सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍व दर्शन

विश्‍व दर्शन

विश्‍व दर्शन

रूखहरूले शहरी प्रदूषण कम गर्छ

“विभिन्‍न प्रकारका बोटबिरुवाहरूले कसरी प्रदूषण कम गर्छ भनी विशेषज्ञहरूले पहिलो चोटि नाप्न सफल भएका छन्‌” भनी लन्डनको द सन्डे टाइम्स रिपोर्ट गर्छ। इंग्ल्याण्ड र स्कटल्याण्डका वैज्ञानिकहरूले वेस्ट मिडल्याण्ड्‌स क्षेत्रको तीन वर्षे अध्ययनको दौडान लगभग ३२,००० रूखबाट लिइएको माटोको नमुनामध्ये कुनचाहिंले हानिकारक कणहरू सबैभन्दा बढी सोस्छ भनेर नापे। अनुसन्धाताहरूले वायुमण्डल र ओजोन सतहमा भएका कणहरू पनि नापे। लाँकुरी, बोक्रे सल्लो, अन्य जातका सल्लाले सबैभन्दा बढी सोसे; सबैभन्दा कम सोस्ने कर्सु, तिस्सी र लहरे पिपल थिए। उक्‍त अध्ययनले देखाएअनुसार “वायुमण्डलबाट प्रदूषण हटाउन घाँसे मैदानभन्दा रूखहरू तीन गुणा बढी प्रभावकारी थिए।” निस्सन्देह, कम्प्युटर प्रस्तुतिले देखाएअनुसार वेस्ट मिडल्याण्ड्‌सका आधाजति भूभागमा रूख रोपिएको खण्डमा वायु प्रदूषण २० प्रतिशतले कम गर्न सकिने थियो। (g03 3/22)

रक्‍तक्षेपणले फोक्सोमा हानि पुऱ्‍याउन सक्छ

“खास गरी प्लाज्मा तत्त्व भएको रक्‍त पदार्थ रक्‍तक्षेपण गर्नेहरूलाई फोक्सोको घातक क्षति हुन सक्ने खतरा छ” भनी सं.रा.अ.-को खाद्य तथा औषधी प्रशासनको पत्रिका, एफ डि ए कन्ज्युमर बताउँछ। यो अवस्था बेलैमा निदान गरेर उपचार गरिएन भने मृत्यु हुन सक्छ। “फोक्सोको घातक क्षति हुने विकारमा रगत प्राप्त गर्ने व्यक्‍तिको सेतो रक्‍तकोषले रक्‍त दाताको रगतमा भएका एन्टिबडीसित मिल्न नसक्दा फोक्सोका तन्तुमा हुने परिवर्तनको परिणामस्वरूप तरल पदार्थ फोक्सोमा छिर्छ। यस विकार प्रायजसो दुई जनाभन्दा बढी सन्तान भएका महिला वा धेरै चोटि रक्‍तक्षेपण गरिसकेका व्यक्‍तिहरूको कारणले हुन्छ।” यसका लक्षणहरू “ज्वरो आउने, स्वाँस्वाँ हुने अनि रक्‍तचाप घट्‌ने” हुन्‌। एक्सरे हेर्दा [रक्‍तक्षेपण लिएका] बिरामीको फोक्सो सेताम्मै देखिन्छ।” (g03 3/8)

केटाकेटीले मृत्युबारे स्पष्टसित बुझेका छैनन्‌

“मान्छे मरेपछि के ऊ फेरि जीवित हुन सक्छ?” जापान महिला विश्‍वविद्यालयका प्राध्यापक हिरोशी नाकामुराले उक्‍त प्रश्‍न माध्यमिक विद्यालयका ३७२ जना विद्यार्थीलाई सोधेका थिए। एक तिहाइले हुन सक्छ भन्‍ने जवाफ दिए भने अर्को एक तिहाइले आफूलाई यकिन नभएको बताए भनी सान्के शिम्बुन नामक अखबार रिपोर्ट गर्छ। “यो धारणा कम्प्युटर गेमबाट सिकेको हुन सक्छ किनभने मुख्य नायक मरे तापनि रिसेट बटन थिच्ने बित्तिकै ऊ फेरि जीवित हुन्छ” भनी उक्‍त अखबार बताउँछ। यस प्राध्यापकअनुसार अनुसन्धानले, “उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई वास्तवमा मृत्यु के हो भनेर त्यति स्पष्ट छैन” भन्‍ने कुरा देखायो। तिनी आमाबाबुलाई आफ्ना छोराछोरीलाई पाल्तु पशुहरूको मृत्यु र मर्नै लागेका नातेदारहरू भेट्‌न गएर मृत्युबारे जानकारी दिने सुझाव दिन्छन्‌। (g03 3/8)

