सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मौन संकट” चाँडै अन्त हुनेछ!

“मौन संकट” चाँडै अन्त हुनेछ!

मौन संकटचाँडै अन्त हुनेछ!

“केही समयअघिको अवस्थालाई हेर्दा हामी अहिले प्रचुरताको संसारमा बाँचिरहेका छौं। . . . सैद्धान्तिक तवरमा हेर्ने हो भने, . . . सबैको लागि चाहिनेभन्दा बढी भोजन छ।” यो विश्‍व-स्वास्थ्यसंघको अध्ययनबाट निकालिएको निष्कर्ष हो। त्यसो हो भने, कुपोषण हुनुको वास्तविक कारण के हो?

विश्‍व-स्वास्थ्यसंघ बताउँछ, “खाद्यान्‍नको उत्पादन र वितरण समान अनुपातमा भइरहेको छैन। दुःखको कुरा, विकासोन्मुख मुलुकका उर्वर भूमिमा प्रशस्त उब्जनी भएको अन्‍नबाली रूपियाँ आर्जनको लागि निर्यात गरिंदा गरिबहरू रित्तो हात र भोको पेट लिएर केवल टुलुटुलु हेरिरहन्छन्‌। थोरैले क्षणिक नाफा कमाउँछन्‌ भने धेरैले चिरकालीन नोक्सानी बेहोर्छन्‌।” संयुक्‍त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले हालै गरेको अनुसन्धानअनुसार ‘यस ग्रहको पाँच भागको एक भाग धनी वर्गले ‘कूल मासु र माछाको ४५ प्रतिशत जति खान्छन्‌ भने गरिबको भागमा ५ प्रतिशत मात्र पर्छ।’

अर्कोतर्फ, “गुणस्तरीय शिक्षा तथा सही जानकारीको अभाव पनि कुपोषणको कारण हो” भनी बताउँदै संयुक्‍त राष्ट्रसंघीय बालकोष यसो भन्छ: “जानकारी प्रदान गर्ने रणनीति अनि उत्तम तथा सजिलै प्राप्त गर्न सकिने शैक्षिक कार्यक्रम नभएको अवस्थामा कुपोषण विरुद्ध लड्‌न चाहिने जनचेतना, क्षमता र आनीबानी विकास गर्न सकिंदैन।” तर खानाको अभावले स्वास्थ्य अवस्था कमजोर बनाउनुका साथै उत्तम शिक्षा हासिल गर्ने क्षमतालाई क्षीण बनाउँछ अनि अर्को निष्ठूर चक्र सुरु हुन्छ।

न्याय र अरूप्रति निस्वार्थ चासो

त्यस्ता निराशाजनक अवरोधहरूको बावजुद यस क्षेत्रमा संलग्न केही विशेषज्ञहरू अझै आशावादी देखिन्छन्‌। जस्तै, खाद्य तथा कृषि संगठनका प्रमुख निर्देशक जाक डिओफले यस्तो आशा व्यक्‍त गरे: “मैले प्रत्येक पुरुष, स्त्री तथा बच्चाले हरेक दिन पर्याप्त पौष्टिक पदार्थ अनि सुरक्षित भोजन पाउने संसारको अवधारणा राखेको छु। मेरो अवधारणामा संवृद्धि र गरिबीबीचको ठूलो खाडल बिस्तारै पुरिनेछ। म भेदभाव होइन सहनशीलता; गृहयुद्ध होइन शान्ति; वातावरणीय भूक्षय होइन प्रशस्त प्राकृतिक साधन; भविष्यविहीन निराशा होइन आम-संवृद्धि भएको संसारको परिकल्पना गर्छु।”

तर हामीले बुझ्यौं, ती आशाहरू साकार पार्न खाद्यान्‍न उत्पादन र वितरण बढाउनु मात्र पर्याप्त हुनेछैन। सर्वव्यापी न्याय तथा अरूप्रति नि:स्वार्थ चासो आवश्‍यक पर्नेछ। तर यी उत्कृष्ट गुणहरू वर्तमान भौतिकवादी संसारको चिनारी होइन।

पृथ्वीबाट कुपोषण निर्मूल पार्न के लोभ, गरिबी, कलह र स्वार्थजस्ता ठूला अवरोधहरू हटाउन सम्भव छ? अथवा के यो असम्भव सपना मात्र हो?

एक मात्र साँचो समाधान

बाइबलले बताएअनुसार हामी कुपोषण हुनुपछाडिका मूलभूत कारणहरूबारे छक्क पर्नु पर्दैन। परमेश्‍वरको वचन यसो भन्छ: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, . . . स्वाभाविक प्रेम रहितका, खुशी नहुने, . . . असल नरूचाउने, . . . परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌।”—२ तिमोथी ३:१-५.

