सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चर्चसित ग्यालिलियोको मुठभेड

चर्चसित ग्यालिलियोको मुठभेड

चर्चसित ग्यालिलियोको मुठभेड

इटालीका ब्यूँझनुहोस्‌! लेखकद्वारा

यो कुरा जून २२, १६३३ को हो। गोडा धरमराएका वृद्ध मानिस रोमी इन्क्वीजिशनसामु खडा छन्‌। तिनी त्यतिबेलाका प्रख्यात वैज्ञानिक हुन्‌। तिनका वैज्ञानिक अवधारणाहरू वर्षौंको अध्ययन तथा अनुसन्धानमा आधारित छन्‌। यद्यपि, तिनी आफ्नो ज्यान जोगाउन चाहन्छन्‌ भने आफूले सही ठानी विश्‍वास गरेको कुरा त्याग्नुपर्छ।

तिनको नाउँ ग्यालिलियो ग्यालिली थियो। धेरैले ग्यालिलियो मुद्दा भनेर चिन्‍ने मुद्दाले उब्जाएको शंका, प्रश्‍न र विवादहरू आज ३७० वर्षपछि पनि गुञ्जिरहेका छन्‌। यस मुद्दाले धर्म र विज्ञानको इतिहासमा अमेट छाप पारेको छ। यत्तिको तर्कवितर्क हुनुको कारण के हो? ग्यालिलियोको मुद्दाले हाम्रो आधुनिक युगमा पनि चासो जगाउनुको कारण के हो? एक जना लेखकले भनेझैं के यसले “विज्ञान र धर्मबीचको फाटो” चित्रण गर्छ?

ग्यालिलियोलाई थुप्रैले “आधुनिक विज्ञानको पिता” ठान्छन्‌। तिनी गणितज्ञ, खगोलविद्‌ र भौतिकशास्त्री थिए। टेलिस्कोपबाट आकाशको अध्ययन गर्ने प्रथम मानिसहरूमध्येका ग्यालिलियोले त्यतिबेला एकदमै चर्को वादविवाद भएको विषयलाई समर्थन गर्दै यो धारणा प्रतिपादन गरे: पृथ्वीले सूर्यको परिक्रमा गर्छ अनि त्यसैले हाम्रो ग्रह ब्रह्‍माण्डको केन्द्रविन्दु होइन। त्यसैकारण ग्यालिलियोलाई कहिलेकाहीं आधुनिक परीक्षण विधिको संस्थापक पनि भन्‍ने गरिन्छ!

ग्यालिलियोले गरेका केही आविष्कार तथा खोजहरू के-के थिए? खगोलविद्‌को हैसियतमा तिनले अरू थुप्रै कुराहरूको साथसाथै बृहस्पतिको चन्द्रमा छन्‌, आकाशगंगामा थुप्रै ताराहरू हुन्छन्‌, चन्द्रमामा पहाडहरू अनि शुक्र ग्रहमा चन्द्रमाको जस्तो विभिन्‍न चरण हुन्छ भनेर पत्ता लगाए। भौतिकशास्त्रीको हैसियतमा तिनले पेन्डुलम तथा कुनै पनि वस्तु माथिबाट तल खस्नुका नियमहरू अध्ययन गरे। तिनले रुलरबाट तथ्यांक पत्ता लगाउन सक्ने ज्यामितीय कम्पासजस्ता उपकरणहरू आविष्कार गरे। हल्याण्डबाट प्राप्त जानकारीको आधारमा तिनले एउटा टेलिस्कोप बनाए जसबाट ब्रह्‍माण्ड छर्लंग्गै देखिन्थ्यो।

तथापि, चर्चको शासकीय दलसित लामो मतभेदको कारण अत्यन्तै लगनशील वैज्ञानिकको पेसा एउटा नाटकजस्तो हुन पुग्यो—ग्यालिलियो मुद्दा। यो कसरी अनि किन सुरु भयो?