जर्जियामा धार्मिक असहिष्णुता तीव्र हुन्छ

“यहोवाका साक्षीहरूले कुलोको नजिकै ग्रीष्मकालीन सभाको योजना बनाउँदै थिए तर अघिल्लो रात एक हूल मानिसहरू त्यहाँ आइपुगे” भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। “जर्जियाली अर्थोडक्स चर्चका क्रूस लगाएका दुई दर्जन मानिसहरू बसमा आए अनि पाहुना सत्कार गर्ने व्यक्‍ति, उशांगी बुन्तुरीको घरमा खानतलास गरे। तिनीहरूले बाइबल, धार्मिक पर्चाहरू अनि श्री बुन्तुरीको मालसामान बाहिर आंगनमा जम्मा गरेर सबै जलाइदिए . . . तिनीहरूले बप्तिस्मा पोखरी डिजेलले भरिदिए। त्यहाँ स्थानीय प्रहरी हाकिमलगायत अन्य प्रहरीहरू पनि आइपुगे . . . तर कोही पक्राउमा परेनन्‌। . . . यो आक्रमण पूर्वनियोजित जस्तो देखिन्थ्यो।” टाइम्स अखबारले बताएअनुसार “रूसलगायत सोभियत संघका भूतपूर्व गणतन्त्रहरूमा” धार्मिक तनाव भए तापनि “जर्जियामा अल्पसंख्यक धार्मिक समूहहरूमाथि तीव्र हिंसा तथा सरकारी अधिकारीहरूको संलग्नता भने ज्यादती नै भएको छ। जर्जियाले सोभियत संघबाट स्वतन्त्र भएपछिको आफ्नो संविधानमा धार्मिक स्वतन्त्रता प्रदान गर्ने कुरा व्यक्‍त गरेको थियो। तर बढ्‌दो हिंसाका घटनाहरूमा हूलदंगा तथा आगजनी तथा कुटपिट निकै बढेको छ।” (g03 3/22)

युवाहरू “रमाइलो चर्च”-मा ओइरिन्छन्‌

“युवाहरू ‘रमाइलो चर्च’ धाउन उत्सुक छन्‌” भन्‍ने शीर्षकअन्तर्गत जर्मन अखबार नाशोइच नोये प्रेस-ले हेस र नासाउको प्रोटेस्टेन्ट चर्चले आयोजना गरेको चर्च युवा दिवस महोत्सवको पहिलो दिनबारे रिपोर्ट गरेको थियो। यो पाँच दिने महोत्सवमा लगभग ४,४०० उपस्थित भए। यस कार्यक्रममा कार्यशाला र सामूहिक छलफल, मैनबत्ती र गीत भएको रात्रि सेवा, खेलकूद, सामाजिक अन्तरक्रिया र सांगीतिक प्रस्तुतिहरू प्रशस्त थिए। “यहाँ सम्पन्‍न २२० भन्दा बढी कार्यक्रममा परम्परागत बाइबल अध्ययन तथा चर्चका सेवाहरू भने एउटा पनि समावेश गरिएको थिएन” भनी उक्‍त अखबारले बतायो। “त्यहाँ उपस्थित केही युवाहरूले अक्सर एकदमै नरमाइलो ठान्‍ने बाइबल अध्ययनको लागि पनि माग गरेको” सुन्दा एक जना जवान पादरी छक्कै परे। एक जना किशोरले यसो भने: “वास्तवमा यो कार्यक्रमको चर्चसित कुनै सम्बन्ध छैन तर यहाँको वातावरण रमाइलो छ।” (g03 3/22)

धर्म र युद्ध

“अहिलेको सबैभन्दा रक्‍तपातपूर्ण तथा खतरनाक विवादहरू . . . धर्ममा मुछिएका छन्‌” भनी यु एस ए टुडे भन्‍ने अखबार बताउँछ। ती समाधान गर्न पनि असाध्यै कठिन छन्‌। “प्रतिद्वन्द्वीहरूले परमेश्‍वर आफ्नो पक्षमा भएको दाबी गर्दा सामान्य कुटनीतिका साधनहरू, जस्तै— सम्झौता गर्ने इच्छुकता अनि पुराना गल्तीहरू बिर्सने जस्ता कुराहरू लागू गर्न अझ गाह्रो हुन्छ” भनी उक्‍त अखबार बताउँछ। “भूमि वा शक्‍तिको लागि होडबाजीजस्ता धर्मसित त्यति सम्बन्ध नभएका विवादहरूमा धर्म विवादको कारण नभई केवल थप प्रमाण जुटाउन प्रयोग गरिंदा यो झनै सत्य साबित हुन्छ।” धार्मिक मतभिन्‍नताहरूले गर्दा क्षणिक युद्धविराम गर्न पनि गाह्रो हुन्छ। उदाहरणका लागि, हालै कोसोभोमा भएको युद्धलाई लिन सकिन्छ। इस्टरको बेला युद्धविराम गर्ने विचार गरिएको थियो तर क्याथोलिक तथा अर्थोडक्सहरूको इस्टर मनाउने मिति फरक-फरक हुँदा त्यो पनि गर्न सकिएन। “आखिर, कुनै विराम भएन” भनी यु एस ए टुडे बताउँछ। (g03 3/22)

