सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

व्यापक विपत्ति

व्यापक विपत्ति

व्यापक विपत्ति

एरिक a छ महिनाको भयो। तथापि, उसको तौल र उचाइ केवल एक दुई महिनाको बच्चाको जस्तो छ। तौल अत्यन्तै कम हुनुको बावजुद उसको खुट्टा र पेट फुलेको, अनुहार सुन्‍निएर बाटुलो छ। उसको शरीर रगतै नभएजस्तो पहेंलो देखिन्छ, रौं झुरो र फुस्रो छ अनि छालामा घाउ आएको छ। ऊ एकदमै पिन्चे देखिन्छ। डाक्टरले एरिकको आँखा जाँच्दा निकै सावधान हुनुपर्छ किनभने उसको आँखाका तन्तुहरू सजिलै च्यातिन सक्छन्‌। सम्भवतः उमेरअनुसार एरिकको मानसिक विकास भएको छैन। दुःखको कुरा, यो बच्चाको अवस्था असामान्य भने होइन।

“भनिन्छ, विश्‍वभरि हुने बाल-मृत्युमध्ये आधीभन्दा बढीको लागि यो दोषी छ र यो ब्ल्याक डेथ भनिने संक्रामक रोगको तुलनामा दोस्रो भयानक रोग हो। यद्यपि, यो संक्रामक रोग होइन। यसले ल्याउने बित्यासको कारण यसबाट बचेका करोडौं मानिसहरू अंगभंग भएका छन्‌, रोगहरूले सजिलै आक्रमण गर्न सक्ने अवस्थामा हुनुका साथै बौद्धिक तवरमा पनि अपांग हुन्छन्‌। यसले महिला, परिवार अनि अन्तमा सम्पूर्ण समाजलाई नै खतरामा पार्छ।”—विश्‍वका बालबालिकाहरूको अवस्था, संयुक्‍त राष्ट्रसंघ बालकोष।

यी शब्दहरूले कुन रोगको वर्णन गर्छ? कुपोषण—विशेष गरी क्यालोरी वा प्रोटिन वा ती दुवैको कमीले हुने कुपोषण अर्थात्‌ प्रोटिन-एनर्जी म्यालन्युट्रीशन (पि इ एम) जसलाई विश्‍व-स्वास्थ्यसंघले “मौन संकट” भनी नामाकरण गरेको छ। यो विपत्ति कत्तिको व्यापक छ? विश्‍व-स्वास्थ्यसंघले वर्णन गरेअनुसार “वर्षेनी १ करोड ४ लाख बाल-मृत्युमध्ये कम्तीमा आधा जतिको कारक तत्त्व” यही हो।

कुपोषणअन्तर्गत थुप्रै प्रकारका रोगबिमारहरू पर्छन्‌, जस्तै भिटामिन वा अन्य खनिज तत्त्वहरूमध्ये एउटा वा बढीको अभावमा न्यूनपोषणदेखि लिएर मोटोपन र भोजनसम्बन्धी अन्य गम्भीर रोगहरू हुन्छन्‌। तथापि, पि इ एम “सबैभन्दा घातक प्रकारको कुपोषण हो” भनी विश्‍व-स्वास्थ्यसंघ बताउँछ। यसका प्रमुख सिकारहरू पाँच वर्षमुनिका बालबालिकाहरू हुन्‌।

एकछिन, सुरुमा उल्लिखित एरिक र कुपोषणको सिकार भएका करोडौं बालबालिकाबारे विचार गर्नुहोस्‌। त्यस्तो अवस्थामा हुनुमा ती बच्चाहरूको कुनै दोष छैन नता तिनीहरू त्यो अवस्थाबाट निस्कनै सक्छन्‌। बाल-पोषणविद्‌ जर्जिना टुशान्तले ब्यूँझनुहोस्‌!-लाई यसो भनिन्‌: “यसको सिकार हुने र यसका दुःखद्‌ परिणाम भोग्नेहरूको कुनै दोष छैन तर तिनीहरू नै सबैभन्दा नाजुक अवस्थामा छन्‌।”

कसै-कसैले सबैको लागि पर्याप्त भोजन नभएकोले यो समस्या त हुनु नै थियो भन्‍ने अनुमान गर्छन्‌। तर विडम्बनाको कुरा के छ भने, विश्‍व-स्वास्थ्यसंघले बताएअनुसार “आज हामी प्रचुरताको संसारमा बाँचिरहेका छौं।” संसारमा सबैको लागि र अझ अरू थुप्रैको लागि प्रशस्त भोजन उपलब्ध छ। यसबाहेक, मानव कुपोषण, रोकथाम गर्न सबैभन्दा सजिलो अनि निको पार्न सबैभन्दा सस्तो रोग हो। के यी तथ्यहरू थाह पाउँदा तपाईंलाई रिस उठ्‌दैन?

को-को प्रभावित छन्‌?

कुपोषणको सिकार बालबालिकाहरू मात्र हुँदैनन्‌। जुलाई २००१ को विश्‍व-स्वास्थ्यसंघको रिपोर्टअनुसार “कुपोषणको असर सर्वव्याप्त छ र यसले विकासोन्मुख राष्ट्रका २०% जनसंख्या अर्थात्‌ संसारका ८० करोड मानिसलाई असर गरेको छ।” यसको मतलब, संसारका प्रत्येक ८ जनामध्ये १ जना यसबाट पीडित छन्‌।

न्यूनपोषित मानिसहरूको अधिकतम संख्या खास गरी एसियाक दक्षिणी र मध्य भागमा पाइन्छ तर न्यूनपोषित मानिसहरूको ठूलो प्रतिशत जनसंख्या भने अफ्रिकामा छन्‌। यसपछि ल्याटिन अमेरिका र क्यारेबियनका विकासोन्मुख देशहरू पर्छन्‌।

के विकसित मुलुकहरू कुपोषणबाट मुक्‍त छन्‌? छैनन्‌। द स्टेट अफ फुड इन्सेक्योरिटी इन द वर्ल्ड २००१-अनुसार औद्योगिक राष्ट्रहरूमा बसोबास गर्ने १.१ करोड मानिसहरू कुपोषणको सिकार भएका छन्‌। खास गरी पूर्वी युरोप र भूतपूर्व सोभियत संघका परिवर्तनको क्रममा रहेका थप २.७ करोड मानिसहरू न्यूनपोषित छन्‌।

कुपोषणले यस्तो गम्भीर रूप लिनुको कारण के हो? न्यूनपोषितहरूको अवस्थालाई अहिले सुधार्न सकिने के कुनै उपाय छ? के हाम्रो ग्रह कुपोषणबाट कहिल्यै मुक्‍त हुनेछ? यसपछिका लेखहरूले यी प्रश्‍नहरूमाथि छलफल गर्नेछ। (g03 2/22)

[फुटनोट]

a उसको वास्तविक नाउँ होइन।

[पृष्ठ ४-मा भएको तालिका/नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

अपर्याप्त पोषणको खतरामा परेको जनसंख्या भएका मुलुकहरू

कम खतरा

मध्यम खतरा

अत्यधिक खतरा

खतरा छैन वा अपूरो तथ्यांक

[पृष्ठ ३-मा भएको चित्र]

सुडानमा उद्धार सामग्री पर्खिरहेका

[स्रोत]

UN/DPI Photo by Eskinder Debebe