रोमसित मतभेद

सोह्रौं शताब्दीको अन्ततिर ग्यालिलियोले पृथ्वीले सूर्यको परिक्रमा गर्छ र सूर्यले पृथ्वीको होइन भन्‍ने कपर्निकी सिद्धान्त अंगाले। यसलाई हेलियोसेन्ट्रिक (सूर्य केन्द्रित) प्रणाली पनि भनिन्छ। तिनले १६१० मा पहिले पत्ता नलागेका आकाशीय पिण्डहरू आविष्कार गर्न टेलिस्कोप प्रयोग गरेपछि ग्यालिलियोलाई हेलियोसेन्ट्रिक प्रणालीको प्रमाण पाएको पुष्टि भयो।

ग्य्राण्ड डिजोनेर एन्सेक्लोपेडिको यु टि इ टि-अनुसार ग्यालिलियो आविष्कारहरू मात्र गर्न चाहँदैनथे। तिनी त्यतिबेलाका “उच्च-पदस्थ अधिकारीहरूलाई (राजकुमार तथा कार्डिनलहरू)” कपर्निकी सिद्धान्त सही हो भनी विश्‍वस्त गराउन चाहन्थे। तिनका प्रभावशाली साथीहरूको मदत लिएपछि चर्चको अवरोध पार गरेर समर्थन समेत पाउन सक्नेछन्‌ भन्‍ने आशा राखेका थिए।

ग्यालिलियो उच्च पदस्थ पादरीहरूलाई भेट्‌न १६११ मा रोम गए। तिनले खगोलविज्ञानसम्बन्धी आविष्कारहरू देखाउन आफ्नो टेलिस्कोपको प्रयोग गरे। तर तिनले आशा गरेजस्तो परिणाम भएन। सन्‌ १६१६ तिर, सरकारले नै ग्यालिलियोमाथि निगरानी राख्न थाल्यो।

रोमी इन्क्वीजिशनका धर्मविद्‌हरूले हेलियोसेन्ट्रिक धारणालाई “सैद्धान्तिक तवरमा मूर्ख, अनौठो र वास्तवमा धर्मविरोधी हो भन्‍न थाले किनभने तिनीहरूले लगाएको अक्षरशः अर्थअनुसार यसले सामान्यतः स्वीकृत टिप्पणी तथा धर्मविज्ञ, पोप र प्रमुख पादरीले दिएको वर्णनलाई थुप्रै ठाउँमा पवित्र धर्मशास्त्रको खण्डन गर्छ।”

ग्यालिलियोले त्यतिबेलाको महान्‌ क्याथोलिक धर्मविद्‌ मानिने कार्डिनल रबर्ट बेलारमाइनलाई भेटे, जसलाई “धर्मविरोधीहरूको कटु आलोचक” पनि भनिन्थ्यो। बेलारमाइनले ग्यालिलियोलाई केन्द्रविन्दुमा सूर्य छ भन्‍ने तिनका विचारधाराहरू प्रवर्धन गर्न बन्द गर्ने औपचारिक आदेश दिए।

इन्क्वीजिशन अदालत समक्ष

ग्यालिलियोले बुद्धिमानी भई चल्ने प्रयास गरे तर कपर्निकी सिद्धान्तलाई समर्थन गर्न भने छोडेनन्‌। सत्र वर्षपछि १६३३ मा ग्यालिलियो इन्क्वीजिशन अदालत समक्ष हाजिर भए। कार्डिनल बेलारमाइन मरिसकेका थिए तर अब ग्यालिलियोको प्रमुख विरोधी, पोप अर्बन आठौं भए जसले पहिला केही समर्थन देखाएका थिए। लेखकहरूले यो पुरातन समयका मुद्दाहरूमध्ये एकदमै प्रख्यात र अन्यायपूर्ण भनी नामाकरण गरेका छन्‌ र यसलाई सुकरात अनि येशूको मुद्दाको श्रेणीमा समेत राख्छन्‌।

कुन कुराले गर्दा यो मुद्दा चर्कियो? ग्यालिलियोले डायलग कन्सर्निङ द टु चिफ वर्ल्ड सिस्टम्स्‌ शीर्षक भएको पुस्तक लेखेका थिए। वास्तवमा त्यस पुस्तकले हेलियोसेन्ट्रीसिजमलाई प्रवर्धन गर्थ्यो। यसका लेखकलाई १६३२ मा अदालतमा हाजिर हुन लगाइयो तर ग्यालिलियो बिरामी हुनुका साथै ७० वर्ष पुगिसकेका हुँदा हाजिर हुन ढिलाइ गरे। थुनामा हाल्ने अनि जबरजस्ती रोममा ल्याइने धम्की सुनाइएपछि तिनले त्यसपछिको वर्ष रोमको यात्रा गरे। पोपको आदेशमा तिनको केरकार गरियो अनि शासना दिने धम्कीसमेत दिइयो।

