सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जब बाल्यावस्था गुम्छ

जब बाल्यावस्था गुम्छ

जब बाल्यावस्था गुम्छ

“बाल्यावस्था भनेको बालबालिकाको सबैभन्दा आधारभूत मानवअधिकार हो।”—“द हरिड चाइल्ड।”

सबै बालबालिकाले केही हदसम्म निश्‍चिन्त तथा निर्मल बाल्यावस्था बिताउन पाउनुपर्छ भन्‍ने कुरामा सायद तपाईं सहमत हुनुहुन्छ होला। तर, जीवनको तीतो यथार्थ के हो भने थुप्रै स-साना केटाकेटीले त्यस्तो बाल्यावस्था बिताउन पाउँदैनन्‌। बालबालिकाहरू युद्धको सिकार हुँदा हजारौं, सायद लाखौं बाल-सपनाहरू चकनाचूर हुन्छन्‌, सोच्नुहोस्‌ त! दासत्व वा दुर्व्यवहारले गर्दा भताभुंग भएका ती बालबालिकाहरूको जिन्दगीबारे पनि विचार गर्नुहोस्‌।

घरमा भन्दा बरु सडकमा सुरक्षित ठान्‍ने भएकोले सडकमै जीवन गुजारा गर्न थाल्ने बच्चाले कस्तो महसुस गर्छ होला भनी हामीमध्ये धेरैजसोले कल्पना गर्न सक्दैनौं। सबैभन्दा बढी माया र सुरक्षा चाहिने समयमा तिनीहरू आफ्नो नाजायज फाइदा उठाउने सिकारीहरूबाट बच्न सडकमा गुजारा गर्न चलाख हुन बाध्य हुन्छन्‌। अहिलेको समस्याग्रस्त समयमा बाल्यावस्थामाथि घातक प्रहार भइरहेको छ।

“मेरो बाल्यावस्था फर्काउन पाए हुन्थ्यो”

बाइस वर्षीया कार्मेनको बाल्यावस्था संघर्षै संघर्षमा बित्यो। a उनी र उनकी दिदी, बुबाको दुर्व्यवहार र आमाको हेलचेक्य्राइँबाट बच्न सडकमा गुजारा गर्न बाध्य भए। यसरी जीवन बिताउनुका खतराको बावजुद यी दुई दिदीबहिनी आजकलका भगुवा केटाकेटीले सामना गर्ने केही जोखिमहरूबाट बच्न सके।

तैपनि, कार्मेनलाई आफूले एउटा सामान्य बाल्यावस्था बिताउन नपाएको पीडाले पिरोल्छ किनभने उनलाई आफ्नो बाल्यावस्था कसरी बित्यो कुनै सम्झना छैन। उनी यसरी बिलौना गर्छिन्‌, “मेरो बाल्यकाल र २२ वर्षको उमेरबीच ठूलो शून्यता छ। अहिले मेरो विवाह भइसक्यो र म आफै एउटा बच्चाकी आमा भइसकें तर मलाई ससाना केटीहरूले जस्तो पुतली खेल्न मन लाग्छ । म अरूको मायाको भोको छु, आमाबाबुको अंकमाल चाहन्छु। मेरो बाल्यावस्था फर्काउन पाए हुन्थ्यो जस्तो लाग्छ।”

कार्मेन र उनकी दिदीले जस्तै दुःख भोग्ने थुप्रै बालबालिकाहरू छन्‌। तिनीहरू सडकमा बस्छन्‌ अनि बाल्यावस्थाको आनन्द उठाउन पाउँदैनन्‌। यिनीहरूमध्ये धेरैजसो हातमुख जोर्नको लागि मात्र आपराधिक गतिविधिमा संलग्न हुन्छन्‌। समाचार रिपोर्ट तथा तथ्यांकहरूले देखाएअनुसार एकदमै कलिलो उमेरदेखि बालबालिकाहरू आपराधिक कार्यमा भाग लिन्छन्‌। त्यो समस्यालाई अझ जटिल बनाउने अर्को पक्ष हो—साना केटीहरूले किरोरावस्थामै अर्थात्‌ आफू बच्चै छँदा बच्चाहरू जन्माइरहेका छन्‌।

अप्रत्यक्ष सामाजिक संकट

थुप्रै बालबालिकाहरू अनाथालयमा बस्न पुग्नु कुनै अचम्मको कुरा होइन। विकेन्ड अस्ट्रेलियन नामक अखबारको सम्पादकीयमा यस्तो लेखिएको थियो: “हामीले चालै नपाई अनाथ सेवाको संकट सृजना भइरहेको छ। टुक्रिएका र भताभुंग परिवारका थुप्रै बालबालिकाहरूले उचित हेरचाह पाइरहेका छैनन्‌।” त्यही अखबारले अझ यसो भन्यो: “कोही-कोही अनाथ बालबालिकाले तिनीहरूको अवस्थाबारे अध्ययन गर्न खटाइएका सामाजिक कार्यकर्ताहरूलाई महिनौं र वर्षौंसम्म भेटेका हुँदैनन्‌ भने अरू कतिपय चाहिं कुनै स्थायी घरको अभावमा एकपछि अर्को ठाउँमा पन्छाइन्छन्‌।”

एउटा अध्ययनअनुसार एउटी १३ वर्षीया केटीलाई तीन वर्षको अवधिमा ९७ वटा घरमा सारियो र कुनै-कुनै घरमा त तिनले एक रात मात्र बिताइन्‌। फलस्वरूप तिनले महसुस गरेको तिरस्कार र असुरक्षाको तीव्र भावना अझै बिर्सेकी छैनन्‌। तिनीजस्तै थुप्रै बालबालिकाले आफ्नो बाल्यावस्था गुमाएका छन्‌।

त्यसकारण वयस्कहरूले गुमाएका बाल्यावस्थाको बढ्‌दो विपत्ति भनी आजभोलि विशेषज्ञहरूले चर्चा गर्नु कुनै अचम्मको कुरा होइन। तपाईं आमा वा बुबा हुनुहुन्छ भने, यी दुःखद तथ्यहरू हेर्नुभएपछि आफ्ना छोराछोरीलाई आवास तथा जीवनका आवश्‍यकताहरू प्रबन्ध गर्न सक्नुभएकोमा गौरव गर्नुहुन्छ होला। तर अर्को एउटा खतरा छ। वर्तमान संसारमा बाल्यावस्था सधैं पूरै गुमाइँदैन। कहिलेकाहीं केवल हतार गरिन्छ। यो कसरी हुन्छ र परिणाम कस्ता हुन्छन्‌? (g03 4/22)

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।