एच आइ भी/एड्‌स महामारी “नियन्त्रणबाहिर”

“संसारभरि चार करोड मानिसहरू एच आइ भी-बाट ग्रसित छन्‌, दुई करोडले एड्‌सको कारण ज्यान गुमाइसके अनि वर्षेनी ७,५०,००० बच्चाहरू एच आइ भि-बाट संक्रमित अवस्थामा जन्मन्छन्‌” भनी बेलाइतको चिकित्सा पत्रिका द ल्यान्सेट बताउँछ। सन्‌ २००१ मा मात्रै थप ५० लाख संक्रमित भए अनि ३० लाखले एड्‌सको कारण ज्यान गुमाए। एच आइ भी/एड्‌स-बारे संयुक्‍त राष्ट्रसंघको संयुक्‍त कार्यक्रमका कार्यकारी निर्देशक, पिटर प्योअनुसार यो महामारी “नियन्त्रणबाहिर” गएको छ तर अझै “प्रारम्भिक चरणमा” छ। तिनको अनुमानअनुसार आउँदो २० वर्षमा सात करोड मानिसहरू एड्‌सबाट मर्नेछन्‌। साहारा मरुभूमिको दक्षिणतिर पर्ने अफ्रिकाका कुनै-कुनै शहरहरूमा ३० देखि ५० प्रतिशत जनसंख्या एच आइ भी-पोजिटिभ छन्‌। थुप्रै जवान मानिसहरू एड्‌सको सिकार भइरहेको हुँदा सन्‌ २०२० सम्ममा कार्य क्षमतामा २० प्रतिशतले कमी भइसकेको हुनेछ भन्‍ने चिन्ता छ। “यसले बालबालिकामा पारेको प्रभावले भावी आर्थिक उत्थान प्रतिकूल असर पार्नेछ” भनी द ल्यान्सेट बताउँछ। जिम्बावेमा “यी बालबालिकाहरू किशोरावस्थामा पुगुञ्जेल प्रत्येक पाँच जनामध्ये एक जनाले आफ्नो आमा वा बुबा गुमाउने सम्भावना छ।” (g03 3/22)

स्तनपानका लाभहरू

“नवजात शिशुहरूका लागि सर्वोत्तम भोजन” आमाको दूध हो भनी न्युरोसर्जन डा. सन्जय गुप्ताले टाइम पत्रिकामा लेखेका छन्‌। “स्तनपान गराइएका बच्चाहरूलाई अस्पताल भर्ना गर्नुपर्ने, कानको संक्रमण, पखाला, छालामा घाउ खटिरा आउने, एलर्जी तथा अन्य स्वास्थ्य समस्या हुने खतरा सिसीको दूध खाएका बच्चाहरूको तुलनामा कम हुने गर्छ।” प्राप्त प्रमाणअनुसार स्तनपानले श्‍वासप्रश्‍वाससम्बन्धी बिमारीबाट पनि सुरक्षा प्रदान गर्छ। एउटा डेनिश अध्ययनको निष्कर्षअनुसार “शैशवकालमा सातदेखि नौ महिनासम्म स्तनपान गराइएका वयस्कहरूको, दुई हप्ता वा त्योभन्दा कम समयको लागि मात्र स्तनपान गराइएकाहरूको तुलनामा बौद्धिक तीक्ष्णता धेरै हुन्छ।” बालचिकित्सकहरूको अमेरिकी प्रतिष्ठानले बच्चालाई छ महिना र सम्भव भए लगभग एक वर्ष वा त्यो भन्दा बढी समयको लागि स्तनपान गराउने सुझाव दिन्छन्‌। “यसो गर्दा शिशुले मात्र स्तनपानबाट लाभ उठाउने होइन” भनी यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट बताउँछ। जम्मा ३० वटा देशमा १,५०,००० महिलाहरूलाई गरिएको अध्ययनले देखाएअनुसार “प्रत्येक वर्ष स्तनपान गराउँदा एक जना महिलाले आफ्नो जीवनकालमा स्तनको क्यान्सर हुन सक्ने सम्भावनालाई ४.३ प्रतिशत कम गरिरहेका हुन्छिन्‌। यद्यपि, “आधीजसो अमेरिकी आमाहरूले मात्र दुई तीन महिनाको लागि स्तनपान गराउने गर्छन्‌।” (g03 3/22)