यो असक्‍त वृद्धलाई साँच्चै शासना दिइयो वा दिइएन भन्‍ने विषय विवादास्पद छ। तिनलाई दिइएको दण्डाज्ञामा लेखिएअनुसार ग्यालिलियोको “भीषण परीक्षण” गरियो। इटालेली नियमका इतिहासकार इटालो मेरउअनुसार उक्‍त पद्यांश, त्यतिबेला शासना जनाउन प्रयोग गरिने प्राविधिक शब्दावली थियो। यस कुरामा थुप्रै शास्त्रविद्‌हरू सहमत छन्‌।

जे होस्‌, ग्यालिलियोलाई जून २२, १६३३ का दिन इन्क्वीजिशनका सदस्यहरूसामु सुनसान कक्षमा सजाय सुनाइयो। तिनलाई दोषी ठहराइनुको कारण, “पवित्र र ईश्‍वरीय धर्मशास्त्र विपरीत कुरा विश्‍वास गर्नु थियो। जस्तै, सूर्य . . . पूर्वबाट पश्‍चिमतिर घुम्दैन तर पृथ्वीले परिक्रमा गर्छ अनि पृथ्वी, ब्रह्‍माण्डको केन्द्र होइन इत्यादि।”

ग्यालिलियो शहीद हुन चाहँदैनथे, त्यसैकारण तिनले आफ्नो धारणा त्याग्नुपऱ्‍यो। तिनको सजाय सुनाइएपछि यो वृद्ध वैज्ञानिकले घुँडा टेक्दै अनि पश्‍चात्तापी व्यक्‍तिको पहिरन लगाएर यसो भने: “म [कपर्निकी सिद्धान्त] गलत भएको स्वीकार्छु, त्यसलाई त्याग्छु अनि पवित्र चर्चको विरुद्धमा कुनै पनि त्रुटि, धर्मविरोध वा गुटलाई समर्थन गर्दिनँ।”

ठोस प्रमाण त छैन तर एउटा बहुचर्चित भनाइ के छ भने, ग्यालिलियोले आफ्नो मत तिरस्कार गरेको घोषणा गरेपछि आफ्नो खुट्टा भूइँमा बजार्दै यसरी विरोध जनाए: “जे होस्‌, यो पक्कै घुम्छ!” टिप्पणीकारहरूले बताएअनुसार आफ्नो आविष्कार तिरस्कार गर्नु परेको घटनाले वैज्ञानिकलाई मृत्युपर्यन्त पिरोलिरह्‍यो। तिनलाई जेल सजाय सुनाइयो तर त्यसलाई पछि बदलेर सदाको लागि घरमा नजरबन्द गरियो। बिस्तारै तिनको दृष्टि कमजोर हुन थाल्यो र तिनले एक्लो जीवन बिताए।

धर्म र विज्ञानबीच विवाद?

ग्यालिलियोको उदाहरणबाट धेरै जना धर्म र विज्ञान आपसमा पटक्कै मिल्दैन भन्‍ने निष्कर्षमा पुगेका छन्‌। फलस्वरूप ग्यालिलियोको मुद्दाले गर्दा शताब्दीयौंको दौडान मानिसहरू धर्मबाट टाढिएका छन्‌। वैज्ञानिक प्रगतिको लागि धर्म खतरा भन्ठान्‍ने थुप्रै मानिसहरू छन्‌। के वास्तवमा यो सही हो?

पोप अर्बन आठौं र रोमी इन्क्वीजिशनका धर्मविद्‌हरूले कपर्निकी सिद्धान्त बाइबल विरोधी भएको ठहर गरी त्यसको विरोध गरे। ग्यालिलियोका विरोधीहरूले “हे सूर्य, तँ . . . अडिरह” भन्‍ने यहोशूको भनाइलाई संकेत गर्दै त्यसको शाब्दिक अर्थ लगाए। (यहोशू १०:१२) तर के बाइबलले कपर्निकी सिद्धान्तलाई साँच्चै विरोध गर्छ? पटक्कै गर्दैन।

