ?

“जुत्ताले कहाँ दुखाउँछ भनेर जुत्ता लगाउनेलाई मात्र थाह हुन्छ।”—रोमी भनाइको रूपमा प्रचलित।

तपाईंले हालसालै जुत्ता किन्‍नुभएको कति भयो? तपाईंलाई जुत्ता ठीक छ? आरामदायी छ? तपाईंलाई त्यो जुत्ता छान्‍न कति समय लाग्यो? जुत्ता पसले वा सहयोगी कत्तिको मदतकारी थिए? तपाईंले त्यो जुत्ता स्टाइल मन परेरे किन्‍नुभएको हो या सजिलो लागेर? केही समय लगाएपछि तपाईंलाई कस्तो महसुस भएको छ? कतै दुखाउँछ कि?

जुत्ता किन्‍नु भनेको सोचे जत्ति सजिलो कुरा होइन। आफूलाई ठ्याक्कै साइज मिलेको जुत्ता भेट्टाउनु भनेको त एउटा जटिल काम हो। किन?

ठीक साइजको जुत्ता भेट्टाउने

सर्वप्रथम, तपाईंको ठूलो खुट्टा कुनचाहिं हो—दायाँ या बायाँ? के तपाईंलाई दुइटै खुट्टा बराबर जस्तो लाग्छ? एक चोटि फेरि विचार गर्नुहोस्‌ त! विचार गर्नुपर्ने अर्को कुरा के हो भने, खुट्टाको चार प्रकारको नाप हुन्छ: स्थिर नाप, उठेको बेलाको नाप, चलहल गरेको बेलाको नाप र थर्मल नाप। यिनीहरूबीच के भिन्‍नता छ?

स्थिर नापको सन्दर्भमा प्रोफेसनल शु फिटिङ भन्‍ने पुस्तक यसो भन्छ: “यो चलहल नगरी बसेको बेलाको खुट्टाको (ग्राहक बसेको बेला) नाप हो।” “उठेको बेलाको नाप” भन्‍ने अभिव्यक्‍तिले नै ग्राहकको उठेको बेलाको नाप भन्‍ने अर्थ बुझाउँछ। यो अवस्थामा खुट्टाको नाप र आकार परिवर्तन हुन्छ। माथि उल्लिखित पुस्तक यसो भन्छ: “सामान्यतया विश्राम अवस्थामा खुट्टाका सबै हड्डीहरू खुकुलो हुन्छ र उठ्‌दा तुरुन्तै “कसिन्छ” जसले गर्दा खुट्टाको नापमा नै परिवर्तन आउँछ।” तर अरू दुई प्रकारका नाप पनि छन्‌।

चलहल गरेको बेलाको नाप भनेको हिंड्‌दा, दौडँदा, उफ्रँदा वा अरू व्यायाम गर्दाको नाप हो। यतिबेला “खुट्टाको नाप, आकार र सन्तुलन सबैमा भिन्‍नता आउँछ।” चौथो नाप थर्मल हो। यसले ताप, आद्रता र चिसोको कारण हुने परिवर्तनलाई संकेत गर्छ। यसले खुट्टाको नाप पाँच प्रतिशतले ठूलो हुन सक्छ। त्यसैकारण त विशेष गरी तपाईंले गलत नापको जुत्ता लगाइरहनुभएको छ भने, दिनको अन्तमा जुत्ता फुकाल्दा कस्तो सञ्चो महसुस हुन्छ! अनि अक्सर त्यस्तै भइरहेको हुन्छ।

तपाईंको खुट्टाको नाप कसरी लिइन्छ?

एरिकले साढेदस वा एघार नम्बरको, मध्यम चौडाइको जुत्ता लगाइरहेको वर्षौं भइसक्यो। तर त्यस समयावधिमा तिनको खुट्टाको कुरूप माइली औंलामा खील र बायाँ बूढी औंलामा मासुभित्रबाट नङ पलाएर धेरै पिरोलिरहेको थियो। खुट्टासम्बन्धी विशेषज्ञले एरिकलाई तिनको खुट्टा, खुट्टा नाप्ने पेसेवरलाई नाप लिन लगाउने सुझाव दिए। एरिक आफ्नो खुट्टाको खास नाप साढे १२ र अंग्रेजी अक्षर “ए” चौडाइको हुनुपर्ने थाह पाउँदा छक्कै परे! “ए” अक्षरले सुलुक्क परेको खुट्टालाई बुझाउँछ। तर के खुट्टाको खास नाप थाह पाउन खुट्टाको लम्बाइ र चौडाइ मात्र भए पुग्छ? तपाईंले कसरी खुट्टाको नाप लिनुपर्छ?

