सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको आज्ञा पालन गर्न छनौट गर्ने युवक

परमेश्‍वरको आज्ञा पालन गर्न छनौट गर्ने युवक

परमेश्‍वरको आज्ञा पालन गर्न छनौट गर्ने युवक

सन्‌ १९३७ को अन्धकार युगमा सैद्धान्तिक मतभेदको कारण अधिकांश युरोपेली देशहरूमा तनाव उत्पन्‍न हुँदा साँचो मसीहीहरूले कठिन छनौट गर्नुपऱ्‍यो। उनीहरूले परमेश्‍वरको आज्ञा पालन गर्ने कि मानिसको? (प्रेरित ५:२९) सेनामा भर्ती हुने उमेर पुगेका जवान मानिसहरूलाई परमेश्‍वरको आज्ञा पालन गरेको खण्डमा आफ्नो ज्यान जानेछ भन्‍ने कुरा थाह थियो।

उन्‍नाइ वर्षीय स्पेनी नागरिक एन्टोनियो गारगायोले यस्तो छनौट गर्नुपऱ्‍यो। जनरल फ्रान्कोको राष्ट्रवादी सेनाले तिनलाई सैन्य सेवाको लागि बोलाउँदा स्पेनमा गृह-युद्ध चलिरहेको लगभग दस वर्ष भइसकेको थियो। त्यसको अघिल्लो वर्ष एन्टोनियोले यहोवाको साक्षीको हैसियतमा बप्तिस्मा लिएका थिए अनि तिनले परमेश्‍वरका सेवकहरू तटस्थ रहनुपर्छ र युद्ध गर्न सिक्नुसमेत हुँदैन भन्‍ने धर्मशास्त्रीय सल्लाह पढेका थिए। (यशैया २:४; यूहन्‍ना १७:१६) सिपाही बन्‍न र आफ्ना सँगी देशवासीलाई मार्न नचाहेको कारण एन्टोनियो भागेर फ्रान्स जान खोजे। तर तिनलाई गिरफ्तार गरियो र फ्रान्सको सिमाना नजिकै हाका प्रान्तस्थित सैनिक ब्यारेकमा लगियो।

सैनिक अदालतले तिनलाई यस्तो कठोर छनौट गर्न लगायो: हतियार उठाऊ वा मृत्युदण्ड भोग। एन्टोनियोले परमेश्‍वरको आज्ञा पालन गर्ने निर्णय गरे। तिनलाई मृत्युदण्ड दिइनुभन्दा एक छिनअघि तिनले भिन्‍नै विश्‍वास भएका आफ्नी आमा र बहिनीलाई निम्न पत्र लेखे:

“मलाई गिरफ्तार गरिएको छ र मैले आफ्नो वकालत गर्न नपाई मलाई मृत्युदण्डको सजाय सुनाइएको छ। आजको रात पृथ्वीमा मेरो अन्तिम रात हुनेछ। दुःख नमान्‍नुहोला वा नरुनुहोला . . . किनभने मैले परमेश्‍वरको आज्ञा पालन गरेको छु। जेहोस्‌, मैले खासै कोही गुमाएको छैन किनकि परमेश्‍वरको इच्छा भए म नयाँ र उत्तम जीवन पाउनेछु। . . . अब मेरो धेरै समय छैन र मनमा कुनै छटपटी पनि भइरहेको छैन। कृपया तपाईंहरूलाई साँच्चै माया गर्ने छोरा र दाइको अन्तिम आलिंगन स्वीकार्नुहोस्‌।” a

मृत्युदण्ड दिन लैजाँदै गर्दा बाटोमा एन्टोनियोले यहोवाको प्रशंसाका गीतहरू गाएका थिए भनी तीन जना सिपाहीहरूले बताए। यस्ता त्यागहरू यहोवा वा उहाँको पुत्रको नजरबाट लुक्न सक्दैन। एन्टोनियोजस्ता विश्‍वासी मसीहीहरूले पुनरुत्थानमार्फत आफ्नो इनाम पाउनेछन्‌ भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं।—यूहन्‍ना ५:२८, २९. (g03 3/8)

[फुटनोट]

a स्पेनी सैनिक अभिलेखमा दशकौंसम्म एन्टोनियोको पत्र सुरक्षित राखियो, जुन पत्र तिनकी आमाको हातमा कहिल्यै पुग्न सकेन।