धर्मशास्त्रको गलत अर्थ लगाइएको हुँदा विज्ञानसित मेल नखाएको हो। ग्यालिलियोले बुझेअनुसार कुरा त्यस्तो थियो। तिनले एक जना विद्यार्थीलाई यस्तो लेखे: “धर्मशास्त्र गलत हुन सक्दैन तर अर्थ खुलाउने तथा टिप्पणीकारहरूले भने बेग्लाबेग्लै किसिमले गल्ती गर्न सक्छन्‌। एउटा त, तिनीहरूले सधैं जुनसुकै अवस्थामा शाब्दिक अर्थअनुसार बुझाउन खोज्दा पटक पटक गम्भीर गल्ती हुन सक्छ।” यस कुरामा बाइबलका जो कोही पनि जेहनदार विद्यार्थी अवश्‍य सहमत हुनेछन्‌। a

ग्यालिलियोको कुरा यतिमा मात्र सीमित थिएन। तिनले बाइबल र प्रकृतिको पुस्तक दुवैका लेखक एकै जना हुनुपर्छ र ती दुईको कुरा बाझिंदैन भन्‍ने दाबी गरे। तर तिनले यसो पनि भने, “अर्थ खुलाउने सबै व्यक्‍तिहरूले ईश्‍वरीय प्रेरणा पाएर बोलेका हुन्‌ भन्‍न सकिंदैन।” चर्चको आधिकारिक अर्थको ठाडै आलोचना गरिएको हुँदा यी वैज्ञानिकलाई सजाय दिन रोमी इन्क्वीजिशन उक्सियो। त्यसैले एक जना साधारण मानिसले चर्चका अधिकारीहरूसित टक्कर लिन खोज्दाको परिणाम अरू के हुन्थ्यो होला र?

ग्लालिलियोको मुद्दालाई उद्धरण गर्दै थुप्रै शास्त्रज्ञहरूले चर्च र पोपको अचूकतामाथि शंका व्यक्‍त गरेका छन्‌। क्याथोलिक धर्मविद्‌ हान्स कुङले लेखेअनुसार “ग्यालिलियोको सजायलगायत” “पादरीवर्गको औपचारिक शिक्षाका अनगिन्ती तथा अखण्डनीय” गल्तीहरूले गर्दा अचूकताको सिद्धान्तमाथि प्रश्‍न खडा भएको छ।

ग्यालिलियोको पुनर्स्थापना?

नोभेम्बर १९७९ अर्थात्‌ जोन पल द्वितीयले आफू निर्वाचित भएको एक वर्षपछि ग्यालिलियोको ओहदाबारे पुनरावलोकन गर्ने आशा राखेका थिए र तिनले “चर्चका मानिसहरू तथा व्यवस्थापनबाट . . . निकै दुःख भोग्नुपरेको” स्वीकारे। त्यही पोपबाट नियुक्‍त निकायले तेह्र वर्षपछि १९९२ मा यसरी मानिलियो: “कोही-कोही धर्मविद्‌हरू, ग्यालिलियोका समकालीनहरूले . . . सृजना गरिएको ब्रह्‍माण्डको भौतिक संरचनाबारे वर्णन गर्दा धर्मशास्त्रको शाब्दिकबाहेक गहन अर्थ बुझ्न सकेनन्‌।”

तथापि, तथ्य कुरा के हो भने, हेलियोसेन्ट्रिक सिद्धान्तको आलोचना गर्ने धर्मविद्‌हरू मात्र थिएनन्‌। उक्‍त मुद्दामा प्रमुख भूमिका निर्वाह गर्ने पोप अर्बन आठौंले पृथ्वी नै ब्रह्‍माण्डको केन्द्र हो भन्‍ने शताब्दीयौं पुरानो शिक्षालाई ग्यालिलियोले फितलो बनाउने प्रयास नगरून्‌ भन्‍ने कडा आज्ञा दिएका थिए। त्यो शिक्षा बाइबलको नभई ग्रीक दार्शनिक अरस्तुको थियो।

त्यस मुद्दाबारे वर्तमान समितिले लामो परीक्षण गरेपछि पोपले ग्यालिलियोलाई सुनाएको सजाय “हतारमा गरिएको दुःखद निर्णय” भन्‍ने ठहर गऱ्‍यो। के ती वैज्ञानिकको पुनर्स्थापना गरियो? “कसै-कसैले भनेझैं ग्यालिलियोको पुनर्स्थापनाबारे कुरा गर्नु बेकार हो” भनी एक जना लेखक बताउँछन्‌ “किनभने इतिहासले ग्यालिलियोको होइन तर चर्चका उच्च पदस्थ अधिकृतहरूको निकायको निन्दा गर्छ।” इतिहासकार लुइजी फर्पोले यसो भने: “यो सतावट दिनेहरूले पुनर्स्थापना गर्ने ठाउँ होइन।”