कुनै-कुनै देशमा सामान्यतया खुट्टाको नाप लिन ब्रानोक उपकरण चलाइन्छ। (तस्विर हेर्नुहोस्‌।) यसबाट तीनवटा आधारभूत नाप पत्ता लगाउन सकिन्छ: खुट्टाको पूरा लम्बाइ, कुर्कुच्चादेखि औंलाको फेदको हड्डीसम्मको दूरी र त्यही हड्डीको चौडाइ। तर निस्सन्देह, प्रत्येक खुट्टाको आफ्नै आकार र नाप हुन्छ। यसैकारण हामी जुत्ता किन्‍नुअघि लगाएर हेर्छौं। तर समस्या यहाँनेर नै हुन सक्छ। के तपाईंले आफूलाई असाध्यै चित्त बुझेको जुत्ता लगाएर हेर्दा अलि कता-कता नमिलेको अनुभव गर्नुभएको छ? जुत्ता साहुजीले चाहिं, “जुत्ता लगाएपछि अलि फुक्छ” भन्छन्‌। तपाईंले जुत्ता किन्‍नुहुन्छ तर लगाएको केही दिन वा हप्तादिन बित्न नपाउँदै त्यो जुत्ता बेकार किनेछु जस्तो महसुस गर्न थाल्नुहुन्छ। अनि तपाईंको खुट्टामा फेरि अर्को खील आउँछ र मासुभित्र नङ पलाउन थाल्छ!

के तपाईंले सही नाप पत्ता लगाउनुभएको छ?

के सही नाप पत्ता लगाउन सम्भव छ? प्रोफेसनल शु फिटिङ-ले सीधै सम्भव छैन भन्छ। किन? “केही पार लगाउनै नसकिने अवरोधहरूको कारण। . . . कुनै पनि मानिसको दुइटा खुट्टाको नाप, आकार, सन्तुलन र चलहल गर्ने प्रकार एउटै हुँदैन।” त्यसैकारण तपाईंको ठूलो खुट्टालाई जुत्ता एकदमै ठीक छ भने पनि अर्कोचाहिं खुट्टालाई त्यति ठीक नहुन सक्छ। “यसको अर्थ ठिक्क मिल्ने जुत्ता भेट्टाउनै सकिंदैन भन्‍ने पनि होइन तर यति हो कि ‘ठ्याक्क मिलेको’ भन्‍ने पदावली वा विचारबारे हामी अझ बढी सजग हुनुपर्छ।”

तपाईंको खुट्टाको सबैभन्दा धेरै भार कहाँ पर्छ भनेर हेर्न चाहनुहुन्छ भने तपाईंको पुरानो, धेरै लगाइसकेको जुत्ता हेर्नुहोस्‌। जुत्ताको भित्रपट्टिको किनार हेर्नुहोस्‌। कहाँनेर सबैभन्दा धेरै खिइएको देख्नुहुन्छ? प्रायजसो जुत्तामा कुर्कच्चा पर्ने ठाउँ, तलुवामा हिल पर्ने ठाउँ अनि अगाडिको भागको एकातिर धेरै खिइएको हुन्छ। यसको अर्थ के हो? यसको अर्थ, “जुत्ताको केही भाग खुट्टाको आकारअनुसार ठिक्क मिलेको छैन। जुत्ताको कुनै भाग एकदमै खिइएको छ भने अरू कुनै भाग जस्ताको तस्तै नयाँ देखिन्छ।”

खुट्टाको आरामको लागि जुत्ताको थ्रोट अथवा फित्ता बाँध्ने ठाउँ पनि महत्त्वपूर्ण छ। के तपाईंले जुत्ताको फित्ता बाँध्ने फरक-फरक स्टाइल याद गर्नुभएको छ? बल स्टाइलमा जुत्ताको अगाडितिर देखि नै फित्ता बाँध्ने ठाउँ हुन्छ। तथापि, तपाईंको खुट्टा पुक्क परेको छ भने ब्लुचर स्टाइल आरामदायी हुन सक्छ किनभने यसको फित्ता बाँध्ने ठाउँको तलतिर खुला हुन्छ। (चित्र हेर्नुहोस्‌।) यो जानकारी किन महत्त्वपूर्ण छ? सोही स्रोत यसो भन्छ: “कुर्चुच्चोमा अप्ठ्यारो महसुस हुनुको मुख्य कारण प्रायजसो जुत्ताको घाँटी सानो भएर कसिनु हो, यसो हुँदा तल कुर्कुच्चो एकदमै थिचिन्छ।”

केटीहरूले लगाउने अग्लो हिल भएको जुत्ता नि?