के मानवजातिमा यसरी जरा गाडिसकेका मनोवृत्तिहरू परमेश्‍वरको मदतविना निर्मूल गर्न सकिन्छ? असम्भव जस्तो देखिन्छ, होइन र? सायद तपाईंले याद गर्नुभएको होला, कहिलेकाहीं ओहदामा बसेका मानिसहरू समाजको सामाजिक समस्याहरू हटाउन सही मनसाय राख्छन्‌ तर अत्यन्तै इमानदार प्रयासलाई पनि अरूको स्वार्थ, पैसाको प्रेम अनि असिद्धताले निष्फल तुल्याउँछ।—यर्मिया १०:२३.

यद्यपि, यसको समाधान एउटा असम्भव सपना मात्र चाहिं होइन। परमेश्‍वरको राज्यले अन्यायको समस्यालगायत अहिले मानिसजातिलाई पिरोलिरहेको सबै दुःखकष्टको अन्त गर्ने प्रतिज्ञा गरेको छ।

यशैया ९:६, ७ ले यस्तो अद्‌भुत आशा प्रदान गर्छ: “हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ उदेकका युद्धि निकाल्नुहुने, पराक्रमी परमेश्‍वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाइनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ खड़ा गरी स्थिर गराउन अब उप्रान्त सदाको निम्ति उहाँले शासन गर्नुहुनेछ। सेनाहरूका परमप्रभुको उत्तेजित जोशले यो गर्नेछ।”

प्रभुको प्रार्थनामा मानिसहरूले “तपाईंको राज्य आओस्‌” भन्‍ने राज्य पनि यही हो। (मत्ती ६:९, १०) याद गर्नुहोस्‌, यशैयाले बताएअनुसार “सेनाहरूका परमप्रभुको उत्तेजित जोशले यो गर्नेछ।” हो, यहोवा परमेश्‍वरले मानिसहरूको आवश्‍यकता पूरा गर्न सधैं उत्कट चासो देखाउनुभएको छ। उहाँले सबैको लागि पर्याप्त भोजन प्रदान गर्न यस पृथ्वीको संरचना गर्नुभएको छ।

उहाँबारे भजन ६५:९-१३ यसो भन्छ: “पृथ्वीको हेरचाहा गरेर तपाईंले त्यसलाई पानीले भिजाउनुहुन्छ, तपाईंले त्यसलाई ज्यादै फलिफाप तुल्याउनुहुन्छ, परमेश्‍वरको नदी पानीले भरिएको हुन्छ, पृथ्वीलाई यसरी तयार गर्नुभएपछि तपाईंले मानिसहरूलाई अन्‍न जुटाईदिनुहुन्छ। तपाईंले त्यसका ड्याङहरू प्रशस्तसँग पानीले भिजाउनुहुन्छ, तपाईंले त्यसका डीलहरू सम्म पार्नुहुन्छ, तपाईंले त्यसलाई झरीले नरम तुल्याउनुहुन्छ, तपाईंले त्यसको उब्जनीलाई आशिष दिनुहुन्छ। . . . खर्कहरूमा भेडा-बाख्रा प्रशस्त हुन्छन्‌। बेंसी पनि अन्‍नले ढाकिएका हुन्छन्‌, तिनीहरू आनन्दले कराउँछन्‌, तिनीहरू भजन पनि गाउँछन्‌।”

हो, सृष्टिकर्ता यहोवा नै मानिसजातिको सबैभन्दा उत्तम प्रबन्धक हुनुहुन्छ। उहाँले नै “सबै प्राणीहरूलाई आहार दिनुहुन्छ। किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ।”—भजन १३६:२५.

ख्रीष्टको अधीनमा परमेश्‍वरको राज्यले सबै मानिसहरूको हेरचाह गर्नुहुनेछ भनी हामी ढुक्क हुन सक्छौं। बाइबलले बताएअनुसार “पृथ्वीका पहाडका टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।” तर समान अनुपातमा वितरण पनि हुनेछ किनभने “[येशू ख्रीष्टले] दरिद्रहरूको पुकारा सुनेर . . . छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई . . . छुटकारा दिनेछ।” (भजन ७२:१२, १३, १६) त्यसकारण, साहसी हुनुहोस्‌! यो “मौन संकट” सदाको लागि अन्त हुने समय नजिकै छ। (g03 2/22)

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

“भोक र कुपोषण निर्मूल पार्नु सैद्धान्तिक तवरमा सम्भव छ। यसो गर्ने साधनहरू उपलब्ध छन्‌। चुनौती भनेको . . . राष्ट्रिय तथा अन्तरराष्ट्रिय तवरमा एकजुट भएर कदम चाल्नु हो।”—विश्‍व-स्वास्थ्यसंघ।

[पृष्ठ ४-मा भएको पृष्ठभरिको चित्र]