बाइबल, “अन्धकारमा बलिरहेको दियालो” हो। (२ पत्रुस १:१९) यसको गलत अर्थ नलगाइयोस भनेर ग्यालिलियोले विरोध गरे। तर चर्चले भने बाइबललाई गलत ठहराउँदै मानिसको परम्परालाई समर्थन गरेर ठीक विपरीत गऱ्‍यो। (g03 4/22)

[फुटनोट]

a इमानदार पाठकले सूर्य आकाशमा अडिनु भनेको वैज्ञानिक विश्‍लेषण नभई मानव प्रत्यक्षदर्शीको नजरबाट जे देखिएको थियो, त्यही मात्र लेखेका थिए भनी प्रायजसो स्वीकार्नेछन्‌। खगोलविद्‌हरू पनि कुनै संकोच नमानी सूर्य, चन्द्र, ग्रह तथा ताराहरू उदाउने र अस्ताउनेबारे कुरा गर्छन्‌। त्यसको मतलब, यी आकाशीय पिण्डहरूले साँच्चै पृथ्वीको परिक्रमा गर्छन्‌ भनेको नभई आकाशमा यताउता चलेको देखिन्छ भन्‍न खोजेका हुन्‌।

[पृष्ठ १४-मा भएको पेटी/चित्र]

ग्यालिलियोको जीवन

ग्यालिलियोको जन्म १५६४ मा पिसामा भएको थियो। तिनका बुबा फ्लोरेन्सवासी थिए अनि ग्यालिलियोले त्यहाँकै विश्‍वविद्यालयमा चिकित्सा विषयमा अध्ययन गरे। खास चासो नभएको हुँदा तिनले त्यो विषय छोडेर भौतिकशास्त्र तथा गणित पढ्‌न थाले। सन्‌ १५८५ मा कुनै शैक्षिक योग्यता हासिल नगरी तिनी घर फर्के। तैपनि, तिनले तत्कालीन उत्कृष्ट गणितज्ञहरूबाट मान पाउनुका साथै पिसा विश्‍वविद्यालयमा गणितका प्राध्यापक हुन सके। बुबाको मृत्युपछि आर्थिक कठिनाइले गर्दा ग्यालिलियो पादुवामा बसाइँ सरे। त्यहाँ तिनले त्यस शहरको विश्‍वविद्यालयको उच्च ओहदा पाए अनि राम्रो आय आर्जन हुने पदमा नियुक्‍त भए।

पादुवामा १८ वर्षे बसाइको दौडान तिनको रखौटी, भेनिसवासी महिलाबाट तीन जना सन्तान जन्मिए। सन्‌ १६१० मा तिनी फ्लोरेन्स फर्के र यहाँ तिनको आर्थिक अवस्थामा सुधार भएको हुँदा अनुसन्धान गर्न बढी समय बिताउन सके तर तिनले भेनिस गणतन्त्रमा जति स्वतन्त्रता पाउन सकेनन्‌। टस्कानीका ग्य्राण्ड ड्युकले तिनलाई “उत्कृष्ट दार्शनिक तथा गणितज्ञ” नियुक्‍त गरे। ग्यालिलियोलाई इन्क्वीजिशनले दोषी बनाएर घरमा नजरबन्द बनाएको बेला १६४२ मा तिनको मृत्यु भयो।

[स्रोत]

From the book The Library of Original Sources, Volume VI, 1915

[पृष्ठ १२-मा भएको चित्र]

ग्यालिलियोको टेलिस्कोप जसद्वारा तिनले ब्रह्‍माण्डको केन्द्र पृथ्वी होइन भनेर पुष्टि गर्न सके

[स्रोत]

Scala/Art Resource, NY

[पृष्ठ १२-मा भएको चित्र]

जियोसेन्ट्रिक (पृथ्वी केन्द्रित) प्रणाली

हेलियोसेन्ट्रिक (सूर्य केन्द्रित) प्रणाली

[स्रोत]]

Background: © 1998 Visual Language

[पृष्ठ १४-मा भएको चित्रको स्रोत]

Picture: From the book The Historian’s History of the World