केटीहरूलाई मन पर्ने अग्लो हिलले शरीरमा अर्कै प्रकारको दबाब पर्छ। अग्लो हिल भएको जुत्ताले शरीरको आकारमा नै परिवर्तन ल्याउँछ, अक्सर अग्लो हिल लगाउँदा खुट्टा अगाडितिर ढल्किन्छ अनि शरीरलाई सीधा राख्न घुँडा अलि खुम्च्याउनुपर्ने हुन्छ। अग्लो हिल भएको जुत्ता लगाउँदा पिडौंलाको मांसपेशी पनि खुम्चिएर झनै फुलेको देखिन्छ।

त्यसकारण केटीहरूको जुत्ताको हिल एकदमै महत्त्वपूर्ण भाग हो, यो तिनको आराम वा असुविधाको कारण हुन सक्छ। प्रोफेसनल शु फिटिङ-ले बताएअनुसार अग्लो हिल हुनुको तीनवटा मुख्य कारण छन्‌: ‘(१) “प्रतिष्ठा,” यसले गर्दा अग्लो देखिन्छ, (२) “थप सिंगार”—जुत्ताको थप डिजाइन वा स्टाइल र (३) थप आकर्षण—अग्लो हिल भएको जुत्ताले केटीको खुट्टालाई अझ आकार दिन्छ।’

महिलाहरूले हिलको आकारलाई विशेष गरी ध्यान दिनुपर्छ किनभने यसले नै शरीरको भार कहाँ पर्नेछ भनेर निर्धारण गर्छ। हिलको पुछार वा अगाडि टुप्पोमा दबाब पऱ्‍यो भने समस्या हुन सक्छ। किन? किनभने यसले गर्दा हिल भाँच्चिएर नराम्ररी लड्‌ने खतरा हुन्छ।

यस संक्षिप्त छलफलबाट कुन कुरा प्रस्ट भयो भने, ठ्याक्क मिलेको जुत्ता भेट्टाउन समय र थप खर्च लाग्छ किनभने राम्रो जुत्ता बनाउन समय चाहिन्छ। तर तपाईंको जुत्ताले तपाईंको पूरै शरीरको आराम र स्वास्थ्यको लागि समेत धेरै योगदान पुऱ्‍याउन सक्छ। त्यसैले जुत्ता छान्दा हतार नगर्नुहोस्‌। सही नाप लिनुहोस्‌। धीरज गर्नुहोस्‌। फेसन वा जुत्ताको बाहिरी रूपको बहकाउमा नपर्नुहोस्‌। (g03 3/8)

[पृष्ठ २०-मा भएको पेटी]

जुत्ता छान्दा विचार गर्नुपर्ने बुँदाहरू

विलियम ए. रोस्सी र रस टेनन्टले प्रोफेसनल शु फिटिङ नामक आफ्नो पुस्तकमा यस्तो सल्लाह दिन्छन्‌।

“खुट्टाको नाप लिनुको उद्देश्‍य जुत्ताको सही साइज भेट्टाउन मात्र होइन।” किन? किनभने जुत्ताको साइज त हिलको उचाइ, स्टाइल, ढाँचा, प्रयोग गरिएको सामान र कम्पनीको नाउँअनुसार फरक फरक हुन सक्छ। विशेष गरी आजको समयमा यो कुरा लागू हुन्छ किनभने आजभोलि विभिन्‍न स्तर भएका देशहरूले जुत्ताहरू उत्पादन गर्छन्‌।

तपाईंको खुट्टाको नाप लिंदा मोजा अगाडि तान्‍नुहोस्‌ ताकि खुट्टाको औंला नखुम्चियोस्‌ अनि नाप गलत हुने सम्भावना पनि हुँदैन साथै आफूले किन्‍ने जुत्ता सानो हुँदैन।

तपाईंको खुट्टाको नाप कसरी लिनुपर्छ—बसेर वा उठेर? “ग्राहकलाई मेचमा बसाएर नाप लिनु त अल्छी तरिका हो।” त्यसरी नाप लिंदा गलत हुन सक्छ। त्यसकारण खुट्टाको नाप लिनको लागि उठ्‌नुहोस्‌। अनि दुइटै खुट्टाको नाप लिनुहोस्‌। तपाईंको बायाँ खुट्टा ठूलो छ भनेर आफै अड्‌कल नकाट्‌नुहोस्‌। दुइटैको नाप लिनुहोस्‌!

“खुट्टाको नाप लिने पेसेवर व्यक्‍तिहरू, एकदमै सिपालु प्रशिक्षित व्यक्‍तिहरू हुन्‌ र त्यस्ता पोख्त व्यक्‍तिहरूको महत्त्व बुझेर मूल्यांकन गर्ने थुप्रै ठूल-ठूला पसलहरूमा त्यस्ता व्यक्‍तिहरू सेवारत हुन्छन्‌।”

[पृष्ठ १८-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

जुत्ताका भागहरू

तलुवा

भ्याम्प

थ्रोट

सक लाइनिङ

हिल ब्रेस्ट

माथिल्लो भाग

औंला छोप्ने भाग

बाहिरी तलुवा

वेल्ट

भ्याम्प

थ्रोट लाइन

जुत्ताको जिब्रो

क्वार्टर

हिल प्याड

हिल

[पृष्ठ १९-मा भएको चित्र]

ब्रानोक उपकरण

[पृष्ठ २०-मा भएको चित्र]

सबै जुत्ताका डिजाइनहरू यी सात आधारभूत स्टाइलहरूमा आधारित छन्‌

[पृष्ठ २०-मा भएको चित्र]

थ्रोट-लाइन स्टाइलहरू

ब्लुचर

बल